जनकपुरधाम उपमहानगरपालिका ‘क्वारेन्टाइन’ बनाउन उदासिन देखिएको छ । धनुषाका अधिकांश नगरपालिका र गाउँपालिकाले ‘क्वारेन्टाइन’ बनाए पनि जनकपुरधाम उपमहानगरपालिकाले भने हालसम्म यसबारे चासो देखाएको छैन ।
नगरप्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासहितको टोली जनकपुरधाम–१४ स्थित बन्द अवस्थामा रहेको मणिपाल शिक्षण अस्पताललाई ‘क्वारेन्टाइन’ बनाउन अनुगमन निरिक्षण गरे पनि लगानीको विषयमा कुरा नमिल्दा काम अगाडि बढ्न नसकेको अधिकारीहरु वताउँछन् ।
भूगोल, जनसंख्या, बजेट तथा क्षेत्रफलको हिसाबमा सबैभन्दा ठूलो प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम उपमहानगरपालिकाले ‘क्वारेन्टाइन’ बनाउन नसक्नु कोरोनासँगको खेलवाड भएको च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले बताए । उनले भने, ‘जनताको स्वास्थ्यप्रति उपमहानगरपालिका समयमै सचेत नभएको भान हुन्छ । कोरोना संक्रमण रोक्न शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखेर व्यवस्थित गर्नुपर्ने जिम्मेवारीबाट पन्छिनु गैरजिम्मेवार नगरको उदाहरण हो ।’
सम्भावित कोरोना संक्रमित बिरामी भारत तथा तेस्रो मुलुकबाट जनकपुर प्रवेश गरे क्वारेन्टाइनको अभावमा उनीहरु खतरा उत्पन्न हुने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले बताए ।
उनले भने, ‘सकभर सबैले अनिवार्य क्वारेन्टाइन बनाउनुपर्ने हो । तर यहाँ त्यस्तो भएको छैन । बिरामी बढे कहाँ गएर राख्ने, कसलाई भन्ने कसैलाई चेत छैन । अहिले मेयर ज्यू कानमा तेल हालेर सुत्नु भाएको छ ।’
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीताकुमारी मिश्रले स्थानीयको विरोधका कारण मणिपाल शिक्षण अस्पतालमा ‘क्वारेन्टाइन’ बन्ने योजना बनाए पनि मेयर लालकिशोर साहसँग लगानीको विषयमा कुरा नमिल्दा बनाउन नसकिएको स्वीकार गरिन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण रोक्न संघीय सरकारले प्रत्येक स्थानीय तहलाई ‘क्वारेन्टाइन’ बनाउन दिएको निर्देशन जनकपुरधाम उपमहानगरपालिकाले अटेर गरेको छ । कोरोना शंकास्पद व्यक्तिलाई राख्न प्रत्येक स्थानीय तहलाई सरकारले २ हप्ताअघि अनिवार्य ‘क्वारेन्टाइन’ बनाउन निर्देशन दिएको थियो । जनकपुरधाम उपमहानगरपालिकाले अटेर गरेको पाइएको छ ।
वडाले बनाउँदै ‘क्वारेन्टाइन’
जनकपुरधाम उपमहानगरपालिकाले नबनाए पनि केही वडाध्यक्षले आफ्नै अग्रसतामा ‘क्वारेन्टाइन’ बनाउन थालेका छन् । जनकपुरधाम वडा नं. ७ का वडाअध्यक्ष जानकीराम साहले आफ्नै वडामा ८ बेडको ‘क्वारेन्टाइन’ बनाएका छन् ।
वडाध्यक्ष साहले आफ्ना वडावासीमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडामा रहेको सामुदायिक विद्यालयलाई नै ‘क्वारेन्टाइन’को रुपमा स्थापना गरेको बताए ।
रामजानकी आधारभूत विद्यालयमा स्थापना गरिएको ‘क्वारेन्टाइन’मा ८ वटा बेडको व्यवस्था गरी सञ्चालनमा ल्याइएको छ । वडाध्यक्ष साहले वडास्तरबाटै ‘क्वारेन्टाइन’को सम्पूर्ण तयारी पूरा गरेको बताए ।
‘क्वारेन्टाइन’का लागि आवश्यक पर्ने उपकरण, सुरक्षा सामग्रीका लागि उपमहानगरपालिकालाई पत्र लेखेको भए पनि कुनै सहयोग नगरेको वडाध्यक्ष शाहले गुनासो गरे ।
जनकपुरधाम वडा नम्बर ८ मा पनि ‘क्वारेन्टाइटन’ राख्ने सहमति भएको छ । सेन्ट्रल इन्जिनियरिङ कलेजका संस्थापक विजय झा, रामानन्द युवा क्लबका पूर्ब अध्यक्षद्वय दीपेन्द्र ठाकुर, प्रकाश मिश्र लगायतको सहयोगमा ३० बेडको ‘क्वारेन्टाइन’ बनाउने सहमति भएको छ । यसका लागि वडाध्यक्ष रमेश ठाकुर र च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले केही दिनदेखि दाताहरुको खोजीमा लागेका थिए ।
जिल्लामा हालसम्म जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका बाहेक अरु स्थानीय तहले ‘क्वारेन्टाइन’ बनाएका छन् ।
धनुषामा नगराइन नगरपालिका–५ स्थित गंगुलीमा प्रदेश सरकारले ७५ बेड क्षमता रहेको ‘क्वारेन्टाइन’ सञ्चालनमा ल्याएको छ । यस्तै ३२ बेड क्षमताको ‘आइसोलेसन’ वार्ड पनि तयारी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६ १३:१५