इतिहासमा नेपालीहरूले आफ्नो कार्यकुशलता र बहादुरी विश्व सामुदायसामु देखाइसकेका छन् । दोस्रो विश्वयुद्ध र नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग बहादुरीका साथ लडेर हाम्र पुर्खाहरूले आफ्नो वीरङ्गना देखाएका छन् ।
त्यसैगरी, नेपालीको महिमा र कार्यकुशलता झल्कने ललितकलाको महिमालाई विश्व समुदायसामु चिनाउन राष्ट्रिय विभूति एवं महान् कलाकार अरनिकोले मित्रराष्ट्र चीनको भोटमा गएर आकर्षक स्तूप निर्माण गरेको इतिहास साक्षी छ ।
२१औँ शताब्दीमा महान् कलाकार अरनिकोको पदचाप गर्दै जापानको कडा चट्टानमा विश्वका सबैभन्दा ठूलो बुद्धमूर्ति निर्माणको अगुवाइ गरिरहेका नेपाली युवा हुन् मञ्जुल बराइली ।
सन् २०१६ को सेप्टेम्बरदेखि जापानको खामीआमाकुशा शहरको एउटा पहरामा सुरु गरिएको शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको विशाल मूर्ति निर्माण गर्ने कार्यमा मञ्जुल बराइलीको नेतृत्वको टोलीमा ६ नेपाली युवा मूर्तिकार सहभागी छन् ।
जापान सरकारको विश्व संम्पदा सूचीमा समावेश गर्ने योजनासहित निर्माण हुन गइरहेको सो विशाल मूर्ति ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनामा ४ नेपाली युवा लागिरहेका छन् । २ सय वर्षयताकै मानव निर्मित सबैभन्दा ठूलो ऐतिहासिक मूर्ति कुँद्नका लागि जापान पुग्ने नेपालीहरूमा सानुभाइ विश्वकर्मा (काभ्रे), रामचन्द्र पण्डित (उदयपुर), गणेश बान्तवा राई (मोरङ) र मञ्जुल बराइली (मोरङ उर्लाबारी) छन् ।
२० सेप्टेम्बरमा पहिलो पटक जापान पुगेका थिए उनी । जापान पुगेको भोलिपल्टै मञ्जुलसँगै गएका अन्य ३ नेपाली समकक्षीसहित त्यहाँबाट करिब ९ किलोमिटर टाढा रहेको खामीआमाकुशा पुगे । उनीहरूले कल्पना गरेको जापानभन्दा पृथक् थियो त्यो ठाउँ । सुनसान बस्ती । नेपालकै जस्तै गाउँले परिवेश, वरपर स्वच्छ सुन्दर हरियाली । अलि केही टाढा आकासिएका ठूलठूला पहाड र विशाल ढुंगा । त्यही भीमकाय ढुंगामा निर्माण हुने ऐतिहासिक बुद्धमूर्तिको शिलान्यास हुने कार्यक्रम थियो त्यही दिन ।
शताब्दीकै सर्वाधिक ठूलो मूर्तिको शिलान्यास हुँदै गर्दा ठूलो संख्यामा मानिसहरू उत्साही भएर पुगेका थिए । बुद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको देश जापान, त्यसमा पनि उनीहरूले पुज्ने आस्थाका धरोहर बुद्ध भगवानको विशाल मूर्ति शिलान्यासको खुसी ।
जापानीहरू शताब्दीकै ठूलो बुद्धमूर्ति निर्माण हुने खुसीमा रमाइरहँदा मञ्जुल बराइलीको मनमस्तिष्क भने त्यही आँखैअगाडिको भीमकाय चट्टानमा घोत्लिँदै थियो । उनको मानसपटलमा चुनौतीका ज्वारभाटा चलिरहेका थिए- ओहो ! यतिका विशाल ढुंगामा मूर्ति निर्माण गर्न सकिएला कि नसकिएला ? यदि कुनै कारणले असफल भए के होला ?
