यसैसाता नेपालले लगानी सम्मेलन गर्दैछ । सम्मेलनबाट विदेशी लगानी भित्र्याएर आर्थिक बिकाश र समृद्धि हाँसिल गर्ने सरकारको लक्ष्य छ । यो लक्ष्यमा पुग्न विदेशीसँगै स्वदेशी लगानीकर्तामा पनि उत्तिकै उत्साह जरुरी हुन्छ । सम्मेलनको सम्मुखमा स्वदेशी लगानीकर्ता सरकारबाट के चाहन्छन् भन्ने प्रश्नपनि उत्तिकै महत्वपूर्ण छ । विदेशी लगानीकर्ताले पनि स्वदेशी लगानीकर्तासँगको समन्वय र सहकार्यमा लगानी गर्ने हुनाले स्वदेशी लगानीकर्ताको मनोभाव कस्तो छ भन्ने पनि चासोको बिषय छ । यही पृष्ठभूमिमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष पशुपति मुरारकासँग शिलापत्रका लागि शिव सत्यालले कुराकानी गरेकाछन् ।
लगानी सम्मेलनमा कसरी सहभागी हुदै हुनुहुन्छ ?
लगानी सम्मेलनको लागि मैले कुनै परियोजना राखेको छैन । सहभागी हुने नहुने अहिले (गत शुक्रबार विहान अन्तर्वार्ता लिएको समय) सम्म निम्तो पनि आएको छैन । रजिष्ट्रेसन पनि गराएको छैन । कुनै तरिकाले सहभागी हुन्छु । निम्ता नै नआउने भन्ने त हुदैन । आउँछ ।
तपाइले मात्रै निम्तो नपाउनुभएको हो कि अरु नेपाली लगानीकर्ताले पनि नपाएको होला ?
निम्तो नै नआउने होइन होला । आउँदै होला । अहिलेसम्म नआइपुगेको होला । निम्ता आउँछ होला । अर्कोकुरा म नेपाल उद्योग बाणिज्य महासंघको निवर्तमान अध्यक्ष पनि हूँ ।
तपाइ र तपाइको समुहले नेपालमा उत्पादन क्षेत्रमा कति लगानी गरेको छ ?
राम्रो लगानी होला । उत्पादनमुलक क्षेत्रमा नै बढी लगानी गरेका छौं । म संलग्न भएको समुहले गरेको लगानीमा उत्पादनमुलक क्षेत्रमा मात्रै करिब ३ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका होलान् ।
यति लगानी भएको छ भन्न मिल्दैन ?
लगानीको अंक नै त किन भन्नुपर्यो र । रोजगारीको संख्या भनिहालें । बढी लगानी उत्पादनमुलक क्षेत्रमा नै छ । ‘भ्यालु एडिसन’ हुने क्षेत्रमा लगानी छ । फेरि हिजो गरिएको लगानी र आजको बजार पुँजीकरणको अंक फरक हुन्छ । त्यसैले कुन अंक भन्ने अवस्था पनि आउँछ ।
बजार पुँजीकरणकै हिसाबले भन्नुस् न कति लगानी छ ?
नेपाली उद्योगीको इतिहास धेरै लामो छैन । नेपालको पुँजी निर्माणको अवस्था पनि धेरै राम्रो छैन । त्यसैले म संलग्न समुहको लगानी १ खर्ब रुपैयाँभन्दा बढी त पक्कै पनि छ ।
तपाइ संलग्न समुहको उत्पादनमुलक क्षेत्रमा कति कम्पनी छन् ?
त्यस्तै १३/१४ वटा कम्पनी छन् । यो संख्या भनेको हाम्रो समुह प्रत्यक्ष संलग्न भएको संख्या हो ।
करिब ३ हजारलाई रोजगारी दिएको, १ खर्बभन्दा बढी लगानी भएको र १४ वटा उद्योग चलाइरहेको एफएनसीसीआइको निवर्तमान अध्यक्षलाई नै त्यति महत्व नदिएर गर्न लागेको लगानी सम्मेलन कत्तिको प्रभावकारी होला ?
निम्ता आउँछ होला । आउँदै होला ।
यो बेला पनि नीजि क्षेत्र सरकारलाई सहयोग गर्न नचाहिरहेको हो ?
