सामान्यतया मानिसको मनमा स्वतः नकारात्मक र सकारात्मक विचार उत्पत्ति हुन्छ । मनले धेरै सोच्ने वा धेरै चिन्ता लिने गर्दा आफ्नो दैनिक कार्यमा बाधा अवरोध पुग्छ । यसलाई नै मनोरोग भनिन्छ । आफ्नो मनको क्रियाकलाप र त्यसका असरहरूबारे ज्ञान लिनु र बच्ने उपायहरूको खोज गर्न मनोविज्ञानको साथ र सहयोग लिनु जरुरी हु्न्छ । मनोविज्ञानको अध्ययन गरी हरेकले जीवनको सकारात्मक र नकारात्मक व्यवहारबारे जानकारी लिन सक्छन् । जस्तैः
१. विवाद र समन्वयमा खेलिने भूमिका
२. आफू र आफन्तबारे जानकारी
३. आलोचनात्मक सोचमा वृद्धि
४. मानसिक स्वास्थ्यमा जागरुकता
५. तनावको व्यवस्थापन आदि ।
मनोविज्ञानको अध्ययनले खानपिन, स्नेह, सुरक्षा तथा स्याहार–सुसारजस्ता दैनिक काममा समेत सहयोग गर्छ । मनोरोगले मन, मुटुलाई प्रत्यक्ष प्रभावमा पारी आर्थिक, सामाजिक जीवनमा क्षति पुर्याउँछ ।
मन, विज्ञान र मनोवाद
मन भन्नाले सरल भाषामा लक्ष्य, मत, विचार तथा बुद्धिलाई बुझाउँछ । जब मानिसले कुनै लक्ष्य तय गर्छ, जुन असल र खराब दुवै हुन सक्छ । यदि मानिसले आफ्नो जीवनमा अप्ठ्यारो, असफलता र शून्यता महसुस गर्यो भने उसले आफूलाई लक्ष्यहीन दिशातिर अग्रसरता गराउन सक्छ । यसले असाधारणदेखि अकल्पनीय घटना पनि हुन सक्छ तर यदि उसले आफूमा आत्मबल बढाउने शिक्षा र ज्ञान पाएको छ भने ती असजिला खुड्किलाहरूलाई पार गर्दै सफलताको शिखर पुग्न सक्छ ।
मन नै त्यस्तो हो, जसलाई नकारात्मकभन्दा सकारात्मक दिशा प्रदान गर्न विज्ञानको आवश्यक पर्छ । स्वत:स्फूर्त चेतनाभन्दा बाहेक मानिसले विज्ञानसँग परिचित हुन आवश्यक छ । विज्ञान भन्नाले सामान्यतया त्यस्तो ज्ञानलाई जनाउँछ, जुन प्रयोग, तथ्य र सिद्धान्तबाट प्रत्युत्पादन भई लिपिबद्ध भएको हुन्छ । त्यही प्रयोग र अवलोकनबाट प्राप्त ज्ञानलाई मानिसको मनसँग जोड्ने विद्यानै आजकल अत्यावश्यक छ ।
मानवको विचलित भावलाई विज्ञानसँग जोड्नु चुनौतीपूर्ण रहँदै आएको छ । मन आफैँ सोच्ने, केही सोचेको वा गर भनेको कार्यप्रति उत्प्रेरित संज्ञा हो ।
मनोवाद भनेको सोचेको कार्य सम्पन्न गर्न भित्रभित्रै आफैँमा संवाद गर्ने क्रिया हो । जब मानिसले अन्तरमनमा सकारात्मक संवाद सुरु गर्छन्, तब नयाँनयाँ सिद्धान्त र तथ्यहरूलाई स्थापित गर्न पुग्छन् । तर, त्यही मनोवादबाट गरिने असफल कार्यले नकारात्मक परिणाम दिई स्वयम् व्यक्तिलाई हानि वा समाजलाई क्षति पुग्न पनि सक्छ । मनभित्रको वाद र विवादबीचको भेद छुट्याउन सके मानिसले आफूलाई असल मार्गमा डोर्याउन सक्छन् । जब ज्ञानको भण्डारमा मानिस समाहित हुन्छ, उसले आफूलाई एक्ल्याउँदै लैजान पनि सक्छ, एक्लोपनमा रमाउन थाल्छ । जस्तै; आकाशका असंख्य ताराबाट अलग्गिएर चम्किरहेको चन्द्रमालाई देखाएर मुस्कुराउन थाल्छ ।
