पौने ७ अर्बको सरकारी लगानीमा कैलालीको गोदावरी नगरपालिका–५, गेटामा सुविधासम्पन्न आलिसान भवन ठडिएका छन् । छ सय शय्याको अस्पताल सञ्चालनका लागि र चिकित्सा शिक्षा अध्यापनका लागि ४२ वटा भवन निर्माण गरिएको छ ।
कलेज र अस्पताल भवनसँगै इ–लाइब्रेरी, छात्रावास, शिक्षक र कर्मचारी आवास, प्रशासनिक भवन, आईसीयू, इमर्जेन्सी वार्ड, बिरामी कुरुवा कक्ष, रोग विज्ञान अनुसन्धान ल्याब, शवगृह, अक्सिजन प्लान्ट भवन, लाउन्ड्री भवन, क्यान्टिन, इलेक्ट्रोनिक भवन, सूचना प्रविधि कक्षलगायतका भवन निर्माण भएका छन् ।
तर, लक्ष्यअनुसार अस्पताल सञ्चालन भएको छैन । एक वर्षदेखि त्यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ । चिकित्सा शिक्षाको अध्यापन सुरु कहिलेबाट हुन्छ भन्ने यकिन छैन, जसका कारण निर्माण भएका अधिकांश आलिसान भवन प्रयोगविहीन छन् । हाल ती भवन जीर्ण बन्न थालेका छन् । कतिपय भवन चर्किनुका साथै रङ पनि खुइलिन थालेको छ भने कतिपयमा ढुसी परेको छ । हावाहुरीले झ्याल र ढोकामा क्षति पुगेको छ ।
भवनमा जताततै माकुराको जालो भरिएको छ भने झारपात र बुट्यानले कतिपय भवन नै छोपिएका छन् । आँगनमा लगाइएका ब्लक पनि बुट्यान र घाँसपातले छोपिएका छन् । कलेज भवनमा मेडिकल शिक्षा अध्यापनका लागि डेस्क, बेञ्च र पोडिएम राखिएको वर्षाैं पुगिसकेको छ । कोठाहरूमा एसी र पंखा जडान पनि भवन निर्माण सम्पन्न हुनेबित्तिकै गरिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भन्दै भौतिक संरचना निर्माण गरिएको हो । तर, लामो समयसम्म सञ्चालनको प्रारुपका विषयमै विवाद भयो । अहिले गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको सरकारी तयारी छ ।
भवनको भोगाधिकारमै उल्झन
१ कात्तिक २०८० देखि गेटामा ५० शय्याको अस्पताल सञ्चालनमा छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको उक्त अस्पताललाई पाँच महिनासम्म कुनै पनि भवन प्रयोग गर्ने अधिकार थिएन । शिक्षा मन्त्रालयले २०८० फागुनमा छवटा भवनको भोगाधिकार गेटा अस्पताललाई दिएको थियो । अन्य भवनको भोगाधिकार भने शिक्षा मन्त्रालय हस्तान्तरण गर्न तयार छैन ।
त्यहाँ ५० शय्याको गेटा अस्पताल सञ्चालन गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने सबै भवनको स्वामित्व माग्दै आएको छ । पूर्वाधार विकास निर्माण समितिका इन्जिनियर पवन रावलका अनुसार भवन अस्पताललाई हस्तान्तरण गर्न आफूहरूसँग कानुनी आधार नभएको बताउँछन् । रावलले अस्पतालले भवन माग गरी पत्र पठाए पनि स्पष्ट खाकासहित प्रस्ताव नगरेको पनि बताए ।
‘शिक्षा मन्त्रालयअन्तर्गत नै विश्वविद्यालय सञ्चालन गर्ने तयारी भइरहेको हुँदा भवनको भोगाधिकार उपलब्ध गराउन समस्या भइरहेको हो,’ उनले भने । तत्काल अस्पताललाई भवन प्रयोग गर्न दिए कनिष्ठ चिकित्सकले आवास ओगट्ने र पछि आउने विज्ञ डाक्टर र प्रोफेसरहरूको लागि आवास व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै भवनको भोगाधिकार अस्पताललाई नदिएको चर्चा पनि हुने गरेको छ ।
२३ मंसिरमा गेटामा निर्माण भएका भवन र सञ्चालित अस्पतालको निरीक्षणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पुगेका थिए । उनले पनि शिक्षा मन्त्रालयबाट भवनको भोगाधिकार नपाएको संकेत गरेका थिए । ‘गेटामा कानुनी प्रक्रिया पूरा भएर मात्रै विश्वविद्यालय सञ्चालन हुन सक्दैन,’ मन्त्री पौडेलले भनेका थिए, ‘त्यसैले शिक्षा मन्त्रालयले यहाँ बनेका सबै पूर्वाधार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरे हुन्छ । भोलि विश्वविद्यायको प्रक्रिया पूरा भएर सञ्चालन हुने देखिए स्वास्थ्य मन्त्रालयले शिक्षालाई हस्तान्तरण गरिहाल्छ ।’
आलिसान भवन प्रयोगविहीन, चिकित्सकका लागि भाडाको घर
५० शय्याको गेटा अस्पतालले आवासको भोगाधिकार भने पाएको छैन, जसका कारण गेटा अस्पतालका चिकित्सकका लागि भाडाको निजी घर व्यवस्था गरिएको छ । चिकित्सकसहित स्वास्थ्यकर्मीको आवासका लागि मासिक १ लाख २७ हजार भाडा तिर्ने गरी तीनवटा घर भाडामा लिएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । अस्पतालका निर्देशक र केही डाक्टर धनगढीमा भाडामा लिएको घरमा बस्दै आएका छन् भने केही मेडिकल अफिसर र कर्मचारी गेटामा भाडामा लिइएको घरमा बस्दै आएका छन् ।
विधेयक संसदीय समितिबाट पारित
दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक उक्त समितिले पारित भएको छ । विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने बताइएको छ ।
उक्त विधेयकअनुसार विश्वविद्यालयमा दुई जना सहकुलपति रहनेछन् । विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री सहकुलपति हुनेछन् । यस्तै, संसदीय समितिमा जुटेको सहमतिअनुसार विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन् । तर, कुलपतिको भूमिका दीक्षान्त समारोहको अध्यक्षतामा मात्रै सीमित रहनेछ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १८:१७