आज भारतको मुम्बईबाट असुरक्षित यात्रा गर्दै २० वैशाखमा नेपाल भित्रिएका बाँकेको नरैनापुरका २५ वर्षीय युवकको दीपेन्द्र माविको क्वारेन्टाइनमा मृत्यु भयो । उनी नेपाल गत मंगलबार आएका थिए अर्थात् नेपाल आएको ५ दिनपछि उनको मृत्यु भयो ।
कोरोना संक्रमण भएको व्यक्तिको संक्रमणकाल सामान्यतया २-१४ दिनको हुन्छ । त्यसपछि लक्षण देखिएर मृत्यु हुनका लागि थप २-३ हप्ता लाग्छ ।
यो मृत्यु प्रकरणबाट के बुझिन्छ भने उनी विगत २-३ हप्ता पहिलेदेखि संक्रमित थिए । संक्रमित व्यक्तिलाई परीक्षण गरेर भारत सरकारले आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो । विश्व स्वास्थ्य सङ्गठनको नियमअनुसार तथा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार यता भएका भारतीयलाई नेपाल सरकारले र उता भएका नेपालीलाई भारत सरकारले परीक्षण गर्ने, आइसोलेसनमा राख्ने, उपचार गर्ने तथा लकडाउन खुलेपछि हस्तान्तरण गर्नुपर्ने हो । तर, भारतले असुरक्षित रूपमा संक्रमित नेपालीलाई नेपाल आउन दिइरहेको छ अर्थात् नेपाल भित्र्याउन सहजीकरण गरेको छ । यो निकै गम्भीर कुरा हो । यो विषयमा नेपाल-भारतबीच पुन: छलफल हुनु जरुरी छ ।
त्यस्तै, मृतकलाई शनिबार रातीदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो ।
विश्व्यापी तथ्याङ्क हेर्ने हो भने यो उमेरका व्यक्ति जोखिम वर्गमा पर्दैनन् अर्थात् यो उमेरका व्यक्तिको मृत्युदर ०.२ प्रतिशत मात्र छ ।
मलाई लाग्छ, उनको आरडीटी तथा पीसीआर कुनै पनि परीक्षण गरिएको थिएन । आरडीटीको नतिजा तुरुन्तै आउँथ्यो । त्यसमा पोजिटिभ देखिए उनी अस्पतालमा हुने थिए । उनको परीक्षण भएको भए पीसीआरको रिपोर्ट नआएको पनि हुन सक्छ ।
हामीकहाँ भएका अधिकांश क्वारेन्टाइन केन्द्र असुरक्षित र असुविधाजनक छन् । बेडबीचको दूरी, शौचालयको अवस्था, पंखा तथा खानेपानीको पर्याप्त व्यवस्था धेरै ठाउँमा छैन ।
उनलाई शनिबार रातीदेखि ज्वरो एवं झाडापखाला लाग्दा शरीरमा जलवियोजन अर्थात् डिहाइड्रेसन भएर उनको मृत्यु भएको हुन सक्छ । बाँकेको प्रचण्ड गर्मीमा उनलाई ज्वरो कम गर्ने, पखाला ठीक गर्ने तथा प्रशस्त मात्रामा जीवनजल पानी वा सलाइन दिइएको थियो कि थिएन ? यसको विवरण आउन बाँकी छ । त्यस्तै, उनलाई कुनै दीर्घरोग थियो कि थिएन ? उनको स्वास्थ्य अवस्था कस्तो थियो ? मृत्युको कारण के थियो ? जस्ता अनुसन्धान गर्नु जरुरी छ । पोस्टमार्टमबाट धेरै अवस्था जानकारी हुनेछ ।
हामीकहाँ क्वारेन्टाइन सेन्टरबाट त्यहाँ बसेका व्यक्तिहरू भाग्ने कारण निराकरण गर्नु जरुरी छ । यो प्रचण्ड गर्मीमा स्वस्थ खाना, पर्याप्त खानेपानी, पंखा, हावा, प्राथमिक उपचार, योग, सङ्गीत, मोटिभेसनल स्पिच, स्वास्थ्यकर्मीको व्यवस्था तथा परीक्षणको सुगम व्यवस्था गर्नु जरुरी छ । अन्यथा संक्रमितहरूले आफू संक्रमित भएको थाहा नपाई मृत्युवरण गर्नुपर्ने नियति बढ्दै जानेछ ।
(जनस्वास्थ्यविज्ञ डा. पाण्डेको फेसबुकबाट)
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७ १८:२५