काठमाडौंमा ४० लाखको हाराहारीमा जनसंख्ङ्ख्याया आँकलन गरिन्छ । विभिन्न प्रयोजनका लागि दैनिक रूपमा उपत्यका भित्रिने र बाहिरिनेको संख्या ठूलै हुन्छ ।
काठमाडौंको जनघनत्व प्रतिवर्ग किलोमिटर करिब २० हजार छ । जम्मा ५१ वर्ग किलोमिटर क्षेत्रफल भएको यति सानो क्षेत्रमा ठूलो जनसंख्या रहनु सार्वजनिक सेवा प्रवाहको दृष्टिले चुनौतीपूर्ण पनि छ ।
यस्तै चुनौती फोहोर व्यवस्थापनको विषयमा पनि छ ।
काठमाडाैं नगरपालिकामा दैनिक करिब १ हजार १ सय टन फोहोर उत्पादन हुने गरेको छ । फोहोर व्यवस्थापनका लागि विभिन्न कदम चालिए पनि हालकाे फोहोर व्यवस्थापनको अवस्था हेर्ने हाे भने टिठ लाग्दो नै छ ।
मुल सडकमै फोहोर थुप्रिएर पैदल यात्रीले नाक थुनेर हिँड्नु पर्ने स्थिति अझै छ । पहिलाको दाँजोमा केही उठे पनि समयमै उठ्न नसकेको सरोकारवाला वताउँछन् ।
बिहानदेखि सडकमा निकालिएको फोहोर दिउँसो मात्रै हाेइन, कतिपय स्थानमा त बेलुकैसम्म पनि जहाँकाे त्यहीँ देख्न सकिन्छ ।
महानगरले ‘क्लिन सिटी’को नारा लगाइरहेको छ । यस्तै, स्थानीय तहको गत निर्वाचनमा क्लिन सिटी अभियान चुनावी मुद्दा नै बनेको थियो । तर, अहिले पनि बाटो वा खोलाछेउ हिँड्दा काठमाडाैंको स्थितिलाई गाली गर्दै हिँड्नुपर्ने अवस्था छ ।
के गर्दै छ महानगर ?
काठमाडाैं महानगरपालिकाअन्तर्गतकाे वातावरण व्यवस्थापन विभाग आफ्नो स्रोत साधनले भ्याएसम्म सेवाग्राहीलाई सेवा दिन कुनै कसर नछोडेको दाबी गर्छ । वातावरण व्यवस्थापनका लागि काठमाडाैं महानगरबाट फोहोर सङ्कलन, बाटोघाटो सफा गर्ने, दुबो टिप्नेदेखि सम्पूर्ण बाटो सरसफाइका लागि करिब हजारको संख्यामा कामदार दैनिक रूपमा बाटोमा खटिइरहेका छन् ।
यस्तै, महानगरबाट हाल दैनिक फोहोर बोक्नका लागि करिब १ सयवटा ट्रक तथा फोहोर संकलक सवारीसाधन प्रयोग भइरहेका छन् । केही बिग्रिएर थन्किएका छन् । विग्रिएका गाडी बनाइएको छैन ।
महानगरसँग धूलो टिप्ने ब्रुमर र फोहोर उठाउने अन्य उपकरण भए पनि तिनले त्यति प्रभावकारी रूपमा काम गरेको छैनन् । महानगरले मुख्यतः मुख्य सडक क्षेत्रमा मात्र काम गरिरहेका छन् ।
कसरी व्यवस्थापन भइरहेका छन् भित्री सडकका फोहोर ?
सरसफाइका लागि महानगरका संयन्त्र मुख्य सडकमा केन्द्रित भइरहँदा भित्री सडकमा फोहोरमैला सङ्कलनका लागि निजीक्षेत्र संलग्न छ । निजीक्षेत्रभित्र पनि दुई किसिमका निजी संस्थाहरू छन् । एकथरीले फोहोर वर्गीकरण गरेर उठाउने गरेका छन् । जसले बेच्न मिल्ने फोहोरको बजार मूल्यको निश्चित प्रतिशत उपभोक्तालाई प्रदान गर्ने गर्दछन् ।
त्यस्तै, अर्को एकथरी संस्था छन्, जुन पूर्ण रूपमा नाफामूलक छन् । तिनले फोहोरलाई वर्गीकरणबिनै उठाउने गर्दछन् । यस्ता संस्थाले सेवाग्राहीबाट मासिक रूपमा पैसा लिने गरेका छन् ।
स्थानीयका अनुसार एउटा कोठाको फोहोर करिब ३० देखि ५० रूपैयाँ मासिक लिएर उठाउने गरिएको छ । महानगरले सरकारी संस्थाहरूमा नगरसभाले तोकेको दरका आधारमा फोहोर व्यवस्थापन शुल्क लिँदै आए पनि निजीक्षेत्रमा कुनै पनि किसिमको शुल्क लिने गरेको छैन ।
महानगरले फोहोर उठाउने गरेको क्षेत्रमा निःशुल्क रूपमा फोहोर उठाउने गरेको छ । केही संस्थाले तोकिएको स्थानमा फोहोर संकलन गरेबापत सेवाग्राहीलाई उल्टै पैसा दिने गरेका छन् । केही संस्थाले भने सेवाग्राहीसँग पैसा लिएर फोहोर उठाउने गरेका छन् ।
कहाँ जान्छन् सङ्कलित फोहोर ?
