म्याग्दीमा एम्बुलेन्स दुर्घटना भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन म्याग्दीको बेनीतर्फ आउँदै गरेको एम्बुलेन्स दिउँसो म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीको रिठेबोटमा दुर्घटना भएको हो ।
मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रको ग १ झ ३११ नम्बर एम्बुलेन्स दुर्घटनामा परी कालिगण्डकी नदीमा खसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कँुवरले जानकारी दिए । ‘एम्बुलेन्समा चालक मात्र आएको भन्ने खुलेको छ’ उनले भने, ‘अहिले घटनास्थलमा शसस्त्र र जनपद प्रहरीले खोजी जारी राखेको छ ।’
दुर्घटनाग्रस्त एम्बुलेन्सका चालक सुजन विक बेपत्ता रहेको डिएसपी कुँवरले बताए । चालक मुस्ताङको थासाङ गाउँपालिका-४ झिप्रा देउरालीका सुजन विक रहेको बुझिएको छ । उनी लेते प्राथमिक स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७ १९:५०