अछामको भैसले दराको रमणीय गाउँ, जहाँ पहाडका हरिया फाँट, डाँडाकाँडा, लेक र औल जीवनका आधार थिए । यहाँको जनजीवन सीधा, तर कठिन थियो । खेतीपाती र गाईभैँसीपालन नै जीविकाका मूल आधार थिए । यही भैसलेको एक गाउँमा अर्जुन र उमाको परिवार बस्थ्यो । तिनको जीवनको सबैभन्दा ठूलो सपना थियो– सन्तानलाई राम्रो शिक्षा र सुविधा दिनु ।
तर, पहाडको कष्टकर जीवन र सीमित अवसरले अर्जुनलाई सोच्न बाध्य बनायो । गाउँमा उत्पादनले मुस्किलले परिवार पाल्थ्यो र शिक्षाका अवसरहरू सीमित थिए । यसैबीच, तराई मलबारतिर राम्रो छ भन्ने हल्ला गाउँभरि फैलियो । मानिसहरू भन्थे, ‘मलबारमा उर्बर जमिन छ, कामको अवसर छ, अनि जीवन सजिलो छ ।’
अर्जुनले उमासँग कुराकानी गरे । ‘हाम्रा बच्चाहरूको भविष्य यहाँ सीमित छ । मलबार गएर नयाँ जीवन सुरु गरौँ,’ उनले शङ्का गर्दै भनिन्, ‘त्यो नयाँ ठाउँ कस्तो होला ? हामी यहाँ सबै छोडेर कसरी जान सक्छौँ ?’ तर, अर्जुनले भने, ‘यो हाम्रा लागि होइन, सन्तानका लागि हो ।’
गाउँका केही परिवारले पनि मलबार जाने निर्णय गरे । सबैले भैँसी, खसीबोका र घरायसी सामान बेचेर यात्राको तयारी गरे । अर्जुन र उमाले पनि आफ्नो घरका केही गहना र अन्न बेचे । अछामको भैसले दराबाट मलबारसम्मको यात्रा निकै कठिन थियो । गोरेटो बाटो, खोल्साहरू तरेर, पिठ्युँमा सामान बोकेर उनीहरू कर्णाली किनारहुँदै पश्चिम सुर्खेत भएर भेरी, कर्णाली तरेर दक्षिणतिर लागे । अर्जुन र उमाको जीवनको एउटा संघर्षमय यात्रा थियो ।
अछामको भैसले दरामा जन्मेका अर्जुन र दैलेखको आठबिस दरामा जन्मेकी उमा सधैँ आफ्ना सन्तानको उज्ज्वल भविष्यको सपना देख्थे । तर, समयले आफ्नो गाउँ, डाँडाकाँडा अनि जीवनशैली छोडेर नयाँ अवसरको खोजीमा मलबार जाने निर्णय गर्न बाध्य भएका थिए । उनीहरू रहरले होइन, बाध्यताले तराई झरेका थिए ।
त्यसैले उमा अन्तिमपटक आफ्नो घरतिर फर्केर हेर्दै धरधरी रोइन् । आँसुले उनका गाला भिजिरहेका थिए र मन एक प्रकारको असह्य पीडाले भरिएको थियो । अर्जुनले आफ्नो मनमा उम्लिएका भावनालाई दबाउँदै आँखा चिम्लेर आँसु पुछे । उनले शान्त स्वरमा ढाडस दिँदै भने, ‘उमा, त्यहाँ पुगेपछि हामी नयाँ जीवन सुरू गर्नेछौँ । यो यात्रा हाम्रो लागि मात्र होइन, हाम्रा सन्तानको भविष्यका लागि पनि हो ।’
मलबार पुगेपछि उनीहरूले फरक संसार देखे । समथर जमिन, हरिया खेत र सिँचाइका कुलाहरू । तराईको गर्मीमा जीवन पहाडको जस्तो सजिलो थिएन । तर, यहाँका अवसरहरूले उनीहरूलाई आशावादी बनायो ।
