एमालेबाट निष्कासित भएपछि पूर्वउपाध्यक्ष डा. भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले देश र जनताको हकहित रक्षा गर्न राष्ट्रव्यापी रूपमा उक्त अभियान सञ्चालन गर्ने बताएका थिए । सो क्रममा भ्रष्टाचार र कुशासनविरुद्ध जनतालाई जागरुक बनाइने उनको भनाइ थियो । ‘अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ,’ उनले भनेका थिए ।
रावलले अभियान घोषणा गरेपछि उनको गृहप्रदेश सुदूरपश्चिममा कस्तो प्रभाव पर्ला ? भन्ने चासो बढेको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा एमाले नेता कृष्णराज सुवेदीले भने रावलको अभियानमा लाग्ने बताए । ‘हामी त पहिले पनि उहाँसँगै थियौँ र अब पनि हुन्छौँ,’ उनले भने, ‘मातृभूमिको रक्षाका लागि अरु साथीहरू पनि अभियानमा जोडिनुहुन्छ भन्ने विश्वास छ ।’ रावल गृहप्रदेश पुगेपछि माहौल छुट्टै हुने सुवेदीको दाबी छ । ‘उहाँ (रावल) सँग विस्तृतमा छलफल भएपछि सुदूरपश्चिममा पनि अभियान अगाडि बढ्छ,’ उनले भने ।
रावलले अभियान हुँदै पार्टी सञ्चालन गर्ने तयारी गरेपछि सबैभन्दा बढी प्रभाव उनको गृहजिल्ला अछाममा पर्ने अनुमान गरिएको छ । अछाम नै घर भएका एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी भने रावलले नयाँ पार्टी खोले ठूलो प्रभाव नपर्ने बताउँछन् । ‘कोही आफन्त, नातागोता, नजिकका व्यक्ति र पद नपाएर असन्तुष्ट भएकाहरू गए पनि ठूलो प्रभाव पर्ने छैन,’ उनले भने, ‘गैर कम्युनिस्ट पार्टी बनाएपछि उहाँहरू पनि जानु हुन्न होला । देशभक्तिका लागि उत्पात मच्चाएर यो देशको कायापलट गर्छु भन्दा कसैले पनि पत्याउँदैन ।’ रावलले पार्टी नै खोलेपछि निर्वाचनमा केही प्रभाव भने पर्ने उनी बताउँछन् ।
रावलनिकटकै रावलको अभियानबारे धेरै जानकारी नपाएको बताउँछन् । रावललाई गरिएको कारबाही भने धेरैलाई मन परेकाे छैन । ‘पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्नुभएको विषयमा म जानकार छु,’ विगतमा उनीनिकट रहेका एक नेताले भने, ‘अभियानबारे मलाई धेरै जानकारी छैन । उहाँलाई कारबाही गरेर पार्टीले गर्नै नहुने निर्णय भने गरेको हो ।’ अहिले सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला कमिटी अध्यक्ष रावल पक्षका कोही पनि छैनन् । जिल्ला कमिटीमा पदाधिकारी र सदस्यमा पनि रावलको प्रभाव कम छ । प्रदेश कमिटीमा उपसचिव नरबहादुर विक उनीनिकट हुन् । तर, पार्टी छाडेर नजाने उनले प्रदेश कमिटीका पदाधिकारीलाई बताइसकेका छन् । यस्तो अवस्थामा रावललको अभियानमा सबैभन्दा बढी एकीकृत समाजवादीका नेताहरू जोडिने आकलन गरिएको छ ।
एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारी रावलसँग छलफल भएको र अब पनि हुने बताउँछन् । ‘नेकपाबाट एकीकृत समाजवादी बनाउने नै उहाँ हो,’ सोडारीले भने, ‘त्यसैले हामीले त उहाँलाई एकीकृत समाजवादीमा आएर नेतृत्व गर्न आग्रह गरेका थियौँ ।’ रावलले नयाँ पार्टी खोल्दा सुदूरपश्चिम मात्र नभएर देशभर नै एमाले र एकीकृत समाजवादीमा प्रभाव देखिने उनको भनाइ थियो ।
रावल एमालेमै भएका थिए निष्प्रभावी
एमालेदेखि नेकपा हुँदासम्म सुदूरपश्चिममा रावलको प्रभाव निकै बढी थियो । नवौँ महाधिवेशनमा लोकप्रिय मतसहित उनी उपाध्यक्षमा विजयी भएका थिए । २०७४ को चुनावताका एमालेको सुदूरपश्चिम इन्चार्ज पनि उपाध्यक्ष रावल नै थिए । प्रदेश इञ्चार्जको हैसियतमा प्रदेश र प्रतिनिधिसभाको टिकट वितरणमा रावलले मनोमानी गरेको आरोप अहिले पनि लाग्छ ।
एमालेदेखि नेकपा हुँदासम्म पनि सुदूरपश्चिम इञ्चार्ज थिए, उनी । तर, सर्वोच्च अदालतले नेकपाको नामबारे फैसला गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदियो । सर्वोच्च अदालतको फैसलापछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमाले सुदूरपश्चिम इन्चार्ज बनाए । ओली पक्षका इञ्चार्ज भट्ट र माधव-झलनाथ पक्षका इञ्चार्ज रावललाई भनिन्थ्यो । ओलीले गरेको संसद विघटन बदर गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्ने एमालेका २३ सांसदमध्ये एक थिए रावल ।
त्यो समयमा ओलीविरुद्व सबैभन्दा अग्रस्थानमा उभिएका रावल एमाले विभाजन भएर एकीकृत समाजवादी बन्दा माधव–झलनाथलाई पनि साथ दिएनन् । तर, उनी पक्षका सुदूरपश्चिमका सबै नेताहरू भने एकीकृत समाजवादीमा गए । सुदूरपश्चिम प्रदेशसभामा २५ जना एमालेका प्रदेशसभा सदस्य थिए । १८ जना रावल पक्षका थिए भने ओली समूहमा सात जना मात्रै । रावल एमालेमै रहे पनि उनी पक्षका १८ प्रदेशसभा सदस्यमध्ये १४ जनाले एमाले छोडेर एकीकृत समाजवादीमा सनाखत गरेका थिए । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेको निर्णयविरुद्ध रावल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए ।
‘उहाँकै अगुवाइमा एकीकृत समाजवादी पार्टी खोलिएको थियो,’ तत्कालीन एक जना प्रदेशसभा सदस्यले भने, ‘हामी सबैलाई एमालेको निर्णयविरुद्व मुख्यमन्त्रीलाई विश्वासको मत दिन पनि उहाँले नै लगाउनुभयो । तर, अन्त्यमा हाम्रै साथ छोडेर उहाँ एमालेमै बस्नुभयो । अहिले उहाँ न हाम्रो हुनुभयो न त एमालेकै हुन सक्नुभयो ।’
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ १२:४५