अस्ट्रेलिया अहिले पछिल्लो दशककै सबैभन्दा भीषण डढेलोको सामना गरिरहेको छ । डढेलोले सबैभन्दा बढी क्षति न्यू साउथ वेल्स राज्यले बेहोरेको छ ।
झाडी र घना जंगल हुँदै सल्किएको आगोका ज्वालाले ब्लू माउन्टेनसहित अस्ट्रेलियाका थुप्रै राष्ट्रिय निकुञ्जसमेत खरानी बनाइसकेको छ । जंगल र निकुञ्जबाहेक केही शहरमा पनि आगोले प्रभाव पारेको छ ।
मेलबर्न र सिड्नीको बाहिरी भागमा रहेका थुप्रै घरहरू जलेर नष्ट भएका छन् । भित्री शहरमा आगो नपुगे पनि धूवाँले वातावरण र जनजीवनमा प्रतिकूल असर पारिरहेको छ ।
अस्ट्रेलियाका जंगलमा आगोका साना मुस्लोदेखि ठूला ज्वालासम्म सल्किरहेका छन् । अग्नि नियन्त्रकहरू केही दिनमै साना मुस्लाहरू निभाउन सफल भएका छन् भने ठूला ज्वालाहरू महिनौंदेखि बलिरहेका छन् । न्यू साउथ वेल्समा मात्रै सयौं ज्वालाहरू महिनौंदेखि निरन्तर सल्किरहेका छन् ।
के हो डढेलोको कारण ?
अस्ट्रेलियाको जंगलमा आगो लाग्नु नौलो कुरा होइन । नेपालमा अविरल पानी पर्ने वर्षा ऋतु भएजस्तै त्यहाँ हरेक वर्ष आगो सल्किने डढेलोको ऋतु (फायर सिजन) नै हुन्छ । सामान्यतः अप्रिलदेखि डिसेम्बरको समयलाई अस्ट्रेलियामा ‘फायर सिजन’ मानिन्छ ।
तर, यसपटकको ‘फायर सिजन’ भने निकै भयानक बनेको छ । सामान्यतः प्राकृतिक कारणले नै डढेलो सुरु हुने गरेको छ । खडेरीग्रस्त जंगलमा चट्याङ परेपछि आगलागी सुरु भएर बढ्दै जान्छ ।
गत डिसेम्बरमा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सुकेको रुखमा चट्याङ पर्दा पूर्वी जिप्सल्यान्डमा भयानक डढेलो लागेको थियो । सो डढेलो केवल ५ घण्टामा २० किलोमिटर टाढासम्म फैलिएको भिक्टोरिया राज्यमातहतको एजेन्सी भिक्टोरिया इमर्जेन्सीले जनाएको थियो ।
तर, अधिकांश समयमा भने मान्छेहरू नै डढेलोकोे कारण बनिरहेका हुन्छन् । गत नोभेम्बरमा न्यू साउथ वेल्सको अग्नि नियन्त्रक दस्ताले एक १९ वर्षीय स्वयंसेवकलाई आगजनी गरेको आरोपमा गिरफ्तार गरेको थियो । उनीमाथि ६ हप्ताको समयमा विभिन्न सात स्थानमा आगजनी गरेको आरोप लागेको थियो ।
ती किशोर प्रतिनिधि पात्र मात्र हुन् । गैरजिम्मेवारपन र खेलाँचीका कारण आगजनी गरिएका थुप्रै घटना छन् ।
अस्ट्रेलियाको फायर सिजन किन सधैं भयानक हुन्छ ?
