श्री सूर्य प्रकाश मावि सुर्खेतमा भौतिक विज्ञानको विषयका लागि पाचौँपटकसम्म विज्ञापन गर्दा पनि कोही नआएपछि १७ पुस २०८१ मा छैटौँपटक विज्ञापन गरिएको छ । गुल्मीको मुसिकोट नगरपालिकाले तीनवटा विद्यालयका लागि मागेको गणित विषयको शिक्षक कोही नभेट्टाएपछि अहिले सातौँपटक विज्ञापन गरेको हो ।
सिन्धुलीको फिक्कल गाउँपालिकाले माध्यमिक कोटामा गणित विषयको शिक्षकका लागि छैटौँ पटकसम्म विज्ञापन गर्यो । तर, छपटकसम्म दरखास्त आह्वान गर्दा पनि शिक्षक नपाएपछि अहिले सातौँपटक विज्ञापन गरेको छ ।
यी प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । पटक–पटक विज्ञापन गर्दा पनि योग्य शिक्षक नभेटिने स्थिति केही वर्षयता यत्रतत्र देखिन थालेको छ । यो समस्या गाउँतिरको विद्यालयमा अझ बढ्दो छ । देशभरका विद्यालयमा सरकारले विषयगत दरबन्दीको व्यवस्था गर्न सकेको छैन । अस्थायी कोटाका लागि शिक्षक नपाउने स्थिति मात्रै होइन, स्थायी कोटामा नाम निकालेर नियुक्ति भइराखेका शिक्षकसमेत राजीनामा दिएर विदेश वा अन्य विकल्पको खोजीमा लाग्ने क्रम बढेको छ ।
राजधानीका क्याम्पसका ढोका–ढोकामा गाउँका विद्यालयका लागि शिक्षकको विज्ञापन टाँसिएका भेटिन्छन् । यस अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने केही वर्षमै देशमा योग्य शिक्षकको सङ्कट सिर्जना हुने सङ्केत देखिएको छ ।
अहिले नै गाउँ–गाउँका स्कुलमा विषयगत शिक्षकको अभाव देखिन्छ । गणित र विज्ञानजस्ता विषयका शिक्षक कम उत्पादन भइरहेका छन् । केही विद्यालयमा तल्लो तहका शिक्षकले माथिल्लो तहमा कक्षा लिएर गुजारा टारिरहेका छन् । शिक्षक सेवा आयोगले लिने परीक्षामा पनि आवश्यक संख्यामा योग्य शिक्षक छनोट हुन सकिरहेका छैनन् । मागभन्दा कम संख्यामा शिक्षक उत्तीर्ण भएका छन् । योग्य र उत्कृष्ट व्यक्ति गौरवसाथ शिक्षक बन्न चाहिरहेको छैन । भइरहेका शिक्षक पनि आफ्नो पेसाप्रति गौरव गर्ने र सन्तुष्ट हुने अवस्थामा देखिन्नन् ।
शिक्षण पेसाप्रति व्यक्तिको आकर्षण कम हुनुको कारण तलब, सेवा र सुविधाको कमी महसुस गर्नु नै हो । शिक्षण प्रक्रिया शारीरिक र मानसिक श्रमसँग जोडिएको हुन्छ । संसारमा उत्कृष्ट शिक्षा प्रदान गरिरहेका मुलुकमा शिक्षण सामाजिक र आर्थिक रूपमा सम्मानित पेसा हो । त्यहाँ शिक्षणमा प्रवेश गर्नु नेपालमा जस्तो सजिलो छैन । त्यसैले जोकोही व्यक्ति शिक्षक बन्न पाउँदैन वा सक्दैन । तर, शिक्षण गर्ने अवसर प्राप्त गरिसकेपछि अन्य विकल्पबारे सोच्नुपर्ने आवश्यकता पर्दैन । युरोपदेखि अमेरिकासम्म शिक्षण आकर्षक र लोभलाग्दो पेसा हो । देश बनाउने उच्च गुणस्तरीय नागरिकले हो । गुणस्तरीय नागरिकको उत्पादन गुणस्तरीय शिक्षक र शिक्षाले मात्रै गर्छ ।
