तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको शासन सत्ता हातमा लिएपछि संसदवादी ७ दल र भूमिगत सशस्त्र युद्धरत नेकपा माओवादीका घैँटामा घाम लाग्यो ।
७ दलको तमासा रत्नपार्क र देशका प्रमुख शहरहरूमा देखिन थाल्यो । ७ दलको तमासाभित्र निरीहता र कमजोरी मात्र प्रतीत हुँदै थियो । आन्दोलन एउटा नित्य कार्य जस्तै हुँदै थियो तत्कालीन संसदवादी दलका लागि । निश्चित समयमा निश्चित मान्छे जम्मा हुने, बुर्कुसी मार्ने, चियापानी खाने, कहिलेकाहीँ बदाम खाने र प्रहरीको भ्यान चढेर जाने । बेलुका छुट्यो, घरतिर लुरुलुरु लाग्यो । भोलिपल्ट फेरि त्यही चाल ।
७ दलभित्र गणतन्त्रको कुरा गर्नेहरू अल्पमतमा थिए । राजा ज्ञानेन्द्रको हर्कतविरुद्ध तत्कालीन विद्रोही माओवादी, नागरिक समाजलगायतले गणतन्त्रको नारा घन्काउँदै थिए ।
जनता पनि परिस्थितिको विपक्षमा थिए । तर, राजनीतिक दलका घृणित हर्कतले आन्दोलनमा सहभागिता जनाएका थिएनन् । जनता पर्ख र हेरको अवस्थामा थिए । यही निराशाबीच देशका विभिन्न भागहरूमा प्रहरीको ज्यादती र बर्बरता बढ्न थाल्यो ।
माओवादी र ७ दलबीच गणतन्त्र स्थापनाका लागि संवाद सुरु भयो । ७ दल र माओवादीबीच गणतन्त्रलाई ‘बटमलाइन’ बनाएपछि क्रमशः आन्दोलनले गति लिन थाल्यो । देशैभरका प्रमुख शहरहरू तात्न थाले । राजतन्त्र मूर्दावाद, गणतन्त्र जिन्दावादका नारा घन्किएसँगै आन्दोलनको माहोल नै जुरुक्कै उठ्न थाल्यो ।
राजनीतिबाट देशकै ठूलो शहर पोखरा अछुतो रहने कुरै थिएन । शहरदेखि गाउँसम्म जनआन्दोलनले तातिरहेको थियो । मान्छेहरू चोकचोक र टोलटोलमा भेला हुन थालेका थिए । तत्कालीन निरङ्कुश राजसंस्था र राजा ज्ञानेन्द्र शाहको विरुद्धमा नारा घन्किँदै थियो ।
२४ चैतमा तत्कालीन ७ संसदवादी दलले जनआन्दोलनको घोषणा गर्नुपूर्व नै आन्दोलित थियो पोखरा । ७ दलले औपचारिक रूपमै आह्वान गरेपछि गाउँगाउँबाट शहर झरेर आन्दोलनमा सहभागी हुने क्रम बढ्दै थियो ।
जनआन्दोलनमा पोखरा काठमाडौंभन्दा पनि अघि थियो । घोषणा हुनुभन्दा पहिले नै पोखरामा आन्दोलन चर्किंदै थियो । ७ दलको घोषणापछि आन्दोलन अझ चर्किएको माओवादीका नेता तथा त्यस क्षेत्रका तत्कालीन जनआन्दोलनका अगुवा विश्वप्रकाश लामिछाने बताउँछन् ।
‘७ दलबीचको सहमतिमा आन्दोलनको आह्वान गरेपछि जनता सडकमा उत्रिएका हुन्’, उनी भन्छन्, ‘गाउँगाउँबाट आन्दोलनकर्मी पोखरा झरेका थिए ।’
दलहरूले आन्दोलनका कार्यक्रम तयार गर्थे, कुन दिन कहाँबाट र्याली निकाल्ने सूची बनाउँथे । योजनाअनुसार पोखराका विभिन्न चोकचोकबाट र्याली निकालिँदै गए । आन्दोलनले क्रमिक रूपमा उग्र रूप लिन थाल्यो । तोडफोड र ध्वंससँगै प्रहरीका अश्रुग्यास र लाठी जनताको शरीरमा बज्रिन थाले ।
