म जन्मिदा च्याँ गरेको त्यो पिँढीको कुना
लडीबडी गरेको त्यो आँगन
प्यास लाग्दा तीनधाराको कलकल पिएको पानी
बन्चरेडाँडाको ऐँसेलु र काफलको रुखले
आज मलाई गाउँ फर्क भनी निम्तो पठाइसक्यो ।
चित्रा भकारीले सजिएको गोठमा
बिहान भाले बास्दा दूध तताएर तात्तातो पिएको स्वाद
खैरे भटमास र मकै हाँडीमा भुटेर
कुरुपकुरुप चपाउँदै उकालो–ओरालो
गर्दै हिँडेका बाटाहरूले आज मलाई कुरिरहेका छन् ।
मेरो मुटुको धड्कनमा बसेका ती स्मृतिहरूले
मलाई फेरि त्यही आँगन, त्यही बाटो, त्यही धारा
र त्यही आत्मीयताको बोलाइमा खोज्दै छ
गाउँको माया, गाउँको स्वाद, गाउँको हाँसोले
मलाई फेरि त्यही पुरानो गाउँतिर पर्खिंदै छ
त्यसैले, म गाउँ फर्किन्छु ।
जिन्दगीको यात्रा लामो छ । लाखौँ माइल छ । ती यात्रालाई शब्दद्वारा सारांशमा ढाल्ने कोसिस गरेको छु । म जन्मेको गाउँ झ्याँकु हो । करिब २५ वर्षअघि मेरो गाउँमा न सडक थियो, न बिजुली, न राम्रो उपचार हुने स्वास्थ्य संस्था, न राम्रो विद्यालय । चामलको भात खान दसैँ–तिहार पर्खिनुपर्थ्यो । एकसरो नयाँ कपडा फेर्न पनि दसैँ नै कुर्नुपर्थ्यो ।
राम्रो उपचार नपाइने, राम्रो स्कुल नभाको परिचय नै मेरो गाउँ मात्र होलाजस्तो लाग्थ्यो त्यतिखेर । यति धेरै असुविधाहरूबीच पनि गाउँको जीवन मीठो र खुसी लाग्थ्यो । बाध्यता थियो, तर आत्मीयता थियो । त्यही गाउँमा जन्मिएँ, हुर्किएँ, बढेँ । मेरो उमेरको तीन भागमध्ये एक भाग गाउँमै बित्यो ।
त्यो समय गाउँमा न अहिलेको जस्तो पानीको कल थियो, न खाना पकाउने ग्यास । बजार आउ–जाउ गर्न गाडी थिएन । चरिकोटबाटै चामल, नुन, तेल, लत्ताकपडा बोकेर गाउँ फर्किनुपर्थ्यो । मलाई लाग्थ्यो, गाउँमा जस्तै बजारमा पनि त्यही किसिमको जीवन हुन्छ । पाहुनाको स्वागत, सत्कार हुन्छ । मेरो गाउँमा पाहुना आउँदा गुन्द्री ओछ्याइन्थ्यो, खाजा र खानाको समय भए खान दिइन्थ्यो, रात परे निःशुल्क बास पाइन्थ्यो ।
तर, चरिकोट आएपछि त्यो सोच बदलियो । शहरबजार भनेको शब्दजस्तै फरक रहेछ । बजारको जीवन फरक रहेछ । यहाँ जिन्दगी संघर्ष थियो । १५ महिने सीएमए पढेपछि केही समय चरिकोटमै च्छोरोल्पा पोलिक्लिनिकमा जागिर खाएँ । केही वर्ष गौरीशङ्कर बहुमुखी कलेज पढेँ । केही वर्ष गाउँमै फर्केर मेडिकल राखेँ । गाउँमा डाक्टर उपाधि पाएँ । फेरि चरिकोट फर्केर पत्रकारितामा लागेँ । अहिले पत्रकार बनेको छु । समाचारको खेती गर्छु ।
