ज्यान मुद्दामा जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’सहित उनका पिता, पत्नी, भाइ र सहयोगीहरूलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जेल सजाय सुनाएकोे छ ।
विशेष अदालतले गरेको फैसलामा साहलाई ५ वर्ष कैद, उनकी पत्नी रंगिला देवी साहलाई २ वर्ष ६ महिना, पिता साधुशरण साह सुडीलाई २ वर्ष ६ महिना र भाइ रामकुमार साहलाई १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
त्यसैगरी, साहका तत्कालीन सहयोगीहरू छेदी राउत र सुजित पाण्डेलाई अढाई/अढाई वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतले गरेको फैसलामा राजनीतिकर्मी एकै परिवारका दाजुभाइ, पिता, पत्नीलाई अकुत सम्पत्ति राखेको अभियोगमा जेल सजाय गरेको सम्भवतः यो पहिलो हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको फैसलामा साहसमेतलाई १९ करोड बिगो र त्यति नै रकम जरिमानाको फैसला भएको छ । सम्पत्ति शुद्धीकरण विभागले साहमाथि ३२ करोड जरिमाना र त्यति नै रकम बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
साहविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले ६ चैत २०७४ मा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले साह, उनका पिता, पत्नी, भाइ र तत्कालीन सहयोगीहरूलाई कैद र जरिमानाको सजाय सुनाएको हो ।
यसअघि फागुन १५ गते विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै ४ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा साहलाई भ्रष्टाचारी ठहर गर्दै साढे १९ करोड बिगो र उत्तिकै जरिमाना गरी करिब ३८ करोडको बिगो जफत हुने फैसला अदालतले गरेको थियो ।
अख्तियारले साढे ३१ करोड र सम्पत्ति शुद्धीकरणले ३२ करोड सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा उनका पिता, पत्नी, भाइ र सहयोगीहरूलाई सजाय भएको थिएन । सम्पत्ति शुद्धीकरणको मुद्दामा साहबाहेकका सदस्यहरूलाई सजाय भएको थिएन । अख्तियारले पनि उनकी आमा दुलारी देवी सुडी, पिता साधु साह सुडी, पत्नी रंगिला देवी, भाइ रामकुमार साहसमेतमाथि मुद्दा दायर गरेको थियो । तर त्यसमा साहबाहेक अन्यलाई सजाय भएको थिएन ।
साह, उनका पिता साधु साह सुडी, पत्नी रंगिला देवी र भाइ रामकुमार साहको नाउँमा रहेका सम्पूर्ण सम्पत्ति रोक्का रहेको छ । विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिन जरिमाना भएको बराबरको धितो राखेर मात्र जान पाउने प्रावधान रहेको कानुन व्यवसायीहरू बताउँछन् ।
सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्या र रामानन्द चोक बम काण्ड मुद्दामा धनुषा जिल्ला अदालतबाट साहलाई जन्मकैदको सजाय भएको छ । काठमाडौको जेलमा रहेका साहका लागि फागुन महिनामा १५ दिनभित्र आएको विशेष अदालतका दुईवटा फैसलाले थप जेल सजाय भएको छ ।
धनुषा जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र ४ बाट उनी दुवै संविधानसभामा निर्वाचित भएका थिए । पहिलो संविधानसभा चुनावमा उनले तत्कालीन नेकपा एमालेका नेता रघुवीर महासेठ र दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवलाई पराजित गरेका थिए ।
तत्कालीन नेकपा एमालेका नेता माधवकुमार नेपालको सरकारमा सञ्जय साह लोकतान्त्रिक फोरमबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री थिए । लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदार मन्त्री थिए ।
सञ्जयको दबदबा