गर्मीको मौसममा अस्ट्रेलिया मात्र होइन अफ्रिका, दक्षिण तथा उत्तरी अमेरिकामा फायर सिजन हुन्छ । मुख्यतः अस्ट्रेलिया र अमेरिकाको क्यालिफोर्नियाको फायर सिजनलाई सबैभन्दा बढी भयानक मानिन्छ ।
२००९ मा अस्ट्रेलियामा लागेको डढेलोलाई इतिहासकै सबैभन्दा भीषण डढेलो मानिन्छ । शनिबार सुरु भएकाले ‘ब्लाक स्याटर्डे फायर्स’ नाम दिइएको सो डढेलोमा १७३ जनाको मृत्यु भएको थियो ।
७ फेब्रुअरीमा सुरु भएको सो डढेलो १४ मार्चमा मात्र नियन्त्रणमा आएको थियो । ४ लाख ५० हजार हेक्टरमा लागेको सो डढेलोमा ३ हजार ५ सय घर जलेर नष्ट भएका थिए भने ४ सय १४ जना गम्भीर घाइते भए ।
यस्तै, २७ जुलाई, २०१८ मासुरु भएको मेन्डसिनो कम्प्लेक्स फायर क्यालिफोर्नियामा लागेको सबैभन्दा ठूलो डढेलो हो । ४ लाख ५९ हजार १ सय २३ हेक्टरमा फैलिएको सो डढेलो ७ नोभम्बरमा मात्र नियन्त्रणमा आएको थियो ।
तर, त्यो डढेलो नियन्त्रमा नआउँदै क्यालिफोर्नियामा अर्को इतिहासकै सबैभन्दा विध्वंसात्मक डढेलो सुरु भइसकेको थियो । ‘क्याम्प फायर’ नाम दिइएको सो डढेलोमा ८५ जनाको मृत्यु, १७ जना गम्भीर घाइते हुँदा १८ हजार ८ सयभन्दा बढी घर जलेर नष्ट भए भने ५२ हजार विस्थापित भएका थिए ।
८ नोभम्बरमा सुरु भएको सो डढेलो १ लाख ५३ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिँदा २५ नोभेम्बरमा मात्र नियन्त्रणमा आएको थियो ।
अस्ट्रेलियामा अहिलेको यो डढेलो यति धेरै भयानक र नियन्त्रणबाहिर रहनुको मुख्य कारण खडेरी हो । अस्ट्रेलियाको मौसम विज्ञान विभागका अनुसार त्यहाँ अहिले दशककै भयानक खडेरी चलिरहेको छ । गत डिसेम्बरमा अस्ट्रेलियाको तापक्रम इतिहासकै सर्वाधिक ४० डिग्री सेल्सियससम्म पुगेको थियो ।
खडेरीबाहेक तेज हावाले पनि आगो निभाउन असहज बनाइरहेको छ । गत डिसेम्बरमा तेज हावाले ट्रक पल्टाउँदा आगो निभाउन गएका २८ वर्षीय अग्निनियन्त्रकको मृत्यु नै भएको थियो ।
मौसमविद्का अनुसार ग्लोबल वार्मिङ र जलवायु परिवर्तनले पछिल्लो समय प्राकृतिक प्रकोपलाई थप विनाशकारी बनाउँदै लगेको छ । डढेलो र बाढीजस्ता प्रकोपहरू पछिल्लो समय निकै भयानक हुँदै आएको तथ्यांकका आधारमा मौसमविदहरूले त्यस्तो निष्कर्ष निकालेका हुन् ।
केही वर्षयता पृथ्वीको तापक्रम बढ्दै जाँदा फायर सिजन सुरु नभई डढेलो सुरु हुन थालेका छन् भने त्यस्ता डढेलोहरू नियन्त्रणबाहिर पनि रहँदै आएका छन् ।
अस्ट्रेलियाको डढेलोमा केकति क्षति भयो ?
अस्ट्रेलियाका जंगल जलेर ध्वस्त भइसके भने शहरहरू धूवाँले ढाकिएका छन् । देशभरका सबै राज्यमा स्थानीयहरू घरबारविहीन भएका छन् । सबैभन्दा बढी क्षति न्यू साउथ वेल्समा भएको छ । त्यहाँ १ हजार ५ सय ८८ घर जलेर खरानी भए भने ६ सय ५० घर जलेर ध्वस्त भएका छन् ।
अस्ट्रेलियाका ६ राज्यमा गरी ७३ लाख हेक्टरभन्दा बढी जंगल जलेर ध्वस्त छन् । त्यो भनेको दुई देश बेल्जियम र डेनमार्कको संयुक्त क्षेत्रफलभन्दा पनि बढी हो । न्यू साउथ वेल्समा मात्र ४ लाख ९० हजारभन्दा बढी जंगल डढेलोले सखाप भएका छन् ।
गत अगस्टमा ब्राजिलको अमेजन जंगलमा लागेको डढेलोभन्दा यो धेरै बढी हो । अमेजनको डढेलोमा लगभग ७० लाख हेक्टर जंगल जलेर नष्ट भएको थियो ।
