भारतको बैंङलोरका नीलकण्ठ भानुप्रकाश जसले १७ वर्षको उमेरमा नै गणितका चार विश्व रेकर्ड तोडेर सबैभन्दा छिटो मानव क्याल्कुलेटर उपनाम पाए । स्कट फ्लान्सबर्ग र शकुन्तला देवीको रेकर्ड तोडेर उनले सो उपाधि प्राप्त गरेका हुन् । भानुप्रकाशले सो उपनाम पाएसँगै आफ्नो सो अभूतपूर्व क्षमतालाई उद्यममा रूपान्तरण गर्नेबारे सोच्न थाले ।
सोचले मात्र त के हुन्छ र ! उद्यमका लागि त लगानी पनि चाहिन्छ । जुन उनीसँग थिएन । विश्वभरका भानुप्रकाशजस्तै स्टार्टअप सोच भएका युवाहरूको उद्यमलाई उमार्ने जमर्कोमा थिए, खगेन्द्र आचार्य । आचार्यले सञ्चालन गरेको ‘ओया आईएनसी’ले आठ वर्षअघि नुवाकोटको ककनीमा पहिलोपटक ‘ग्लोबल बुट क्याम्प’ गर्न लागेको भानुप्रकाशले थाहा पाए ।
खगेन्द्रको सो बुटक्याम्पबाट भानुलाई लगानीका लागि जब ५० मिलियन डलर जुट्यो, तब उनको उद्यमी बन्ने सोचले बल्ल आकार पायो । गणित शिक्षालाई आकर्षक र प्रभावकारी सिकाइ अनुभवमा रूपान्तरण गर्ने उद्देश्यका साथ उनले ‘भान्जु’को सुरुवात गरे । उनले भारतमा २० लाखभन्दा बढी विद्यार्थीसम्म पुग्ने कार्यक्रमहरू विकास गरे ।

‘भान्जु’को सफलतासँगै सन् २०२० सम्म आइपुग्दा उनी मानसिक गणना विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भए । योसँगै बीबीसीबाट गणितको ‘उसैन बोल्ट’को उपाधि र भारतका राष्ट्रपतिबाट प्रशंसापत्र प्राप्त गरे ।
‘भान्जु’मार्फत गणित शिक्षालाई आकर्षक र प्रभावकारी सिकाइका रूपमा विश्वव्यापी विद्यार्थीहरूमाझ पुगिरहेका भानुप्रकाशले २०२२ सम्म आइपुग्दा विश्व चर्चित फोर्ब्स म्यागेजिनले घोषणा गरेको विश्वका प्रभावशाली कम्पनीमा ‘भान्जु’समेत परेको थियो ।
तर, यता भानुप्रकाश र ‘भान्जु’लाई त्यो आयामसम्म पुर्याउन सबैभन्दा महत्त्वपूर्ण सहयोग पुर्याएको ओयाको मोडल भने नेपालबाटै विस्थापित हुने अवस्थामा पुग्यो । कारण नेपालभित्रैबाट ओयाको मोडललाई कसैले पत्याएन । अनि, नेपाली बजारका लागि खगेन्द्रको सोच फेल खायो ।
त्यो असफलताले खगेन्द्रलाई निराश त पक्कै बनायो । तर, फेरि उठेर आफ्नो उद्यमलाई एक कदम अगाडि बढाउन भने रोकेन । त्यसो त उनले ओयाको परिकल्पना गर्दै धेरै मेन्टरहरूले सुझाएका पनि थिए, ‘यस्तो व्यावसायिक मोडल व्यवहारतः सफल हुँदैन ।’
ती सुझाव र असफलताबाट हार मानेर चुपचाप बस्ने स्वभाव नभएकैले त उनी रोकिएनन् । किनकि कलिलै उमेरमा असफताका थुप्रै स्वादबाट उनी अघाइसकेका थिए । विराटनगरमा जन्मिएका खगेन्द्र डाक्टर बन्ने चाहना बोकेर उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । तर, काठमाडौं आएपछि उनले चाहेकोजस्तो परिस्थिति बनेन । मध्यम वर्गीय एक साधारण परिवारमा जन्मिएका उनका लागि त्यो सपना नै निकै ठूलो भयो ।
‘डाक्टर बन्छु’ भनेर काठमाडौं छिरेका उनी पछि इजरायल उडे । इजरायली नागरिकको उद्यमशीलता र उनीहरूको उद्यमप्रतिको सोचबाट प्रभावित भएरै हो, खगेन्द्रको उद्यमशीलताको उडानको खाका कोर्न थालेको ।
बिस्तारै उनले सानो सोचले मात्र केही नहुने रहेछ, अबको समय भनेको ग्लोबल्ली मुभ हुने रहेछ भन्ने बुझ्दै गए । इजरायलमै रहँदा उनले करिब डेढ दर्जन देशका विभिन्न उद्यम तथा शैक्षिक सम्मेलनमा भाग लिने अवसर पाए । खगेन्द्रलाई त्यो अवसर एक किसिमले संसार बुझ्ने मौका बन्न पुग्यो ।
इजरायलबाटै उनी अमेरिका पुगे । अमेरिकापछि भने उनमा अबको समय जागिर खाने होइन, जागिर खुवाउने हो भन्ने सोचको विकास भयो । त्यसपछि संसारमै स्टार्टअप क्षेत्रमा के–कस्ता समस्या रहेछन् भनेर विश्व बजारलाई नियाल्न, पहिल्याउन थाले । करिब ६ महिनाको गृहकार्यपश्चात् उनले ओयाको सोच विकास गरे । जापनिज शब्द ओयाको अर्थ हुन्छ, अभिभावक ।
खगेन्द्रले स्टार्टअप उद्यमी तथा विद्यार्थीलाई विश्व समुदायसँग जोड्ने उद्यमका रूपमा ओयालाई अगाडि बढाउन एउटा टिम नै तयार पारे । अनि अमेरिकबाटै ‘ओया आईएनसी’लाई अगाडि बढाए ।

