नेपालमा लोकतन्त्र पुन:स्थापना भएको १४ वर्ष पूरा भएको छ । सामान्यतया: जनताको अधिकार जनतामा नै निहीत गर्ने लक्ष्यका साथ लोकतन्त्र पुन:स्थापना गरिएको हो । जनताको रोग, भोक र अभावका विषयमा साझा लडाइँको परिकल्पना गरिएको हो । जनताको सुख र समृद्धिको बाटो भएको बताइएको हो ।
अधिकारका हिसाबले यसबीचमा नेपाली जनताले धेरै पाएको देखिन्छ तर दिएको अधिकार कति प्रयोग गर्न पाएका छन् भन्ने विषय अहिले पनि मुख्य प्रश्न रहेको छ । प्रतिपक्ष दलले पटक पटक लोकतन्त्र खतरामा परेको बताइरहने र सत्ता पक्षले यही हो अभ्यास भनिरहने स्थिति देखिएको छ ।
पछिल्लो पटक कांग्रेसलगायतका प्रतिपक्ष दलले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । लोकतन्त्र दिवस, लोकतन्त्रको स्थापना र त्यसको प्रयोग, अब गर्नुपर्ने कामको सन्दर्भमा शिलापत्रकर्मी भागवत भट्टराईले प्रमुख प्रतिपक्ष तथा मुलुकको जेठो दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग गरेको कुराकानी :
देश अहिले १ महिनादेखि लकडाउनमा छ । तपाईंहरू जस्ता राजनीतिकर्मीको दिनचर्या कसरी बितेको छ ?
लकडाउनमा आमरूपमा हरेक नागरिकको जुन किसिमको अप्ठ्यारो रहेको छ, जुन प्रकारको बसाइ छ वा परिवारभित्र रहँदै गर्दा आफूलाई नवीनतम बनाउने प्रयत्न र सिर्जनशील बनाउने प्रयत्न हो, त्यही प्रकृतिले नै म पनि व्यतीत गरिरहेको छु ।
दोस्रो विषय सामाजिक र राजनीतिक दायित्वबमोजिम सार्वजनिक रूपमा सम्पर्कमा पुग्ने पार्टीका धारणाहरू पार्टी नेतृत्वसँग छलफल गरेर निर्माण गर्ने, त्यसलाई सार्वजनिक गर्ने, स्वदेश र विदेशका साथीहरूको संवादमा पुग्ने । सबैसँग सम्पर्कमा रहेर पनि आफू जन्मेको ठाउँमा के भइरहेको छ भन्ने चासो राख्ने, सहयोग गर्ने कामका साथ लककडाउनमा समय बिताएका छौँ ।१४औँ लोकतन्त्र दिवस घरभित्र मनाउन बाध्य छौँ, कसरी समीक्षा गर्न चाहनुहुन्छ ?
लोकतन्त्र दिवस यसरी मनाउनुपर्ने अवस्था आउनु स्वाभाविक भयो । तर, लकडाउनभित्र लक्ड भएर लोकतन्त्र दिवस मनाउन जति पीडा छ, अर्को पीडा के थपियो भने लोकतन्त्र दिवसको अघिल्लो दिन गुज्रिएको हिटलरको जन्मदिनको अवसर पारेर नेपाल देशको संविधानको मर्मविपरीत गएर २ वटा विधयेक आयो । त्यसैले लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा लोकतन्त्रले पाएको उपहार भनेको संविधाको मर्मविपरीतका विधयेक हुन् । यो दुखद छ ।
यसलाई सच्याउन र सच्याउने प्रतिवद्धता गर्ने सहमतिपूर्वक हामी अघि बढ्छौँ । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न एक हुन्छौँ भन्ने सङ्कल्प गर्नु योबेलामा लोकतन्त्रको सफलता हो । लोकतन्त्र सफल बनाउने सङ्कल्प र साझा प्रतिवद्धता हो । सत्ताले यो कुरा बुझ्नुपर्छ । प्रतिपक्ष सहयोगी बन्न तयार छ ।
लोकतन्त्र केका लागि खोजेका थियौँ ?
