महाशिवरात्रीमा पशुपति क्षेत्र अस्तव्यस्त बनेको छ । मन्दिर दर्शनको लागि लाईनमा बसेका भक्तजनहरु ५ घण्टा भईसक्दा पनि मन्दिर प्रवेश गर्न पाएका छैनन् ।
मन्दिर दर्शनको लागि लाईनमा बसेपनि लाईन नै अव्यवस्थित भएको भक्तालुहरुले जनाएका छन् । स्वयमसेवकहरुले आफुले चिनेको मानिसलाई बिचबाटै लाइनमा छिराइएको बताउँछन् ।
५ घण्टादेखी लाईनमा बसिरहेकी एक वृद्दा भन्छिन्, ‘पाँच घण्टा भई सक्यो लाईनमा बसेको कहिले भित्र छिर्नु । बुढी मान्छे अगाडी जान्छु भन्दा पनि प्रहरीले बुढाबुढी मान्छे यस्तो भीडमा किन आएको भनेर गाली गर्छ ।’
ज्येष्ठ नागरिक र अशक्तको लागी विषेश व्यवस्था गरिएको भएपनि लाईनमा बसेको ६/७ घण्टा भईसकेको जेष्ठ नागरिकहरु बताउँछन् । यति मात्रै होईन पशुपति मन्दिर परिशरमा भित्र पस्न नदिए पछि भक्तजनहरु बारबाट उक्लिएरै भएपनि मन्दिर दर्शनको लागी भित्र गएका छन् ।
लाइनको प्रबन्ध मिलाउन खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवक खटिए पनि प्रबन्ध मिलाउन नसकेको उनीहरु बताउँछन् ।
मन्दिर दर्शन गरेर फर्किएकी एक महिलाले भनिन्, ‘भित्र पुग्न पाँच घण्टा लाग्यो । मन्दिर पुगियो भनेर पनि के खुसी हुनु ? ढोकानेर पुग्ने वित्तिकै सुरक्षाकर्मीहरुले छिटो छिटो जानु भन्दै ठेल्न थाले । राम्ररी पनि दर्शन गर्न पाईएन ।’
पशुपति क्षेत्र विकास कोषले मन्दिर दर्शनको लागि व्यवस्थित गरिएको छ भने पनि मन्दिर परिुरमा छिर्ने मुलगेटमै अस्तव्यस्त देखिएको थियो।
पशुपति क्षेत्र भएर चल्ने सवारी साधनलाई भने विहानैदेखि वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक/एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक/एक गरी दुई लाइनको व्यवस्था गरिएको छ ।
पशुपति क्षेत्र आज पूर्णरुपमा मेलामय बनेको छ । विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापानको व्यवस्था गरेका छन्।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५ ०३:५८