फूलेको कपाल, पाकेको आँखी भौँ । उमेरले ६९ लागिसके । टाईसुटमा चिरिच्याट देखिन्छन्, सुवर्ण वैद्य । उनी पशुपति आर्यघाटसँग जोडिएको तीन दशक नाघिसक्यो ।
उनको दैनिकी आर्यघाटको उपचार केन्द्रमै बित्छ । घाटमा पुगेकाको अन्तिम जीवनलाई नियाल्न अभ्यस्त छन् उनी ।
सुवर्णका पिता हिरानन्द देशभर नाम चलेका वैद्य थिए । उनले ढुकढुकी मात्र बाँकी रहेको र ब्रम्हनालमा अन्तिम सास बिसाउने इच्छा राख्ने बिरामीलाई औषधि उपचार गर्थे । ओखती मुलो गर्थे ।
कतिको एक दुई दिनमा सास उड्थ्यो, कति चैं बौरिएर घरसमेत फिर्थे ।
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई क्यान्सर भएको थियो । सुवर्णका बुबाले देवकोटाको नाडी छामे । नाडी धीमा गतिमा चलिरहेको थियो र पनि देवकोटाको जिजीविषा घटेको थिएन ।
सुवर्णका बुबा हिरानन्दले सोधे, ‘कविज्यू तपाईलाई अहिले कस्तो छ ?’ देवकोटाले सिरकबाट बाहिर टाउको निकाले र जवाफ फर्काए, ‘ठीकै छु वैद्यराज ।’
सुवर्णले बिगतलाई यसरी सम्झिए ।
उनका पिताले कविलाई ‘सिद्धीप्राणेश्वर’ र ‘सञ्जीवनी’ नामक औषधि खुवाउँथे, जसले महाकवि देवकोटाको नाडी चलाउन मदत गथ्र्याे ।
जिन्दगीका अन्तिम क्षणमा पनि देवकोटा चुरोट सल्काइरहेका हुन्थे । कलेटी परेका ओठ र सुकेका गालालाई अझै खाल्डा बनाएर उनी चुरोट आफ्नै पाराले तानिरहेका हुन्थे । सुवर्ण त्यो बेला १० वर्षका थिए ।
उनको सम्झना अनुसार उपचाररत देवकोटालाई १० दिन घाटमा राखियो । २९ भदौ २०१६ सोमबार साँझ ६ बजेर १० मिनेटमा देवकोटाको भौतिक शरीर धर्तीबाट अस्तायो ।
देखेर सिकेको सीप
बाबुबाजेले गरेका काम हेर्दाहेर्दै सुवर्णले काम सिके । उनको पुस्ता कहिलेदेखि यो पेशामा लाग्यो भन्ने कुनै लेखाजोखा छैन् ।
पेशागत आवद्धताबारे उनले एउटा किम्वदन्ति सुनाए–‘आदिकालमा लंकाका राजा रावण बिरामी पर्दा पशुपति देउपतनकै वैद्यले उपचार गरेर निको पारेका थिए रे ।’
ब्रम्हनालमा पुगेका फर्किए घर
ब्रम्हनालमा पुगेका ३३ प्रतिशत बिरामी उपचारपछि घर फर्काएको दाबी गर्छन् सुवर्ण । २०५०/०५१ सालको कुरा हो । सरस्वती वैरागी पशुपति क्षेत्रतिर काम गर्थिन् ।
उनका श्रीमान रुखबाट लडेर विते । दुई छोरा थिए । त्यो बेला अस्पताल जाने चलन थिएन । तर बिरामी भएपछि ब्रम्हनालमा राख्न ल्याए ।
सुवर्णले ब्रह्मनालबाट उठाएर बेडमा लगे । उनलाई बिहान बेलुका औषधि खुवाए । बिस्तारै बिराम ठीक हुदै गयो, अन्तः उनी स्वस्थ भइन् ।
उनी अहिलेपनि सुर्वणसँगै काम गरिरहेकी छिन् । ‘पहिलो पटक मेरो हातबाट बाँचेकी महिला हुन सरस्वती वैरागी । उनलाई सबैले माया मारिसकेका थिए, सुवर्ण भन्छन् ।
सिन्धुपाल्चोकका ८६ वर्षका वृद्धको टिचिङ हस्पिटलमा धेरै महिनासम्म उपचार गर्दा पनि ठीक भएन । अन्तिममा उनलाई ब्रम्हनालमा राख्न ल्याइयो ।
अस्पतालले माया मारिसकेको थियो । तर उनलाई दुई तीन दिनमा ठीक हुदैं गयो । पछि उनी घर फर्किए । यस्ता थुप्रै बिरामीलाई निको बनाएर घर फर्काएको दाबी गर्छन उनी ।
हस्पिटलबाट माया मारेका कतिपय बिरामी पनि निको भएर घर फर्किएका छन् । आयुर्वेद औषधिले ठीक भएको उनी बताउँछन् ।