त्यसो भन्न मिलेन । नेपाली उद्योगी व्यवसायीले नेपाल सरकारलाई सहयोग नगर्ने भन्ने त कुरै आउँदैन । हामी यहीँ उद्योग व्यवसाय गरिरहेका छौं । गर्न चाहेका छौं । यसको लागि सरकारको सहयोग हामीलाई चाहिन्छ । सरकारलाई हाम्रो सहयोग चाहिन्छ भने हामी जहिल्यै तयार छौं । मैले तपाइको यो प्रश्न नै बुझिनँ ।
राजनीतिक अस्थिरताको कारण नेपालको विकास भएन, उद्योग व्यवसाय फष्टाउन सकेन भनेर निजी क्षेत्रले गुनासो गर्दै आएको थियो, अहिले दुई तिहाईको सरकार छ, यस्तो बेलामा पनि लगानी बृद्धि नगरेर निजी क्षेत्रले सरकारलाई असहयोग नै गरेको होइन र ?
तपाइले भनेको कुरा ठीक हो । हिजोका दिनमा हामीले राजनीतिक अस्थिरताको कारण नै आर्थिक गतिविधि कम भए, विकास भएन भन्यौं । हाम्रो बढी जोड राजनीतिक स्थिरतामा थियो, हाम्रो बढी आरोप राजनीतिक अस्थिरताप्रति थियो । तर, मलाई लाग्छ अझ पनि ‘माइण्ड सेट’ परिवर्तन भएको छैन ।
मैले धेरै पहिलादेखि उठाउँदै आएको विषय के हो भने नाफा कमाउनुलाई पाप मानिनु भएन । कोही व्यक्ति लोकसेवा पास गरेर शाखा अधिकृत बन्छ भने उसले मुख्यसचिव बन्ने सपना पाल्नै पर्छ । कसैले राजनीतिमा नै आफ्नो ‘करिअर’ बनाउन चाहन्छ भने उसले कुनै दिन प्रधानमन्त्री वा राष्ट्रपति बन्ने ध्येय राख्छ ।
त्यस्तै उद्योग व्यवसायमा लागेको व्यक्तिले पनि नेपालको सबैभन्दा ठूलो उद्योगी व्यवसायी, सबैभन्दा बढी कर तिर्ने व्यक्ति र सबैभन्दा बढी रोजगारी दिने व्यक्ति बन्ने सपना पाल्छ नै ।
राजनीति गर्ने व्यक्ति भित्तामा नारा लेखेको भरमा प्रधानमन्त्री बन्छ, राष्ट्रपति हुन्छ । मैले त्यसलाई गलत भनेको होइन । तर, उसको बृत्ति विकास कहाँबाट कहाँ पुगेको हुन्छ ? यसैगरी आज एउटा सानो पसल खोलेको व्यक्ति भोलि ठूलो उद्योगी बन्छु भन्ने सपना पाल्छ भने उसलाई किन गतल भन्ने ? आज एउटा सानो पसल सुरु गरेको व्यक्ति नाफा गर्दै अगाडि नबढी ठूलो उद्योगी बन्नै सक्दैन । अनि उद्यम व्यवसाय गरेर नाफा गर्नुलाई किन गलत नजरले हेर्ने ? समस्या यहाँ छ ।
नाफा गर्ने व्यक्तिलाई कसले गलत नजरले हेरेको छ र ?
हिजोको दिनमा हेरिन्थ्यो । आजको दिनमा पनि कुनै परिवर्तन आएको छैन । हामीलाई जसले जहाँ देखे पनि नाफाखोर भन्दै हेयको दृष्टिले हेरिन्छ ।
यो विषय तपाइले कर्मचारी संयन्त्र, राजनीतिज्ञ वा सर्वसाधारणमध्ये कोप्रति इंगित गर्न खोज्नुभएको ?
