कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरासत फर्काएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको केएमसीमा भएको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको हो ।
शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार स्ववियु सभापतिमा नेविसंघका सन्तोष पन्त विजयी भएका छन् । उनले ८२७ मत पाए । पन्त वर्तमान स्ववियु सचिव पनि हुन् । उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) का पवन सुनारले ५५८ मत पाए भने निवर्तमान स्ववियु सभापतिसमेत रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७, एकीकृत समाजवादी निकट अनेरास्ववियूका सुनिलराज जोशीले ६८ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत पाएकी छिन् ।
सचिवमा नेविसंघ र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा नेविसंघबाट ओमप्रकाश वस्ती र कोषाध्यक्षमा धर्मराज तिमल्सिना विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकी प्रमिला शाह चार मतले पराजित भइन् । तीन हजार पाँच सय बढी मतदाता रहेको उक्त क्याम्पसमा २७ गते भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो ।
३४ वर्षपछि नेविसंघले विरासत फर्कायो
कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म १४ जना स्ववियु सभापति निर्वाचित भएका छन् । त्यसमा सात जना नेविसंघ, दुई जना नेविसंघकै बागी र पाँच जना अनेरास्ववियुका छन् । सुदूरपश्चिमकै सर्वाधिक विद्यार्थी अध्ययन गर्ने कलेजका रूपमा रहेको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ भने ३४ वर्षपछि विजयी भएको हो ।
यसअघि २०४७ सालमा भएको स्ववियु निर्वाचनमा नेविसंघका तपराज जोशी सभापतिमा निर्वाचित भएका थिए । हुन त २०५३ र २०५५ मा भएको स्ववियु निर्वाचनमा पनि नेविसंघमै आबद्ध विद्यार्थी नेता सभापतिमा निर्वाचित भएका थिए । तर, उनीहरू नेविसंघबाट टिकट नपाएपछि बागी चुनाव लडेका थिए । २०५३ सालमा नेविसंघका बागी उम्मेदवार हरि रेग्मी र २०५५ मा नेविसंघका बागी उम्मेदवार प्रकाश बोगटी स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
२०४७ सालअघिका सबै निर्वाचनमा भने नेविसंघ नै विजयी भएको थियो । २०३८ सालमा नेविसंघकै धर्मबहादुर सिंह क्याम्पसको पहिलो स्ववियु सभापतिका रूपमा निर्वाचित भएका थिए । २०३९ सालमा बरबहादुर ठकुल्ला, २०४० सालमा टीकाराम खनाल, २०४१ सालमा पदम विष्ट, २०४३ सालमा मेघराज खड्का र २०४४ सालमा धर्मराज भण्डारी सभापतिमा निर्वाचित भएका थिए । उनीहरू सबै नेविसंघका उम्मेदवार थिए ।
२०५१ सालमा भएको निर्वाचनमा भने पहिलोपटक अनेरास्ववियुले बाजी मारेको थियो । नेविसंघका प्रमोद पाठकलाई पराजित गर्दै अनेरास्ववियुका टेकबहादुर चन्द स्ववियु सभापतिमा विजयी भएका थिए । अन्य पदमा भने नेविसंघकै उम्मेदवार विजयी भएका थिए । २०५७ साल यताका सबै निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको थियो । २०५७ सालमा डेजी पाण्डे, २०६१ सालमा यज्ञराज ढुंगाना, २०७३ मा चुडामणि भट्ट र २०७९ मा यमराज जोशी सभापतिमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १५:०२