आफ्नो कम्पनीलाई कसरी सेटल गराउन सकिन्छ ? कसरी ग्लोबल्ली मुभ गर्न सकिन्छ भनेर सोच्दै गर्दा भारत, बङ्गलादेशलगायत दक्षिण एसियाली मुलुकको बढ्दो जनसंख्यासँगै छिमेकी देश चीनको विश्वकै उच्च जनघनत्व विश्लेषण गरेर खगेन्द्रले स्टार्टअप कम्पनीका लागि नेपाल उत्कृष्ट गन्तव्य ठाने । अनि, ९ वर्षअघि ‘ओयालाई’ अमेरिकाबाट नेपाल भित्र्याए र काठमाडौंको अनामनगरमा मुख्य कार्यालय हुने गरी ओया आईएनसीलाई विस्तार गरे ।
संसारका कुनै पनि इभेन्ट, कन्फरेन्स, विभिन्न शैक्षिक संस्थाहरूले प्रदान गर्ने स्कलरसिप तथा इन्टर्नसिप ‘ओया अपर्च्युनिटिज’मार्फत विश्वव्यापी प्रमोट गर्ने लक्ष्यका साथ काम थालेको ‘ओया आईएनसी’ले एकवर्षे कार्यकालमै बिल क्लिन्टनबाट उत्कृस्ट स्टाटअप अवार्ड प्राप्त गर्यो, जसले खगेन्द्रको समूहलाई निकै ठूलो व्यावसायिक ऊर्जा प्राप्त भयो । कति अरुको इभेन्ट मात्र प्रचार गर्ने ? अरुको इभेन्ट प्रमोसन गरिरहँदा खगेन्द्रको समूहलाई लाग्यो– किन आफैँ यस्ता इभेन्टहरू नगर्ने ?
त्यसपछि ‘ओयाले’ एमआईटीसँगको सहकार्यमा आफ्नै इभेन्ट प्रमोसन प्लेट फर्म ग्लोबल आन्ट्रप्रेनरसिप बुट क्याम्प (जीईबी) सुरु भयो । आठ वर्षअघिको कुरा हो, नेपाललाई पनि स्टार्टअप हबका रूपमा विकास गर्नुपर्छ भन्ने सोचले ओया आईएनसीले आफ्नो पहिलो बुट क्याम्प नेपालमै सञ्चालन गर्यो । त्यो इभेन्ट त्यही ककनीको थियो, जहाँबाट भारतीय मूलका भानुप्रकाशले ‘भान्जु’ कम्पनीको बीजारोपण गरेका थिए ।