पत्रकार भएपछि कहिलेकाहीँ राम्राराम्रा होटलका भात खाएँ, कहिलेकाहीँ खाम पनि पाइन्थ्यो । भ्रमण, अनुगमनको नाममा राम्रो गाडी चढेँ । २०६२/६३ को जनआन्दोलनपश्चात् २८ वैशाख २०६३ देखि कालिञ्चोक सन्देश साप्ताहिक पत्रिका प्रकाशनमा ल्यायौँ । दोलखाको पहिलो सामुदायिक रेडियो कालिञ्चोक एफएम २१ कात्तिक २०६४ देखि सञ्चालनमा ल्यायौँ । त्यही रेडियोमा स्टेसन म्यानेजरको रूपमा कार्यरत छु ।
हो, अब म गाउँ फर्किन्छु । गाउँको माटोमा झरेको पसिना सिँचाइ हुन सक्छ । कलम र कापी समाएको हातले कोदालो र हँसिया समाउँछु । क्यामेरा बोक्ने काँधमा हलोजुवा बोक्छु । १८ वर्षे रेडियो यात्रामा मैले हजारभन्दा बढीसँग प्रश्न गरेको छु । अब मेरो गाउँमा घर, खेतबारी, ढुङ्गामाटो, खोलानाला, वनजङ्गल, गाईवस्तुले प्रश्न गर्नेछन् ।
सुरुदेखि नै रेडियोमा साहित्यिक, बहसमुखी, समाचार, चेतनामूलक कार्यक्रम गर्दै आएको छु । ४ सय २७ जनासँग युवा सरोकारमा युवाको कुरा गरेँ । गाउँगाउँमा पुगेर नागरिकको गुनासो, समस्या बटुलेर नागरिक बहस गरेँ । अहिले पनि साप्ताहिक रूपमा चकटी कार्यक्रम गरिरहेको छु । सयौँको मनका कुरा सुनेँ, सुनाएँ । हजारदेखि करोड करोडको कुरा सुन्ने र सुनाउने काम भयो ।

तर, अब महसुस हुन थालेको छ– सिर्फ कुरा सुन्ने र सुनाएर मात्र काफी हुँदैन । मैले सयौँ युवालाई विदेश जानु हुँदैन, गाउँमै केही गर्नुपर्छ भनेको थिएँ । तर, आफैँलाई फर्केर हेर्दा म नै गलत बाटोमा पो हिँडिरहेको छु कि जस्तो लाग्न थालेको छ । म भ्रममा रहेछु कि जस्तो लाग्न थाल्यो । रेडियो, अनलाइन, पत्रपत्रिकामा व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, नेताहरूसँग कुराकानी गरेँ, समाचार लेखेँ । ठूलठूला फोटो छापेँ । तर, कुरा गर्न, गफ लाउन सजिलो रहेछ, काम गरेर जिन्दगी जिउन गाह्रो ।
अहिलेसम्म देख्न सक्छु, हिँड्न सक्छु, बोल्न सक्छु, सामान्य खर्च गर्न सक्छु । तर, भोलिको दिन बिर्सिएको छु । अहिले महिनामा हजार–बाह्र सयको औषधि खानुपर्छ । बुढ्यौलीमा दीर्घरोग लागेमा कसले उपचार गरिदिन्छ ? पेन्सन छैन । रमाइलोमै जिन्दगी बितिरहेको जस्तो लाग्न थाल्यो । चरिकोटमा बसेर जिलुको दूध, मकैबारीको साग, मार्वुको चामलको भात खान पाएको छु । धान फलाउन मैले न असार कुर्नुपर्छ, न मलजल गर्नुपर्छ, न कृषि कार्यालय र भेटनरी धाउनुपर्छ । कुर्सीमा बसेर ल्यापटप चलाउँछु, क्यामेरा बोकेर डाँडाकाँडा, हिमाल पहाडका तस्वीर खिच्छु । समाचार लेख्छु । फोटो स्टोरी लेख्छु । पर्यटनको कुरा लेख्छु । लाइक, कमेन्ट, शेयरमा रमाउँछु । तर, शरीरको हालत बिग्रँदै छ । गाउँमा हुँदा न घुँडा दुख्थ्यो, न ढाड । आजभोलि भने शरीरले स्वादिलो खान्कीमा बानी बसाएको छ ।
