सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् ।
सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न थालेपछि सरसफाइकर्मी काममा नआएको महानगरका सरसफाई व्यवस्थापन शाखाका सहायक प्रमुख सर्फुद्दिन मियाँले बताए ।
फोहोर नउठ्दा महानगरको चोक, गल्लीगल्लीमा अहिले दुर्गन्ध फैलिन थालेको छ । वीरगञ्ज पावरहाउस चोक, मुर्ली, श्रीपुर, घण्टाघर, माइस्थान, आर्दशनगर, नारायणी अस्पताल नजिकै मेनरोड, छपकैया, नगवा लगायतको क्षेत्रमा २ दिनमै फोहोरको डंगुर थुप्रिएको छ ।

गत बिहीबार सरसफाइ कर्मचारी छोटेलालप्रसाद कुशवाहालाई प्रहरीले कुटपिट गरेर मोटरसाइकलसमेत खोसेर दुर्व्यवहार गरेपछि त्यहीँ दिन सफाइ कर्मचारीले फोहोर उठाउन छाडेका थिए । लगत्तै नगर प्रमुख विजय सरावगीले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग समन्वय गरेर त्यसदिन सफाइ कर्मचारीलाई काममा फर्काएका थिए ।
शुक्रबार साँझ फेरि ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साइटतिर लिएर जाने क्रममा माइस्थान चोकमा प्रहरीले सरसफाइ कर्मचारीलाई अवरोध गरेका थिए ।
पटकपटक प्रहरीबाट अवरोध, दुर्व्यवहार र कुटपिट हुन थालेपछि सरसफाइकर्मी शनिबारदेखि फोहोर उठाउन छाडेर हड्तालमा बसेका छन् । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले लकडाउन पालनाको बहानामा प्रहरीले महानगरको सरसफाइमा पटकपटक अवरोध गर्दै आएको बताए ।
कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गर्ने सरसफाइकर्मीलाई प्रहरीले अवरोध र दुर्व्यवहार गरेको ४ पटक भइसक्यो’, उनले भने, ‘सिडिओ र एसपीलाई भन्दाभन्दै म पनि थाकिसकेको छु ।’

वीरगन्ज महानगरपालिकाले ठेक्का र आफ्ना कर्मचारीमार्फत् महानगरको फोहोर उठाएर ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गर्दै आएको छ । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै कुटपिटसमेत गर्न थालेपछि शनिबारदेखि सरसफाइकर्मी काममा नआएको महानगरको सरसफाइको ठेक्का लिएको पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताए ।
कोरोनाको महामारीमा ज्यानसमेत जोखिममा राखेर खटिएका सरफाइकर्मी माथि प्रहरीले पटकपटक अनावश्यक दुर्व्यवहार र अवरोध गरेकाले काम गर्न समस्या भएको निर्देशक गुप्ताले बताए ।
प्रहरीले ज्यादती गरेको भन्दै शनिबारदेखि सरसफाइ कर्मचारी काममै आउन नमानेको उनले बताए । शनिबारदेखि महानगरको फोहोर नउठेको भन्दै उनले भने ‘फोहोर उठेन भने त्यसले नयाँ संक्रमण फैलने खतरा छ । तर, प्रहरी प्रशासनले कुरा नै बुझ्दैन ।’ हड्तालमा बसेका सरसफाइकर्मीलाई काममा फर्काउन प्रयास भइरहेको मेयर सरावगीले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७ २०:०१