मानिसले आफूलाई सकारात्मक पक्षमा उभ्याउन सके रचनात्मक र सिर्जनात्मक कार्यहरू पनि गर्न सक्छन् । जस्तै; एकान्तपन वा ध्यान र तपस्याबाट गौतम बुद्ध संसारमा शान्तिको ज्ञान (सन्देश) छर्न सफल भए । यदि मानिस आफ्ना योजना र कार्यक्रममा असफल भए पीडाबोध गर्न सक्छ । हो, त्यही पीडादायी समय पहिल्याउनु र समयमै त्यसको समाधान गर्न मनोविज्ञानको सहयोग लिनुपर्छ ।
अझ नसालु पदार्थ सेवन गर्ने बानी छ भने त त्यसको खोजी गर्ने, त्यस्तो सामान उपलब्ध गराउने व्यक्तिसँग फोनमा व्यस्त रहने, सेवन गर्न नपाए रुने कराउने, सरसामान फुटाउने, पैसा तारन्तार माग्ने आदि गर्छन् । त्यसैले लत बस्नु पनि समय र पैसाको बरबादीको प्रमुख कारण बन्छ ।
उदाहरणका लागि एक मानिस आफ्नै आँगनमा एकाग्रताका साथ दौडँदा नलडे पनि मनमा सयौँ थरी सोचहरू बोकेर दौडँदा लड्न पुग्छ, किनकि आफ्नो क्षमताभन्दा बढी मनोवादको भारीले थिचिएर शारीरिक भाव विचलित हुन्छ, जहाँ दौडने क्रिया विज्ञानबाहिर परिवेशमा पुग्छ । जब मनलाई विज्ञानसँग जोडेर कर्म गरिन्छ, मानवका हरेक चुनौतीको समाधानको उपाय भेटिन्छ ।
धन वा सम्पत्तिले उत्पन्न हुने मनोवाद
धनी हुनु वा धनी परिवारमा जन्मनु आफैँमा पूर्ण होइन । मानिस जब धनी परिवारमा जन्मिन्छ, अनि उसले गरिबले भोगेका जीवनशैली तथा उतारचढाव भोग्ने अवसर पाउँदैन, तर त्यही धनको खिचातानी वा उन्मादबाट उत्पन्न समस्याको समाधानका लागि हरेक काम र उपायको खोजी सुरु गर्छ । मनमनै धेरै छलफल र विवेचना गर्छ । कहिले भौतिक सुखसुविधाबाट पीडित हुन पुग्छ त कहिले ती गरिबीका पर्खालहरू देखेर तर्सन्छ । धन र उन्मादले मानवको जीवनमा मनोवादको संख्या बढाउँछ र प्रतिक्रियात्मक पनि बन्छ ।
यदि कुनै मानिस गरिबी तथा अभावले नभई सम्पत्तिको रवाफले गर्दा उसका व्यवहार अस्वाभाविक देखिएका छन् भने समाजमा विकृति र विसङ्गतिहरू थपिन्छन् । त्यसैले होला समाजमा आजकल गरिबभन्दा धनी परिवारका सदस्यहरू नै बढी मनोरोगले पीडित छन् । गरिबीमा चेतनशील मन हुन्छ, जुन बाहिरबाट देखिन्छ तर धनीमा विवेकशीलभन्दा परिधि तोड्न प्रतिस्पर्धा हुन्छ । त्यस्तो प्रतिस्पर्धी परिस्थिति र अवस्थाले डर, भय थपिदिन्छ, जुन कुरा भित्री अवचेतन मनसम्म पुग्न नदिन संवादको सहयोग लिनुपर्छ । चेतन अवस्थामै नकारात्मक सोच र विचारलाई परास्त गर्नु आवश्यक हुन्छ, किनकि अवचेतन मनले सही, गलत छुट्याउँदैन । बस, चेतन मनले दिएको आदेश पालन गर्ने गर्छ ।