उनले जीवनकै पहिलो यतिका ठूलो मूर्ति निर्माणको काममा हात हालिरहेका थिए । शताब्दीमै एकदमै कम व्यक्तिले मात्र यस्तो कामका लागि अवसर पाउँछन् । शताब्दीमै जुरेको चुनौतीलाई अवसरमा बदल्नु थियो । उनले नेपाल आमा र कोटीकोटी देवीदेउतालाई सम्झिएर ऐतिहासिक मूर्ति निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
मञ्जुल त्यही पहरोमा डोरीमा झुण्डिएर चट्टानमा बुद्धको आकृति तयार गर्ने काममा तल्लीन हुन थाले । ७० फिट अग्लो झरना भएको कालो पत्थरमा डोरीमा झुण्डिदै २ सय फिट दायाँ र बायाँ फिता नाप्ने दैनिकी बन्यो ।
फिक्का हरियो रङको लुगा, पहेँलो हेलमेट, कम्मरमा कालो पेटी र हातमा औजार बोकेर मञ्जुल उक्त पहरोमा तुर्लुङ्ग झुण्डिएर मूर्ति कुँद्दै छन् । त्यहाँको भीमकाय त्यो कालो पत्थरमा खोपेर उनीहरू बुद्ध खोज्दै छन् । मञ्जुलको नियमित एउटै दैनिकी भइरहेको पनि अहिले ४ वर्ष भयो । तर पनि उनीहरू थाकेका छैनन् ।
मूर्तिको निर्माण सम्पन्न भएपछि दर्शनका लागि पुग्ने दर्शनार्थी र खोज अनुसन्धानकर्ताले गर्ने कल्पनाका बारेमा घोत्लिन्छन् उनी- के सोच्लान् उनीहरूले ? यतिको विशाल मूर्ति कसले बनायो होला ? कतिको जोखिम मोलेर बनाएको होला ? साँच्चि यतिको ठूलो मूर्ति बनाउन साहस र हिम्मत गर्नेको नाम र देश कुन होला ? यस्तैयस्तै कौतुहलताको खोजी गर्नेछन् त्यहाँ पुग्नेहरूले । अनि सम्झनेछन्- वाह ! वीर गार्खाली नेपालीका महान् सन्तान मञ्जुल बराइली भनेर ।
जापानको एउटा संस्थाले कामिआमाकुशा क्षेत्रको कडा चट्टानमा विश्वमा २ सय वर्षको समयावधिमा निर्माण गरिएका भन्दा ठूलो आकारको बुद्धमूर्ति बनाउने प्रस्ताव आएपछि आफ्नो कला र देशको गौरवका लागि पनि सहर्ष स्वीकार गरेको मञ्जुल बताउँछन् ।
‘विश्वकै सबैभन्दा ठूलो बुद्धमूर्ति बनाउने योजनालाई अवसर र चुनौती दुवैका रूपमा स्वीकार गरेको थिएँ,’ उनले भने, ‘जापानजस्तो समृद्ध देशले एउटा नेपाली नागरिकलाई त्यस्तो महान् कामका लागि विश्वास गरेर अवसर दिनु चानचुने अवसर थिएन, जसले मलाई र देशलाई एकसाथ चिनाउँछ । देशको इज्जत प्रतिष्ठा बढ्छ । त्यसैले पनि मैले सहजै उक्त कामका लागि जापान जाने निर्णय लिएँ ।’
मूर्तिकार मञ्जुल जापानबाट ऐतिहासिक काम गर्ने प्रस्ताव आएपछि निक्कै सोचविचार गरेर अगाडि बढे । जापान सरकारको प्रस्ताव स्वीकार गरेर उनी अहिले ७० फिट अग्लो एउटा, ४० फिटका दुईवटा र ३० फिट अग्ला चारवटा मूर्ति निर्माण गरिरहेका छन् ।
‘५ वर्षभित्र सबै मूर्ति निर्माणको काम सक्ने गरी सम्झौता भए पनि निर्माण कार्य थपिएपछि समयावधि पनि १ वर्ष थपिएर ६ वर्ष पुगेको छ,’ उनले भने, ‘मूर्ति निर्माण थालेको झण्डै ४ वर्ष पुग्न थालेको छ । आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने गरी कार्य गरिरहेका छौँ ।’
मूर्ति बनाउन ३ वर्षअघि जापान पुगेर काम गरेका पुरानो टोलीका दुई जना यसबीचमा नेपाल फर्किए । त्यसपछि उनले नै नयाँ मूर्तिकारहरू जीवन पौडेल, रामकुमार राई, चतुरलाल राजवंशी र सुवास विश्वकर्मालाई जापान बोलाए । काम सकाउन तोकिएको भन्दा बढी समय लाग्ने देखिएपछि थप चार कलाकार कम्पनीकै स्वीकृतिमा बोलाएका थिए । अहिले ६ जना युवा मूर्ति कुँद्ने काममा तल्लीन छन् ।
कलाको विकासमा सरकारको कमजोरी
कलाकार मञ्जुलले देशमा काम गर्ने वातावरण नभएकाले आफ्नो सीपले अर्काको देशको पहाडमा ढुंगा खोपेर नेपालमै जन्मेका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको मूर्ति बनाएर सीप बेच्न बाध्य भएको दुःखेसो पोखे ।
‘नेपालमा यस्ता काम गर्ने अवसर र वातावरण बनेको भए ठूलाठूला पहाडलाई खोपेर विशाल मूर्ति बनाएर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिन्थ्यो ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७ १२:०४