संसरामा हरेक राष्ट्रहरूको निर्माण गर्न एउटै विधि छ भन्ने हुँदैन । तर, हामीले अन्य विधिहरूको प्रयोग गर्यौँ । संसारमा भएका प्रयोगहरूबाट सावित भएको तथ्य के हो भने संसदीय व्यवस्था भएका संसारका उत्कृष्ट १० वटा देशमध्येमा मानव विकास सूचकाङ्कको हिसाबले हेर्नुपर्यो भने बितेका १०-१५ वर्षयता निरन्तर संसदीय व्यवस्था भएका मुलुकहरू अग्रपंक्तिमा पहिलो, दोस्रो, तेस्रो, पाँचौँ गर्दै देखिन्छन् ।
हाम्रो प्रयत्न के हो भने हामीले राणा शासन भोग्यौँ, एक ढंगको निरंकुशता । पञ्चायती व्यवस्था पनि भोग्यौँ, दलविहीन शासन प्रणाली । राजाको प्रत्यक्ष शासन पनि व्यहोर्यौँ अनि हामीले संवैधानिक राजासहितको संसदीय व्यवस्था पनि भोग्यौँ ।
त्यसपछि संविधानसभाबाट के निर्णय गर्यौँ भने हामी राजतन्त्रविहीन अर्थात् गणतन्त्र नेपाल अनि संघीयतासहितको नेपाल, लोकतान्त्रिक हक अधिकारसहितको नेपालबाट नेपालीलाई खुसी तुल्याउन सकिन्छ । बाटोघाटो, बिजुली, रोजगारी यी सबै हुन्छन् भन्ने भयो । छोटकरीमा भन्दा नेपाली नागरिकको सम्मान, स्वाभिमान, सहकार्य अनि नेपालीको खुसीलाई सम्भव तुल्याउन सकिन्छ भन्ने भयो । हाम्रा आशाहरू, आकाङ्क्षाहरू, भरोसाहरु हुन् यी, यसलाई टुट्न नदिने कुरा जुन हुनुपर्ने थियो, त्यो भएको छैन ।
लोकतन्त्र दिवसको बेलामा हामी आफैँले आफ्नो पुन:समीक्षा गर्ने, आत्मसमीक्षा गरेर आत्मचिन्तन गर्ने र आत्मआलोचना हुने बाटो खोज्ने गर्नुपर्छ ।
लोकतन्त्र स्थापना गरेपछि आमनागरिकले खासमा के कस्ता परिवर्तन पाएजस्तो लाग्छ ?
त्यसबेला भन्दा हामी नेपाली जनताले देशको मालिक आफू बन्ने, आफ्नो अधिकारको मालिक आफू हुन पाएको अवस्था भनेका हौँ । राणाकालमा हामी रैती थियौँ होला, पञ्चायतकालमा प्रजा भयौँ होला । प्रजाबाट राजसंस्थालाई पनि अन्त्य गरेर जनताको छोरा वा छोरी राष्ट्रपति बन्न सक्ने, जनताले रोजेको शासन प्रणाली, समावेसिता, संघीयता, समानुपातिक न्याय, यी प्राप्त गर्दै गर्दा पहिला भन्दा अधिकार सम्पन्न भएका छौँ ।
तर, अधिकारको प्रयोगचाहिँ तत् ठाउँमा बस्नेले कति प्रयोग गरेका छन् भन्ने कोणबाट विश्लेषण गर्यो भने त्यसमा केही प्रश्नहरू उठेका र गम्भीर चिन्तन गर्नुपर्ने समीक्षा गर्नुपर्ने रूपान्तरण गर्नुपर्ने स्थिति देखिएको छ । त्यसबेलाभन्दा अहिले हामी शान्तिमा पुगेका छौँ । त्यसबेलाभन्दा बढी हामीले बजेटहरू निर्माण गर्दै गर्दा विकेन्द्रित गरेका छौँ । काठमाडौंले जुम्ला, सिंहदरबारले ताप्लेजुङ नचिन्न सक्थ्यो तर हामीले प्रदेशमा नै सरकार स्थापित गर्यौँ । त्यसले ताप्लेजुङका लागि सरकार नजिकमा गयो । अनि स्थानीयमा पनि पूरा गाविसलाई पुनर्संरचना गरेर ४ हजारभन्दा बढी ठाउँमा छरिएर रहेकलाई ७ सय ५३ मा लिएर आएर त्यहाँ चाहिनेजति सबै अधिकार र बजेटहरू पुर्याउनेतर्फ लाग्यौँ । पहिलाभन्दा मुलुकको आन्तरिक संरचना बलियो भएको छ । पहिलाभन्दा राज्य र नागरिकका बीचमा संवाद घनीभूत भएको छ । सम्बन्ध प्रगाढ भएको छ ।
