घटना १
गत मंगलबार पक्राउ परेका दोलखाका दिनेश कोइरालाको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
सामान्य बिरामी कोइराला प्रहरीको थुना कक्षमा बस्नुको साटो सेवा सुविधाको लोभमा अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै वीर अस्पतालले पक्राउ परेको दुई दिनमा डिस्चार्ज गरेको थियो ।
प्रहरीले सामान्य मेडिकल परीक्षण गर्न वीर अस्पताल पुर्याइएका उनी एक्कासि बिरामी भएर ढलेको नाटक गरेपछि वीर अस्पतालले दुई दिन अस्पतालमै भर्ना गरेर उपचार गराएको थियो ।नर्भिकको क्याबिनमा ‘नटवरलाल’ ठगकाे मस्ती
वीर अस्पतालले डिस्चार्ज गरेको बिरामीलाई नर्भिक अस्पतालले क्याबिनमा राखेर उपचार भइरहेको छ । नर्भिक अस्पतालका अनुसार उनको छाती र पेटको समस्या देखिएपछि अस्पतालले उनलाई भर्ना गरेको हो ।
कोइराला ठगीका अभियुक्त हुन् । उनले सयौं व्यक्तिको घरबारविहीन बनाएको प्रहरीको भनाइ छ । महानगरीय अपराध महाशाखाका अनुसार उनले ८० करोड रूपैयाँभन्दा बढी ठगी गरेको अनुमान छ ।
घटना २
१९ असोजमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परे । उनीमाथि संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको उभियोग छ । हाल उनी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उनलाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । प्रहरीले अनुसन्धान गर्न पाएको २५ दिनको अवधिसम्म भने महरा प्रहरीको थुना कक्षमा बसेनन् । उनी त्यो अवधिमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएर बसेका थिए ।
अस्पतालबाट १८ कात्तिकमा सिधै अदालत पुगेका महरा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश आएसँगै भने कारागारमा नै बस्न गएका थिए । उनलाई अस्पतालले बिरामी नहुँदै अस्पताल भर्ना गराएको थियो ।
घटना ३
यसरी नै १५ साउन २०६८ मा पोखरा फूलबारी रिसोर्ट मालिक पियूषबहादुर अमात्यलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्याे । प्रहरीले हिरासतमा राख्न खोज्दा उनको मुटु दुख्यो ।
प्रहरीले वीर अस्पताल लगेर परीक्षण गराउँदा केही नभएको रिपोर्ट दियो र भर्ना गरेर उपचार गराउनु आवश्यक नभएको बतायो । तर, उनी नर्भिक अस्पतालमा भर्ना भए ।
त्यस्तै, २१ भदौ २०६८ सालमा मिठाईमा बोसो प्रयोग गरेको अभियोगमा पक्राउ पर्ने डरले अनमोल स्विट्सका बीएल शर्मासमेत बिरामी नहुँदै नर्भिक अस्पतालमा भर्ना भएर बसेका थिए । पछि काठमाडौं प्रहरीले उनलाई अस्पतालबाट नै पक्राउ गरेको थियो ।
यी केही प्रतिनिधि घटना मात्र हुन् । नर्भिक अस्पतालले प्रहरीको थुना कक्षमा बस्न नचाहने र पैसा हुनेलाई रोग नहुँदै पनि अस्पताल भर्ना गर्ने गरेको छ । प्रहरीका अनुसार अस्पतालले पैसाकै लागि निरोगीलाई समेत भर्ना गर्दा अनुसन्धानमा समस्या पर्ने गरेको छ ।
नर्भिक अस्पतालले भने कुनै मानिसमा रोगको लक्षणबिना अस्पतालले भर्ना नगरेको दाबी गर्छ । बिरामीको रोगबारे उनीहरूको अनुमतिबिना कसैलाई केही भन्न पनि नमिल्ने अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालमा दैनिक २ हजारदेखि ३५ हजार रुपैयाँ पर्ने क्याबिन र डिलक्स रुमहरू छन् ।
जनशक्तिको दुरूपयोग
प्रहरी थुनामा राख्नुपर्ने अभियुक्त अस्पताल भर्ना हुँदा सुरक्षामा खटिने प्रहरी कर्मचारीको दुरूपयोग हुने काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होवीन्द्र बोगटीको भनाइ छ ।
कतिपय बिरामी नहुँदै वहाना बनाएर अस्पताल भर्ना हुने गरेका छन् । यसले सुरक्षाका लागि खटिने प्रहरीलाई दुरूपयोग गरेको छ , डिएसपी बोगटीले थपे, ‘प्रहरीलाई स्वास्थ्यबारे जानकारी हुने कुरा भएन । बिरामी नहुँदै अस्पताल भर्ना गर्ने अस्पताल र डाक्टरबारे पनि छानबिन हुनु जरुरी छ ।’
अस्पतालमा बसेको एक जना थुनुवाका लागि प्रहरीले दुईदेखि तीन जना खटाउने गरेको छ ।
र, याे पनि...
प्रकाशित मिति: बुधबार, पुस २, २०७६ १७:३४