प्रदेश सरकारका एक राज्यमन्त्रीले राजीनामा दिएको दुई दिनपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यसबारे टिप्पणी गरेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार राजीनामा दिनुको कारण उनकै पार्टी रहेको मुख्यमन्त्री राउतले बताएका छन् ।
राज्यमन्त्रीको राजीनामाबारे शनिबार पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री राउतले सरकारका कारण नभइ झाले आफ्नै पार्टीका कारण राजीनामा गरेको बताएका हुन् ।
राजपाका कोटाबाट राज्यमन्त्री बनेकी झाले आफू सरकारको कामदेखि सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी थिइन् ।
धेरै दिनदेखि उपभोक्ता समितिहरूको पैसा फर्छ्याैटमा मुख्यमन्त्रीले गम्भीरता नदेखाएको भन्दै डा. झा असन्तुष्ट थिइन् । हाम्रो पैसा किन रोकियो भनेर मानिसहरू हामीलाई फोन गर्छन्, क्याविनेटबाट पास भए पनि अहिलेसम्म पैसा दिइएको छैन , उनले राजिनामा दिएपछि पत्रकारहरूसँग भनेकी थिइन् ।
सरकारमा ताली बजाउन मात्रै बस्न नसक्ने भए पछि राजीनामा दिएकाे उनले शिलापत्रसँगको कुराकानीमा बताइन् ।
एकलौटी रूपमा प्रदेश सरकारले काम गरिरहेको उनको आरोप छ ।
कतिपयले भने राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँगको विवादका कारण झा सरकारबाट बाहिरिएको अनुमान गरेका छन् । मुख्यमन्त्री राउतको संकेत पनि उतै देखिएको छ । मन्त्री सोनलले राज्यमन्त्री डा. झालाई कुनै अधिकार दिएका थिएनन् । यतिसम्म कि डा. झाको जिल्लामा बजेट दिँदा पनि समाजवादी पार्टीको तर्फबाट कृषि राज्यमन्त्री रहेका योगेन्द्रराय यादवलाई बढी सुनेको चर्चा मन्त्रालयमा हुने गरेको छ ।
राजीनामाबारे झाले मुख्यमन्त्रीलाई टेलिफोनबाट मात्रै जानकारी गराएकी छिन । राजीनामा पत्र राजपा संसदीय दलका अध्यक्ष जितेन्द्र सोनललाई बुझाएर डा. झा काठमाडौ गइसकेकी छन ।
राजीनामा सम्बन्धमा टेलिफोनबाट जानकारी भएको तर आफू कहाँ कुनै पत्र नआएको मुख्यमन्त्री राउतले बताएका छन् ।
डा. झाको राजीनामा सम्बन्धमा राजपा अध्यक्ष मण्डलमा अहिलेसम्म कुनै छलफल भएको छैन । प्रदेश २ मा नेकपासँग मिलेर सरकारमा जाने वा पुरानै गठबन्धनलाई निरन्तरता दिने विषयमा राजपा नेतृत्वबीच विवाद छ । राजपा स्रोतका अनुसार यी विषयमा टुंगो लागेपछि नै मन्त्रीको राजिनामा फिर्ता हुने वा स्वीकृत हुने भन्ने निर्णय गरिने छ ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ यो राजीनामाले सरकारको एउटा मात्रै इँटा खसेको नभइ पूरै पर्खाल नै खस्ने संकेत देखिएको बताउँछन् । फागुन दोस्रो सातासम्म सरकार नै परिवर्तन हुने संकेत देखिएको उनको बुझाइ छ ।
राजपा र समाजवादी पार्टीका नेताहरुबीच समाजिक सञ्जालमा एक अर्काविरुद्ध छेडछाड चलिरहेको छ ।
केही दिनअघि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका ज्वाइँसमेत रहेका राजपा नेता अनिल महासेठले प्रदेश २ सरकारप्रति कडा टिप्पणी गरेका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६ १५:४८