शिक्षकहरूले आफूलाई निजामती कर्मचारीको सेवा सुविधासँग तुलना गर्छन्, जो स्वाभाविक छ । एउटै योग्यता र तहमा काम गर्ने निजामती कर्मचारीले तलबबाहेक अन्य भत्ता र सुविधा पाउँछन् तर उठीउठी काम गर्नुपर्ने शिक्षकको तलबबाहेक अन्य सुविधा केही हुँदैन । त्यसैले निजामतीमा खरिदार वा सुब्बा नै किन नहोस्, उक्त व्यक्ति अधिकृतस्तरको माविमा पनि उठ्नै चाहँदैन, काम गर्ने त परको कुरा । तर, माविको स्थायीमा नाम निकालेर काम गरिरहेको शिक्षक निजामतीकै खरिदार/सुब्बामा नाम निकाल्न फेरि मिहिनेत गरिरहेको हुन्छ । यसले शिक्षणप्रतिको विकर्षणको अवस्था झल्काउँछ ।
कतिपय सांसदले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको अभाव टार्न शिक्षा सङ्कायबाहेक अरु सङ्कायमा पढेकाहरूलाई पनि खुला गर्नेुपर्छ भनेको सुनिन्छ । तर, यो विचार शिक्षाप्रतिको सतही र छिपछिपे बुझाइको उपज हो । शिक्षण अर्थात् विद्यार्थीको मस्तिष्क बदल्ने भन्ने कामलाई हामीले यति हलुका ढङ्गले लिइरहेका छौँ । त्यसैले आज पनि हाम्रो देशको शिक्षा उन्नतस्तरको हुन सकेको छैन । जहाँसुकै, जेसुकै पढेका व्यक्ति शिक्षक बन्ने होइन । बरु शिक्षक बन्ने, बनाउने, छनोट र नियुक्ति गर्ने प्रक्रिया अहिलेको भन्दा सशक्त र कसिलो बनाउने हो । शिक्षणलाई आकर्षित पेसाको रूपमा बदल्न काम गर्नुपर्ने हो ।
राजधानीका क्याम्पसका ढोका–ढोकामा गाउँका विद्यालयका लागि शिक्षकको विज्ञापन टाँसिएका भेटिन्छन् । यस अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने केही वर्षमै देशमा योग्य शिक्षकको सङ्कट सिर्जना हुने सङ्केत देखिएको छ ।
विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायको रुपान्तरण र आधुनिकीकरण गरिनुपर्छ । नेपालमा उच्च योग्यता बोकेका शिक्षक उत्पादन हुन बाँकी नै छ । अझ पछिल्लो दशकमा बदलिएको विश्व, विकास भइरहेका ‘एआई’ प्रविधि, इन्टरनेटलगायतले पुरानै तौरतरिकाबाट युगसुहाउँदो शिक्षक उत्पादन हुन सक्दैनन् । प्रविधिमा शिक्षकभन्दा विद्यार्थी धेरै पाइला अगाडि बढिसके । प्रविधिमा विद्यालयका विद्यार्थी अघिअघि र शिक्षक पछिपछि हिँड्न बाध्य छन् । यस अवस्थाले शिक्षकलाई असान्दर्भिक बनाइदिएको छ । एकपटक विश्वविद्यालयको अध्ययन सकिसकेपछि वा एकपटक शिक्षकलाई नियुक्ति गरिसकेपछि नियमित रूपमा शिक्षकको योग्यतालाई ‘अपडेट’ नगराइदिँदा यस्तो अवस्था सिर्जना भएको छ ।
शिक्षा सङ्कायले उच्च गुणस्तरीय शिक्षक उत्पादन गर्न थप मिहिनेत गर्नुपर्छ । शिक्षाशास्त्र सङ्कायमा विद्यालय तहका उत्कृष्ट विद्यार्थीहरू पढ्न आकर्षित गरिनुपर्छ । त्यहाँ भर्ना हुन विद्यालयका ‘टपर्स’ हरूको लाइन लाग्ने वातावरण बनाइनुपर्छ । जुन क्षेत्रमा व्यक्तिले भविष्यको सुनिश्चितता र सुरक्षा देख्छ त्यही क्षेत्रमा जान्नेसुन्नेहरू लाग्ने हुन् । युरोपका देशहरूमा शिक्षक बन्न लामो र कडा मिहिनेतबाट खारिनुपर्छ भन्ने हामीले देखेका छौँ । विद्यार्थीको सोच, चेतना, खूबी र क्षमताको विकास गराउने भन्ने कुरा हलुका विषय होइन, यो जोकोहीले सक्ने काम होइन । जसरी चलिरहेको छ ठीकै छ भन्ने हो भने फरक कुरा भयो ।
