जबर्जस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आइतबार तेस्रो पटक आदेश दिएको छ ।
कैलाली जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको इजलासले तेस्रो पटक ७ दिन म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले ७ दिन म्याद थप्न माग गरे पनि सरकारी वकिलको कार्यालयबाट ५ दिनको म्याद थपका लागि सिफारिस भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएकाले म्याद थप गरिएको बस्नेतले बताए । रावल फागुन २१ गते पक्राउ परेका थिए । यसअघि गत २२ फागुनमा अदालतले ४ दिन म्याद थप गरेको थियो भने २६ फागुनमा दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।
अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका– ४, उत्तरवेहडीमा डेरा गरी बस्ने २५ वर्षीया विवाहित महिलालाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
रावलविरुद्ध माघ २१ गते जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले १४ फागुनमा प्रहरीसमक्ष जाहेरी दिएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६ १८:२१