बैंकहरूको व्यवसाय सर्वसाधारणले निक्षेपको रूपमा राखेको रकम उद्योग व्यवसाय गर्ने व्यक्तिहरूलाई कर्जाको रूपमा दिने हो । निक्षेप राख्ने व्यक्तिलाई बैंकले ब्याज दिन्छन्, कर्जा लिने व्यक्तिसँग ब्याज लिन्छन् ।
निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याज अन्तर (स्प्रेड) दर नै बैंकहरूको नाफाको सबैभन्दा ठूलो आधार हो । ब्याजलगायतका खर्च जोडेपछि बैंकमा जम्मा भएको निक्षेप रकमको लागत पत्ता लाग्छ । बैंकमा जम्मा हुने रकमको लागत कति छ भन्ने जानकारी सामान्यतः आधार दरले तय गर्छ ।
तर, बैंकहरूले आधार दरमा मनोमानी प्रिमियम राखेर कर्जाको ब्याजदर निर्धारण गर्दा बैंकबाट ऋण लिने सामान्य नागरिक ठगिने गरेका छन् । कतिपय बैंकहरूले त आफ्नो आधार दरकै हाराहारीमा प्रिमियम दर राखेका छन् ।
सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो आधार दरमा ५.४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज लिने सार्वजनिक सूचना नै प्रकाशित गरेको छ । यस्तै, सरकारी लगानी पनि रहेको कृषि विकास बैंकले ७ प्रतिशतसम्म र नेपाल बैंकले ५ प्रतिशतसम्म प्रिमियम राखेको छ ।
नेपालकै सबैभन्दा ठूलो बैंक दाबी गर्ने नबिल बैंकले आधार दरमा साढे ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिन्छु भनेको छ । यस्तै, अर्काे ठूलो वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले ६.६ प्रतिशत, बहुराष्ट्रिय बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले साढे ७ प्रतिशत र भारतको स्टेट बैंक अफ इण्डियाको पनि लगानी रहेको नेपाल एसबीआई बैंकले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर लिने सार्वजनिक घोषणा गरेको छ ।
पाकिस्तानको हविब बैंकको पनि लगानी रहेको हिमालयन बैंकले आधार दरमा साढे ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज लिन्छु भनेको छ । यस्तै, बंगलादेशी बैंकको पनि लगानी रहेको नेपाल बंगलादेश बैंकले आधार दरमा ४ प्रतिशतसम्म र भारतकै पन्जाव नेसनल बैंकको पनि लगानी रहेको एभरेष्ट बैंकले साढे ७ प्रतिशतसम्म प्रिमियम राखेर कर्जाको ब्याज तय गरिने जानकारी गराएका छन् ।
नेदरल्याण्डको कम्पनीको पनि लगानी रहेको एनएमबी बैंकले आफ्नो आधार दरमा सबैभन्दा बढी प्रिमियम थप गरेर कर्जाको ब्याज तय गर्ने खुल्मखुल्ला घोषणा गरेको छ । एनएमबीले आधार दरमा साढे ८ प्रतिशतसम्म प्रिमियम थप गर्ने सार्वजनिक जानकारी गराएको छ ।
प्रिमियम बढी राखेर कर्जाको ब्याज तय गर्ने घोषणा गरेका अन्य बैंकहरूमा कुमारी र सिटिजन्स बैंक इन्टरनेसनलको ८ प्रतिशत छ । यस्तै, आधार दरमा एनआईसी एसिया बैंकले ७ प्रतिशत, ग्लोबल आईएमई बैंकले ६ प्रतिशत र सिभिल बैंकले ६.८९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज तय गरिने उल्लेख गरेका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई आधार दरभन्दा कममा कर्जाको ब्याज तय नगर्न निर्देशन दिएको छ । तर, बढीमा कति प्रतिशतसम्म प्रिमियम थप गर्ने भन्ने राष्ट्र बैंकले सीमा तोकेको छैन । कानूनको यही छिद्र प्रयोग गरेर बैंकहरूले प्रिमियम बढी राख्ने गरेका हुन् ।