सबैले हामीलाई त्यसरी नै हेर्छन । हामीलाई नाफाखोर भन्छन् । ‘माइन्डसेट’ नै त्यस्तै बनेको छ, बनाइएको छ । जवसम्म नाफा गर्नुलाई पापको रुपमा बुझिन्छ, तवसम्म केही हुदैन ।
राज्य भनेको त लगानी नगरेको मेरो व्यवसायिक साझेदार हो ।
नाफा गर्नु अपराध होइन । हो, तस्करी गर्नुभएन, करछली गर्नुभएन । राज्यको ‘कम्प्लायन्स’ पूरा गरेर कसैले नाफा गरेको छ भने त्यसलाई फेरि किन गलत नजरले हेर्ने ? जुनदिन मैले मेरो यो कम्पनीवाट यति नाफा गरें भनेर गर्वकासाथ भन्न सक्ने र पाउने अवस्था आउँछ तवमात्रै मैले महसुस गर्नेछु, परिस्थिति परिवर्तन भएछ ।
उद्यम व्यवसायको लागि राम्रो वातावरण बनेछ । यहाँ त आफूले लगानी गरेर कमाएको नाफा पनि लुकाएर बस्नु परेको छ । तपाइले कति लगानी छ भनेर प्रश्न गर्दा म त्यति लामो समय अनकनाएर प्रश्न टार्ने प्रयास गर्नुपरेको छ । यो अवस्था उद्यम व्यवसायको लागि अनुकुल होइन ।
काम परेर कुनै सरकारी कार्यालयमा गएँ भने यसले कुन माध्यम प्रयोग गरेर फेरि नाफा कमाउन खोजेछ भन्ने दृष्टिले हेरिन्छ । साच्चै भन्ने हो भने म कसैलाई रोजगारी दिउँला भनेर उद्योग व्यवसाय गर्दिनँ । राज्यलाई यति राजस्व जम्मा पारिदिउँला भनेर पनि मैले लगानी गरेको होइन । म व्यापार गर्न चाहन्छु । उद्योग गर्न चाहन्छु । मेरो व्यापार र उद्योग चल्यो भने नाफा हुन्छ, राज्यले कर पाउँछ । सर्वसाधारणले रोजगारी पाउँछन् ।
मैले नाफा गरे मात्रै राज्यले कर पाउने हो । राज्य भनेको त लगानी नगरेको मेरो व्यवसायिक साझेदार हो । कर तिर्ने भनेको र राज्यको नियम कानुन पालना गर्नै पर्ने भएकोले मैले मजबुरीमा दिने हो । राज्यले हामीलाई सहजीकरण गर्ने हो । र, हामीले कमाएको नाफा फेरि यही लगानी गर्ने हो ।
व्यवस्था परिवर्तन भएर नयाँ संविधान आएपनि मानसिकता परिवर्तन भएन भन्न खोज्नुभएकोे ?
मान्छे त तिनै हुन् । हिजोको कर्मचारी नै आज पनि छन् । कार्यान्वयन गर्ने उनीहरु नै हुन् । मानसिकता त्यही हो । संविधानमा पनि कतिपय कुराहरु बाझिएका छन् भन्ने मलाई लाग्छ ।
जस्तो कि संविधानले सम्पत्तिको हकको कुरा गर्छ । खुल्ला बजार अर्थतन्त्रको कुरा गर्छ । फेरि समाजवाद उन्मुख अर्थव्यवस्था पनि भनिएको छ । यी विषय आफैमा परस्पर विरोधी हुन् जस्तो लाग्छ । एकातिर खुल्ला बजार अर्थतन्त्र भनिन्छ अर्काेतिर मूल्य नियन्त्रण गर्न जाने कुरा छ । मैले समाजवाद वा खुल्ला बजार अर्थतन्त्र चाहिन्छ भनेको होइन । जे चाहिने हो त्यो प्रष्टसँग उल्लेख हुनुपर्यो भनेको हूँ । कार्यान्वयन पनि त्यसैगरी हुनुपर्यो ।
नयाँ संविधान पनि बनेको र दुई तिहाई बहुमतको सरकार बनेपछि राम्रो होला भनेर बसेको निजी क्षेत्र अहिले निरास छ भन्न खोज्नुभएको हो ?
निरास त भएका छैनौं । तर कहिलेकाही दिक्क भने लाग्छ । यो के भएको ? हामीले किन बुझाउन नसकेका, एउटै कुरा कतिचोटी भन्न जानुपर्ने ? भन्ने जस्ता विषय मनमा उठ्छ ।
निजी क्षेत्रले बुझाउन नसकेको भन्दा पनि उसले नै नबुझेको पनि हुन सक्दैन र ?
राजनीति र प्रशासन क्षेत्रको सोच र हाम्रो सोचमा कही न कही मेल नखाएकै हो भने हामीलाई बुझाइ दिनु पर्यो नि । समस्या बुझाइमा हो ।
प्रधानमन्त्री आफैले व्यवसायीलाई भेटिरहनु भएको पनि छ, जायज माग र वास्तविक समस्या समाधान गरिन्छ पनि भन्नुभएको छ, यस्तो बेलामा पनि तपाइहरुका समस्या सम्बोधन किन नभएका होलान् ?
प्रधानमन्त्रीज्यूले भन्ने गर्नुभएको कुरा एकदमै राम्रो हो । सबैले प्रधानमन्त्रीलाई भेट्न पनि सक्दैन । लगानीकर्ताले ऐन कानुन पढेर लगानी गर्ने हो । व्यक्ति भेट्ने होइन, भाषण सुन्ने होइन । प्रधानमन्त्रीज्यूले जे कुरा गर्नुहुन्छ, जसरी कार्यान्वयन गर्न गराउन खोज्नुहुन्छ, त्यसरी कार्यान्वयन भए जस्तो मलाई लाग्दैन ।
त्यसो भए प्रधानमन्त्रीको ‘स्पिरिट’ अनुसार काम नभएको भन्ने तपाइको गुनासो हो ?
