भरखरै मात्र लोकप्रिय गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चौहानले गत शुक्रबार अदालतमा यो मुद्दा दर्ता गरेकी हुन् । उक्त मुद्दामा उनले आफ्नो चरित्रमाथि शङ्का गर्ने, काममा बाधा पुर्याउने र मानसिक दबाब दिनेजस्ता आरोपहरू लगाएकी छन् । चौहान र सापकोटाको विवाह झण्डै नौ महिनाअघि अर्थात् १७ अप्रिल २०२४ मा भएको थियो । विवाहपूर्व नै उनीहरूको सम्बन्धमा धेरै विवादहरू रहेको र आफूले हतारमा विवाह गर्ने निर्णय गरेको चौहानले बताएकी छन् । सापकोटा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । चौहानले सम्बन्धविच्छेदपछि कुनै सम्पत्ति दाबी नगर्ने बताएकी छन् ।
यो त एक प्रतिनिधि घटना मात्र हो । नेपालमा पछिल्लो समय सम्बन्धविच्छेदका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार देशभरका अदालतहरूमा दर्ता भएका मुद्दाहरूमा सम्बन्धविच्छेदका मुद्दाहरू ११.४३ प्रतिशत रहेका छन्, जुन सबैभन्दा बढी संख्या हो । सम्बन्धविच्छेदका घटना वृद्धि हुनुका पछाडि विभिन्न कारणहरू रहेका छन् । समाजशास्त्रीहरूका अनुसार युवापुस्ता प्रौढपुस्ताभन्दा तुलनात्मक रूपमा बढी खुला छन् । अध्ययन र प्रविधिको सहज उपलब्धता र प्रविधिको प्रयोगले निर्णय क्षमतामा पनि प्रभाव पारेको छ ।
चलायमान आर्थिक गतिविधिले अरूमा कम आश्रित र आफू बढी स्वाधीन र स्वाभिमानी बनाउँछ, स्वाभिमानी हुनुको नाताले आफ्ना निजी गतिविधिमा अरूको हस्तक्षेप सहज नमान्ने स्वभाव पनि हुन्छ । यस कारण स्वतन्त्र जीवनयापनका सवालमा वैवाहिक सम्बन्धका पारम्परिक मान्यता, परिवारभित्रको अनुशासन र जिम्मेवारीका कुराले विवाहितहरूको मनोविज्ञानमा असजिलो महसुस गराउन सक्छ । विवाहेत्तर सम्बन्ध, बढ्दो महत्त्वाकाङ्क्षा, अभावको सामना र परस्परको (श्रीमान्/श्रीमतीबीचको) अविश्वासले त्यो असहज अवस्थालाई झन् जटिल बनाउँछ । फलस्वरूप पारिवारिक कलह र हिंसाको तहहुँदै वैवाहिक सम्बन्धविच्छेदका लागि अदालतसम्म आइपुग्ने अवस्था बन्छ । नेपालमा परम्परागत रूपमा सम्बन्धविच्छेदलाई नकारात्मक रूपमा लिइन्थ्यो ।
विशेष गरी, महिलाहरूले समाजबाट ठूलो दबाब, अपहेलना तथा तिरस्कार सहनुपर्थ्यो । तर, आधुनिक समाजमा शिक्षा, महिला सशक्तीकरण, आर्थिक स्वतन्त्रता, कानुनी सुधार तथा समाज परिवर्तनले गर्दा सम्बन्धविच्छेद सामान्य बन्न थालेको छ ।
नेपालमा सम्बन्धविच्छेदका घटनाहरू पछिल्लो दशकमा उल्लेखनीय रूपमा बढिरहेका छन् । काठमाडौं उपत्यका, पोखरा, चितवन, विराटनगरजस्ता शहरी क्षेत्रमा यसको संख्या बढी छ, जबकि ग्रामीण क्षेत्रमा अझै पनि सम्बन्धविच्छेदलाई अपवादकै रूपमा हेरिन्छ । सन् २०१५ मा १ हजार ३ सय ५५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए, तर २०२० सम्म आइपुग्दा यो संख्या बढेर ६ हजार ६ सय ४४ पुगेको थियो भने २०२३ मा सम्बन्धविच्छेदका मुद्दा झन् बढेर ५० हजार १ सय ११ पुगे ।