अब मनसँग सम्बन्धित क्रिया तथा प्रतिक्रियाहरूबाट उत्पादित रोगहरूको पहिचान र अवस्थाहरूको विवेचना गरौँ–
मनोरोग
कहिलेकाहीँ मानिस आफैँमा रमाउन खोज्छ, जहाँ उसले आफ्नो दैनिकी बिर्सन्छ । उसका मनभित्र खेल्ने कुराहरू जस्तै; हर्ष बढाइँ, शृङ्गार, रोमान्स, कलासंस्कृति, लेख रचना, सुख–दुःख आदि सबै परिवेश र वातावरणअनुसार प्रकट हुन्छन् ।
त्यसैले मानिसले नयाँनयाँ सपना आफैँ बुन्ने र देख्ने गर्छन् । जब सपनाहरूले उत्साहित गर्छ, अनि मनमनै गुनगुनाउन थाल्छ । यसरी उर्लिएका मनोभावलाई लिपिबद्ध गर्न सके साहित्य र सङ्गीतमा सफल हुन सकिन्छ । एक्लै हुनु र गुनगुनाउनु मनोरोग होइन तर त्यही एक्लोपन तथा गुनगुनाहटले उसको दैनिक जीवनमा असर गरे मनोरोगमा परिणत हुन सक्छ । मानिसले सपना देख्नु नराम्रो होइन तर त्यही सपनामा अल्झिएर अनावश्यक बहस गरी समय तथा पैसा खर्च गर्नुचाहिँ मनोरोगनजिक पुग्नु हो ।
सपना सबै साकार हुँदैनन् । सपना साकार बनाउन आफ्नो क्षमता, कौशलको भरपूर प्रयोग गर्नुपर्छ । आफ्ना सपना पूरा गर्ने धुनमा परिवारका अन्य सदस्यको दैनिक जीवन र जगत्मा दख्खल दिनुचाहिँ कदापि हुँदैन, किनभने तपाईंको सपनासँग अरुको सपना मेल नखान सक्छ र दैनिकजसो एकापसमा वैरभाव, बेमेल उत्पन्न गर्छ । यसले मनसिक विचलनसम्म पुर्याउन सक्छ । मानिसले सोच्नु, छलफल गर्नु, विचार आदानप्रदान गर्नु स्वाभाविक नै हुन्, जसले उनीहरूलाई आफैँमा रमाउन सहयोग गर्छ । तर, अनावश्यक वा अत्यधिक एकै विषयमा सोच्ने गर्दा प्रकृति र समाजबाट बेखबर रहन पुग्छन् । परिणामस्वरुप डर लाग्नु, असजिलो महसुस गर्नु, तर्सिनु, अनिद्रा, शारीरिक आलस्यता बढ्दै जान थाल्यो भने त्यस्तो अवस्थालाई मानसिक रोग भन्न सकिन्छ ।
अभिभावकको आड, भरोसा तथा असल साथीसङ्गतले पनि धेरै यस्ता रोगहरू गाउँघरमै ठीक हुन सक्छन् तर कडा रूपमा शारीरिक र मानसिक समस्या बढ्दै गए– जस्तै; दिनदिनै मानिस दुब्लाउँदै जान थाले, आत्तिएर वा तर्सिएर घरबाहिर बरबराउँदै हिँड्न थाले, रातको समयमा उठेर कुद्न थाले, सास फेर्न गाह्रो भई छटपटिएर कहिलेकाहीँ बेहोसै भए वा लडिबुडी गर्ने गरे भने यस्तो अवस्थाका व्यक्तिले स्वयम्लाई हानि पुर्याउने र अन्य सदस्यलाई पनि नोक्सान पुर्याउन सक्छन् । यस्तो अवस्थाका मानिसले ‘डिमान्ड’ अर्थात् माग धेरै गरिरहन्छन् र उक्त मागबमोजिम नदिए हात टोक्ने, टाउकोमा हान्ने, कपडा च्यात्नेजस्ता क्रियाकलाप देखाउँछन् ।