मलाई त्यस्तै लाग्छ । प्रधानमन्त्री, मन्त्रीहरुले राम्रोसँग काम गर्न गराउन चाहनुहुन्छ । तर, सेवा प्रवाह हुने ठाउँसम्म त्यसरी आइनपुगेको महसुस मलाई भएको छ । एक दिनमा यसमा सुधार होला जस्तो लाग्दैन ।
माइन्डसेट परिवर्तन गर्ने कुरा हो । त्यो गराउँनै पर्छ । समय लाग्छ । कुनै कर्मचारी पदमा हुँदा एकथरी कुरा गर्नुहुन्छ, पदबाट हटेपछि अर्काे प्रकारको कुरा गर्नुहुन्छ । यो प्रकारको समस्याले उद्योगी व्यवसायी हैरान भएका छन् । कही न कही समस्या छ । लगानी ल्याउन त्यति सजिलो छैन ।
समस्या चाँहि कहाँ छ त ?
‘माइन्डसेट’मै समस्या छ । उद्योगी व्यवसायी सबै ठीक छन्, राज्यको ‘कम्प्लायन्स’ सबैले पूरा गरेका छन् भन्ने मेरो कुरा होइन । तर, सबैलाई एकै नजरबाट हेर्ने प्रबृत्तिमा खोट छ । कही कसैले गलत काम गर्यो भने गलत हुनबाट रोक्नुको साटो काम नै बन्द गरिदिने संस्कार हावी भएको छ । यस्तो हुदा सही काम गर्नेहरु पनि प्रभावित भए ।
आजको दिनसम्म तपाइको उद्योगको के कस्तो समस्या छ, तपाइलाई कहाँ के अप्ठेरो परेको छ भने सोध्ने एक जना पनि भेटेको छैन । के गर्यो भने उद्योग व्यवसाय फस्टाउँछ भनेर सोच्ने एक जना पनि मान्छे छैनन् । के गरी यसलाई रोक्ने भन्ने नै भेटेको छु । हरेक विभागमा यस्तै जनशक्ति छ । मैले समग्रताको कुरा गरेको हूँ ।
मैले त्यो ५ हजार रुपैयाँ डिटेन्सन तिर्दा देशबाट ५ हजार रुपैयाँ बाहिरिएको हुन्छ । यो कुरा कसले सोचिदिने ?
कुनै विभागको अधिकृतले कुनै उद्यमी व्यवसायीको फाइल फटाफट अगाडि बढायो भने यसले किन यति चाढै गर्यो भनेर अर्काेले शंका गरिरहेको हुन्छ । यसको के ‘इन्ट्रेष्ट’ छ र आजको आजै फाइल अगाडि बढाइदियो भनिन्छ । त्यसैले हरेक अधिकृतसँग कम्तिमा एक दिन भएपनि फाइल रोक्नै पर्ने वाध्यता छ ।
‘मैले आजै फाइल पठाइ दिएँ भने किन छिटै फाइल अगाडि बढाइ दियो भनेर मलाई शंका गरिहाल्छन् नि’ भनेर केही कर्मचारीले मसँग नै भनेका पनि छन् । यो प्रबृत्ति छ । यसलाई रोक्न हामीले माहोल बनाउनु पर्छ । उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्छ भन्ने सोच राज्यका माथिल्लो निकायबाटै आउनुपर्छ ।
देश विकास गर्ने हो भने निजी क्षेत्र चाहिन्छ । निजी क्षेत्रविना आर्थिक विकास सम्भव छैन । सरकारले सहजीकरण गर्ने मात्रै हो । एउटा उद्यमीले पैसा कमाएन भने कसरी थप लगानी गर्छ ? कसरी राजस्व तिर्छ ? कसरी रोजगारी प्रदान गर्छ ? उद्यमीले कमाएको पैसामा राज्यदेखि समाजसम्मले हिस्सा पाइरहेको हुन्छ ।
जबसम्म उद्यमी व्यवसायीको पैसा राज्यको हो भन्ने स्वीकार गरिदैन तवसम्म समस्याको समाधान हुदैन । जस्तो कि सीमा नाकामा मैले आयात गरेको सामान बोकेको ट्रक छिट्टै छोडियो भने मेरो ५ हजार रुपैयाँ बच्छ । ढिलो भयो भने मैले डिटेन्सन वापत ५ हजार रुपैयाँ तिर्छु ।
अहिलेसम्म त फलानोको ५ हजार गएर हामीलाई के फरक पर्छ र भन्ने सोचले काम गरेको छ । तर, खासमा मैले त्यो ५ हजार रुपैयाँ डिटेन्सन तिर्दा देशबाट ५ हजार रुपैयाँ बाहिरिएको हुन्छ । यो कुरा कसले सोचिदिने ? कहाँ गएर भन्ने ? राज्यको पैसा गएको भन्ने सोच आएकै छैन ।
नयाँ संविधानअनुसार तीनवटै तहका सरकार बनेको र केन्द्रमा दुईतिहाई बहुमतको सरकार बनेको दिन त उत्साह पक्कै जागेको थियो होला ?