प्रहरी आक्रमण र ज्यादतीसँगै नागरिकहरूमा आक्रोश बढ्न थाल्यो । पोखराका दर्जनौँ ठाउँबाट निस्कने जुलुस र र्यालीमाथि सुरक्षाकर्मीले (आर्मी, सशस्त्र र जनपद प्रहरी) अन्धाधुन्ध लाठी र गोली बर्साउन थाल्यो । सुरक्षाकर्मीको ज्यादतीले सयौँ पोखरेली घाइते भए ।
कसैका टाउका फुटे, गोलीले कसैको छाती छेडियो । कतिको अंगभंग भयो तर पनि राजाको कदम नसच्चिएसम्म जनताले गोली खान पनी पछि परेनन् । यो क्रम ३ सातासम्म निरन्तर जारी रह्यो । आन्दोलनलाई उत्कर्षमा पुर्याउनुपर्छ भन्दै दिन प्रति दिन जनता सडकमा ओइरिने क्रम बढ्दै थियो ।
यसै क्रममा २६ चैतमा पोखरामा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि ज्यादती नै गर्यो । अघिपछि लाठीचार्ज र अश्रुग्यास हान्दै आएका सुरक्षाकर्मी आन्दोलनकारीमाथि भएभरको शक्ति लगाएर दमनमा उत्रियो । पोखराका आधा दर्जनभन्दा धेरै ठाउँबाट निस्किएका र्याली र जुलुसमाथि क्रमशः सुरक्षाकर्मीहरूले दमनको हथ्कण्डा बढाउँदै थिए ।
उनीहरूको दमनले पोखराका अस्पतालहरूमा घाइतेहरूको लाम लाग्न थालेका थिए । दर्जनौँका टाउका फुटेका थिए । कोहीका हात-खुट्टा भाँचिएका थिए त कसैका शरीरभरी बर्सिएका लाठीका नीलडामले इन्तु न चिन्तु भएका थिए ।
२६ चैत बिहान पृथ्वीनारायण क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको र्याली महेन्द्रपुलतिर आउँदै थियो । कोही र्यालीमा सहभागी हुन त कोही महेन्द्रपुलमा र्यालीमा मिसिन र स्वागतका लागि तयारी थाल्दै थिए । महेन्द्रपुल चोकमा चारैतिरबाट आन्दोलनकारी भेला हुँदै थिए । चोकमै रहेको नेपाल टेलिकम कार्यालय रहेको भवनको छतमा नेपाली सेनाको टोली थियो ।
सेनाले महेन्द्रपुल चोकबाट आन्दोलनकारीलाई अगाडि बढ्न दिएन । एकाएक भीड आक्रोशित भयो । आन्दोलनकारीले टेलिकमको भवनतिर ढुंगा प्रहार गरे । टेलिकमको सिसा फुट्यो, उताबाट सेनाले गोली चलायो ।
आन्दोलनमा मिसिने तयारीमा बसेका १ जना आन्दोलनकारीलाई गोली लाग्यो । भीड तितरवितर भयो । सेनाको गोली लागेर भीमसेन दाहाल भुइँमा भुक्लुक्क ढले । उनको घटनास्थलमै ज्यान गयो ।
२६ चैत २०६२ मा भीमसेन दोस्रो जनआन्दोलनको पहिलो शहीद बने । भीमसेनको ज्यान गएपछि पोखरामा आन्दोलनले झनै उग्र रूप लिएको थियो । त्यसपछि हजारौँको संख्यामा आन्दोलनकारी सडकमा निस्किए ।
चोकचोकबाट सर्वसाधारणको भेल उर्लिएपछि सुरक्षाकर्मी क्षुब्ध बने । उनीहरू आन्दोलनकारीप्रति झनै आक्रामक बन्न थाले । भीमसेनलाई गोली हानी हत्या गरिएपछि भोलिपल्ट २७ चैतमा पोखराका चोकचोकबाट हजारौँको संख्यामा र्याली निस्कियो । दाहालको हत्याले आक्रोशित बनेका आन्दोलनकारी र प्रहरीबीच पोखराका पृथ्वीचोक, महेन्द्रपुल, सभागृहचोक, बगर र लेखनाथको तालचोकलगायतका स्थानहरूमा झडप भयो ।