केही मानसिक अवस्थाहरू जस्तै; एन्जाइटी, डिप्रेसन, एडिक्सन, अब्युज, साइकोसिस, डिमेन्सिया आदिका बारेमा केही उल्लेख गर्नु उपयुक्त हुन्छ, किनभने यी कुरा सामान्यतया हामी सबैमा कुनै पनि बेला देखापर्न सक्छन् ।
व्यग्रता अर्थात् एन्जाइटीः कुनै पनि विषयसँग सम्बन्धित चिन्ता (तनाव) को अनुपात मनमा बढ्दै गई आत्तिने वा चिन्ता हटिसकेपछि पनि उकुसमुकुस हुने अवस्थालाई ‘एन्जाइटी’ भनिन्छ । यस समयमा डर लागिरहने, मन आत्तिने शारीरिक लक्षणका साथै दैनिक क्रियाकलापमा बाधा–अड्चन देखा पर्छ । यसमा विरामीलाई आफू चिन्ताबाट ग्रस्त छु भन्ने ज्ञान हुन्छ तर मानिसक रोगी हुँ भनेर स्वीकार्दैन । सकभर आफैँ उपचार गर्न कोसिस गर्छ ।
उदासीपन/डिप्रेसनः दिनहुँ दुःखित हुने, कुनै कुरामा चाख नदिने, खुसी नहुने, थकान र दिक्दारी मात्रै महसुस हुने अवस्था नै ‘डिप्रेसन’ हो । उठ्नेबित्तिकै नैराश्यताका कुरा गर्ने, हीनभावले ग्रसित हुने, झुटा कुरामा विश्वास गरी मन बिगार्ने, मेरो कोही छैन, म गरिब भएँ, फलानोले धेरै कमायो, आफू समाजमा अपहेलित भएको महसुस गर्ने, सुनाइमा भ्रम हुने, आँखामा बिनाकारण आँसु लिएर झोक्राउने, शारीरिक सरसफाइमा ध्यान नदिने, मैला कपडा लगाउनु, कपाल नकोर्ने, आत्मग्लानि वा म मरे पनि हुन्छ भन्नेजस्ता भावनाले मन–मुटु डराएको हुन्छ ।
लत लाग्नु/एडिक्सनः बालबालिका वा युवायुवतीलाई दैनिक कार्य जस्तै; बिहान उठ्ने, सरसफाइ गर्ने, खाजानास्ता खाने, लेख्ने पढ्ने तथा परिवारमा सहयोगी भूमिका निर्वाह गर्न पटक्कै मन लाग्न छोड्छ । बालबालिका वा युवावस्थामा हुनुपर्ने जोस, जाँगर, उत्साह गुमाई कुलत वा अव्यावहारिक कार्य तथा अनोपयोगी काममा समय खर्च गरिरहन थाल्छन् । यसबाट बाहिर निस्कन स्वयम्ले वा अभिभावकले निकै कष्ट झेल्नुपरेका दृष्टान्त पनि छन् । त्यस्तो बेला कसैले बोलाए पनि रिसाउने, आवेगमा चिच्याउने गर्छन् भने लत बसेको बुझ्नुपर्छ, जसबाट बिस्तारै शारीरिक र मानसिक असर देखिने गर्छ । जस्तै; पेट दुख्ने, टाउको सुन्निने दुख्ने, आँखाका डिल सुन्निने, आँखा रातो हुने, आत्तिने आदि हुन्छ ।
अझ नसालु पदार्थ सेवन गर्ने बानी छ भने त त्यसको खोजी गर्ने, त्यस्तो सामान उपलब्ध गराउने व्यक्तिसँग फोनमा व्यस्त रहने, सेवन गर्न नपाए रुने कराउने, सरसामान फुटाउने, पैसा तारन्तार माग्ने आदि गर्छन् । त्यसैले लत बस्नु पनि समय र पैसाको बरबादीको प्रमुख कारण बन्छ ।