एकदमै आशावादी भएको थिएँ । म्यादी सरकारहरुबाट हामी आजित भइसकेका थियौं । कसैले जिम्मेवारी लिन नचाहने प्रबृत्तिबाट हैरान भएका थियौं । यो सरकार गठन भएको दिन अब कम्तिमा ५ बर्ष यो सरकार रहन्छ, कसैले ढाल्न सक्दैन, राम्रो गर्ला भन्ने सोच थियो । तर सोच र आशा अझै मरिसकेको छैन । एकै बर्षमा धेरै काम हुन सक्दैन ।
तपाइले अपेक्षा गरेको दिशामा सरकार अगाडि बढेको छ ?
आज विश्व हामीभन्दा निकै अगाडि पुगिसकेको छ । हामी धेरै पछि छौं । अब अल्मलिने वा ढिलो गर्ने सुविधा हामीसँग छैन । अरु साइकलमा गएका छन् भने हामी जेटमा गएर मात्रै उनीहरुलाई भेट्न सक्छौं । एकदमै छिटो अगाडि बढ्नुपर्ने वाध्यता छ । तर, निर्णय प्रक्रिया साह्रै सुस्त छ । कुनै स्वीकृति लिन गयौं भने कि काम होस्, कि यो काम हुनै सक्दैन भनेर प्रष्ट रुपमा भनियोस् । एउटै कामको लागि दोहोर्याएर जानै नपरोस भन्ने हामी चाहन्छौं ।
यो सरकार गठन भएपछि स्वदेशी लगानीकर्ता थप पुँजी लगानी गर्न किन उत्साहित भएनन् होला ?
केही लगानी थपिएको छ । तर, जति लगानी थप हुनुपर्ने थियो, त्यति भएको छैन । पुँजी निर्माण जति हुनुपर्ने हो त्यो मात्रामा भएको छैन । जति पुँजी निर्माण भयो त्यही अनुपातमा पुनरलगानी हुने न हो । अहिले पनि हाम्रो देशको व्यापार घाटा बढेको बढ्यै छ । आयात बढेकै छ । निर्यात घटेको छ । हामी प्रतिस्पर्धी बन्न सकिरहेका छैनौं ।
उद्यमी व्यवसायीलाई कतिबेला के ‘सरप्राइज’ आउला भन्ने थाहा छैन । यो सरप्राइज आउने प्रबृत्ति रोकिनु पर्छ । अब यो हुन्छ भनेर आकलन गर्न सकिने अबस्था आउनु पर्छ ।
यो सरकारले एक बर्षको बीचमा ऐतिहासिक रुपमा धेरै कानुन बनायो, कानुन निर्माणमा ध्यान बढी केन्द्रीत गर्दा उद्यमी व्यवसायीको कुरा सुन्न नपाएको हो कि ?
त्यो पनि होला । एकै बर्षमा कायापलट हुनुपर्छ भनेर मैले भनेको होइन । एक बर्षमै कायापलट हुन्छ भनेर सोच्नु सरकारमाथिको ज्याजति पनि हुन्छ ।
त्यो गर्नुपनि हुन्न । कुनै पनि सरकारलाई सबै कुरा सामान्यीकरण गर्न समय लाग्छ नै । कहिले काँही मान्छेको अपेक्षा धेरै भएर त्यो पूरा नहुदा निरासा पनि हुन्छ । यो सरकारप्रति अपेक्षा धेरै नै थियो । अपेक्षा पूरा नभए पनि गति अलि बढाउन सकिन्थ्यो कि भन्ने कुरा हो ।
नेपालले यही साता लगानी सम्मेलन आयोजना गर्दैछ, नेपाली लगानीकर्ताको नै यो प्रकारको गुनासो रहेको अवस्थामा विदेशी लगानी आउँला ?
