प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर मेसिनबाट परीक्षण फेरि बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पीसीआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो ।
यसअघि राष्ट्रिय प्रयोगशालाले पठाएको पीसीआर मेसिनले भरपर्दो नतिजा दिन नसकेपछि नयाँ मेसिन जडान गरिएको थियो । तर, यो पनि काम गरिरहेको छैन ।
वैशाख २४ गतेमा संकलित पत्रकारको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर मेसिनले नेगेटिभ नतिजा दिएको थियो । तर, राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गरिँदा १ जना पत्रकारसहित २ जनामा पोजिटिभ देखिएपछि पीसीआर मेसिन बन्द गरिएको प्रादेशिक प्रयोगशाला स्रोतले बताएको छ ।
‘यहाँको पीसीआर मेसिनले सबै रिपोर्ट नेगेटिभ देखाएको थियो,’ प्रादेशिक प्रयोगशालामा कार्यरत एक कर्मचारीले भने, ‘तर, सोही स्वाब टेकुमा परीक्षण हुँदा २ जनामा पोजिटिभ देखिएपछि ३/४ दिनदेखि परीक्षण भएको छैन ।’
अब संकलन गरिएका स्वाब टेकु पठाइने उनले बताए । पहिलो पटक प्राविधिकले जडान गरे पनि पछिल्लो पटक पीसीआर मेसिन जडान गर्न प्रयोशालाका निर्देशक डा. रुना झा स्वयं जनकपुरधाम पुगेकी थिइन्।
अर्को मशिन ल्याउने स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको अस्पतालका अधिकारीहरूले बताएका छन् । मशिनको समस्या हो वा जाँच्ने प्राविधिकको त्यो पनि स्वास्थ्य मन्त्रालयले जाँच गर्ने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७ १८:३३