भूगोल मात्र फरक थिएन संस्कार, संस्कृति पनि भिन्न थियो । ठेट अछामी परिवार थारू बाहुल्य क्षेत्रमा बसाइँसराइ गरेर आएको थियो । जब अर्जुन र उमाको परिवार मलबार झरे, उनीहरूले त्यहाँको थारू समुदायको सौहार्दपूर्ण जीवन देखे । थारूहरूका सुन्दर मौलिक घर, माटोको भित्तामा बनाएका सुन्दर चित्रहरू र उनीहरूको सरल जीवनशैलीले उमा र अर्जुनलाई निकै प्रभाव पार्यो ।
मनमा पहाडको सम्झना बोकेर अर्जुन र उमा खेतीपातीमा ध्यान दिन थाले । मलबारको उब्जाउ माटोले धान, गहुँ र तरकारी राम्रो उत्पादन दिन थाल्यो । उनीहरूले आफ्नै जमिन पनि जोडे । अब उनीहरूसँग सबथोक छ । छैन त त्यो पहाड अनि ती लेक, औल अनि भञ्ज्याङ चौतारीहरू ।
थारूहरूको महुवाको रक्सी बनाउने कला, साँझपख गाउँमा बज्ने मादलको धुनले उनीहरूको मनलाई पनि शान्त बनायो । थारू छिमेकीहरूले ‘नयाँ ठाउँमा आइपुग्नुभएका पाहुना’ भनेर उनीहरूको स्वागत गरे ।
मलबारमा जमिन उर्वर थियो र थारू समुदायसँगको सहकार्यले अर्जुन र उमाको परिवारलाई नयाँ ठाउँमा जरा गाड्न सहज बनायो । अर्जुनसँग थोरै जमिन थियो, उनले खेती गर्नका लागि जमिन भाडामा लिए । मलबारको उर्बर माटोमा उनले धान र गहुँ रोप्न थाले । उमाले घर सम्हाल्दै छिमेकीहरूसँग मिलेर घरेलु काममा हात बढाइन् ।
अर्जुनको जेठो छोरा सुरेशले मलबारको स्कुलमा भर्ना भएर पढाइ सुरु गर्यो । ‘म असल मान्छे बन्नेछु बुवा, यहाँको अवसरले हाम्रो परिवारको जीवन बदल्नेछ,’ सुरेशले भने । अर्जुन र उमाले उसलाई पढाइका लागि कुनै कमी हुन दिएनन् ।
केही वर्षमै अर्जुन र उमाको परिवार मलबारमा स्थापित भयो । खेती राम्रो भयो । सिँचाइका लागि कुलाहरू, मलबारको सुक्खा तर उब्जाउ जमिन र मिहिनेतले अर्जुनलाई सफल किसान बनायो । अनि छोरा सरकारी जागिरे हुनु अर्जुन र उमाका लागि ठूलो सफलता थियो ।
अर्जुन एक साँझ खेतका कुलामा बसेर टाढा क्षितिजतिर हेर्दै थिए । चुरेका डाँडाहरूको झल्को पर्न थाल्यो । उनले गहिरो श्वास लिए । ‘उमा, यी समथर खेतहरू र सिँचाइका कुलाहरूले हाम्रो जीवन सजिलो बनाएको छ । तर, यी डाँडाहरू टाढाबाट हेर्दा अछामको सम्झना जाग्छ । पहाडको चिसो हावा, ठण्डा पानी, आफ्नै माटोको सुवास अनि त्यहाँको हाम्रो जिन्दगी नराम्रो थिएन...,' उनले कुरा अधुरै छोडे ।
उमा पनि आँगनको नजिकैको रूखमुनि सुकाउँदै गरेका कपडाहरू समेट्दै थिइन् । अर्जुनको कुरा सुनेर उनलाई पनि आफ्नो घरको आँगन, मेलापात, पानीपँधेरो, वनजङ्गलको याद आयो । ‘यहाँ जति सफल भए पनि मन त पहाडमै डुलिरहन्छ । त्यो पहाड अनि त्यहाँका सम्झनाको भारी बोकेर हिँडिरहेका छौँ,’ उनले भनिन् ।