यस्तै, क्यालिफोर्नियामा पछिल्ला दुई वर्षमा लागेको कुल डढेलोभन्दा अस्ट्रेलियामा यसपटक लागेको डढेलोले बढी क्षति गरेको छ । क्यालिफोर्नियामा २०१८ मा ४ लाख हेक्टरभन्दा बढी र २०१९ मा १ लाख हेक्टरभन्दा बढी क्षेत्रफलको जंगलमा आगलागी भएको थियो ।
अस्ट्रेलियाको जारी फायर सिजनमा अग्निनियन्त्रकसहित २४ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा स्वयंसेवकका रुपमा आगो निभाउन गएका स्वयंसेवी अग्निनियन्त्रकहरूसमेत रहेका छन् ।
अस्ट्रेलियाको डढेलोमा सबैभन्दा ठूलो क्षति भने वन्यजन्तुको भएको छ । ५० करोडभन्दा बढी जीवजन्तुको मृत्यु भएको तथ्यांक छ । तर, यो अनुमानित तथ्यांक हो । डढेलो नियन्त्रण भइसक्दासम्म अर्बौं जीवजन्तुको मृत्यु भइसक्ने सिड्नी युनिभर्सिटीका पर्यावरणविदहरूले जनाएका छन् ।
यो तथ्यांकमा स्तनधारी, चराचुरुङ्गी र सरीसृपहरू मात्र गणना गरिएको छ । चमेरा, भ्यागुता र कीराफट्याङ्ग्रालगायतका जीवजन्तु पनि गणना गर्ने हो भने यो डढेलोले पर्यावरणमा पु¥याएको असरको आँकलन गर्नै नसकिने पर्यावरणविदको ठम्याइ छ ।
अस्ट्रेलियामा भएका एकतिहाइ कोयलाहरू डढेलोमा परी मरिसकेका छन् । कोयला अल्छी र सुस्त जनावरमध्येमा पर्छन् । जसकारण डढेलो सल्किँदै गर्दा भाग्न नसक्ने हुनाले उनीहरू रुखकै ओत लिन बाध्य हुन्छन् र त्यहीँ मृत्युको मुखमा पुग्छन् ।
तर, जीवजन्तुको मृत्यु मात्र भयावह छैन, जीवित जीवजन्तुलाई पनि अब बाँच्न मुश्किल हुनेछ । विश्वका दुर्लभ जीवजन्तु र वनस्पतिदेखि चर्चित कोयला र कंगारुको बासस्थानका रूपमा चर्चित अस्ट्रेलियाको एकतिहाइ जंगल जलेर नष्ट भएको छ ।
डढेलोमा भागेर ज्यान जोगाएका जनावरहरू बाँच्न त सफल भए तर लाखौं जनावार बसोबासविहीन बनेका छन् ।
कसरी गरिँदै छ डढेलो नियन्त्रण ?
अस्ट्रेलियाको राज्य तथा केन्द्रीय सरकार महिनौंदेखि डढेलो नियन्त्रणमा खटिएका छन् । केही दिनअघि सबैभन्दा बढी प्रभावित दुई राज्य भिक्टोरिया र न्यू साउथ वेल्सले संकटकाल घोषणा गरिसकेका छन् ।
संकटकाल घोषणा भएपछि दुवै राज्यलाई अग्निनियन्त्रणका लागि थप स्रोत तथा साधन उपलब्ध भएको छ । अहिले न्यू साउथ वेल्समा मात्र २ हजार अग्निनियन्त्रक खटिएका छन् भने अमेरिका, क्यानडा र न्यूजिल्यान्डले पनि थप अग्निनियन्त्रक पठाएको छ ।
अस्ट्रेलिया सरकारले २ विलियन अस्ट्रेलियन डलर अर्थात् १ खर्ब ५७ अर्ब ७३ करोडभन्दा बढी नेपाली रुपैयाँको पुनःस्थापना कोषको पनि घोषणा गरिसकेका छन् । यसका साथै सरकारले आर्मी परिचालन गरेर डढेलो नियन्त्रणलाई थप प्रभावकारी बनाइसकेको छ ।
कहिले नियन्त्रण हुन्छ डढेलो ?
डढेलो सुरु भएको महिनौं भइसक्यो । तर अफसोच, अस्ट्रेलियामा गर्मी मौसम बल्ल सुरु हुँदै छ । सामान्यतः जनवरी र फेब्रुअरीमा अस्ट्रेलियामा सबैभन्दा बढी गर्मी हुने गरेको छ ।
अर्थात, डढेलो पूर्ण नियन्त्रणमा आउन अझै केही महिना लाग्नेछ । तर, तीन÷चार महिना बित्न नपाउँदै फेरि अर्को फायर सिजन सुरु हुँदै छ । त्यसैले, यो अघिल्लो वर्षको फायर सिजनको आगो नियन्त्रणमा आए पनि फेरि नयाँ फायर सिजनले विध्वंसको नयाँ अध्याय सुरु गर्न धेरै समय लाग्ने छैन ।
अस्ट्रेलियाले पनि अहिले आगो नियन्त्रणभन्दा क्षति न्यूनीकरणमा बढी ध्यान दिइरहेको छ । कमभन्दा कम क्षति हुनेगरी अबको दुई महिनामा आगो नियन्त्रणमा आउन सक्ने अस्ट्रेलियाका अधिकारीहरूले जानकारी दिएका छन् ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६ १२:१९