कैलालीपारि भारतमा रहेको क्वारेन्टाइनमा डेढ महिना बिताएर नेपाल फर्किएका गौरीगंगा नगरपालिका–८, लिक्माका राजाराम चौधरी गौरीफन्टा नाका हुँदै नेपाली भूमिमा पाइला टेक्दा भावुक बने ।
उनी भन्छन, ‘नचाहँदानचाहँदै पनि कहिलेकाहीँ आँसु खस्दो रहेछ, यो खुसीको आँसु हो ।’ भारतीय क्वारेन्टाइनमा ५९ दिन बिताएका उनी त्यहाँका पीडा सम्झिँदै भन्छन्, उतै मर्छु कि जस्तो लागेको थियो, बाँचेरै आइयो ।’
बरेली उखु उद्योगमा काम गरिरहेका उनीसहित १५ जना लकडाउनकाे समयमा हिँडेर आए पनि चोर नाकाबाट प्रवेश गर्न खोजिरहेका उनीहरूलाई बनरा कटानबाट सुरक्षाकर्मीहरूले पुनः पलिया लगे ।
‘नेपाल आउँदै गर्दा फेरि भारतको पलिया लगियो । कहिले गिलो, कहिले काँचो भात दिन्थे, सुत्न पनि पाइँदैनथ्यो, धेरै लामखुट्टेको टोकाइ खानु पर्यो,’ उनले भने, ‘एउटै कोठामा १७/१८ जनालाई राख्थे, कोरोनाको डर पनि उत्तिकै हुन्थ्यो । तर, यहाँसम्म बाँचेर आयौँ, अब त बाँच्छौँ भन्ने आशा पलाएको छ ।’
गौरिफन्टा नाका हुँदै शुक्रबार उनीसँगै आएका धनगढी उपमहानगरपालिकाका महेश चौधरी निकै खुसी देखिन्थे । भारतमा निकै सास्ती खेप्दै १ सय १७ दिनपछि नेपाल आउन पाएका उनमा खुसीको सीमा नै थिएन ।
उनले भने, ‘भारतमा पुगेकाे २ महिना भएको थियो, कोरोनाको संक्रमण फैलिन थालेपछि घर आउन खोजेँ । तर, आउन खोज्दा लकडाउनमा फसेँ । त्यसपछि मलाई पलियाको क्वारेन्टाइनमा राखियो, त्यहाँ एकदमै सास्ती खेप्नु पर्यो ।’
खुट्टा धोएको पानीको चिया दिन्थे
‘खाना खान लाइन लाग्नुपर्ने, खाना पनि मीठो नपाइने, पानी खान नपाइने, राति लामखुट्टेको टोकाइले सुत्नै नसकिने धेरै कष्ट सहनुपर्यो,' उनले थपे, ‘त्यसमाथि भारतीयहरूको दुर्व्यवहार, चिया पनि खुट्टा धोएको पानीको बनाएर दिने, यतै मरिन्छ कि जस्तो लागेको थियो बाँचेरै आयौँ, यसमै धेरै खुसी छौँ ।’
शुक्रबार भारतका विभिन्न स्थानमा अलपत्र परेका तथा क्वारेन्टाइनमा रहेका ४ सय ८० जना नेपालीको उद्धार गरिएको छ ।
सीमामै उनीहरूको र्यापिड टेस्ट गरिँदै छ । र्यापिड टेस्टपछि उनीहरूलाई नेपाली भूभाग प्रवेश गर्न दिइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
कैलाली घर भएकाहरूलाई आज स्थानीय तहमा पठाइएको छ भने अन्य जिल्लाका नेपालीहरूलाई आज कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७ १९:१०