त्यही बेला सुरेश गाउँ विकास समितिको कार्यालयबाट फर्किए । हातमा सरकारी कागजातको झोला बोकेको सुरेश उनीहरूको कुरा सुनेर मुस्कुराए । ‘आमाबुवा, चिन्ता नगर्नुहोस् । यहाँको अवसरले हामीलाई स्थापित गर्यो । तर, म अहिले गाविस सचिव मात्रै छु, असल मान्छे भएर अछाम फिर्ता जान्छु । हाम्रो मिहिनेतको पहिचान त्यहाँ पनि देखिने बनाउँछु ।’
मलबारको एक साँझमा सबै जना आँगनमा बसेर चिया पिउँदै थियौँ । तराई मलबारको समथर जमिन र सिँचाइका कुलाहरूले उनीहरूलाई सुविधा दिएको थियो । तर, चुरेका डाँडाहरूमा अछाम सम्झेर उनीहरूको मन उडिरहेको थियो ।
‘मलबार हाम्रो कर्मभूमि हो, तर पहाड हाम्रो आत्मा हो । म ती पहाडी डाँडाकाँडा, त्यो समाज, त्यो माया, सँगै रमाएका ती साथीभाइ, त्यो रमझम अनि गाउँघरका हरेक खुसीहरू म कहिल्यै भुल्न सक्दिनँ ।
उनी सोच्थे, ‘जीवनले मलाई तराईमा ल्यायो होला, तर मेरो मनको एउटा ठूलो अंश सधैँ ती डाँडाकाँडा, ती जात्राहरू र ती साथीहरूको हाँसोमा अडिएको छ । पहाडको त्यो माया कहिल्यै मेटिँदैन,’ गहिरो स्वरमा अर्जुनले भने । उमा र सुरेशले सहमति जनाए । किनकि उनीहरू आमाछोराको मनमा पनि अछामको भैसले पहाडको सेरोफेरो सम्झनाको पहाड बनेर बसेको थियो ।
घर पुगेपछि, अर्जुनले आफ्नो पुरानो डायरी निकालेर पहाडका दिनहरूको कथा लेख्न थाले । उनीसँग पुराना तस्वीरहरू, चिट्ठीहरू र केही पुराना यादहरू बाँकी थिए । तिनै यादहरूले उनलाई सान्त्वना दिँदै भनेजस्तो लाग्थ्यो– जतिसुकै टाढा भए पनि तिमीले आफ्नो माटोसँगको सम्बन्ध कहिल्यै गुमाउने छैनौँ ।
मलबारमा अर्जुन र उमाको परिवार आर्थिक रूपमा सवल भयो । उर्बर जमिन, अनवरत मिहिेनेत र स्थानीय थारू समुदायको सहयोगले उनीहरूको जीवन स्थिर मात्र भएन, अझ खुसीले भरिएको थियो । छोराले राम्रो शिक्षा पाए, सरकारी जागिरे बने र मलबारको समथर भूमिमा नयाँ सपना साकार गरे । थारूहरूको मेलमिलापपूर्ण समाजले उनीहरूको दुःख–सुख मात्र साझा गरेन, उनीहरूलाई थारू भाषामा पनि पोख्त बनायो । अब अर्जुन र उमा थारू मित्रहरूसँग आत्मीयताका साथ रमाउन र कुराकानी गर्न सक्थे । तर, मन भने पहाडमै थियो । ती पहाडका सम्झनाहरू कहिल्यै टाढा भएनन् । अछामको भैसले दराका हरिया डाँडाकाँडा, चौतारीहरू र चिसो हावाको ताजगी सधैँ उनीहरूको मनमा ताजै रहन्थ्यो । ठण्डा पानीको मिठास, कर्णालीछेउछाउका गोरेटाहरू अनि खेतमा खेलेका बालापनका दिनहरू उनीहरूको स्मृतिमा गाढा भएर बसेका थिए ।