शिक्षक बन्न सम्बन्धित विषयवस्तु मात्रै जानेर पुग्दैन । शिक्षण यस्तो क्षेत्र होइन, जहाँ शिक्षकले जानेका विषय र सूचना विद्यार्थीमाथि खन्याइदिने । यस्तो हुन्थ्यो भने आज नेपालको शिक्षा संसारकै सर्वोत्कृष्ट शिक्षाको रूपमा ख्याति कमाउँथ्यो । यहाँ शिक्षाशास्त्र नै पढेकाहरूले पढाएको मिलिरहको छैन, अरु सङ्कायबाट आउनेको कुरा नगरौैँ ।
भोलिको समाज र देश हाँक्ने व्यक्ति तयार पार्ने शिक्षक आफ्नो पेसाप्रति सन्तुष्ट छैन भने उसको शिक्षण केवल ‘जागिरे’ मात्र हुन्छ । अर्कोतिर स्वयम् शिक्षक नै कमजोर र अयोग्य भएमा त्यसको मूल्य विद्यार्थी र देशले चुकाउनुपर्छ । स्कुलको कक्षाभित्र पसेर अगाडिको लहरमा बसेका विद्यार्थीलाई ‘भोलि तिमी के बन्न खोज्दै छौ’ भनेर प्रश्न गर्दा उनीहरूले डाक्टर, इन्जिनियर, सीए वा अन्य केही बन्ने चाहना प्रकट गर्छन् । कतिले त विदेशिने सपना सुनाइहाल्छन् ।
आज कक्षाको अघिल्लो बेञ्चमा बस्ने विद्यार्थी पाएसम्म शिक्षक बन्न चाहँदैन । उसले आफूलाई हरेक दिन कक्षाको अगाडि आएर पढाउने शिक्षकको अनुहारमा पेसाप्रतिको असन्तुष्टिको भाव देखिरहेको छ । मेधावी होइन, पढाइमा कमजोर विद्यार्थी भोलि शिक्षक बन्दै छन् । यसैले भोलिको पुस्ताका विद्यार्थीले कमजोर शिक्षकबाट पढ्ने अवस्था आउँदै छ । कमजोर शिक्षकको गर्भबाट कमजोर जनशक्ति नै पैदा हुँदै छन् । यो अवस्था देशका लागि घातक हुने भइहाल्यो । तीक्ष्ण मस्तिष्कलाई शिक्षणमा आकर्षित नगरी कहिल्यै पनि शिक्षामा क्रान्ति आउँदैन ।
शिक्षकले आफूले पढाउने विषयको मात्र ज्ञान राखेर पुग्दैन । यो एक चुनौतीपूर्ण पेसा हो । विद्यार्थीको स्वभाव र क्षमता बुझेर फरक ढंगले सिकाउने कला, प्रोत्साहन गर्ने खुबी, विद्यार्थीको मनोविज्ञानको ज्ञान, परियोजना कार्य (प्रोजेक्ट–वर्क), स्थलगत भ्रमण (फिल्ड) मा जाँदा उतारेर सिकाउने क्षमता मात्रै नभएर आवश्यक पर्दा पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयार पार्न सक्ने कौशल शिक्षकमा आवश्यक पर्छ ।
शिक्षकसँग यी सबै खुबी आफैँ विकास हुँदैन । शिक्षक तयार पार्ने सङ्काय र तालिम दिने निकायले पूर्ण शिक्षक तयार पार्नुपर्ने हुन्छ । गुणस्तरीय शिक्षाको वकालत गर्दै गर्दा शिक्षणलाई पहिलो रोजाइको पेसा बनाउने कुरा छुटाइयो भने त्यसको केही अर्थ हुँदैन । अन्यथा, योग्य शिक्षकको अभावतर्फ देश अग्रसर छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०८:१५