गाउँ अहिले बिस्तारै सुस्ताउँदै छ । युवाशक्ति दिनानु दिन विदेशिँदै छ । चोरखर्कदेखि आइतबारेथानसम्मका खेतबारी बाँझा छन् । उत्तीस र वनमाराले भरिएको छ । म भने चरिकोटको डाँडामा परजीवीजस्तो बाँचिरहेको छु । रेडियोमा बोलेर, फोटो खिचेर, समाचार लेखेर न नियमित आम्दानी छ, न भोलिको सुरक्षाको सुनिश्चितता । जिन्दगीको आधा भाग रमाउन मात्रै सिकेँ । न कमाउन जानेँ, न जमाउन । बुढेसकालमा गोजी रित्तै, हात खाली ।
त्यसैले कठोर निर्णय गर्न खोज्दै छु । गाउँमा फर्केर ती बाँझो खेतबारीमा धान, कोदो, मकै, गहुँ, फापर, आलु उमार्ने सपना देख्दै छु । बाख्रा, बोका, कुखुरा पालेर मल बनाउने सोच्दै छु । मेरा पुर्खा, आमाबुबाले आर्जेको खेतबारी नै मेरो सम्पत्ति हो । मेरो जागिर, मेरो पेन्सन त्यही हो । दिनमा दुई–तीनपटक मनले भन्छ– ‘गाउँ फर्क कान्छा, गाउँ फर्क’ ।
म बेला–बेला सोच्ने गर्छु– अहिले फर्किएन भने पछुताउनुपर्नेछ । उमेरले साथ दिइरहँदा गाउँ फर्किन सकेन भने पछि भाग्यलाई सराप्नुबाहेक के नै गर्न सकिन्छ र ? लाखौँ ऋण खोजेर विदेश जान मन छैन । अब मसँग भएको अलिअलि बल विदेशमा किन पोख्नु ? विदेशमा जानलाई मसँग केही सीप पनि हुनुपर्यो नि । विदेशमा गर्ने लगानी यहीँ गर्न पाए त जिन्दगीभर पुग्छ कि ? विदेश जानलाई ऋण त पाइन्छ तर, भनेजस्तो काम पाएन भने ? समयमा ब्याज तिर्न सकेन भने ? त्यही ऋण पनि कसले पत्याउने ? यस्तै–यस्तै सोचिरहेको छु । त्यसैले चरिकोटमा कमाएको अनुभव, साहस, जाँगर, सपना बोकेर गाउँ फर्किनेछु ।
हो, अब म गाउँ फर्किन्छु । गाउँको माटोमा झरेको पसिना सिँचाइ हुन सक्छ । कलम र कापी समाएको हातले कोदालो र हँसिया समाउँछु । क्यामेरा बोक्ने काँधमा हलोजुवा बोक्छु । १८ वर्षे रेडियो यात्रामा मैले हजारभन्दा बढीसँग प्रश्न गरेको छु । विद्यार्थी, शिक्षक, युवा, किसान, कलाकार, नेता, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, महिला, दलित, आदिवासी जनजातिसँग समाज, गाउँ, देशका बारेमा प्रश्न गरेको छु । अब मेरो गाउँमा घर, खेतबारी, ढुङ्गामाटो, खोलानाला, वनजङ्गल, गाईवस्तुले प्रश्न गर्नेछन् ।
‘तैँले सुन फल्ने माटो किन नचिनेको ?’
‘पैसा फल्ने खोलानाला किन बिर्सेको ?’
‘तँलाई जीवन दिने खेतबारी किन बाँझो राखेको ?’
अब यी प्रश्नहरूको उत्तर दिनु छ ।
तीनधाराको पानी पिउनेछु, बन्चरेडाँडाको आलु खान्छु । गाउँको आँगनमा बसेर हरियो वन, नीलो आकाश र चिसो बताससँग कुरा गर्नेछु । गाउँमै पसिना बगाउनेछु, गाउँमै रमाउनेछु । अब जिन्दगीको यात्रा नयाँ मोडमा छ । छिट्टै गाउँ फिर्दैछु, सधैँका लागि ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ ०७:५५