विदेशी लगानी भित्र्याउन त्यति सजिलो छैन । हामी एकातिर चीन र अर्काेतिर भारतको बीचमा छौं । दक्षिणपूर्वी एशियाली देशहरु लाओस, कम्वोडिया, भियतनाम मात्रै हाइन दक्षिण एशियाली देशहरु बंगलादेश, भुटान जस्ता देशहरु लगानीको लागि भोको भएर बसेका छन् ।
हाम्रा छिमेकी देशहरु चीन र भारत पनि लगानीको लागि त्यस्तै भोका छन् । उनीहरुको सोच हाम्रोभन्दा धेरै अगाडि छ । कुनै लगानीकर्ता चीनमा गएर मेरो यस्तो यस्तो काम गर्ने योजना छ, त्यसको लागि यस्तो सुविधा र पूर्वाधार चाहिन्छ भन्यो भने त्यहाँका सरकारी अधिकारीहरु नै तिम्रो योजना हेर्दा यतिले पुग्दैन, तिमी अलि ‘कन्जरभेटिभ’ भयौं कि, तिम्रो व्यवसाय योभन्दा अझ विस्तार गर्ने गरी सोच, अझ सुविधा बढी चाहिन्छ होला भनेर भन्छन् । हामीकहाँ उल्टो हुन्छ । हामीले केही चाहियो भन्यौं भने किन चाहियो भनेर हाम्रा अधिकारीले प्रश्न गर्छन् ।
व्यापारी आउने भनेको शुद्ध नाफाको लागि हो । नाफा दिन सक्ने ठाउँ कहाँ कहाँ छ ?
यस्तो अवस्थमा हामीले हाम्रोमा लगानी गर्न आउ भनेर मार्केटिङ गर्नुपरेको छ । विगतमा पनि लगानी सम्मेलन भएको थियो । विदेशी लगानीकर्ता हाम्रोमा लगानी गर्न किन आउने ? कि त नेपालसँग असाध्यै प्रेम भएर आउनु पर्यो । कि यो पशुपतिनाथको देश हो, बुद्ध जन्मेको देश हो, सगरमाथाको देश हो, यो देशको माटो, पानी र हावा नै पवित्र छ भनेर आउनु पर्यो ।
यस्तो देशमा बसेर लगानी गर्छु, नोक्सान भए पनि केही फरक पर्दैन भनेर आउनु पर्यो । वा नेपाल सुन्दर देश छ, बाँकी जीवन यही व्यतित गर्छु भनेर आउनु पर्यो । या मलाई नेपाली असाध्यै मन पर्छ भनेर आउनु पर्यो । यसरी विदेशी लगानी आउँछ भने बेग्लै कुरा हो ।
व्यापारी आउने भनेको शुद्ध नाफाको लागि हो । नाफा दिन सक्ने ठाउँ कहाँ कहाँ छ ? व्यापारीले व्यापार गर्नको लागि नेपालमा गर्दा, भारतमा गर्दा, चीन, भियतनाम, कम्बोडिया, बंगलादेश, या अन्य देशमा गर्दा के फरक पर्छ भनेर सोच्छ नै । हामीले अन्य देशमा भन्दा नेपालमा लगानी गर्दा बढी सुविधा छ भनेर देखाउन सक्नु पर्यो । या नेपालमा वाहेक अन्य देशमा यो प्रकारको उद्योग व्यवसाय चल्नै सक्दैन भनेर देखाउन सक्नुपर्यो ।
जस्तो कुनै लगानीकर्ता जलविद्युत क्षेत्रमा नै लगानी गर्न चाहन्छ भने उसको लागि नेपाल उपयुक्त हुन सक्छ । अन्य देशहरुमा सम्भावना भएपनि हाम्रो पर्यटन क्षेत्र पनि अर्काे विकल्प हुन सक्छ ।
लगानी सम्मेलन आयोजना गर्ने भनेको देशको विज्ञापन नै हो । जस्तो मैले कुनै सिमेन्ट कम्पनीको मूल्य तय गर्ने भएँ भने अरु कम्पनीले कति मूल्य राखेको छ, उसको र मेरो सिमेन्टको गुणस्तर के कस्तो भनेर मूल्यांकन गरेको हुन्छु । अनि त्योभन्दा मेरो यो कुरा राम्रो छ भनेर म बजारमा जान्छु । नेपालले त्यसोभन्न सक्ने अबस्था हुनुपर्यो । त्यो अबस्था आइसकेको छ जस्तो मलाई लाग्दैन ।
हुन त पहिलाकोभन्दा यसपटकको लगानी सम्मेलन व्यवस्थित छ जस्तो मलाई लागेको छ । परियोजना तय गरिएको छ । तर, अझै पनि ‘प्रोडक्ट’ तयारी पहिला गर्नुपथ्र्यो जस्तो मलाई लाग्छ । मार्केटिङभन्दा पहिला प्रोडक्ट तयार हुनुपर्छ ।
प्रोडक्टको तयारी पहिला हुनुपथ्र्याे भनेर केप्रति इंगित गर्न खोज्नुभएको हो ?