‘बैंकहरूले आधार दरमा बढी प्रिमियम राखेर कर्जाको ब्याज तोक्ने गरेपनि बैंकसम्बन्धी जानकारी राख्ने र बार्गेनिङ गर्न सक्ने ग्राहकलाई सस्तो दरमा नै ब्याज दिने गरेका छन्, तर यस्तो जानकारी नहुने र निर्धाे ग्राहकबाट महँगो ब्याज असुल गर्ने उद्देश्यले बढी प्रिमियम राखेको देखिन्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
यस्तो छ बैंकहरूको आधार दर र प्रिमियम दर
नेपाल बैंक
आधार दरः ७.८४
प्रिमियमः एक्सपोर्ट फाइनान्स इन डोमेस्टिक करेन्सी कर्जामा आधारमा पनि दिने
अधिकतमः सेवाग्राही कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम
कृषि विकास बैंक
आधार दरः १०.१८
न्यूनतमः सरल कृषि कर्जामा आधार दरमा ०.५ प्रतिशत प्रिमियम
अधिकतमः हाउसहोल्ड कर्जा र व्यक्तिगत ओभरड्राफ्ट कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम
नविल बैंक
आधार दरः ७.९४
न्यूनतमः विद्युतीय सवारी खरिद कर्जामा आधार दरमा १.५ प्रतिशत प्रिमियम
अधिकतमः बैंकले क्षेत्र नै तोकेर उल्लेख गरेका बाहेक अन्य कर्जामा आधार दरमा ६.५ प्रतिशतसम्म प्रिमियम
नेपाल इन्भेष्टमेन्ट बैंक
आधार दरः ८.४८
न्यूनतमः सोलार कर्जामा आधार दरमा ०.१५ प्रतिशत प्रिमियम
अधिकतमः अन्य अधिकांश कर्जामा आधार दरमा ६.६ प्रतिशतसम्म प्रिमियम
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल
आधार दरः ७.६३
न्यूनतमः विपन्न वर्ग कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः व्यक्तिगत कर्जामा आधार दरमा ७.५ प्रतिशतसम्म प्रिमियम
हिमालयन बैंक
आधार दरः ८.९३
न्यूनतमः मुद्दती निक्षेपको धितोमा दिइने कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ५.५ प्रतिशतसम्म प्रिमियम
नेपाल एसबीआई बैंक
आधार दरः ९.९४
न्यूनतमः विपन्न वर्ग कर्जामा आधार दरमा ०.५ प्रतिशत प्रिमियम
अधिकतमः बैंकले तोकेको कर्पाेरेट र प्राइम ग्राहकबाहेकको हकमा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
एनबी बैंक
आधार दरः ९.८७
न्यूनतमः एक्सपोर्ट फाइनान्समा आधारदरमा नै कर्जा उपलब्ध गराउने
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम लिने
एभरेष्ट बैंक
आधार दरः ८.४९
न्यूनतमः कृषि र ३ वर्षभन्दा कम अवधिको टर्म लोनमा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ७.५ प्रतिशतसम्म प्रिमियम
कुमारी बैंक
आधार दरः १०.६२
न्यूनतमः कुमारी बैंकमा नै राखिएको मुद्दती निक्षेपको धितोमा कर्जा लिँदा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः प्रोफेसनल, अन्य, घर, अटो, शिक्षालगायतका कर्जामा आधार दरमा ८ प्रतिशतसम्म प्रिमियम
लक्ष्मी बैंक
आधार दरः १०.२४
न्यूनतमः साना तथा मझौला व्यवसाय कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा ६ प्रतिशतसम्म प्रिमियम
सिटिजन्स बैंक इन्टरनेसनल
आधार दरः १०.४४
न्यूनतमः टीआर लोनमा आधार दरमा ०.२५ प्रतिशत प्रिमियम
अधिकतमः कर्पाेरेट लोन अन्तर्गतका अन्य कर्जामा आधार दरमा ८ प्रतिशतसम्म प्रिमियम
प्राइम कमर्सियल बैंक
