धनुषाका किसानहरू अहिले उखु पेलेर सख्खर बनाउन ब्यस्त छन् । जनकपुरधाम क्षेत्रमा सख्खरको माग वर्षभरि नै हुने गरेको छ । चाडपर्वका बेलामा मात्र नभई अन्य समयमा पनि सख्खरको उपभोग हुने भएकाले उखु उत्पादक कृषकलाई सख्खर बनाएर बेच्न भ्याई नभ्याई छ ।
माघे संक्रान्ति नजिकिँदै जाँदा सख्खरको माग झन् बढेको छ । स्थानीय जातका उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्नसमेत मुश्किल पर्ने गरेको धनुषाका सख्खर उत्पादक गणेश महतो बताउँछन् ।
‘तिला संक्रान्ति पर्वमा घरघरमा सख्खरको आवश्यकता पर्छ । सख्खरको वर्षकै सबैभन्दा उच्च माग हुने समय पनि यही भएकाले अहिले किसानहरूलाई भ्याई नभ्याई छ,’ उनले भने ।
तिला संक्रान्ति पनि भनिने माघे संक्रान्तिमा च्यूरा, मुरई (भुजा) र तिलका लड्डुलगायत विभिन्न सामग्रीहरू सख्खरबाटै बनाइने भएका कारण माग बढ्छ ।
१२ देखि १४ क्विन्टल उखुबाट १ क्विन्टल सख्खर बनाउन सकिन्छ । उखुको जात र कलिलो वा छिप्पिएको भन्ने विषयले त्यसलाई निर्धारण गर्छ । कलिला उखु भएमा बढी उखु लाग्ने गरेको सख्खर कालिगढ मोहम्मद जुमराती अन्सारीले बताए ।
’९ क्विन्टल छिप्पिएको उखुमा एक क्विन्टल सख्खर तयार हुन्छ । तर, अहिले उखु कलिलो भएर झण्डै १४ क्विन्टल उखुबाट मात्र १ क्विन्टल सख्खर तयार हुने गरेको छ,’ उनले भने ।
सामान्यतः लगभग ६० रूपैयाँ खुद्रा मूल्यमा बिक्रीवितरण भए पनि छठपछि सख्खरको माग बढ्दा मूल्यवृद्धि भएको छ । हाल ८० रूपैयाँ केजीमा सख्खर बेचिरहेका किसानहरू सख्खरबाटै मनग्य कमाइरहेका छन् ।
पहिले धनुषाको ढल्केवर, नक्टाझिझ, महेन्द्रनगर, बटेश्वरलगायत दुई दर्जनभन्दा बढी स्थानमा उखुबाट सख्खर बनाउने गरिन्थ्यो । तर, महोत्तरीको रामनगर, सर्लाहीको हरिवन र सिरहाको चन्द्रअयोध्यापुरमा चिनी मिल खुलेपछि भने सख्खर बनाउनेभन्दा मिलमा उखु बेच्नेहरू बढेका छन् ।
किसानले आफ्नो सहजता र फाइदाका आधारमा सख्खर बनाउने र चिनि मिलमा बेच्ने गरेका प्रदेश दुईका सांसद शत्रुधन महतोले बताए । नजिकै चिनी मिल खुलेकाले सख्खर बनाउन लाग्ने मेहनत गर्नुभन्दा उखु बेच्दा आनन्द हुने भएकाले बिक्री गर्ने किसानको संख्या बढ्दो छ । धनुषा जिल्लाका केही नगरपालिका र गाउँपालिकामा अत्यधिक उखु उत्पादन हुने गरेको छ ।
स्वास्थ्यमा फाइदा
हामीले प्राय: सधैं दूध पिउँदै आइरहेका छौं । दूधमा हामीलाई चाहिने थुप्रै पौष्टिक तत्त्वहरू पाइन्छ । त्यस्तै, गुलियो परिकार बनाउँदा सख्खर अपरिहार्य हुन्छ । सख्खर पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
यदि दूधमा सख्खर मिसाएर खाने हो भने त्यसले औषधिसरह काम गर्ने चिकित्सकहरू बताउँछन् । यसले हाम्रो शरीरमा देखापर्ने विभिन्न समस्या समाधान गर्ने चिकित्सकको दाबी छ ।
आयुर्वेदका वरिष्ठ चिकित्सक डा. एकमे ठाकुरका अनुसार दूध र सख्खर मिसाएर खाँदा छाला नरम बनाउनुका साथै छालासम्बन्धी विभिन्न रोग ठीक हुन्छ । साथै, त्यसले थकान कम गर्नुका साथै शरीरलाई आराम पनि दिलाउँछ ।
तातो दूधमा सख्खर मिसाएर खाँदा महिनावारी भएको समयमा महिलाहरूलाई निकै राहत हुने गरेको जानकारहरू बताउँछन् । महिनावारीका क्रममा हुने पीडाबाट छुटकारा पाउन पनि यसले मद्दत गर्दछ ।
यसैगरी, दमका रोगीलाई पनि सख्खर निकै लाभदायक हुने वरिष्ठ चिकित्सक ठाकुरले बताए । चिसोको समयमा दमका रोगीमा समस्या बढ्ने हुँदा दूध र सख्खरको मिश्रणले शरीरलाई न्यानो बनाई समस्या न्यूनीकरण गर्ने उनले बताए ।
जोर्नी दुख्ने समस्यामा पनि सख्खर र दूध लाभदायक हुन्छ । नियमित रूपमा काँचो बेसारसँग सख्खर र दूध मिसाएर खाँदा जोर्नी दुख्ने समस्याबाट राहत पुग्ने ठाकुरले बताए । यसका साथै अनिद्रा र तौल बढी भएको समस्या निराकरण गर्न पनि सख्खरले सहायता गर्ने चिकित्सकहरूको विश्वास छ ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६ १७:३९