हाम्रो मुलुकको सम्बन्धविच्छेददर अन्य देशहरू, विशेष गरी पश्चिमी राष्ट्रहरूको तुलनामा अझै पनि कम छ । ४–५ प्रतिशतको हाराहारीमा रहेको यो दर संयुक्त राज्य अमेरिकाजस्ता देशहरूभन्दा धेरै कम हो, जहाँ करिब ५० प्रतिशत विवाह सम्बन्धविच्छेदमा टुङ्गिन्छ ।
‘सम’ र ‘बन्ध’ दुईवटा अलग शब्दहरू मिलेर बनेको संयुक्त शब्द हो सम्बन्ध, जसलाई सुमधुर बनाउन दुवै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । अग्निको सातफेरा लगाएर सात जुनीसम्म साथ दिने वाचाका साथ सुरु भएको हुन्छ विवाह वा हाम्रो सम्बन्ध । जब एक जनाले मात्र आफ्नो भूमिका वा जिम्मेवारी राम्ररी निर्वाह गर्न सक्दैन, तब सम्बन्धमा चिसोपन सुरु हुन्छ ।
आमाबुबाले सम्बन्धविच्छेद गरे पनि बच्चाहरूलाई मानसिक रूपमा सहज बनाउने प्रयास गर्नुपर्छ, ताकि उनीहरूले असुरक्षित वा एक्लो महसुस नगरून् । आवश्यक परे परामर्शदाता (काउन्सिलर) वा मनोविद्को सहयोग लिएर बच्चाहरूको भावनात्मक स्थिरता कायम राख्न सकिन्छ ।
सम्बन्धविच्छेद भनेको वैवाहिक सम्बन्धको आधिकारिक रूपमा अन्त्य गर्ने कानुनी प्रक्रिया हो । यसले पति–पत्नीबीचको सम्बन्धलाई कानुनी रूपमा समाप्त पार्दछ, जसका कारण उनीहरू स्वतन्त्र रूपमा आफ्नो जीवन अघि बढाउन सक्छन् । विवाहलाई पारिवारिक, सामाजिक तथा सांस्कृतिक रूपले पवित्र सम्बन्ध मानिन्छ, तर विभिन्न कारणहरूले गर्दा कहिलेकाहीँ दाम्पत्य जीवन सफल हुन सक्दैन । सम्बन्धविच्छेद किन हुन्छ ? यसको प्रभाव के हुन्छ ? कानुनी प्रक्रिया कस्तो छ ? नेपाली समाजमा यसलाई कसरी बुझ्नुपर्छ ? यी प्रश्नहरूको विस्तृत रूपमा व्याख्या गर्न आवश्यक छ ।
सम्बन्धविच्छेदका कारण
सम्बन्धविच्छेद हुनुका धेरै कारणहरू हुन सक्छन्, जसलाई व्यक्तिगत, सामाजिक, आर्थिक, सांस्कृतिक तथा कानुनी दृष्टिकोणबाट हेर्न सकिन्छ ।
क. व्यक्तिगत कारण
यसअन्तर्गत वैचारिक भिन्नता तथा असहमतिहरू पर्दछन् । जस्तै; पति–पत्नीबीच वैचारिक भिन्नता भएमा सम्बन्ध कमजोर बन्दै जान्छ । जीवनशैली, धर्म, राजनीतिक, आर्थिक व्यवस्थापन, परिवारप्रतिको सोचाइ आदिमा ठूलो फरक भएमा आपसी झगडा हुन सक्छ, जुन सम्बन्धविच्छेदको एक महत्त्वपूर्ण कारण हुन सक्छ । अहिलेको समाजले व्यक्तिको स्वतन्त्रता, व्यक्तिगत अधिकारलगायतका कुरालाई बढी नै प्राथमिकता दिएको पाइन्छ, कतिपय अवस्थामा जायज भए पनि श्रीमान्/श्रीमतीबीच हुने सामान्य असहमतिलाई बाहिर सबैको सामु पोख्नु कत्तिको जायज हो ? हामीले ध्यान दिनु आवश्यक छ ।
१. पारिवारिक हस्तक्षेपः नेपालमा विवाह केवल दुई जनाबीचको सम्बन्ध नभएर दुई परिवारबीचको सम्बन्ध पनि हो । तर, कहिलेकाहीँ परिवारजनले नवविवाहित जोडीका निर्णयहरूमा अत्यधिक हस्तक्षेप गर्छन् । सासू–ससुराको अनुशासन, देवर–भाउजू वा परिवारका अन्य सदस्यहरूको हस्तक्षेपले गर्दा तनाव बढ्न सक्छ ।