सभागृह चोक र लेखनाथको तालचोकमा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र गोली नै चलायो । सभागृह चोकमा चलाएको गोली लागेर पोखरा महानगरपालिका- ८ की पार्वती पौडेल घाइते भइन् भने तालचोकमा चलाएको गोली लागेर स्थानीय मेघराज आचार्य घाइते भए । पौडेललको खुट्टा र आचार्यको छातीमा गोली लाग्यो ।
यसरी गोलीको निशानामा परे मेघराज
२६ चैतमा आर्मीले चलाएको गोली लागेर भीमसेन दाहालको मृत्यु भएपछि पोखरेलीहरूको आक्रोश बढ्दो थियो । दाहालको मृत्युसँगै भोलिपल्ट सरकारलाई ठूलै झड्का दिने गरी आन्दोलन चर्काउने योजना बनाएका थिए उनीहरूले ।
दाहालको हत्याको बदला लिनेगरी बनाइएको योजनाअनुसार पोखराका मुख्य चोकहरूमा आन्दोलनकारीहरूको बाक्लो उपस्थिति थियो ।
लेखनाथको मुख्य चोक तालचोकमा समेत त्यस क्षेत्रका आन्दोलनकारीहरू जम्मा भइरहेका थिए । त्यहाँ नगरपालिकालगायतका प्रशासनिक कार्यालयहरू रहेका कारण आन्दोलनकारीबाट तोडफोड हुने सूचनाका आधारमा सुरक्षा सतर्कता बढाइएको थियो । आक्रामक देखिएका आन्दोलनकारीले कार्यालयमा तोडफोडको प्रयास गरिरहेका थिए । त्यो मासको अग्रभागमा थिए, मेघराज आचार्य ।
उनले प्रहरी र आन्दोलनकारीबीच समन्वयको भूमिका खेलिरहेका थिए । त्यस दिन पनि उनले प्रहरी समक्ष गएर आन्दोलनकारीलाई कार्यक्रम गर्न दिन आग्रह गर्दै थिए । तर, अरू दिनझैँ त्यो दिन सुखद रहेन उनका लागि । उनले प्रहरीसँग भलाकुसारी गरिरहेकै अवस्थामा प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्यो तर पनि भीड तितरवितर नभएपछि प्रहरीले गोली नै प्रहार गर्यो ।
अश्रुग्यासको पीडाले रन्थनिएका मेघराजको छातीमा गोली लाग्यो । केही समय उनलाई गोली लागेको थाहै भएन । तर, एकैछिनमा मेघराजले आफूलाई रगतले लत्पतिएको पाए । उनलाई बेहोस हुनुअघिसम्मको पीडा मात्र याद छ ।
मेघराजले पछि मात्र थाहा पाए, बेहोस भएपछि पनि उनीमाथि सुरक्षा निकायले लाठी प्रहार गरेछ । उनको शरीरमाथि भीडले कुल्चिएर दौडिएछन् । करिब ८ घण्टा उनी सडकछेउमै बेवारिसे अवस्थामा ढलिरहेछन् । स्थानीय र मानवअघिकारकर्मीले उनलाई त्यहाँबाट उठाएर अस्पताल पुर्याएका रहेछन् ।
‘सुरक्षाकर्मीको गोली प्रहार र आन्दोलनकारीले कुल्चिँदा मेरो मेरुदण्ड नै भाँचियो’, मेघराज भन्छन्, ‘छातीमा लागेको गोलीले मुटुमा समस्या निम्याएको छ । ३ वर्षअघि नै डाक्टरले जतिखेर पनि ज्यान जान सक्ने बताइसकेका छन् ।’