अर्काे देशमा गएर लगानी गर्ने हो भने सबैभन्दा पहिला मैले मेरो जिउधनको सुरक्षा हुन्छ कि हुदैन भनेर हेर्ने हो । त्यसपछि लगानीको प्रतिफल कस्तो हुन्छ, अर्थात नाफा हुन्छ कि हुन्न भनेर हेर्ने हो । जिउधनको सुरक्षा पनि छ, लगानीको प्रतिफल पनि छ भने त्यसमा आइपर्ने सम्भावित समस्याहरु के कस्ता छन् भनेर हेर्ने हो ।
श्रम समस्या, कानुनी व्यवस्थाहरु के कस्ता छन्, सरकारी अनुमति के कति दिनमा कसरी प्राप्त हुन्छ भन्ने जस्ता कुराहरु हेर्ने हो । अनि कुनै कारणवस सरकारसँग कुनै विमति वा विवाद भयो भने कोसँग गएर के भन्ने हो, कानुनी लडाइ लड्नु पर्ने अवस्था आयो भने न्यायिक निरुपणको व्यवस्था के कस्तो छ भनेर पनि हेर्छु ।
कुनै विषय अदालतमा प्रवेश गर्यो भने १० बर्षसम्म फैसला हुदैन भन्ने भयो भने कसरी लगानी गर्ने भन्ने अर्काे प्रश्न आउँछ । यस्ता सारा कुराहरु हेरेर ढुक्क भएपछि मात्रै लगानी गर्ने हो । होइन भने आफ्नो देश छोडेर कोही पनि अर्काको देशमा लगानी गर्न जादैन । अर्काे देशमा गएर लगानी गर्न आफ्नो देशको भन्दा बढी नाफा हुनै पर्छ । आफ्नो देशमा घरकै भात खाएर लगानी गर्दा पनि त्यति नै नाफा र अर्काे देशमा गएर लगानी गर्दा पनि उति नै नाफा हो भने विदेशमा गएर किन लगानी गर्ने भन्ने हुन्छ ।
केही लगानीकर्ताको मैले यति देशमा लगानी विस्तार गरेको छु भन्ने उद्देश्यले पनि अन्य देशहरुमा लगानी गर्ने गरेका हुन्छन् । विदेशी लगानीकर्ता आउने भनेको मुलतः नाफाकै लागि हो । कसैले नाफा गरेर लग्यो भने त्यो नाफामा नजर लगाउने प्रबृत्ति कसरी रोकिन्छ भन्ने पनि होला । मैले भनेका यी कुराको ‘फ्याक्ट चेक’ गर्नुस्, अनि नेपालमा विदेशी लगानी के कति आउँछ भनेर अनुमान लगाउनुस् ।
यसबाहेक नेपाल भारतको सम्बन्ध कस्तो हुन्छ, सीमा नाकामा के कस्तो समस्या आउन सक्छ, यस्तै नेपाल चीन सम्बन्धले के कस्तो असर पार्छ भन्ने कुराले पनि विदेशी लगानी आउने नआउने कुरामा ठूलो अर्थ राख्छ ।
नेपालमा बस्तु उत्पादन गरेर भारत वा चीन निकासी गर्ने गरी विदेशी लगानी आउने सम्भावना हुदैन ?