२. अविश्वासः सम्बन्धको आधार नै विश्वास हो । एक पक्षले अर्को पक्षलाई धोका दिएमा वा अनावश्यक रूपमा शङ्का गरेमा सम्बन्ध बचाउन गाह्रो हुन्छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको व्यापक प्रयोगले विवाहेत्तर सम्बन्ध बढेको देखिन्छ, जसले सम्बन्धविच्छेदको सम्भावना बढाएको छ ।
३. यौन असन्तुष्टि: यौन असन्तुष्टिले दाम्पत्य जीवनमा गहिरो प्रभाव पार्न सक्छ, किनभने शारीरिक सम्बन्ध मात्र होइन, भावनात्मक रूपमा पनि दुवै पक्ष एकअर्कासँग जोडिन आवश्यक हुन्छ । यदि कुनै एक वा दुवै जना शारीरिक रूपमा सन्तुष्ट छैनन् भने उनीहरूबीच निराशा, असन्तोष र तनाव बढ्न सक्छ । यसले सञ्चारको कमी, झगडा र दूरी निम्त्याउँछ । यौन असन्तुष्टिका कारण विभिन्न हुन सक्छन्—शारीरिक समस्या, मानसिक तनाव, एकअर्कासँग खुलेर कुरा नगर्नु वा विवाहपूर्वको अवास्तविक अपेक्षाहरू । यदि यी समस्याहरू समाधान गरिएन भने सम्बन्धमा अरू समस्या पनि थपिन सक्छन् । जस्तै; विवाहेत्तर सम्बन्धको सम्भावना, आत्मसम्मानमा कमी तथा अन्ततः सम्बन्धविच्छेदसम्म पुग्ने अवस्था ।
त्यसैले पति–पत्नीबीच खुलेर संवाद हुनु, एकअर्काका आवश्यकताहरू बुझ्नु र आवश्यक परे परामर्शदातासँग सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ, ताकि सम्बन्धलाई सुदृढ बनाउन सकियोस् । हाम्रोजस्तो परम्परागत समाजमा यौनसम्बन्धका विषयमा खुलेर चर्चा गरिँदैन । पति–पत्नीबीच यौन सन्तुष्टि नहुनु, अस्वस्थ सम्बन्ध वा शारीरिक सम्पर्कमा रुचि नहुनुले पनि सम्बन्ध कमजोर बनाउँछ ।
४. मानसिक वा शारीरिक रोगः मानसिक वा शारीरिक रोगले दाम्पत्य जीवनमा गहिरो असर पार्न सक्छ किनभने यस्तो अवस्थाले शारीरिक सम्बन्ध, भावनात्मक सम्पर्क र दैनिक जीवनको सन्तुलन बिगार्न सक्छ । यदि कुनै एक पक्ष गम्भीर मानसिक रोग (जस्तै; डिप्रेसन, एन्जाइटी, बाइपोलार डिसअर्डर) वा शारीरिक रोग (जस्तै; दीर्घकालीन बिरामी, पक्षघात, क्यान्सर) बाट पीडित भएमा अर्को पक्षले दीर्घकालसम्म सहयोग गर्न नसक्दा सम्बन्धमा असन्तोष, तनाव र निराशा बढ्न सक्छ ।
साथै, रोगको प्रभावले एकअर्काबीच दूरी बढाउन सक्छ, जसले आपसी समझदारी र सहनशीलतालाई कमजोर पार्छ । यदि रोगका कारण सम्बन्धमा अत्यधिक तनाव उत्पन्न भयो भने अन्ततः सम्बन्धविच्छेदसम्म पुग्ने सम्भावना रहन्छ ।
ख. सामाजिक कारण
