सोमबार साँझ बेलुकाको खाना खाएर बेडमा पल्टिएको थिएँ । मोबाइल समातेँ । फेसबुक ‘चेक’ गरेँ । न्यूज फिडको सुरुमै केही समय शिलापत्रडटकममा सँगै काम गरेका सहकर्मी कमलप्रभात विश्वकर्माले पोस्ट गरेको फेसबुक स्टाटसमा पुगेर आँखा रोकियो ।
उनले लेखेका थिए, ‘सोच्छु गोर्खे खुकुरी लिएर रुकुम पहिला जाऊँ कि लिम्पियाधुरा ।’ उनको यो स्टाटसमा अहिले चर्चामा आएका दुवै घटनाको प्रतिविम्ब थियो ।
एक हो– भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी मिच्दै २७ वैशाखमा भारतको पिथौरागढ हुँदै तिब्बतको मानसरोवर जाने सकड–खण्ड निर्माणको उद्घाटन गर्नु ।
दोस्रो हो– शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिकाकाे सोती गाउँकी मल्ल थरकी युवतीलाई प्रेम गरेर बिहे गर्न जाँदा जाजरकोटकाे भेरी नगरपालिकाकाका २० वर्षीय नवराज विकसहित ६ जना भेरी नदीमा डुबेर बेपत्ता हुनु ।
यसमध्ये विकसहित ३ जनाको शव फेला परिसकेको छ । अन्य ३ जना अझै बेपत्ता छन् । यी दुवैमध्ये कमलको स्टाटसले एक राष्ट्रियताको मुद्दालाई प्रतिविम्बित गर्छ भने अर्कोमा जातीयताकै आधारमा आफूजस्ता दलित समुदायमाथि समाजको दृष्टिकोणबारे आक्रोश पोखेको छ ।
उनको स्टाटस समय सान्दर्भिक ठानेर यहाँ जोड्न खोजेका हौँ ।
अब रुकुम घटनातिर फर्कौं
शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीगाउँमा अकल्पनीय घटना भयाे । घटनाको मूल कारण अझै केही नखुले पनि मल्ल थरकी युवतीसँग जाजरकोटका दलित परिवारका युवा नवराजको प्रेम सम्बन्ध र युवती लिन जाँदा ती युवा तथा गाउँलेबीच जातीयताका विषयमा भएको झडपका कारण उनीहरूको ज्यान गएको दाबी गरिएकाे छ । घटनामा नवराज विकसहित ६ जनालाई बेपत्ता पारिएकाे परिवारको आरोप छ ।
प्रहरीका अनुसार जाजरकोटबाट युवती ल्याउन भनी २१ वर्षीय युवा नवराज विकसहित १९ जना सोतीगाउँ पुगेका थिए । त्यसमध्ये केही गैरदलित पनि थिए ।
यसरी सो घटनामा परी मृत्यु हुनेहरूमध्ये विकसहित टीकाराम सुनार र गणेश बुढाथोकीको शव भेटिएको छ । अन्य सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी अझै बेपत्ता छन् ।
उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोली भेरी नदीमा खटिएको छ । घटनाको अनुसन्धान गर्ने भन्दै रुकुम प्रहरीले चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बर मल्लसहित युवतीकी आमा, बुबा र गाउँले गरेर १२ जनालाई नियन्त्रणमा लिएको छ ।
गृह मन्त्रालयले घटनाको छानविन गर्न ५ सदस्यीय छानविन टोलीसमेत गठन गरिसकेको छ । सो घटनालाई लिएर मंगलबारको संघीय संसदमा जनप्रतिनिधिबीच चर्काचर्की नै परेको थियो ।
यस्तो थियो प्रेम सम्बन्ध
गत १३, १४ र १५ पुसमा ३ दिन जाजरकोटको भेरी नगरपालिकामा रमाइलो मेला लागेको थियो । सोही मेलामा रुकुमकी १७ वर्षीया मल्ल थरकी ती युवती पनि जाजरकोट पुगेकी थिइन् ।
त्यहीँ उनको नवराज विकसँग प्रेम बस्यो । त्यसयताको ५ महिना उनी नवराज विकसँगै प्रेम सम्बन्धमा थिइन् । १७ वैशाखमा उनको प्रेममा एकाएक ब्रेक लाग्यो । जातीयताको कारण देखाउँदै युवतीका आमा बुबाले सम्बन्ध छुटाइदिने प्रयास गरे ।
प्रेमिका भेट्न रुकुम पुगेका विकलाई नियन्त्रणमा लिए । उमेर नपुगेकी युवतीलाई प्रेम गर्न नहुने भन्दै विकलाई प्रहरी कार्यालयमा समेत पुर्याए ।
विक र उनकी १७ वर्षीय प्रेमिकाले उमेर पुगेपछि मात्र बिहे गर्ने सहमति गरेर आ–आफ्नो घर फर्के ।
त्यस दिनदेखि युवतीको परिवारबाट विकसँगको सम्बन्ध तोड्न ती युवतीलाई दबाब आयो । अन्ततः युवती नवराज विकसँगको प्रेम सम्बन्ध तोड्ने निर्णयमा पुगिन् । विकको मोबाइल नम्बर ब्ल्याक लिस्टमा राखिन् ।