बिर्तामोड झापाका कृष्णबहादुर भट्टराई सुवर्णको अर्को चमत्कार हुन् । उनलाई हस्पिटलमा उपचार गर्दापनि केहि सीप लगेको थिएन । अन्तिम उनलाई ब्रम्हनालमा रामनाम ओडाएर राखिएको थियो ।
‘केएमसी हस्पिटलले उपचार हुन नसक्ने भन्दै फर्र्र्र्काएको थियो मैले दुई तीन दिनसम्म औषधि मिलाएर खुवाईदिएँ, डेढ महिना महिना पछि ठीक भए,’ उनी भन्छन्, ‘त्यसपछि १२ वर्ष उनको आयु लम्बियो ।’
यसरी बन्यो आयुर्वेद
अहिलेका पुस्तालाई आयुर्वेद के हो भन्ने थाहा छैन् भन्छन् सुवर्ण । आयुर्वेद भनेको मानिसको आयु बढाउने औषधि हो । मानिसले आयु बढाउनु आफूपनि सचेत रहनुपर्छ । विज्ञानको हस्तक्षेपका कारण यो बिधाको महत्व कम हुन थालेको उनको अनुभव छ ।
सुवर्ण दिनको एक छाक मात्र खान्छन् । एक छाक घटाउँदा के हुदो रहेछ भनेर उनले शुरुमा आफैलाई जाँचे ।
सुर्वणले १ महिना १७ दिन सम्म अन्न नखाएर जीवन र स्वास्थ्यको अनुभव पनि गरे । आफुले अन्न नखाईपनि बाच्न सकिने रिसर्च गरेको दाबीपनि गर्छन ।
किन आउँछन् ब्रह्मनालमा बिरामी
मृत्युको पनि आफ्नै अर्थ हुन्छ । जन्म जस्तोसुकै भएपनि मृत्यु राम्रै भए हुन्थ्यो भन्ने सोच्छन् मानिस ।
पशुपतिनाथको प्राङगण र ब्रह्मनालको सिरानी पारेर अन्तिम सास फेर्न अहोभाग्य ठान्छन् अधिकांश हिन्दुहरु । त्यसैले जीवनको अन्तिम क्षण र देह त्याग्नु अगावै पशुपति ब्रह्मनालमा ल्याइन्छ बिरामीलाई ।
मृत्यु पर्खदा पर्खदै दिक्क भएको विरामी पनि ल्याइन्छ भने कतिपय निको भएर घर फर्किएका उदाहरण पनि दिन्छन् सुवर्ण ।
उनी विरामीको सेवा गर्न पाउँदा गर्व गर्छन् । फल्याकमा राखेर उपचार घाटलाई उपचार केन्द्रमा परिणत गरेर हस्पिटलको बेडमा ल्याएका सुवर्ण सबैलाई निशुल्क सेवा दिइरहेका छन् ।
किन आउँछन् ?
वैद्यको विश्वासले आउँछन् मान्छे । जति बेला आपत पर्छ अनि आउँछन् वैद्यकहाँ । मृत्युसँगै छट्पट्यारहेको बिरामी जीवनदेखि आकुलव्याकुल हुन्छन् । अनि आउँछन् विरामीका आफन्त वैद्य खोज्दै घाटमा ।
राज वैद्य
वैद्यहरु लामो समय दरबारको सेवा, औषधोपचार गर्थे । श्री ३ जुद्ध शम्सेशरको पालमा आदेश आएछ– दरबारमा मात्र नहेर्नू, चन्द्र–सूर्य रहुन्जेल आलोपालो सबैले समय मिलाई सबैका काम गर्नू ।
त्यहि बेलादेखि राजा मात्र होइन प्रजालाई पनि उपचार गर्ने चलन आयो । त्यसपछि उनीहरुले घाटको पनि सेवा गर्नुपर्ने भयो ।
राजदरबारका बिरामीको उपचार गर्दा अनुहार हेर्न पाइदैनथ्यो काँचो धागो नाडीमा बाँधेर खोपिबाटै उपचार गर्नुपर्ने प्रथा पनि देखे सुवर्णले ।
‘दरबारका विरामीका रोग पत्ता लाग्यो भने बक्सिस पाइन्थ्यो नत्र तरवार हान्थे,’ उनका बाबुले सधै सुनाउँथे सुवर्णलाई ।
राजा वीरेन्द्रकी धाइ आमा कान्छी गुरुङलाई सुर्वणले उपचार गरे । गुहेश्वरीमा तीन महिना उपचार गरेपछि उनी बितिन । तर त्यसबेला भने दरबारले तरवारको त्रास देखाएन भन्छन् सुवर्ण ।
सुवर्ण पञ्चायतकालमा चावहिल क्षेत्रका वडा अध्यक्ष थिए । पञ्चायत ढलेपछि उनको मन परिर्वतन भयो । त्यसपछि जोडिए घाटे उपचार कर्ममा । जुन अहिले पनि निरन्तर छ ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५ २०:१९