आधार दरः ९.६७
न्यूनतमः नेपाल सरकारले तोकेर अनुदान दिने ऋणमा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
सनराइज बैंक
आधार दरः ९.९७
न्यूनतमः सरकारी ऋणपत्रको धितोमा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
सेन्चुरी बैंक
आधार दरः १०.४५
न्यूनतमः विपन्न वर्गमा कर्जा आधार दरमा नै
अधिकतमः २० वर्षसम्मको लागि घर कर्जामा आधार दरमा ५.२५ प्रतिशतसम्म प्रिमियम
सानिमा बैंक
आधार दरः ९.२२
न्यूनतमः सानिमा बैंकको मुद्दती निक्षेप धितो राखेर कर्जा लिँदा आधार दरमा नै
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
माछापुच्छ्रे बैंक
आधार दरः १०.०२
न्यूनतमः थोक तथा संस्थागत कर्जा आधार दरमा २.५ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
एनआईसी एसिया बैंक
आधार दरः ९.५२
न्यूनतमः व्यावसायिक कृषि तथा पशुपक्षी पालन कर्जा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम
ग्लोबल आईएमई बैंक
आधार दरः ९.४४
न्यूनतमः विपन्न वर्ग कर्जा (संस्थागत) आधार दरमा १ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
एनएमबी बैंक
आधार दरः ९.९९
न्यूनतमः रिटेल माइक्रोफाइनान्स कर्जा आधार दरमा ०.५ प्रतिशत प्रिमियम
अधिकतमः व्यक्तिगत कर्जासहित अन्य केही कर्जामा आधार दरमा ८.५ प्रतिशतसम्म प्रिमियम
प्रभु बैंक
आधार दरः ९.२४
न्यूनतमः सरकारले तोकेका ब्याज अनुदान दिइने कर्जामा आधार दरमा २ प्रतिशतसम्म प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम
सिद्धार्थ बैंक
आधार दरः १०.०२
अधिकतमः सरकारी ऋणपत्र धितोमा कुपन दरमा २ प्रतिशत वा आधार दरमा १ प्रतिशत प्रिमियम जोड्दा जुन बढी हुन्छ, त्यही लिने
अधिकतमः सेयर धितो र व्यक्तिगत ओभर ड्राफ्ट कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
बैंक अफ काठमाण्डू
आधार दरः १०.०२
न्यूनतमः बैंक वित्तीय संस्थामा रहेको मुद्दती निक्षेपको धितोमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम
सिभिल बैंक
आधार दरः ११.११
न्यूनतमः सरकारी ऋणपत्रको धितोमा आधार दरमा १ प्रतिशत प्रिमियम
अधिकतमः ओभरड्राफ्ट र सामूहिक जमानीमा जाने लघुवित्त कर्जामा आधार दरमा ६.८९ प्रतिशतसम्म प्रिमियम
एनसीसी बैंक
आधार दरः १०.७८
न्यूनतमः टीआर र निर्यात कर्जा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः अधिकांश कर्जामा आधार दरमा ५ र ६ प्रतिशतसम्म प्रिमियम
राष्ट्रिय वाणिज्य बैंक
आधार दरः ६.६
न्यूनतमः सहुलियतपूर्ण कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम
अधिकतमः सेयरधितो, मोर्टगेज, व्यक्तिगतजस्ता कर्जामा आधार दरमा ५.४ प्रतिशतसम्म प्रिमियम
मेगा बैंक
आधार दरः १०.१९
न्यूनतमः मेगा बैंकले प्रवाह गर्ने सबै कर्जा आधार दरमा नै दिन सकिने पनि उल्लेख गरेको छ ।
अधिकतमः बैंकले आधार दरमा नै कर्जा दिन सकिने उल्लेख गरेको भए पनि शिक्षा, ओभर ड्राफ्ट, हाउजिङजस्ता कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर लिन सकिने भनेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६ १९:०८