एकताका जनकपुरधाममा सञ्जय साहकै हैकम चल्थ्यो । कुन हाकिम जनकपुरधाममा रहनेसम्म पनि निर्णय सञ्जयले नै गर्ने गर्थे । देशमा सरकार जोकोहीको भए पनि जनकपुरधामका सरकार सञ्जय नै थिए । यतिसम्म कि प्रहरीका अधिकारीहरूले पनि कुनै कार्य गर्दा सञ्जय यो निर्णयसँग खुशी छन् वा दुःखी भन्नेसम्म ख्याल गरिन्थ्यो । कसैले जनकपुरधामका राजा, कसैले एक मात्र नेता, कसैले डन, कसैले ठूला प्रभावशाली नाउँहरू जेजे हुन्छ, त्यो राख्ने गर्थे । सञ्जयको लोकप्रियताको परकाष्ठा यसलाई भन्न सकिन्छ ।
सञ्जयको इच्छाविपरीत कार्य गर्दा केही वर्षअघि धनुषाका एक प्रहरी उपरीक्षकलाई जनकपुरधामकै रेल्वे स्टेसन प्रहरी चौकीमा कुटाइ मात्रै भएन, २४ घण्टाभित्रै सरुवा गरियो । एसपीलाई प्रहरी चौकीमै कुटियो र कुट्नेलाई केही भएन । यो सामान्य कुरो होइन । घरघरमा सञ्जयको चर्चा हुने गथ्र्यो । तर, समय परिवर्तनशील हुन्छ, एकताकाका डन आज सबैभन्दा कमजोर अवस्था छन् । सञ्जय आज दयाका पात्र बनेका छन् । वर्षौंदेखि जेलमा छन्, छुट्ने आशा कतैबाट छैन, फेरि दोषीमाथि दोषी बनिनै रहेका छन् ।
अनि आर्जन गरेका थिए करौडौँ रुपैयाँ
कबारीको कारोबारबाट ठेक्केदार बनेका पूर्वराज्यमन्त्री साहले करोडौँ रुपैयाँ आर्जन गरेका थिए । सुरुका दिनमा सानोतिनो विवादमा पैसा लिएर मिलाइदिने कार्य गर्दै आएका सञ्जयको एकताका जनकपुरधाम क्षेत्रमा आतंक नै थियो । सञ्जयको नाम लिँदा मात्र पनि जोकोही डराउँथे । हिन्दी सिनेमाको खलनायकजस्तो छवि बनाएका सञ्जय कुनै खुशी हुँदा फायरिङ गर्थे । उनले फायरिङ गर्दा पनि उनलाई कारबाही गर्न प्रहरीले आँट देखाउन सकिरहेको थिएन ।
जिल्ला विकास समिति धनुषाका तत्कालीन सभापति रामचरित्र साहले आर्थिक रूपले सञ्जयको भाग्य बनाएको जानकारहरू बताउँछन् । सञ्जयलाई जिल्ला विकास समितिका महत्त्वपूर्ण ठेक्काहरू दिलाउन रामचरित्रले भूमिका खेलेका थिए । पैसा र गुण्डागर्दीकै प्रभावमा जनकपुरधामबाट दुई पटक उनी सांसद भएका थिए । केही दिनका लागि भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत उनी भए । जनकपुरधाममा कुनै ठूलो कार्य हुँदा सञ्जयको आदेशविना हुँदैनथ्यो । पारिवारिक विवादहरूसमेत सञ्जयले मिलाउने गर्थे ।
शक्ति आर्जनका लागि चुनाव
प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति मतको हुन्छ । उनले पैसा कमाएपछि त्यतैतर्फ भाग अजमाउने प्रयास गरेका थिए । मधेस आन्दोलनमा सञ्जयको खासै योगदान थिएन । मधेसी जनअधिकार फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादव उम्मेदवार खोजिरहेका थिए । कतिले त जनकपुरधाममा जित्न कुनै साह थरको व्यक्ति नै चाहिने सल्लाह यादवलाई दिएका थिए । यतिसम्म कि सोही पार्टीका प्रभावशाली नेता जेपी गुप्ताको पनि यही चाहना थियो ।
जेपीकै दबाबमा सञ्जयलाई सो पार्टीले टिकट दिएको थियो । चैत २८ २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट सञ्जय साह पहिलो पटक निर्वाचित भएका थिए ।
ठेक्कापट्टाबाट राम्रै कमाएका उनले पैसाले नै टिकट किनेर संविधानसभा निर्वाचनमा उम्मेदवार बनेको चर्चा चलेको थियो ।
मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा सञ्जयकुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए । महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए । कांग्रेसबाट प्रभावशाली नेतृ लीला कोइराला चुनाव लडेकी थिइन् ।
त्यसैगरी, २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा ४ बाट सञ्जयकुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए । तत्कालीन सद्भावना पार्टीबाट टिकट पाएका साहले नेपाली कांग्रेसका प्रभावशाली नेता रामसरोज यादवलाई पराजित गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६ १५:५४