हरेक व्यक्ति–व्यक्तिबीचको संवाद साधन हो भने मानिसको मनको वाद (कुरा) साध्य हुन् । साध्य र साधन दुवैको प्रयोगले मानिसका सपना पूरा हुन सक्छन् वा उसले सन्तुष्टि प्राप्त गर्न सक्छ । जे–जस्तो अवस्था रहे पनि मनोवाद र संवादबीचको अन्तरसम्बन्धले मानिसका अनेकौँ प्रकारका मनोसमस्या समयमै समाधान गर्न सहयोग गर्छ ।
दुर्व्यवहार/अब्युजः मानवीय स्वभावले असल कर्म गर्ने तथा फलको आस गर्ने हुन्छन् तर व्यवहारमा काम पनि कम गर्ने, फाइदा धेरै खोज्ने (आस धेरै गर्ने) मनोभावले ग्रसित भई मानिस आरोपप्रत्यारोपमा उत्रन्छन् । यसलाई ‘अब्युज’ भनिन्छ । शोध र अनुसन्धानकर्ता तथा चिकित्सकका अनुसार दुर्व्यवहारलाई मनोवैज्ञानिक र भावनात्मक गरी दुई प्रकारमा विभाजन गरिएको छ ।
मनोवैज्ञानिक मनसँग सम्बन्धित हुन्छ भने भावनात्मकचाहिँ मनको क्रिया वा आवेगसँग सम्बन्धित हुन्छ, जसले हिंसासम्मको मद्दत लिने गर्छ । भावनात्मक दुर्व्यवहारमा मौखिक आरोप तथा निरन्तर आलोचनादेखि हेराफेरी गर्ने, डर देखाउनेजस्ता रणनीतिहरू समावेश हुन्छन् । यो कसैलाई नियन्त्रण गर्न, बसमा पार्न, एक्लोपनमा पुर्याउन प्रयोग हुन्छ ।
मनोविकृति/साइकोसिसः यस्तो मानिसक अवस्था हो, जसमा बिरामीले मानवीय सोच, व्यवहारभन्दा अनौठो क्रियाकलाप देखाउँछन् । यसमा बिरामीले म रोगी हुँ भन्ने आभास गर्दैनन्, मानसिक सन्तुलन गुमाउन पुग्छन् । फलस्वरूप उनीहरूको भाव, भावनामै गडबडी हुने गर्छ । यस्ता शारीरिक र मानसिक दुवै अवस्थाका लागि मनभित्र कुद्ने समवेदनाहरू रोक्ने उपाय तथा ओखतीमूलो आवश्यक पर्छ ।
पागलपन/डिमेन्सियाः उन्मत्तता वा विक्षिप्तपन भनेको सोच्ने, सम्झने, तर्क गर्ने क्षमतामा ह्रास आएको अवस्था हो । फलस्वरूप निजको व्यक्तिगत जीवन, गतिविधि लथालिङ्ग र भताभुङ्ग अवस्थामा पुग्छ । यस्ता व्यक्तिहरूले आफ्ना भावनाहरूको नियन्त्रण गर्न सक्दैनन् र व्यक्तित्व पागलपनमा परिणत हुन पुग्छ ।
नकारात्मक क्रियाकलापले उसको व्यक्तित्वमा हस्तक्षेप गरेको हुन्छ । स्मरण शक्तिको कमीले सकारात्मक कार्यबाट ध्यान भड्किन्छ, नकारात्मक परिणाम र अनुभूतिमा संसार देखिरहेका हुन्छन् । यस्ता मानसिक अवस्थाका मानिसलाई अस्पतालमै भर्ना गरी चिकित्सकको निगरानीमा ओखतीमूलो गरी रेखदेख गर्नुपर्छ । यी सबै समस्याहरू बढ्दै जानुमा परिवारबीच बेमेल, बदलिँदो आर्थिक, सामाजिक परिवेश तथा विकसित सञ्चार प्रविधिको दुरुपयोगले पनि प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
