लुटपाटका लागि काठमाडौंबाट मकवानपुर पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोली पक्राउ परेको छ ।
मकवानपुरको पालुङबाट प्रहरीका १ जना असई र २ जना जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत रहेका छन् ।
घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको गुनासो बढेपछि महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सो टोलीलाइ हटाइएको थियो । उनीहरूको स्थानमा नयाँ सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
सीआरभी महानगरीय प्रहरी प्रमुख पोखरेलको प्रत्यक्ष निगरानीमा खटाइने टोली हो । सीआरभीको मनिटरिङको जिम्मा पोखरेलले एसपी रेवती ढकाललाइ दिएका छन् । सीआरभीको टोलीले प्रहरीका लागि गोप्य सूचना संकलन गर्ने गरेको छ ।
तर, सोही टोलीका सदस्य लुटपाटका लागि गएको समयमा पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले उनीहरू पक्राउ परेको जानकारी आएको र आफूहरूले सो घटनाबारे बुझिरहेकाे प्रतिक्रिया दिएका छन् ।
बस्नेतलाई घुमुवा प्रहरीको टोली परिवर्तन गर्दा हटाइएको भए पनि उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र वनमन्त्री शक्तिबहादुर बस्नेतका भतिजा मुक्ति बस्नेतको सिफारिसमा पुनः सादा पोसाकमा खटाइएको थियो ।
उनीहरूको साथमा १ जना पत्रकारसमेत पक्राउ परेको बताइएको छ । तर, पक्राउ परेका पत्रकारको पहिचान खुलाइएको छैन ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६ १०:०५