सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ स्थित उच्च माविको क्वारेन्टाइनमा बसेकाहरूले भोक हडताल सुरू गरेका छन् ।
मंगलबार मध्यराति प्रहरीको टोली क्वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा बसेकाले बिहानैदेखि भोक हडताल सुरू गरेका हुन् ।

क्वारेन्टाइनमा तनाव भएपछि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय राजविराजबाट प्रहरी नायव उपरीक्षक तिलक भारती क्वारेन्टाइनमा पुगेका छन् ।
स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सञ्जय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आएर क्वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्वारेन्टाइनमा १० जना महिलासहित ७३ जना रहेका छन् ।

मध्यराति प्रहरीले कोठाकोठामा छिरेर अभद्र व्यवहार गर्दै कुटपिट गरेको अनु कुमारीले बताइन् । क्वारेन्टाइनमै रहेका शिव मुखियाले भने, ‘मदिरा सेवन गरेर आएका प्रहरीले बिनाकारण कुटपिट गरे ।’ क्वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७ ११:०६