संक्षेपमा, मनोवाद र मनोरोग तथा संवादबीच अन्तरसम्बन्ध हुन्छ, जहाँ मनोवाद सुरु हुन्छ, तब संवादको आवश्यक पर्छ । बिनासंवाद मनोभावमा क्रियाकलाप गर्दा ढिलोचाँडो मनोरोगको घेराभित्र प्रवेश भइन्छ । व्यक्तिगत सीप र शैक्षिक योग्यता अनि आर्थिक परिधिको सही मूल्याङ्कन गरी आफ्ना सपनाहरूलाई फुकाउनुपर्छ, नत्र मानिस कुनै मनोभावबाट उत्साहित भएर काम फत्ते गर्न दौडँदा उदासीन भई फर्कनुपर्ने हुन सक्छ । किनभने तपाईंले आफ्नो मनको भावलाई संवादमा परिणत गर्नुभएको छैन वा आफ्नो मनको कुरा समकक्षी वा सरोकारवालासम्म पुर्याउनु भएको छैन वा उनीहरूलाई सहमत गराउनु भएन वा सहमत गराउन आवश्यक ठान्नु भएन भने पनि ठेस खानुपर्छ । तसर्थ आफैँमा दोष देख्नुपर्ने अवस्था आइरहन्छ ।
यसरी आफ्नो गल्ती वा अरु कसैबाट थोपरिएको नकारात्मक सोचमा बहस (डुबेर) गरेर आफूभित्र रहेका हजारौँ सकारात्मक ऊर्जालाई खेर नफाल्नु उत्तम हुन्छ । त्यस्तो हटाउन नसकिएको सोच (मनोवाद) लाई तत्काल संवादमा परिणत गर्नु अत्यावश्यक हुन्छ, जुन एउटा सीप पनि हो । हरेक व्यक्ति–व्यक्तिबीचको संवाद साधन हो भने मानिसको मनको वाद (कुरा) साध्य हुन् । साध्य र साधन दुवैको प्रयोगले मानिसका सपना पूरा हुन सक्छन् वा उसले सन्तुष्टि प्राप्त गर्न सक्छ । जे–जस्तो अवस्था रहे पनि मनोवाद र संवादबीचको अन्तरसम्बन्धले मानिसका अनेकौँ प्रकारका मनोसमस्या समयमै समाधान गर्न सहयोग गर्छ ।
मनले सोचेका कुराहरू पूरा नहुँदा नै मानव जीवनमा अनेकौँ चुनौतीहरू थपिइन्छन्, जसलाई एक्लै होइन कि आफ्नो विश्वासिलो पात्र वा अभिभावकसँगको पारस्परिक संवादले समयमै समाधान गर्न कोसिस गर्नुपर्छ । यसो गर्दा पनि सम्भव नभए शरीरलाई व्यायाम, योग तथा ध्यानमा व्यस्त राख्न सक्नुपर्छ । साथै, पर्यटकीय वा धार्मिकस्थलको भ्रमणले पनि सहयोग पुग्छ । अन्यथा मनोपरामर्शदाताको सहायता लिनुपर्छ । जब मनलाई सन्तुलित राख्न सकिन्छ, तब मात्रै पारिवारिक सुख तथा गतिशील परिवेश तथा सभ्य र संस्कारयुक्त समाज निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न सकिन्छ । यसरी माथि उल्लेख गरिएका मानसिक समस्याहरूको समयमै पहिचान गरी निदानको उपाय अपनाई आर्थिक–सामाजिक विकासमा मानवको महत्त्वपूर्ण भूमिका निर्वाह गरी मानसिक रोगहरूलाई परिवार, समाजबाट हटाउन सकिन्छ ।
लेखक डल्लाकोटी अस्ट्रेलियाको टोरेन युनिभर्सिटीमा सामाजिक सेवा तथा विज्ञान विषयका शोधार्थी हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ ०७:३०