नेपाली सेनाले खरिद गरेर ल्याउने भनिएको मेडिलकल सामग्री यो साता ल्याउने तयारी सेनाले गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका मेडिलक सामग्री यो साता नै ल्याउनको लागि सेनाले अधिकतम् प्रयास गरिरहेको सैनिक मुख्यालयले जनाएको छ ।
नेपाली सेनाले चीन र भारतबाट १ सय २० प्रकारका मेडिलक सामग्री ल्याउन लागेको हो । त्यसमध्ये चीनबाट ६७ प्रकारको र बाँकी ५३ प्रकारको सामग्री भारतबाट ल्याइने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।
यस अनुसार पहिलो चरणमा सेनाले चीनबाट सामग्री ल्याउन लागेको हो । सेनाले चीन र भारत दुवै देशबाट खरिद गर्ने मेडिकल सामग्रीको मूल्य निर्धारणसहितको सम्झौता पत्र ४ वैशाखमै स्वास्थ्य मन्त्रालयबाट ‘ओके’ गराएर रक्षा मन्त्रालय पठाएको थियो ।
रक्षा मन्त्राल हुँदै अर्थ मन्त्रालय पुगेको उक्त प्रक्रियाको बजेटको कामसमेत सकिएकाले नेपाली सेनाले यो साता नै मेडिकल सामग्री ल्याउने तयारी थालेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तर कुमार खत्रीले मेडिकल सामग्री खरिदका लागि अर्थ मन्त्रालयले रक्षालाई बजेट उपलब्ध गराइसकेको बताए ।
‘हामीले आवश्यक रकमको लागि जुनसुकै मन्त्रालयले माग गरेपछि सम्बन्धित मन्त्रालयलाई पठाउने हो । सेना वा कुनै कम्पनीलाई दिने होइन् । रक्षाबाट आएको माग रकम उपलब्ध गराइसकेका छौं सामग्री ल्याउनेकाम उहाँहरूको हो,’ सचिव खत्रीले भने ।
अर्थले बजेट रक्षालाई उपलब्ध गराएसँगै सेनाले चीनको ग्वान्जाउबाट मेडिलक सामग्री ल्याउने छ । सेनाले सामान स्थलमार्ग र हवाई मार्ग हुँदै कसरी ल्याउने भन्ने बारेमा भने मोडालिटी तयार गरेको छैन् ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई दिएको थियो ।
यसअघि स्वास्थ्य मन्त्रालयले ओम्नी इन्टरनेसनलमार्फत् १ अर्ब रुपैयाँभन्दा बढीको मेडिकल सामग्री ल्याउन सम्झौता गरेको थियो ।
सम्झौताअनुसार ओम्नी समूहले मेडिकल सामग्री नल्याएको र चीनले अनुदानमा उपलब्ध गराएका उही सामग्रीको तुलनामा १८ गुणासम्म महँगो परेपछि खरिद प्रक्रिया विवादमा परेको थियो ।
त्यसपछि ओम्नीसँगको सम्झौता रद्द गरेर सरकारले सेनालाई मेडिकल सामग्री खरिद गर्ने जिम्मा दिएको हो ।
सम्बन्धित समाचार
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७ १६:३०