चीन भनेको दुनियाभरकै उद्योग हव हो । जसले जहाँ जे इन्नोभेसन गरेपनि उद्योग लगाउने भनेको चीनमा नै हो । त्यसैले नेपालमा उत्पादन भएको बस्तु चीन निर्यात गर्न निकै गाह्रो छ । नेपालमा मात्रै उत्पादन हुने बस्तु छ, अन्य देशमा सम्भव छैन भने मात्रै चीनको बजारको सम्भावना हुन्छ । भारतको कुरा गर्ने हो भने उसको स्केल अफ इकोनोमी र भारतको उत्पादन क्षमता हाम्रोभन्दा धेरै राम्रो छ ।
भैरहवाको विषेश आर्थिक क्षेत्र (सेज) को कुरा गरौं । भैरहवा सेजको उद्देश्य नै त्यहाँ उद्योग राखेर भारत निकासी गर्ने भन्ने थियो । सेज ऐनमा एउटा कुरा लेखेको छ, अर्थमन्त्रालयले बनाउने आर्थिक ऐनमा अर्कै कुरा लेखिएको हुन्छ । सेज ऐनले दिएको सुविधा आर्थिक ऐनले दिदैन ।
भैरहवाको सेजमा निर्माण हुदै गरेका केही उद्योगमा अहिले नै यस्तो समस्या पनि देखेको छु । नकारात्मक कुराहरु ज्यादै छिटो फैलन्छ । नकारात्मक कुरा फैलिएपछि किन चक्करमा पर्ने भनेर व्यवसायी हच्किन्छन् । नकारात्मक कुरा आउन दिनु भएन । उद्योगीका समस्या समाधान गरिदिने निकाय हुनुपर्यो, अधिकारी तोकिनु पर्यो ।
नेपालको सबै क्षेत्रमा विदेशी लगानी भित्र्याउने गरी सरकारले तयारी गरेको छ, यो ठीक हो ?
जुन जुन क्षेत्रमा नेपाली उद्यमी व्यवसायीले राम्रै गरेका छन्, त्यसमा विदेशी लगानी ल्याउनु हुदैन । नेपाली उद्यमीसँग धेरै लामो इतिहास छैन । सिमित पुँजी छ । यसैकारण नेपाली उद्यमी व्यवसायीले धेरै नोक्सान व्यहोर्न सक्दैनन् । लामो इतिहास र धेरै पुँजी भएका विदेशी लगानीकर्ताले नेपाली उद्यमी व्यवसायीको भन्दा बढी नोक्सान व्यहोर्न सक्छन् ।
विदेशी लगानीको फाइदा पनि छन्, बेफाइदा पनि छन् । बेफाइदालाई कसरी कम गर्ने भन्ने तय गर्नुपर्छ । अहिले नेपालीले राम्रोसँग लगानी गरेर राम्रै गरिरहेको क्षेत्रमा पनि विदेशी लगानी आयो भने त्यसले हामी नेपालीभन्दा लामो समयसम्म नोक्सान व्यहोर्न सक्ला । अनि नेपाली लगानीकर्ता त्यो क्षेत्रबाट विस्थापित होला । नेपाली लगानीकर्ता विस्थापित भएको ठाउँमा विदेशी लगानीकर्ता थपिएला । हामीले चाहेको अबस्था यस्तो होइन होला । त्यसले यसमा विषेश ध्यान दिन जरुरी देख्छु । प्राथमिकता प्रष्ट हुनुपर्यो ।
लगानी सम्मेलनलाई परिणामुखी बनाउन के गर्नुपर्ला ?
लगानीकर्तालाई सरकारका कुरा प्रष्ट रुपमा भनिदिनु पर्यो । कुनै कुराको क्लियरेन्स लिनुपर्यो भने तिमीले यतिदिन भित्रमा पाइसक्छौं भनेर भनिदिनु पर्यो । तिमीले यो काम गर्न पाउँछौं, यो पाउदैनौं भनिदिनु पर्यो । विदेशी लगानीकर्ता डाकिरहेका अन्य देशले दिएको सुविधा जम्मा पार्नुस्, अनि उसले तिमीलाई यो यो सुविधा दिएको छ, म यो यो दिन्छु भनेर भन्नुपर्यो ।
कुनै विषयमा कानुनी विवाद भयो भने तिमीले यतिदिन भित्रमा अदालतवाट निर्णय पाउँछौं भनेर प्रष्ट भन्न सक्नुपर्यो । कानुनमा ‘यस्तो हुन सक्नेछ’ भन्ने प्रकारको भाषाको सट्टा यस्तो हुन्छ वा हुदैन भनेर प्रष्ट रुपमा लेखिनु पर्यो । यति गर्न सकियो भने स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तालाई लगानी गर्न सहज हुन्छ ।
र, यो पनि
लगानी सम्मेलनको हचुवा तयारी
लगानी सम्मेलनको तयारी कमजोर भयोः पूर्वअर्थमन्त्री डा. महत
लगानी सम्मेलनको लागि सरकारले छान्यो २४ अर्ब डलरका ६३ परियोजना
यही पाराले विदेशी लगानी आउँदैन
लगानी सम्मेलनमा एनसेल सम्झने कि युनिलिभर देखाउने ?
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५ ००:२३