अफसोच, खगेन्द्र स्वयम्को ‘ओया आईएनसी’ भने सो इभेन्टबाटै ओइलायो । विदेशीहरू उद्यम सिक्नभन्दा घुम्नका लागि नेपाल आउने ट्रेन्ड बस्यो । यही कारणले ग्लोबल आन्टरप्रेनरसिप बुट क्याम्पको मोडल नेपालमा फेल खायो ।
त्यसपश्चात् इमर्जिङ मार्केट मुभ गर्नुपर्छ भनेर खगेन्द्रको समूहले दोस्रो ग्लोबल आन्टरप्रेनरसिप बुट क्याम्प बैंककमा आयोजना गर्यो । सो बुट क्याम्पमा १३ वटा बिजनेस प्लान समेटिएको थियो, जुन क्याम्प सफल पनि रह्यो ।
त्यसपछि खगेन्द्र मुख्य कार्यालय ओया आईएनसी नेपालमै रहने गरी त्यसअन्तर्गत ग्लोबल आन्टरप्रेनरसिप बुट क्याम्प (जीईबी) लाई भने अमेरिकाबाटै अघि बढाउने निर्णयमा पुगे । त्यसपछि भने ओया आईएनसीअन्तर्गतको जीईबीले एकपछि अर्को सफलता हात पार्दै गयो ।

‘भान्जु’जस्ता थुप्रै स्टार्टअपलाई फुलाउँदै फलाउँदै अगाडि बढाउने सारथिका रूपमा (जीईबी) उदायो । अहिले १० लाख अमेरिकी डलरबराबरको पुँजी भएको जीईबी भेन्चर फन्ड, जीईबी समुदायका प्रारम्भिक चरणका उद्यमीहरूलाई हुर्काउने उद्देश्यले ग्लोबल आन्टरप्रेनरसिप बुट क्याम्पद्वारा समर्पित कम्पनी बनेको छ ।
यो कोषले विशेष गरी जीईबी विश्वका जुनसुकै कुनाका स्टार्टअपहरूलाई पुँजी र परामर्श दुवै प्रदान गर्दछ । साथै, भेन्चर फन्डले अन्तर्राष्ट्रिय साझेदारीलाई सहजीकरण, स्केलेबल फ्रान्चाइजी मोडेलहरू प्रयोग गरेर स्टार्टअपहरूलाई विस्तार गर्न सहयोग गर्छ । साथै युवा उद्यमीहरू, नीति निर्माताहरू र लगानीकर्ताहरूका लागि एउटा जीवन्त प्लेटफर्म सिर्जना गरेको छ ।
हाल ग्रीसमा १२औँ ग्लोबल आन्टरप्रेनरसिप बुट क्याम्पको तयारीमा रहेको जीईबीले १ सय १० देशका १७ सय उद्यमीलाई १ सय १० मिलियनभन्दा धेरै लगानी जुटाइसकेको छ । झण्डै ‘भान्जु’जस्ता १६० भन्दा धेरै स्टार्टअपका सोचलाई सफल बनाउन सकेकोमा सबैभन्दा सन्तुष्ट छन्, खगेन्द्र आचार्य ।

आचार्य भन्छन्, 'काम गर्न सजिलो छैन तर नेपालमै अवसर छ, आजको युग प्रविधिको युग हो । अनि, त्यो प्रविधिअनुरुपको सोचको खाँचो पनि पर्छ । भूगोल जुनसुकै होस्, यदि स्पष्ट व्यावसायिक साेच भए नेपालमै बसेर संसारभरको काम गर्न सकिन्छ ।'
खगेन्द्रको एउटा सोचबाट जन्मिएको ‘ओया आईएनसी’ र ‘जीईबी’ एउटा सोच कसरी संसारमा नयाँ परिवर्तन ल्याउन सक्ने रहेछ भन्ने गतिलो उदाहरण बनेको छ ।

पटकपटकको असफलताबाट हार नमानेका खगेन्द्रले ३२ वर्षकै उमेरमा हासिल गरेको यो सफलताबाट तपाईं हामीले पनि ठूलो पाठ सिक्न सक्छौँ । उनले परिकल्पना गरेको उद्यम, जो आज संसारभरका युवाका सोचलाई उद्यममा रूपान्तरण गरिदिने मञ्च बनेको छ, जुन मञ्चले भारतको विश्वचर्चित ‘भान्जु’ जस्ता १६० भन्दा धेरै स्टार्टअपका सोचलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
खगेन्द्र भन्छन्, ‘हामी प्रविधिको त्यस्तो युगमा छौँ, जसका माध्यमबाट नेपालमै बसेर संसारका जुनसुकै कुनाको काम गर्न सकिन्छ । हामीले त्यही गरिरहेका छौँ । सिर्जनशील सोचलाई कुनै देशको सीमाले रोक्न सक्दैन ।’
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ २०:२१