भैसले दराका ती उब्जाउ खेतबारी, हराभरा वनजङ्गल अनि छरछिमेकको साथ र माइती देश घाटपारि (कर्णालीपारि) दैलेख सम्झँदा उमाको मन कहिल्यै हलुङ्गो हुँदैनथ्यो । बिहानपख गाउँभरिका मानिसहरू पानी भर्न धारा जाने, गोरू चराउन वनतिर जाने अनि साँझमा गाउँका रुम्टा टोलका दिदीबहिनी र साथीभाइहरूसँग बसेर गफ गर्ने ती दिनहरू उनको मानसपटलमा ताजै थिए ।
घाटपारि दैलेख माइत जाँदा कर्णाली तार्ने त्यही पुरानो डुङ्गाबाट जाँदा उनले अनुभव गर्ने तरङ्ग आज पनि उनको स्मृतिमा रहन्थ्यो । दैलेखको आठबिस दरामा रहेको आफ्नो माइती गाउँको सम्झनाले कहिलेकाहीँ उनको आँखा रसाउँथ्यो । तराईमा नयाँ जीवन थाल्दा पनि त्यो सुखदुःख बाँड्ने गाउँ, समाज र राम जात्राहरूको अभाव खट्किन्थ्यो । मनमा पहाडको सम्झना बोकेर अर्जुन र उमा खेतीपातीमा ध्यान दिन थाले । मलबारको उब्जाउ माटोले धान, गहुँ र तरकारी राम्रो उत्पादन दिन थाल्यो । अब भाडाको होइन, आफ्नै जमिन जोडिसकेका उनीहरूसँग अहिले सबथोक छ । छैन त त्यो पहाड अनि ती लेक, औल अनि भञ्ज्याङ चौतारीहरू । त्यसैले मलबारमा स्थापित भइसक्दा पनि पहाडको वातावरण र जीवनशैलीले अर्जुन–उमा दम्पतीको मन तानिरह्यो ।
अर्जुन कहिलेकाहीँ साथीहरूसँग बसेर आफ्नो पुरानो गाउँ सम्झन्थे । उनी गफ गर्दा भन्थे, ‘पानी भर्ने ती धाराहरू, गोरु चराउने वन अनि गाढ खोलाहरू छिचोल्दै कर्णाली तरेर ससुराली जाने ती दिन कति मीठा थिए !’ गाउँका मेलापात, माछा मार्ने ती गाढ, खोला अनि साँझमा गाइएको ठाडी भाका अहिले पनि उनको मनमा ताजै थियो । विनायकको मस्टेमाणु बाल्देमाणुको राम, सिमलसेराको जात्रा, धमालीको कृष्ण जात्रा, खिरेबस्तीको राम, लोडेको शिवरात्री, जामाको केदारको जात्रा, चाल्सको होरी, बाजकोटको राम, चिस्सीको भुवो र सिगाउडीको भुवो, यी सबै अर्जुनको स्मृतिमा कहिल्यै मेटिन नसक्ने सम्झनाका तरेली बनेर बयली खेल्न आउँथे ।
आँखा अगाडि त्यो रमझम आउँथ्यो– साथीभाइको हाँसो, उनीहरूसँग गरेको रमाइलो, मेलाका घन्केका बाजा र जात्राको रमणीय दृश्य । सधैँ गाउँमा मनाएको चाडपर्वको सजीव चित्र उनको मनभरि घुम्थ्यो । अर्जुनले आफ्ना मलबारका गाउँघरका दानुभाइसँग गफिँदै भने, ‘तराई आएको यतिका वर्ष भयो तर अछामी चाडपर्वमा रून मन लाग्छ, मलाई सबभन्दा बढी पहाडको याद चाडबाडमा आउँछ ।’
