कोरोना भाइरसबाट संक्रमितहरूलाई दिइने सुबिधा र उपचारको व्यवस्थापनलाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज वीरगञ्जको अनुमगन गरेका छन् ।
मुख्यमन्त्री राउत गत १ सातादेखि काठमाडौंमा बस्दै आएका थिए । पार्टीको मूल समितिहरू निर्माण भइरहेकाले पद लिन कसरत गरिरहेका उनको प्रदेशभरी कडा आलोचना भइरहेको थियो । कतिले मुख्यमन्त्री हराए खोजी गरिदिन अनुरोध भनेर समाजिक सञ्जालमा स्टाटससमेत लेखेका थिए ।
कोरोना महामारीले उग्ररूप लिन थालेको बेलामा वीरगञ्जमा पुगेका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नुपर्ने कामबारे सरोकारवालासँग सल्लाह लिएका छन् । साथै, उनले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राउतले आइसोलेसन तथा क्वाइरेन्टाइनमा देखिएका समस्याहरू, अगामी दिनमा थपिन सक्ने संक्रमितको उपचारको तयारी, विदेशमा रहेका नागरिकलाई फिर्ता ल्याउनुपर्ने अवस्थाको लागि गर्नुपर्ने तयारीबारे पनि छलफल गरेका थिए ।
सरकारले हालै सबै जिल्लामा क्वारेन्टाइन स्थापना गर्नेबारे गरेको निर्णय कार्यान्वयनका लागि सम्भावित स्थलको पहिचान तथा स्थानीय राजनीतिक दल एवं सरोकारवालासँगको समन्वय र सहकार्यलाई निरन्तरता दिनसमेत उनले निर्देशन दिएका छन् ।
छलफलमा वीरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी, समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गंगा पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगाएतको सहभागिता रहेको थियो ।
सो अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदको लागि ३१ लाख २५ हजार रुपैयाँको चेकसमेत हस्तान्तरण गरेका थिए ।
प्रदेशबासीले मुख्यमन्त्री राउतलाई बैठक तथा अनुगमन गरेर मात्रै कोरोना नियन्त्रण नहुने भएकाले ठोस निर्णय लिन सुझाव दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्स जनकपुरधामका अपाध्यक्ष सरोज मिश्रले १ महिनादेखि प्रदेश सरकारले आफ्नो अधिकांश समय बैठक खर्च गरे पनि उपलब्धि शून्य देखिएको आरोप लगाए ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७ २०:११