सो कुरा ती युवतीले रुकुम प्रहरीलाई बयानमा बताइसकेकी छन् । रुकुम प्रहरी स्रोतका अनुसार पनि पछिल्लो समय युवती र विकबीचको सम्बन्ध बिग्रिएको थियाे।
‘पहिला उनीहरूबीचको प्रेम सम्बन्ध रहेछ । वैशाखयता उनीहरूबीचको सम्बन्ध बिग्रेको देखियो । त्यसयता युवतीले फोन पनि नगरेको बयान दिएकी छन् । हामी कल डिटेल हेर्दै र्छौं,’ रुकुम प्रहरी स्रोतले भन्यो ।
यस्ताे छ गुत्थी कुरा
गत शनिबार नवराज विकसहित १९ जनाको टोली सोतीगाउँ पुग्यो । सोतीका स्थानीयको भनाइअनुसार उनीहरू करिब ५ बजे गाउँ पुगेका थिए । गाउँमा बिहे गर्ने हिसाबले उनीहरू पुगेका थिएनन् ।
बरु १७ वैशाखमा नवराज विकलाई प्रहरीसम्म पुर्याउने स्थानीय विनोद मल्लसँग निहुँ खोज्ने र झगडा गर्ने नियतले उनीहरू सोतीगाउँ पुगेका थिए । गाउँ पुगेपछि उनीहरूमध्ये केही युवायुवतीको घरमा पुगेका थिए ।
कोही 'विनोदको घर कुन हो ?' भन्दै खोज्दै थिए । त्यसबीचमा उनीहरूको गाउँलेसँग विवाद भयो ।
गाउँलेले चारैतिरबाट घेरा हालेर नवराजलगायतकाे समूहलाई लखेटे । यसमध्ये १२ जना युवाले भेरी नदीमा हाम फाले । ६ जनाको नदीले बनाएर ज्यान गयो । ६ जना नदी पार गर्न सफल भए ।
सोतीका स्थानीयको भनाइअनुसार उनीहरू युवतीलाई बिहे गरेर ल्याउनभन्दा आफ्नो प्रेम सम्बन्ध भत्काउन युवतीलाई दबाब दिनेहरूसँग प्रतिकार गर्न पुगेका थिए ।
‘अहिले जसरी जातीयतालाइ मात्र जाेडेर बाहीर कुरा आयाे । त्याे हाेइन । बैशाखमा जातीय कुरा नमिल्ने भन्दै बिहे नगराएकै हाे । तर, शनिबारकाे घटना उनीहरू गाँउलेसँग त्यही बिषयलाइ लिएर विवाद गर्न आएका थिए,’ एक स्थानीयले भने ।
भगाएर युवतीलाइ लिने उदेश्यले आएकाे भए दिउँसै त्यत्राे हुल गाँउ पस्ने नै थिएन भन्रछन उनी । जुन घटनाकाे प्रकृतिले समेत देखाउँछ ।
घटनाले दुःखी बनायोः मेयर, भेरी नगर
शनिबारको घटनाले आफूलाई दुःखी बनाएको जाजरकोट भेरी नगरपालिकाका मेयर चन्द्रबहादुर घर्ती मगरले बताए । ‘जातीयताकै आधारमा जुन घटना भयो, यो एकदमै दुःखद छ । यसले मलाई मात्र होइन, हाम्रो समाजलाई नै दुःखी बनाएको छ । घटनाको निष्पक्ष ढंगले छानविनको माग गरेका छौँ,’ मेयर मगरले भने ।
शव नभेटिएकाहरूको उद्धारमा जुटेका छौँ । उनीहरूसमेत जीवित भेटिन्छन् भन्ने आस टुट्दै गएको उनको भनाइ छ । ‘लकडाउनकाे बेला थियो । १९ जना युवा जुनसुकै उद्देश्यले पनि त्यसरी गाउँ जान हुँदैन थियो । गएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अन्य कारबाही गर्न सकिने धेरै उपायाहरू थिए । गाउँले नै उठेर नदीमा हाम फाल्ने अवस्था आउने गरी कुटपिट हुनु दुःखद पक्ष हो,’ घर्तीले भने ।
पीडित परिवार सबैको माग कानुनी कारबाही नै भएको उनले बताए ।
एसएसपीको नेतृत्वमा अनुसन्धान टोली
चौरजहारी घटनाकाे छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले संघीय इकाई प्रहरी कार्यालय कर्णाली (हाल नेपालगञ्ज) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पोषराज पोखरेलको नेतृत्वमा अनुसन्धान टोली रुकुम पठाएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुुनअनुसार कारबाही हुने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तले बताए ।
‘मान्छे मरेका छन् । के कारणले घटना हुन पुग्यो, त्यसबारेमा अनुसन्धान गर्न एसएसपीको टोली रुकुम पठाएका छौँ । घटनाको निष्पक्ष अनुसन्धान हुन्छ,’ डीआईजी पन्तले भने । मंगलबार मात्र पीडित पक्षबाट साेतीका २० जना भन्दाबढी विरुद्ध किनाटी जाहेरी दिएका छन ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७ ०८:३४