१. शिक्षा र आत्मनिर्भरताः नेपालमा अघिल्लो पुस्तासम्म महिलाहरू आर्थिक रूपमा पुरुषमा निर्भर हुने प्रवृत्ति थियो, जसले गर्दा वैवाहिक सम्बन्ध असन्तोषजनक भए पनि उनीहरूलाई सम्बन्ध टुंग्याउन कठिनाइ हुन्थ्यो । सामाजिक तथा आर्थिक सीमितताले गर्दा महिलाहरू सम्बन्धविच्छेदपछि आत्मनिर्भर जीवनयापन गर्न असमर्थ थिए, जसका कारण उनीहरूले जबर्जस्ती असन्तुष्ट दाम्पत्य जीवन स्वीकार्नुपर्थ्यो । तर, हाल शिक्षाको पहुँच विस्तारसँगै महिलाहरू आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । उच्च शिक्षा, व्यावसायिक दक्षता र रोजगारीका अवसरहरूले महिलाहरूलाई आत्मनिर्भर बनाएको छ, जसले गर्दा उनीहरू कुनै पनि असहज सम्बन्धलाई केवल समाजको डरले निरन्तरता दिन बाध्य छैनन् ।
सम्बन्धविच्छेदले व्यक्तिहरूमा मानसिक तनाव, डिप्रेसन र आर्थिक समस्याहरू ल्याउन सक्छन् र परिवारमा असन्तोष र तनाव पैदा गर्न सक्छ । बच्चाहरूमा यसको गहिरो असर पर्न सक्छ, जसले भावनात्मक र शैक्षिक अस्थिरता सिर्जना गर्न सक्छ ।
आत्मनिर्भर महिलाहरू आत्मसम्मानका साथ निर्णय लिन सक्षम छन्, जसले गर्दा उनीहरू असन्तुष्ट दाम्पत्य सम्बन्धलाई सम्मानपूर्वक टुंग्याउने निर्णय गर्न सक्ने अवस्थामा पुगेका छन् । शिक्षा र आत्मनिर्भरता बढ्दै जाँदा महिलाहरूले आफ्नो भविष्यका बारेमा स्वतन्त्र रूपमा सोच्न सक्ने, स्वस्थ मानसिकता बनाउन सक्ने र कुनै पनि असामान्य परिस्थितिमा आत्मविश्वासका साथ अगाडि बढ्न सक्ने भएकाले सम्बन्धविच्छेदको संख्या पनि वृद्धि हुँदै गएको देखिन्छ ।
२. अन्तरजातीय तथा अन्तरधार्मिक विवाहः नेपालमा अझै पनि जातीय तथा धार्मिक भिन्नताका कारण सम्बन्धविच्छेद हुने गरेको पाइन्छ । परिवारको दबाब, समाजबाट हुने बहिष्कारजस्ता कारणहरूले गर्दा केही जोडीहरूले सम्बन्ध बचाउन सक्दैनन् । सरोज क्षेत्री र रञ्जना परियार (परिवर्तित नाम) प्रेममा थिए । उनीहरूले समाजको विरोधका बाबजुद अन्तरजातीय विवाह गरे । विवाहपछि केही समयसम्म सबै ठीकठाक थियो तर बिस्तारै सरोजको परिवारले रञ्जनालाई स्वीकार गर्न सकेन । उनलाई घरका सदस्यहरूले दुर्व्यवहार गर्न थाले ।
सरोजले आफ्नै परिवारको दबाबमा परेर रञ्जनासँग राम्रो व्यवहार गर्न छोडे । मानसिक तनाव बढ्दै गयो र अन्ततः रञ्जनाले सम्बन्धविच्छेदको निर्णय लिइन् । समाजले अझै पनि अन्तरजातीय विवाहलाई सहज रूपमा स्वीकार नगरेकाले धेरै जोडीहरू यस्तो समस्यामा पर्छन् ।
३. बालविवाह तथा दबाबमा गरिएको विवाहः नेपालमा अझै पनि बालविवाहका घटनाहरू हुने गरेका छन् । अपरिपक्व उमेरमा गरिएको विवाह प्रायः असफल हुने सम्भावना हुन्छ । त्यस्तै, जबर्जस्ती विवाह गराइएका जोडीहरूले सम्बन्धलाई दीर्घकालसम्म टिकाइराख्न सक्दैनन् ।
ग. आर्थिक कारण
१. बेरोजगारी तथा आर्थिक असमानताः यदि दुवै पक्ष आर्थिक रूपमा सन्तुलित छैनन् भने सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ । विशेष गरी, एक पक्षले मात्र कमाइरहेमा वा अर्को पक्ष अत्यधिक खर्चालु भएमा विवाद सिर्जना हुन्छ ।
