शिशुपालको जन्म हुँदा उनको निधारमा तेस्रो आँखा थियो रे ! यसलाई धेरै जनाले अशुभ मानेका थिए । कतिले त आमालाई बच्चा नै त्याग्ने पनि सल्लाह दिएका थिए । तर, आमाले त्यसो नगरेर ऋषिमुनिकहाँ गएर के होला यो तेस्रो आँखाको ? भन्दा एक ऋषिले भनेका थिए, ‘जसले यो बच्चाको ठूलो भएपछि हत्या गर्छ, त्यही मानिसको काखमा राखेपछि यसको तेस्रो आँखा हट्छ ।’
यो कुरा सुनेर आमा खुसी र दुःखी एकैचोटि भइन् । उनी आफ्नो घरमा आउने प्रत्येक व्यक्तिको काखका शिशुपाललाई राख्थिन् । एक दिन बालक कृष्ण शिशुपालको आमाको घरमा आए । उनी सम्बन्धी थिए । जसै शिशुपाललाई बालक कृष्णको काखमा राखियो, शिशुपालको तेस्रो आँखा हरायो ।
शिशुपालकी आमा स्तब्ध भइन् । ‘कृष्णले मेरो छोराको हत्या गर्छ’ भनेर डराइन् । उनले कृष्णलाई भनिन्, ‘तिमीले मेरो छोराको बध नगर है !’
बालक कृष्णले जवाफ दिए, ‘उनका १ सयवटा अपराध म माफ गर्नेछु, त्यसपछि मात्र बध गर्नेछु ।’
शिशुपालले १ सयवटा अपराध त के पो गर्ला र ! भन्ने ठानेकी थिइन् शिशुपालकी आमाले । तर, एकपछि अर्को गर्दै शिशुपालले धेरै अपराध गर्दै गए ।
महाभारतको एक प्रसङ्गमा जब पाण्डवले कृष्णको पूजा गर्न थाले, शिशुपालले पाण्डवलाई गाली गर्दै भने, ‘यस्तो ग्वालालाई पूजा गर्ने तिमीहरूलाई धिक्कार छ ।’
यो शिशुपालको १ सय १औँ अपराध थियो । यसपछि कृष्णले सुदर्शन चक्रले उनको बध गरे ।
हाम्रा परशुराम वा परशुरामणलाई पनि सायद कसैले १ हजारवटा अपराध गरेसम्म माफ दिइरहने वचन दिएका छन् कि क्या हो, परशुराम, परशुरामण भएर अनेक अपराध गर्दै हिँड्छन् । उनी माफ पाइरहन्छन् ।
परशुरामका अपराधलाई माफी दिने राजनीतिक नेताहरूले सायद यो बुझेका छैनन् कि पछि अपराधीको हतियारले उनीहरूलाई पनि पिरोल्नेछ । कसरी अपराधलाई लुकाउँदै परशुरामणको रूपमा नेताजीहरू अरूलाई सदाचारको भाषण दिन्छन् होला ? जसरी कति साधूको भेषमा हत्यारा, बलात्कारी, डाँकाहरू आफ्नो जाल फिजाउँछन्, त्यसरी नै राजनीति र सत्ताको मतियारको नाममा यस्ता हजारौँ परशुराम वा परशुरामण जन्मिरहन्छन् ।
जब ती परशुरामणको काम सिद्धियो भन्ने लाग्छ अनि नेताहरूले कुनै न कुनै तरिकाले ती रामणलाई पथको काँडा ठानेर हटाउने कोसिस गर्नेछन् ।
नेतालाई परशुराम जस्तो अपराधी चाहिएको छ । अपराधीलाई नेताको संरक्षण चाहिएको छ । जबसम्म एकले अर्कोलाई मलजल दिन्छन्, यो सम्बन्ध चल्दै जान्छ । जुन दिन अपराधी काम लाग्दैन भन्ने लाग्छ, नेताबाटै परशुरामण चट् हुन सक्छन् वा परशुरामले पनि नेतालाई नै चट् गर्न सक्छन् । लोकतान्त्रिक सबै नेतालहरूले आफ्नाआफ्ना अपराधी र लठैत पालेर राखेका छन् नै ।
त्यस्तै लठैतहरूको भरले चुनाव जितेका छन् कति डाँकाहरूले । ती डाँका नेता बनेपछि त तिनले आफ्ना डाँका साथीलाई अपराधको लाइसेन्स दिने नै भए । नेताजीहरू बस र ट्याम्पो चढ्दैनन्, बाटोमा हिँड्दैनन् । त्यसैले उनीहरूलाई थाहा छैन, जनताले उनीहरुको बारेमा के भन्छन् ।
‘पहिले त एउटा मात्रै पारस थिए तर अहिले हजारौँ परशुराम, परशुरामण र लाखौँ पारस जन्माएका छन् नेताहरूले’ जनताले भनेका यी शब्द नेताको कानमा पुग्दैनन् । त्यसैले उनीहरू ‘जनताले त हामीलाई मानिरहेका छन्’ भनेर घमण्डले फुलेर बसिरहेका छन् ।
नेपालका राजनीतिक नेताहरूले विहारबाट नै डाँका पाल्न सिके कि ? उत्तर प्रदेशबाट डाँकाहरूलाई नेता बनाउन सिके ? आफूले पालेका डाँका र बनाएका डाँका नेताहरूले अपराध क्षमा गराउने, अनेक नियम, उपनियम बनाउन सिके । तर, नेताहरूले यो कुराचाहिँ सिकेनन् कि आफूले अपराधीलाई बचाएपछि उसको बन्दुक, उसको भाला र तरबार आफैँलाई लाग्न सक्छ ।
पञ्चायतकालमा पनि अपराधी, मूर्ति चोर, बलात्कारीहरूले राज्यबाट संरक्षण पाएका थिए । ती अपराधीहरू पनि माथिल्लो तहसम्म पुगेर तिनले नै विस्तारै धमिराझैँ काट्न लागे पञ्चायतलाई र निर्विकल्प भनेको पञ्चायत ढल्यो ।
तर, त्यो कुरा नेताहरूले सम्झिने कुरै छैन, मनन् गर्ने समय छैन र ‘हामीले अपराधीलाई संरक्षण दिएपछि त्यो अपराधी, हत्यारा, डाँका पनि पवित्र हुन्छ’ भन्ने धारणाले उनीहरू मस्त छन् ।
कहिलेसम्म रहला यो हर्ष ? जबसम्म ती अपराधीले नेताका सन्तानलाई मार्दैनन् ? जहिलेसम्म ती अपराधीले नेताकी आमा, छोरी, बुहारीलाई बलात्कार गर्दैनन् ? जबसम्म ती अपराधीले नेताहरूको आँखा फुटाउँदैनन् ?
धेरै नेताहरूले अहिले ‘तालिवान’लाई अमेरिकाले बढावा दिएजस्तै दिइरहेका छन् । तालिवानलाई हुर्काएको अमेरिका अहिले कसरी तालिवालाई सिध्याउने भनेर लागेको छ ।
त्यसैगरी कुनै दिन त आउला नि कसरी ती आफूले पालेका अपराधीलाई सिध्याउने भनेर नेताहरूको मनमा लाग्ला । त्यो बेलासम्म त परशुराम जस्ता कति परशुरामण जन्मिइसक्छन् ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ ११:४३