तर, जसलाई हामीले जिम्मेवारीमा पुर्याएका छौँ । ७ सय ५३ स्थानीय तहमा नै को कुन दलसँग आवद्ध छन् । तर, निर्वाचित भएकाले सबै राजनीतिक आग्रहभन्दा मुक्त रहेर गम्भीरतापूर्वक नागरिकको दायित्व पूरा गर्न कति सफल भएका छौँ ? यो आत्मचिन्तन र समीक्षा गर्न आवश्यक छ । केन्द्रीय सरकारको कुरा गर्दै गर्दा लोकतन्त्रिक प्रकियाबाट निर्वाचित हुनु र लोकतान्त्रि चरित्र हुनु फरक हुन्छ ।
अहिलेको सरकार लोकतान्त्रिक प्रक्रियाबाट आएको छ तर लोकतान्त्रिक चरित्रको देखिएन । त्यसैले अहिले म सम्झन्छु, परीक्षाको विषयमा कतिपयले भनिरहेका हुन्छन् परीक्षका बारेमा अव्राहम लिङ्कनले भनेको एउटा वाक्य सम्झन्छु- यदि तिमी कुनै मान्छेको परीक्षा लिन चाहान्छौ भने, उसको चरित्रका बारे जानकारी लिन चाहान्छौ भने उसलाई शक्ति देऊ । ऊ वास्तविक के हो थाहा हुन्छ । मान्छे प्रतिपक्षमा हुँदा होइन, सरकारमै हुँदा परीक्षा हुन्छ । त्यसैले हामीले जसलाई शक्ति दियौँ, शक्ति दिएको चरित्रलाई चिन्ने, उसको चरित्रलाई समीक्षा गर्ने बेला हो ।
कोरोनासँग मुलुक सन्त्रस्त छ, संसार सन्त्रस्त छ । योबेला सुकुम्वासी आयोग बनाउने हो ? सुकुम्वासीलाई जाउलो कि जग्गा भन्दा त जाउलो पहिले आउँछ होला, जग्गाको कुरा केही समयपछि सोचे होला । योबेला विधयेक ल्याएर आएर हामी भन्दै छौँ- दलहरू एक भएर लडौँ ।
यस्तो विधयेक आउँछ, जसले दलहरू फुट्न सहज बनाउँछ । हामी भन्दै छौँ- योबेला सरकार र प्रतिपक्षभन्दा माथि उठौँ । प्रतिपक्षविहीन बनाएर संवैधानिक नियुक्ति गर्ने खालको विधेयक ल्याएर नियुक्ति गर्ने प्रकियालाई अवरोध गर्न खोजिएको छ । अहिलेको चरित्रको समीक्षा गर्ने बेला हो । लोकतान्त्रिक व्यववस्था, पद्धति भनेको कागजमा होइन, व्यवहारमा हुन्छ, व्यक्तिको चरित्रमा हुन्छ । लोकतन्त्र दिवसको सन्दर्भमा यही नै समीक्षा गर्नु आवश्यक छ ।
लोकतन्त्र दिवसको अघिल्लो दिन विपक्षी दलहरूले लोकतन्त्र धरापमा पर्यो भन्नुलाई जनताले कसरी बुझ्ने ?
सरकारले कमजोरी गर्दै गर्दा प्रतिपक्षले औल्याउँछौँ । लोकतन्त्रको एउटा सौन्दर्य के हो भने प्रतिपक्षले ठीक समयमा ठीक विषयलाई ठीक ढंगले उठाउनुपर्छ । हामीले त्यो विषय उठाएका छौँ । हामीले यो विषय उठाएको हाम्रा लागी भन्ने मात्र होइन । प्रश्न कांग्रेस र कम्युनिस्ट भन्ने मात्र होइन, लोकतान्त्रिक विधि, प्रक्रियामा कसरी लिएर जाने भन्ने हो ।
त्यस कारणले आज प्रमुख प्रतिपक्षको रूपमा नेपाली कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्यो । संसदमा रहेका राजनीतिक दल सबैलाई निम्त्यायौँ, हामी छलफलमा बस्यौँ, साझा धारणाहरू निर्माण गर्यौँ । अब संघीय संसदभन्दा बाहिर रेहका दलहरू पनि छन् । हामी ती दल, नागरिक समाज, सञ्चार माध्यम सबैसँग छलफलमा जान्छौँ र सरकारलाई विधयेक फिर्ता लिन दबाब दिन्छौँ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७ ०९:३२