बाँस अर्थात् घर मानिसको आधारभूत आवश्यकता हो । संसारमा घरका डिजाइनहरू आफ्नै किसिमका हुन्छन् । तर, इन्डोनेसियाको बालीमा बाँसबाट बनेका घरहरू भने हामी सबैका लागि उदाहरणीय छन् ।
‘ग्रीन भिलेज’ र ‘ग्रीन स्कुल’ को अवधारणाअनुसार बालीमा स्थानीय भाषामा ‘इबुकु’ नामको एउटा समूह क्रियाशील छ । यसले निर्माण गरेका यी संरचनाले घर निर्माणको परम्परागत सामग्री बाँसबाट अत्याधुनिक संरचनाहरू निर्माण गरेको छ ।
अयुङ नदीको किनारमा निर्माण भएका यी भवनहरू साँच्चै कलात्मक छन् । आर्किटेक्ट एलोरा हार्डी भन्छिन्, ‘बाँसको प्रयोगबाट गरिने विवेशील निर्माणको तुनला आधुनिक भवन निर्माण पद्धतिसँग हुँदैन ।’
उनी भन्छिन्, ‘बाँसबाट बनाइने संरचनाहरू साँच्चै दीर्घकालीन रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गर्न सकिन्छ ।’ उनको भनाइलाई टप्प टिपेर भन्ने हो भने हाम्रै वरिपरि पाइने बाँसको सदुपयोग गरेर भव्य, सुन्दर र प्रकृतिसँग सामीप्यता राख्ने संरचनाको निर्माण सम्भव छ ।

बालीको अयुङ नदीको किनारमा रहेका हरेक घरको आफ्नै विशेषता छ । बालीमा रहेको यो ग्रीन भिलेज सन् २००९ देखि यसरी बाँसका संरचनालाई आधुनिकीकरण गर्न सुरू गरिएको हो । जहाँ बनेका व्यावसायिक र पर्यटकीय महत्त्वका बाँसका घरहरू आफूसँग भएको बजेटअनुसार किन्न सकिन्छ ।
दुईवटा बेडरूम, किचेन र हल तथा सानो बगैँचा भएको एउटा घरलाई ५० हजार अमेरिकी डलरसम्म पर्छ । ग्रीन रिसोर्टमा बिदाको दिन मनाउन जाने हो भने ३० देखि ७ सय डलरसम्म खर्च गरे पर्याप्त हुन्छ । ग्रीन भिलेजले घरजग्गाको बजारमा नयाँपन सुरू गर्यो, बाँसका संरचनाहरूलाई आधुनिक युगमा स्थापित गरायो ।
बालीमा घर बनाउने ‘इबुकु’ त्यहाँको ब्रान्ड हो । मलेसिया र इन्डोनेसियामा ‘इबु’ आमा र ‘कु’ म हो । अर्थात् इबुकु भनेको ‘मेरो आमा’ हुन्छ । इबुकु समूहमा डिजाइनर, इन्जिनियर, आर्किटेक्ट, व्यवस्थापक सबै छन् ।

अमेरिकामा जन्मिएकी लोरा हार्डी ९ वर्षको उमेरमा आफ्ना बाबुसँग बाली गइन् । उनका बाबुले बाँसको ग्रीन स्कुल निर्माण गर्ने सपना देखेका थिए । बाबुले देखेको त्यो सपना भने लोराले ३२ वर्षमा पूरा गरिन् ।
लोरा हार्डी र उनका बाबु जोन अमेरिकी नागरिक हुन् । त्यसैले उनीहरूले त्यहाँ घर बनाउन सक्दैन थिए । त्यसैले ७५ वर्षका लागि भाडामा लिएर ग्रीन भिलेज निर्माण गरेका हुन् । जसका लागि लोराका बाबु जोन हार्डीले अमेरिकामा भएको आफ्नो सफल उद्यम बेचे । आफू मर्नुअघि आगामी पुस्तालाई प्रकृतिसँगै विकास गर्ने धोको पूरा गर्न ग्रीन स्कुल र त्यसपछि ग्रीन भिलेज बनाए ।

लोरा हार्डीका पिता जोन हार्डीको कमलको फूल आकारमा घर निर्माण गरेका छन् । यसरी निर्माण गरिएका बाँसका घरको रमाइलो पक्ष के छ भने, भूकम्प जाँदा यी घरहरू केही सेण्टिमिटरसम्म आफैँ सर्छन् । यसरी सरे पनि यी संरचनामा कुनै क्षति पुग्दैन ।









प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६ १५:०५