अनेक प्रयोजनमा युरोप, अमेरिका पुगेका धेरै नेपाली स्वदेश फर्कंदैनन् भन्ने आमबुझाइ छ । तर, भ्रमण गर्ने उद्देश्यले नेपाल आएका थुप्रै विदेशी नागरिक आफ्नो देश नफर्कने गरेको पाइएको छ । पर्यटक भिसामा नेपाल आई विभिन्न जागिरमा आबद्ध हुनेमध्ये अमेरिकी नागरिक सबैभन्दा बढी छन् ।
गृह मन्त्रालयले हालै घुम्ने नाममा पर्यटक भिसामा नेपाल आएर जागिरमा आबद्ध भएका एक सयभन्दा धेरै विदेशीलाई कारबाही गरेको छ ।
सरकारी आयोजना, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीमा कार्यरत विदेशीहरू कारबाहीमा परेका हुन् । यो आर्थिक वर्षमा मात्र एक सयभन्दा धेरै विदेशी कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ ।
कारबाही पर्नेहरूमा धेरैजसो अमेरिकी नागरिक छन् । त्यस्तै, कोरिया, जापान, बेलायत, चीनलगायत देशका नागरिक पनि कारबाहीमा परेका छन् । उनीहरूलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ जरिवाना गराएर पर्यटक भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न लगाइएको छ ।
विभिन्न परियोजनामा कार्यरत विदेशी नागरिकका फाइल अध्ययन गर्दा धेरैजसो पर्यटक भिसामा बसिरहेको खुलेपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो । कतिपयलाई उजुरीका आधारमा कारबाही गरिएको छ ।
‘हामीले ५० हजार जरिवानासहित धेरै विदेशीलाई कारबाही गरिसकेका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘पर्यटक भिसामा बसेर काम गर्नु अध्यागमनसम्बन्धी कसुर हो, त्यहीअनुसार कारबाही भएको छ ।’
कारबाहीमा परेका धेरैजसो गैरसरकारी संस्थामा कार्यरत छन् । आइटीसम्बन्धी कम्पनीमा समेत ठूलो संख्यामा विदेशी कार्यरत रहेको आशंका गरिएको छ । कतिपय भने वर्किङ भिसाका नाममा धर्म परिवर्तनको काममा लागेको उजुरीसमेत पर्ने गरेका छन् । ती उजुरीमाथि समेत मन्त्रालयले छानबिन गरिरहेको छ ।
कडाइपछि भिसा शुल्क छुट दिने निर्णय
गृह मन्त्रालयले कडाइ गर्न थालेपछि विदेशी परियोजनामा काम गर्ने विदेशीहरूले लबिङ गरेर भिसा शुल्क छुट दिने निर्णय गराउन सफल भएका छन् ।
अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीलाई भेटेर उनीहरूले विदेशी कामदारलाई भिसा शुल्क छुट दिने निर्णय गराउन दबाब दिएका थिए । सोहीअनुसार गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट शुल्क छुट दिने निर्णय भएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ ०६:३९