सरकारले सन २०३० सम्म सबैका लागि सर्वसुलभ पानीको ब्यवस्था गर्ने लक्ष्य लिएको छ तर हेटौंडा उपमहानगर भित्र अहिलेसम्म दैनिक २४ लाख लिटर पानी अभाव रहेको एक तथ्यांकले देखाएको छ ।
हेडाैंडा उपमहानगरपालिकामा दैनिक १ करोड ५५ लाख लिटर खानेपानीको माग छ । अहिले १६ हजार ७ सय धाराबाट १ करोड ३१ लाख लिटर पानी बितरण गरिदै आएको हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डले जनाएको छ ।
विश्व खानेपानी दिवसको सन्दर्भमा आज बोर्डद्वारा आयोजित दोस्रो चौमासिक समीक्षामा यस्तो जानकारी गराईएको हो । हाल १ लाख २० हजार जना नगरबासीलाई खानेपानी बितरण भइरहेको बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए ।
२०७२ को विनाशकारी भुकम्पपछि पानीको स्रोतमा पानी उपलब्धताको मात्रा कम हुँदै आएकोले समस्या भएको उनले बताए । ‘पर्याप्त पानी रहेको अध्ययनपछि सुरु गरिएको बोरिङ्गमा एक्कासी पानी आउन घटेकोले समस्या भएको छ,’ निमित्त कार्यकारी निर्देशक ढकालले भने, ‘विकल्प खोजिरहेका छौ ।’
बोर्डले हाल १३ वटा डीप बोरिङ र ७ वटा परम्परागत स्रोतबाट पानी संकलन गरेर वितरण गर्दै आएको छ । पुर्वाधारको विकास अन्तर्गत स्वच्छ खानेपानीको आपूर्ति पनि एउटा सूचक हो । यसैलाई मध्यनजर गरेर हेटौडा उपमहानगरपालिकाले पानी वितरण अगावै पानीमा आर्सेनिक परीक्षण पनि सुरु गरेको बोर्ड अध्यक्ष प्रताप बिष्टले बताए ।
अपुग पानीको समस्यालाई सम्बोधन गर्न जाईकासंगको आर्थिक सहायतामा मकवानपुर कुलेखानीको पानि हेटौंडाबासिलाई पिउनकोलागी बितरण गर्न योग्य बनाउने योजना रहेको अध्यक्ष बिष्टले बताए ।
बोर्डमा मासिक ६३ लाख २१ हजार ८ सय बिलिङ्ग संकलन हुनेगरेको छ । बोर्डले चालू आवको लागि १२ करोड ४७ लाख बजेट बिनियोजन गरेको थियो । सन २०३० सम्म वाटर फर अल (सबैका लागि पानी) भन्ने मुल नारालाई सार्थक बनाउन आज २२ मार्चमा २४औं विश्व पानी दिवस मनाईदै छ ।
यसवर्षको नारा ‘लिभिङ नो वान बिहाइण्ड’ (कसैलाई पनि पछाडि छोड्नु हुदैन) भन्ने छ । सतही रुपमा बुझ्दा पानीको माग केही रहेको भएतापनि परम्परागत स्रोतलेपनि आडभर दिदै आएको अध्यक्ष बिष्टले बताए । सहरमा बढ्दो कंक्रीट क्षेत्र, घट्दो हरियाली जस्ता कारणले पानी रिचार्जमा समस्या भएको बोर्डका सदस्य इन्द्र नेपालले बताए ।
हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डले चैत्रबाट पानीको बिल तिर्नकोलागि अनलाइन पेमेन्टपनि सुरु गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५ २१:२६