दिपेश र सञ्जना (परिवर्तित नाम) को विवाह पाँच वर्षअघि भएको थियो । दुवै जना उच्च शिक्षित र सफल करिअर भएका व्यक्ति थिए । दिपेश एक बहुराष्ट्रिय कम्पनीमा म्यानेजर थिए भने सञ्जना मेडिकल क्षेत्रकी पेसाकर्मी थिइन् । विवाहपछि उनीहरू आफ्नो करिअरमा केन्द्रित भए, जसका कारण परिवारलाई समय दिन सकेनन् । सञ्जनाले आफ्नो व्यक्तिगत जीवनमा दिपेशले चासो नदिएको महसुस गरिन् भने दिपेशले पनि सञ्जनाले घरपरिवारमा ध्यान नदिएको गुनासो गरे । बिस्तारै उनीहरूबीच संवादको कमी हुन थाल्यो, झगडाहरू बढ्न थाले र अन्ततः सम्बन्ध सुधार्न नसक्दा जिल्ला अदालतमा गएर सम्बन्धविच्छेद गरे ।
२. दाइजो प्रथाः अझै पनि तराई/मधेश र कतिपय ग्रामीण क्षेत्रहरूमा दाइजो प्रथा जीवितै छ । विवाहपछि दाइजोका कारणले झगडा हुने, श्रीमतीलाई मानसिक वा शारीरिक यातना दिनेजस्ता घटनाले सम्बन्धविच्छेदको सम्भावना बढाउँछ ।
घ. प्रविधि र सम्बन्धविच्छेद
१. सामाजिक सञ्जालको प्रभावः फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता प्लेटफर्महरूले मानिसहरूलाई नयाँ व्यक्तिहरूसँग जोड्न मद्दत गरेका छन् । कतिपय अवस्थामा यी प्लेटफर्महरू विवाहेत्तर सम्बन्धको माध्यम बन्न सक्छन्, जसले अविश्वास र टकराव निम्त्याउँछ ।
२. लामो दूरी सम्बन्ध र प्रविधिको दुरुपयोगः नेपालमा वैदेशिक रोजगारीका कारण धेरै दाम्पत्य जीवन टुट्ने गरेको पाइन्छ । लामो दूरी, विश्वासको कमी र आर्थिक तथा भावनात्मक समर्थनको अभावले सम्बन्ध बचाउन गाह्रो बनाउँछ । वैदेशिक रोजगारमा जाने नेपालीहरूको संख्या धेरै छ । लामो समय टाढा हुँदा प्रविधिको सहायताले सम्पर्क राख्न सकिन्छ तर कतिपय अवस्थामा यसकै कारण दुरुपयोग, अविश्वास तथा नयाँ सम्बन्धहरू बन्न सक्छन् । सुरज (परिवर्तित नाम) वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । सुरुमा उनले श्रीमती मीना (परिवर्तित नाम) र बच्चासँग नियमित कुरा गर्थे, पैसा पठाउँथे र परिवारप्रति जिम्मेवारी वहन गर्थे । तर, समयसँगै उनीहरूबीच कुराकानी कम हुँदै गयो । मीना घरमा एक्लोपन महसुस गर्न थालिन् । बिस्तारै सुरजको सम्पर्क घट्दै गयो, उनले नेपाल आउन पनि आनाकानी गर्न थाले । उनलाई त्यहाँ अर्को महिलासँग सम्बन्ध भएको खबर आयो र अन्ततः मीनाले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिइन् ।
सम्बन्धविच्छेदले बच्चामा पर्ने असर
सम्बन्धविच्छेद यदि श्रीमान्/श्रीमतीबीच असमझदारी बढेको अवस्थामा वा अन्य कुनै कारणले कहिलेकाहीँ आवश्यक हुन सक्छ तर यसको असर बच्चाहरूमा गम्भीर रूपमा पर्न सक्छ । बच्चाहरूलाई सम्हाल्न सकेमा उनीहरूको भविष्य सुरक्षित हुन सक्छ । त्यसैले अभिभावकहरूले आफूहरूबीचको व्यक्तिगत विवादलाई सन्तान अहित नहोस् भनेर सोच्नु आवश्यक छ ।
सम्बन्धविच्छेदपछि आर्थिक समस्या पनि उत्पन्न हुन सक्छ । विशेष गरी, यदि परिवारमा एकल आमाबुबा छन् भने एकल अभिभावकत्वको चुनौती पनि बढ्न सक्छ, जहाँ अभिभावकलाई घरधन्दासँगै बच्चाहरूको पालनपोषण, शिक्षा र अन्य जिम्मेवारीहरूलाई व्यवस्थापन गर्न ठूलो कठिनाइ महसुस हुन सक्छ ।