उमाको मन झनै कोमल थियो । उनी माइती गाउँको सम्झनामा डुब्थिन् । ‘मलबारमा माया, मिहिनेतले संघर्ष गर्न सिकियो । तर, हाम्रो भैसले दरामा बिताएका ती दिन कहिल्यै भुल्न सकिन्न । अहिले पनि जब गीत गुनगुनाउँछु, मन पहाडको डाँडाकाँडा पुग्छ ।’
उमाले कहिलेकाहीँ यो गीत गुनगुनाउँथिन्, जुन गीतले उनको जीवनको कथा झल्काउँथ्यो–
‘दर्नाली कोटको राजा, लुगा लाउदो झुलाई ।
आइजाय बसेका ठौर सम्झी, जाय मुलाई ।’
अर्को गीत पनि उनको हृदयको गहिराइबाट आएको थियो–
‘भोटे नुन जैगढ बोक्दो, चाप चल्किँदा चीन ।
साइ दुरै म पन दुरै, अब दिन दिन ।’
अर्जुन र उमाका लागि मलबार सफलताको भूमि बन्यो, तर अछामको भैसले दराको गाउँ र घाटपारि (कर्णालीपारि) दैलेख अनि डाँडाकाँडाले सधैँ उनीहरूको मनमा एउटा गहिरो छाप छोड्यो । तराईमा उनीहरूको जीवन नयाँ ढङ्गले फैलियो, तर पहाडको सम्झना उनीहरूको मनबाट कहिल्यै हटेन । ती साथीहरू, ती रमाइला पलहरू र त्यो गाउँको माया अझै पनि उनीहरूको हृदयमा जीवित थियो ।
उमाले मात्रै होइन अर्जुनले पनि पहाडको यादमा ठाडी भाका गाउँथे । घरनजिकैको पसलमा बसेका मानिसहरूतिर हेर्दै अर्नुनले भने, ‘मलाई पहाडको याद आयो भने ठाडी भाका गाउँछु । खासगरी म खेतीको काममा हुँदा उहिले पहाडका वनपाखामा गाएका गीत गाउँछु ।’
अर्जुनले आफ्ना सबै काम केही दिनका लागि स्थगित गरेर पहाड जाने योजना बनाए र पत्नी उमा र छोरा सुरेशलाई– जिन्दगीमा काम त जहिल्यै गर्न पाइन्छ, तर आफ्नो जरा भेट्नका लागि समय छुट्याउन सक्नुपर्छ ।
उनले यति भन्दै कान नजिक औँला राखेर अछामी ठाडी भाका गाउन सुरु गरे । नजिकै अर्जुनको घरसम्म उनको आवाज प्रस्ट सुनिन्थ्यो । घरको आँगनमा घाम तापिरहेकी पत्नी उमा र छोरा सुरेशले पनि ठाडी भाका सुनिरहेका थिए । उनले गाएको गीत पनि मन छुने थियो–
'पाइलकी दिपाइल पोइल दिपाइलकी पाइल,
बण पिपल पैराले लैगो केका बसु छाइल ।
मल पस्सो पुग्दैन छ कि तल सेरि कन
सौरणी लाग्दैन छ कि मैना मेरि कन ।'
गीतलाई बिट मार्दै अर्जुनले भावुक हुँदै भने, ‘तराईमा बसेर पनि मेरो मन भने पहाडकै त्यो पुरानो संसारमा अडिएको छ । यहाँको व्यवस्थित जीवनमा पनि म पहाड खोज्दै छु ।’ अर्जुनको मन पहाडको यादले भरिएको थियो, तर उनले आफूलाई सम्झाए कि जीवनलाई अगाडि बढाउन कठिनाइसँग सन्तुलन बनाउँदै यात्रा गर्नुपर्छ ।
घर पुगेपछि, उनले आफ्नो पुरानो डायरी निकालेर पहाडका दिनहरूको कथा लेख्न थाले । उनीसँग पुराना तस्वीरहरू, चिट्ठीहरू र केही पुराना यादहरू बाँकी थिए । तिनै यादहरूले उनलाई सान्त्वना दिँदै भनेजस्तो लाग्थ्यो, ‘जतिसुकै टाढा भए पनि तिमीले आफ्नो माटोसँगको सम्बन्ध कहिल्यै गुमाउने छैनौँ ।’