घटनापछि मेघराज झण्डै ४ वर्ष अस्पतालमा बसे । तर, उनको स्वास्थ्य अझै पनि ठीक छैन । छातीको अप्रेसनका लागि डाक्टरले उनलाई भारतमा रिफर गरिसकेका छन् । तर, आर्थिक सङ्कटले उनको अप्रेसन हुन सकेको छैन । यसअघि आफ्नो उपचारमा ६० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनको भनाइ छ ।
नेपालमा उनको छातीको अप्रेसन हुन नसक्ने चिकित्सकले बताएका छन् । उपचारका लागि भारत जानुपर्ने अवस्था छ । भारतमा अप्रेसन गर्दा करिब २० लाख खर्च लाग्छ ।
‘मसँग त्यति रकम छैन । सहयोगको याचना गर्दै विभिन्न सरकारका पालामा मन्त्रालय धाएँ । झुलाउने काम मात्र भयो, सहयोग पाइएन’, मेघराज भन्छन्, ‘उपचारको नाउँमा पोखराको मूल्यवान् जग्गासमेत कौडीको भाउमा बेचिसकेँ । राज्यले निराशाबाहेक केही दिएन ।’
शहीद, घाइते तथा अपाङ्ग परिवार सरोकार नागरिक समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका आचार्यले आन्दोलनको बलमा स्थापित गणतन्त्रमा नेताहरूले जनचाहना र जनभावनाविपरीत कार्य गरेका आरोप लगाए । जनताको आन्दोलनको बलमा स्थापित गणतन्त्रलाई नेताले मागी खाने भाँडोका रूपमा प्रयोग गरेको उनको भनाइ छ ।
‘मुलुकको समृद्धिका लागि हामीले छातीमा गोली थाप्यौँ, कयौँले शाहदत प्राप्त गरे, कयौँ जीवन र मृत्यको दोसाँधमा छन् । कयौँ घाइते र अपाङ्ग छन् तर उनीहरूलाई राज्यले हेर्दैन’, उनले भने, ‘नेताहरूको कार्यशैलीले आन्दोलनप्रति पश्चात्ताप लागिरहेको छ । उनीहरूको कार्यशैलीले गणतन्त्र नै धरापमा छ ।’
आन्दोलनकै कारण मुलुकमा लोकतान्त्रिका गणतन्त्र स्थापना भयो तर राजनीतिक दल र सरकारले आन्दोलनका घाइते तथा अपाङ्गहरूको उचित उपचार र व्यवस्थापनमा चासोसमेत नदिँदा आफूलाई अचम्म लागेको उनी बताउँछन् ।
दलप्रति घाइते ढाकारामको आक्रोश
जनआन्दोलनका अर्का घाइते हुन्, ढाकाराम पौडेल । झट्ट हेर्दा उनी हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन् । अनुहारमा चमक छ । तर, बाहिरबाट हेरेजस्तो छैन उनको शारीरिक अवस्था । २०६२÷०६३ को आन्दोलनमा प्रहरीले बजारेको लाठी र अश्रुग्यासले घाइते बनेका पौडेल औषधिकै भरमा बाँचिरहेका छन् ।
आन्दोलका बेला सुरक्षाकर्मीले उनको टाउकोमा लाठी बजारेका थिए । त्यसको पीडा पौडेलले अहिलेसम्म खेपिरहेका छन् । त्यति मात्र होइन, त्यसबेलाको अश्रुग्यासले उनको स्वासप्रस्वासमा अहिलेसम्म असर गरेको छ । उनी अहिले पनि पूर्ण रूपमा स्वस्थ छैनन् । शारिरिक पीडासँगै औषधिकै भरमा जीवन व्यतीत गर्दै छन् पौडेल ।
अहिले उनी राजनीतिक पार्टी र नेताप्रति सन्तुष्ट छैनन् । आन्दोलनको आडमा गणतन्त्र र संघीयता आए पनि दलहरू जनआन्दोलनको मर्म र भावनाअनुसार नचल्दा मन दुख्दै पुरानो घाउ बल्झिने गरेको उनको गुनासो छ ।