१. भावनात्मक असरः बच्चाहरूमा अभिभावकबाट अलग हुनुको पीडा रहन्छ । धेरैजसो बच्चाहरूमा डर, चिन्ता, तनाव र आत्मग्लानि उत्पन्न हुन्छ । कतिपय बच्चाहरूले आफूलाई दोषी ठान्छन् कि उनीहरूकै कारण आमाबुबा छुट्टिए । उदाहरण, ७ वर्षीय सागर (नाम परिवर्तन) को बाबु–आमा सम्बन्धविच्छेद भएपछि उनी निराश हुन थाले । विद्यालयमा उनको ध्यान कम हुँदै गयो, साथीहरूसँग खेल्न मन नगर्ने, एक्लोपन महसुस गर्नेजस्ता लक्षण देखिए ।
२. शैक्षिक असरः बच्चाहरूको अध्ययनमा ध्यान घट्छ । शिक्षक वा साथीहरूसँग कम अन्तर्क्रिया गर्न थाल्छन् । परीक्षा परिणाममा नकारात्मक प्रभाव पर्छ । उदाहरण: १० कक्षामा पढ्ने रिया (नाम परिवर्तन) आमाबुबा अलग भएपछि उनी निरन्तर उदास रहन थालिन् । उनको विद्यालय उपस्थितिमा कमी आयो, परीक्षामा नकारात्मक प्रभाव पर्यो ।
३. सामाजिक असरः बच्चाहरूले समाजमा अपमानको सामना गर्न सक्छन् । छिमेकी वा साथीहरूबाट अपहेलित महसुस हुन सक्छ । कतिपय बच्चाहरू असामाजिक व्यवहार प्रदर्शन गर्न थाल्छन् । उदाहरण: १२ वर्षीय रोहनको (नाम परिवर्तन) आमाबुबा छुटेपछि उनले साथीहरूसँग झगडा गर्ने, झुट बोल्ने, चोरी गर्नेजस्ता गलत बानी अपनाए ।
४. मानसिक स्वास्थ्यमा असरः बच्चाहरू डिप्रेसन, एन्जाइटी वा अति आक्रोशित बन्न सक्छन् । निद्रा नपर्नु, आत्मसम्मानको कमी हुनुजस्ता समस्या देखिन सक्छन् । किशोरावस्थामा लागुपदार्थ दुर्व्यसनमा फस्ने सम्भावना उच्च रहन्छ । उदाहरण: १४ वर्षीय समीर (नाम परिवर्तन) बाबु–आमा छुटेपछि घरमा कम समय बिताउन थाले । केही महिनापछि लागुपदार्थ सेवनको लत लागेको पत्ता लाग्यो ।
समाधानका उपायहरू
आमाबुबाले सम्बन्धविच्छेद गरे पनि बच्चाहरूलाई मानसिक रूपमा सहज बनाउने प्रयास गर्नुपर्छ, ताकि उनीहरूले असुरक्षित वा एक्लो महसुस नगरून् । आवश्यक परे परामर्शदाता (काउन्सिलर) वा मनोविद्को सहयोग लिएर बच्चाहरूको भावनात्मक स्थिरता कायम राख्न सकिन्छ । साथै, बच्चाहरूलाई परिवारका दुवै पक्षसँग समय बिताउने अवसर दिनु महत्त्वपूर्ण हुन्छ, ताकि उनीहरूले दुवै अभिभावकको माया र समर्थन प्राप्त गर्न सकून् । विद्यालय र समाजले पनि उनीहरूलाई सकारात्मक वातावरण प्रदान गरी आत्मविश्वास बढाउन मद्दत गर्नुपर्छ, जसले उनीहरूको भविष्यलाई सुरक्षित राख्न भूमिका खेल्छ ।
सम्बन्धविच्छेदको प्रभाव