फोहोर उठाउन निजी तथा सरकारी दुवै क्षेत्र संलग्न छ । फोहोर वर्गीकरण गरेर उठाउने निजीक्षेत्रका संस्थाहरूले फोहोर प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई प्रशोधनका लागि खुलेका ठाउँहरूमा लगेर बेच्ने गर्दछन् ।
तर, प्रशोधनका लागि लगिने फोहोरको मात्रा निकै न्यून छ । बाँकी सबै किसिमका फोहोर डम्पिङ साइडमा लाने गरिन्छ । अहिले महानगरले प्रयोग गर्दै आएको डम्पिङ साइट नुवाकोटको सिसडोलमा छ । सिसडोलमा निजीक्षेत्रले पनि फोहोर लाने गर्छ ।
यसरी फोहोर संकलन गरेर सिसडोल लाने निजीक्षेत्रसँग महानगरले शुल्क लिने गरेको छ । महानगरले ८ टनसम्मको फोहोरका लागि प्रतिटिप २ सय ५० रूपैयाँ र ८ टनभन्दा माथिको फोहोरको प्रतिटिप ३ सय ५० रूपैयाँ लिने गरेको छ ।
सिसडोलको फोहोरमध्ये ६० देखि ७० प्रतिशत कुहिने फोहोर छ । निजी र महानगर दुवैको मुख्य र अन्तिम फोहोर व्यवस्थापन स्थल भनेको सिसडोल नै हो ।
महानगरको कमजोरी
आफूसँग पर्याप्त मात्रामा साधन स्रोत र जनशक्ति नहुनु नै आफ्नो कमजोरीजस्तो भएको महानगरको भनाइ छ । तर, महानगरले आफूसँग भएको स्रोत साधनको उचित व्यवस्थापन गर्न पनि सकेको छैन ।
काठमाडाैंमा फोहोरको समस्या दीर्घकालीनजस्तै भएको छ । यसको उचित र व्यवस्थित समाधानका लागि महानगरले प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरवासीको घरआँगनमा फोहोर संकलन गर्न विभिन्न संघ संस्थाहरू सलग्न भए पनि फोहोर फाल्ने स्थानमा मात्रै महानगरले त्यस्ता संस्थासँग सम्पर्क र समन्वय गर्छ ।
स्थानीय सरकार बनेर अधिकार प्राप्त गरेपनि काठमाडाैंको फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा महानगर कमजोर रूपमा प्रस्तुत भएको छ ।
त्यस्तै, ३/४ वर्षका लागि भनेर २०६२ सालमा तय गरिएको नुवाकोटको सिसडोल डम्पिङ साइट १४ वर्ष भइसक्दा पनि यथावत् नै छ । यतिका वर्षसम्म केही उचित विकल्प प्रयोग गरिनसक्नु महानगरको अर्को कमजोरी हो । महानगरले फोहोर व्यवस्थापनको काम गर्ने आफ्ना कर्मचारीलाई पनि उचित सेवासुविधा र आवश्यकता दिई सन्तिुष्ट पार्न सकेको छैन ।
अबको योजना
राष्ट्रियस्तरबाटै लगानी बोर्डको ग्लोबल टेन्डरमार्फत एकीकृत फोहोमैला व्यवस्थापन परियोजना सञ्चालनमा ल्याउन प्रकिया अगाडि बढिरहेको छ ।
महानगरकाे वातावरण व्यवस्थापन विभागका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार हाल नुवाकोटमा रहेको डम्पिङ साइटभन्दा दुई किलोमिटर टाढा रहेको बनचरे डाँडा नयाँ डम्पिङ क्षेत्रका रूपमा अबको केही महिनामै सञ्चालन हुनेछ । त्यस्तै, महानगरले फोहोर व्यवस्थापनका लागि निजीक्षेत्रमा काम गरिरहेकालाई पनि करको दायरामा समेट्ने आन्तरिक गृहकार्य भइरहेको महानगर वातावरण प्रशासन विभाग प्रमुख सरस्वती पोखरेलले बताइन् ।
तर, जतिसुकै विकल्प खोजिए पनि यसको मुख्य र प्रभावकारी उपाय जनस्तरबाटै मात्र सम्भव छ । ‘थ्रीआर’ प्रकिया नै फोहोर व्यवस्थापनको सर्वोत्तम उपाय हो । जसले ‘रिड्युस’ (कम फोहोर गर्ने), ‘रिसाइकल’ (फोहोर प्रशोधन गर्ने) र ‘रियुज’ (सकेसम्म पुनः प्रयोग गर्ने) को व्यावहारिकताको पक्ष अगाडि सार्दछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६ १३:०८