‘नेताहरूलाई सत्तामा पुर्याउन लाठी र गोली खाएका होइनौँ’, उनले भने, ‘मुलुकमा व्यवस्था परिर्वत भयो, संविधान बन्यो तर पनि दलहरूले जनताको भावना र चाहना बुझ्न सकेनन् ।’
परिवर्तनको आसमा टाउको फुटाएका पौडेललाई अहिले व्यर्थमा आन्दोलनमा होमिइएछ जस्तो लाग्न थालेको छ । जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीका पूर्वअध्यक्षसमेत रहेका पौडेलले राज्यको बेवास्ताका कारण घाइते तथा अपाङ्गहरूको परिवारबाटै अपहेलित हुन थालेको बताए ।
‘घाइतेहरूको पीडाका कारण परिवारमै बैमनस्य आउन थालेको छ’, उनले भने, ‘परिवारले कसका लागि र केका लागि आन्दोलनमा गएको भन्दै उल्टै हप्काउन थालेका छन् । परिवारमा घाइतेले यो पीडा भयो भनेर भन्न नहुने अवस्था आएको छ ।’
संविधानमा आन्दोलनका घाइते, अपाङ्गलगायतलाई उचित सम्मान, शिक्षादीक्षा, स्वास्थ्य र रोजगारी जस्ता अवसरको हक उल्लेख गरिएको भए पनि कार्यान्वयनमा नआएको उनको गुनासो छ ।
‘संविधानको प्रस्तावनामा लोकतान्त्रिक आन्दोलनका घाइते, अपाङ्ग भएकालाई उचित सम्मान गर्ने भनी उल्लेख गरिएको भए पनि त्यसको अहिलेसम्म कुनै अनुभूति गर्न पाइएको छैन । ‘राजनीतिक दल हामै्र सहाराले सत्तामा पुगे तर उनीहरूले हामीलाई नै चिन्न छाडिसके’, उनले भने, ‘परिवारलाई र समाजलाई आन्दोलनका लागि लडेको ठीकै गरिएछ भन्ने महसुस हुने गरी राज्यले सेवा सुविधाको व्यवस्था गरोस् ।’
जनआन्दोलनका घाइते पौडेलले जनदबाबका बलमा लोकतान्त्रिक गणतन्त्र आए पनि उही पुरानै शैलीमा दलहरूले सेना र प्रहरीको घेरामा गणतन्त्र दिवस र लोकतन्त्र दिवसलगायतका दिवसहरू मनाउनुले उनीहरूको असली अनुहार झल्किएको बताए ।
‘यदि राजनीतिक दलहरूले जनआन्दोलनका घाइते, अपाङ्ग, शही दपरिवारलगायतको सम्मान गर्छन् भने सेना, प्रहरीको घेरामा नभई आन्दोलनका घाइते, अपाङ्ग, शहीद परिवारकै घेरामा बसेर लोकतन्त्र, गणतन्त्रलगायतका दिवसहरू मनाउनुपर्छ’, उनले भने, ‘सेना र प्रहरीको घेरामा दिवसहरू मनाएर घाइते, अपाङ्ग, शहीद परिवारको सम्मान हुन सक्दैन । दलहरूका यस्ता क्रियाकलापले उनीहरूको हर्कत छर्लङ्ग भएको छ ।’
कास्कीमा जनआन्दोलनका क्रममा १ सय ३७ जना घाइते भएका थिए । यो तथ्याङ्क जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको भए पनि घाइतेहरूको संख्या अझै बढी रहेको समन्वय समिति कास्कीका पूर्वअध्यक्ष ढाकाराम पौडेल बताउँछन् ।
‘कतिपयले आफैँ उपचार गराए, कतिपय सम्पर्कमा आउन चाहेनन् । त्यसैले वास्तविक तथ्याङ्क अझै बढी छ’, उनले भने ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७ १७:५४