तीनकुनेमा प्रदर्शन गर्नु अघिल्लो दिन १४ चैतमा दुर्गा प्रसाईंले निर्मल निवास पुगेर अन्तिम राजा ज्ञानेन्द्र शाहलाई भेटेका थिए । आज हुने जनप्रदर्शनका लागि प्रसाईंले शाहलाई भेटेको अर्थमा लिइएको थियो र त्यो भेट रणनीतिक र अर्थपूर्ण मानिएको थियो ।
शाह–प्रसाईंको त्यो भेटभन्दा अघि नै कमल थापा नेतृत्वको राप्रपा नेपालले आजको सभालाई समर्थन गरेको थियो । यद्यपि, शीर्ष नेताहरू उपस्थित हुने संकेत गरेको थिएन । राजतन्त्रपक्षधरहरूको हरेक आन्दोलनलाई समर्थन गर्ने नीतिअनुसार नै थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गर्ने र सहभागिताका लागि आग्रह गरेको थियो ।
अनि, बेलुका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि समर्थन गरेको विज्ञप्ति निकाल्यो । तर, यी दुवै समर्थन थापा र लिङ्देनको मनबाट थिएनन् । बाध्यतावशः मन निचोरेर समर्थन गरेका थिए । त्यसैले, थापा र लिङ्देनको एजेन्डा प्रसाईंले हाइज्याक गरिदिएको विश्लेषण भइरहेको थियो ।
हुन पनि शाहले थापा र लिङ्देनभन्दा बढ्ता प्रसाईं विश्वासिलो लाग्न थालेपछि एजेन्डा हाइज्याक मात्र भएन, प्रसाईंको रोडम्यापमा नवराज सुवेदीहरू नेतृत्वमा आए । अनि राप्रपालाई विभाजित गराउने परिस्थति देखियो ।
सभाको पूर्वसन्ध्यामा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वको तेस्रो जनआन्दोलन संयोजन समितिले दुर्गा प्रसाईंलाई जनकमान्डर तोकेको थियो । त्यसले प्रसाईंको हर्कतलाई थप मलजल पनि गरिरहेको थियो । त्यसमाथि प्रदर्शनको अघिल्लो दिन ज्ञानेन्द्र शाहको भेट पाएपछि उनमा चढेको उन्माद सायदै कल्पना गर्न सकिन्छ । त्यो उन्माद आज तीनकुनेमा पोखिएको अर्थमा हेर्न सकिन्छ ।
शाहले प्रसाईंलाई कमान्डर नै बनाएका कारण लिङ्देन नेतृत्वको राप्रपाले विज्ञप्ति निकालेर सभालाई समर्थन गरेको थियो । हिजो साँझ मात्रै सहभागिताका लागि समर्थकलाई आग्रह गरेको थियो । र, उसले पनि शीर्ष नेता सहभागी हुने संकेत गरेको थिएन । तथापि, राप्रपामा नेताहरू प्रकाशचन्द्र लोहनी, धवल शमशेर राणा, रवीन्द्र मिश्रसहितका नेताहरू प्रसाईंको नेतृत्वमा आन्दोलित थिए । तर, हिजोसम्मका कट्टर राजावादी नेताहरू थापा, लिङ्देनसहितका नेताहरूको उपस्थिति आजको सभामा हुने थिएन ।
वयोवृद्ध नवराज सुवेदी र प्रसाईं हावी हुने गरी भएको यो सभा यसरी बिथोलियो कि जसरी प्रसाईं विगत ७ वर्षमा बिथोलिएका छन् । २०७४ को चुनावसम्म माओवादी रहेका प्रसाईं, २०७९ मा आइपुग्दा एमाले मात्रै भएनन्, अध्यक्ष केपी ओलीका नाति भए । अनि, नातिको साइनो केही वर्ष टिक्न नपाउँदै ज्ञानेन्द्र शाहतिर पुगे । अर्थात्, प्रसाईं आफ्नै एजेन्डा र मनोविज्ञानमा स्थिर छैनन् । अस्थिर प्रसाईंले सामाजिक सञ्जालमा जस्तो शैली प्रस्तुत गर्थे, आज तीनकुनेमा त्यही शैली अपनाए ।
तीनकुनेमा प्रसाईंको उक्साहटमा प्रदर्शनकारीहरू अराजक शैलीमा प्रस्तुत भएका छन् । प्रहरीमाथि आक्रमण गर्न उत्रिएका प्रदर्शनकारीहरूले स्थानीयका घरहरू तोडफोड पनि गरेका छन् ।
यसले उनीहरूमा देखिएको अराजकता मात्रै पुष्टि गरेको छैन, राजतन्त्रपक्षधरलाई ठूलो धक्का पनि लागेको छ । प्रमुख दलहरू र सरकारप्रति बढेको वितृष्णालाई संगठित गर्ने रणनीतिमा राजतन्त्रपक्षधरहरू थिए । तर, तीनकुनेको अराजकता र असफल सभाले राजतन्त्र पक्षधरहरूको आन्दोलनले सेटब्याक खाएको छ । प्रसाईंको उक्साहटमा तीनकुनेमा आज जे गरियो, त्यसले राजतन्त्रपक्षधरलाई सरम लाग्ने खालकै भइदियो ।
राजावादी नेताहरू आन्दोलनमा सहभागी नहुने अनि प्रसाईं मार्काका नवराजवादीले आन्दोलन गरिदिँदा ज्ञानेन्द्र शाह नारायणहिटी फर्किने कुरा असम्भव थियो । त्यसलाई आजको घटनाले थप बल पुर्याइदिएको छ । खासमा जुन दिन शाहले प्रसाईंलाई विश्वास गरेर लिङ्देनलाई किनारा लगाए, त्यही दिनदेखि राजतन्त्रपक्षधर तितरबितर भएका हुन् ।
केशरबहादुर विष्ट एकातिर लाग्दा लिङ्देन अर्को कित्तामा पुगेका थिए । अनि कमल थापा अर्कैतिर दाउ हेरिरहेका थिए । त्यसैले, दुर्गा प्रसाईंको अगुवामा तीनकुनेमा भएको आजको प्रदर्शन जसरी तितरबितर भयो, त्यसरी नै राजतन्त्रपक्षधरको आन्दोलन तितरबितर हुने संकेत देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १५:३४