एक दिन अर्जुनले आछामको भैसले दरा र ससुराली गाउँ घाटपारि दैलेखको आठबिस दरामा भएका साथीहरूलाई फोन गरे र उनीहरूको हालचाल सोधे । कुरा गर्दै जाँदा उनले थाहा पाए कि पहाडमा उनको परिवारमा श्री कालाशिल्ला मस्टा देवता र पारि दैलेखमा ससुराली खलकमा श्री अधिकारी देवता पुज्ने धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने थाहा पाए । अनि त्यो खबरले उनको मनलाई झन् तान्यो ।
अन्ततः अर्जुनले आफ्ना सबै काम केही दिनका लागि स्थगित गरेर पहाड जाने योजना बनाए । उनले पत्नी उमा र छोरा सुरेशसँग भने, ‘जिन्दगीमा काम त जहिल्यै गर्न पाइन्छ, तर आफ्नो जरा भेट्नका लागि समय छुट्याउन सक्नुपर्छ ।’
जब उनी वर्षौंपछि दक्षिणतिरबाट उत्तर लागेर कर्णाली चिसापानीहुँदै कुइने जामु, गुटुहुँदै बासपानीको ओरालोहुँदै कर्णाली तरेर कर्णालीको छालैछाल (किनारै–किनार) पारि दैलेखको आफ्नो ससुराली गाउँ हेर्दै पहाड पुगे, पुराना ठाउँ, बाटो र गाउँलेहरूको न्यानो साथले उनलाई आफ्नै जीवनमा नयाँ आशा र ऊर्जा थपिदियो । त्यो देवता मान्ने धार्मिक कार्यक्रममा पत्नी र छोरासहित पुगेका उनले आफ्ना आफन्त भेट्टाए । पहाडको संस्कृतिमा रमाउँदै आफूभित्र हराउँदै गरेका खुसीहरू फेला पारे ।
अन्त्यमा, अर्जुनले बुझे कि पहाड र तराई दुवै आफ्नै स्थानमा सुन्दर छन्, तर मनले जहाँ सन्तोष र शान्ति पाउँछ, त्यही असली घर हो ।
धार्मिक कार्यक्रमले गर्दा अर्जुनले आफ्नो पुरानो गाउँ र ससुरालीका ठाउँहरूमा फेरि एकपटक पुग्ने अवसर पाए । गाउँलेहरूको हाँसो, माटोको गन्ध र कर्णालीको मीठो चिसो हावाले उनलाई आफ्नो विगतसँग फेरि जोडिदियो । उनले पहाडको सरल जीवन, न्यानो सम्बन्ध र ससाना खुसीहरूले जीवनलाई पूर्ण बनाउने तथ्यलाई गहिरो महसुस गरे ।
तराईमा बसेर व्यस्त जीवन जिउँदै गर्दा आफूले कतिपय कुराहरू गुमाएको महसुस गरेर उनी भावुक भए । अर्जुनले पत्नी उमा र छोरा सुरेशलाई भने, ‘यो यात्राले मलाई सम्झायो कि हाम्रा जरा, हाम्रो माटो र हाम्रो संस्कृति हाम्रा असली सम्पत्ति हुन् ।’ अब हामी यहाँ बारम्बार आउनेछौँ । हाम्रो नयाँ पुस्तालाई पनि आफ्नो जरा, माटो र संस्कृतिको मर्म सिकाउनुपर्छ ।
गाउँको वातावरणले उनी भावुक बने । पहाड र तराईबीचको सन्तुलन खोज्दै उनले आफ्नो जीवनलाई पुरानो याद र नयाँ उद्देश्यसँग जोड्ने सङ्कल्प गरे ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १०:१९