१. व्यक्तिगत प्रभावः सम्बन्धविच्छेदले व्यक्तिमा गहिरो मानसिक तनाव र डिप्रेसन ल्याउन सक्छ । व्यक्तिले आफ्नो विछोडका कारणले आत्मग्लानि र दोष महसुस गर्न थाल्छ, जसले मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । यी समस्याहरूका कारण उनीहरूको जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ, जसले भविष्यमा निर्णय क्षमतामा पनि अवरोध ल्याउँछ । साथै, सम्बन्धविच्छेदपछि आर्थिक समस्या पनि उत्पन्न हुन सक्छ । विशेष गरी, यदि परिवारमा एकल आमाबुबा छन् भने एकल अभिभावकत्वको चुनौती पनि बढ्न सक्छ, जहाँ अभिभावकलाई घरधन्दासँगै बच्चाहरूको पालनपोषण, शिक्षा र अन्य जिम्मेवारीहरूलाई व्यवस्थापन गर्न ठूलो कठिनाइ महसुस हुन सक्छ ।
२. सामाजिक प्रभावः सम्बन्धविच्छेदले परिवारमा असन्तोष र तनाव ल्याउन सक्छ । परिवारका सदस्यहरू, विशेष गरी बुज्रुकहरू र अन्य नातेदारहरूले विवाहविच्छेदलाई नकारात्मक दृष्टिले हेर्न सक्छन् । यसले पारिवारिक संरचनामा अस्थिरता र भिन्नता सिर्जना गर्दछ । छोराछोरीमा यसको गहिरो असर पर्न सक्छ, जसले भावनात्मक र मानसिक असन्तुलन झल्काउँछ । साथै, सम्बन्धविच्छेदपछि समाजमा पुनः विवाहको चुनौती पनि खडा हुन्छ, जहाँ केही व्यक्तिका लागि पुनः विवाह स्वीकार्नु एक सांस्कृतिक र सामाजिक समस्या बन्न सक्छ– खासगरी, यदि कुनै पक्षले समाजका परम्परागत मापदण्डलाई चुनौती दिन थालेको छ भने ।
अन्त्यमा, हाम्रो देशमा सम्बन्धविच्छेदका घटनाहरू पछिल्लो समय उल्लेखनीय रूपमा बढेका छन्, जसका व्यक्तिगत, सामाजिक, आर्थिक र कानुनी कारणहरू छन् । यसका प्रमुख कारणहरूमा वैचारिक भिन्नता, पारिवारिक हस्तक्षेप, अविश्वास, यौन असन्तुष्टि र मानसिक वा शारीरिक रोगहरू समावेश हुन सक्छन् । सामाजिक दृष्टिकोणले पनि शिक्षित महिलाहरूको आत्मनिर्भरता र आधुनिक समाजमा परिवर्तनको प्रभाव देखिन्छ । आर्थिक कारण जस्तै; बेरोजगारी र असमानताका साथै सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले पनि विवाहेत्तर सम्बन्ध र विवादलाई बढावा दिइरहेका छन्, जसले गर्दा सम्बन्धविच्छेदलाई प्रोत्साहन दिइरहेको छ ।
सम्बन्धविच्छेदले व्यक्तिहरूमा मानसिक तनाव, डिप्रेसन र आर्थिक समस्याहरू ल्याउन सक्छन् र परिवारमा असन्तोष र तनाव पैदा गर्न सक्छ । बच्चाहरूमा यसको गहिरो असर पर्न सक्छ, जसले भावनात्मक र शैक्षिक अस्थिरता सिर्जना गर्न सक्छ । सामाजिक रूपमा सम्बन्धविच्छेदले पारिवारिक संरचनामा अस्थिरता ल्याउन सक्छ र पुनः विवाहको चुनौती प्रस्तुत गर्न सक्छ ।
सम्बन्धविच्छेद गर्नुभन्दाअघि एकपटक दुवै जनाले मनोवैज्ञानिक, मनोचिकित्सक तथा सम्बन्ध सहजकर्तासँग भेटेर उचित परामर्श लिनु अत्यन्त जरुरी हुन्छ, जसले गर्दा उक्त सम्बन्धमा पुनः सुमधुरपन आउन सक्छ वा सम्पूर्ण राम्रा/नराम्रा कुराहरूको विश्लेषण गरी भविष्यमा पर्न सक्ने मानसिक, आर्थिक, सामाजिक तथा भावनात्मक समस्याजस्ता विषयहरूलाई सहज र सरल तरिकाबाट समाधान गर्न सहयोग पुग्दछ ।
(लेखक पाठक ‘डियर सम्बन्ध'का निर्देशक तथा सम्बन्ध सहजकर्ता हुन् ।)
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ ११:५१