बेन्जामिन फ्रेङ्कलिनले एकपटक भनेका थिए, ‘इफ् यु उड नट वि फर्गटन, एज सुन एज यु आर डेड एण्ड रटन, आइदर राइट थिङ्स वर्थ रिडिङ, अर डु थिङ्स वर्थ द राइटिङ ।’ फ्रेङ्ककलिनको यो भनाइको सार व्यक्तिले गरेको सत्कर्मको परिणाम मृत्युपर्यन्त पनि स्मरणीय रहन्छ भन्ने हो । म यो लेख त्यस्तो सत्पात्रको मृत्युपश्चात् लेख्दै छु जसले गरेको कर्म उनको मृत्युपश्चात पनि स्मरणीय रहेको छ र सदा रहिरहने छ । उनी हुन्, प्रकाश वस्ती ।
तेह्र महिनाअघि ज्ञानगुन कानुन प्रतिष्ठानबाट प्रकाशन हुने न्याय पत्रिकाका लागि पूर्वन्यायाधीश शेषराज सिवाकोटीले मलाई प्रकाश वस्तीको बारेमा लेख लेख्न अनुरोध गरेपछि मैले उनको बारेमा एउटा संंक्षिप्त लेख लेखेको थिएँ । त्यो दिन मेरा लागि सुखद अवसर थियो । आज फेरि श्रदेय प्रकाश वस्तीको बारेमा शिलापत्रका लागि केही शब्द लेखिदिनका लागि ध्रुव सिम्खडाले अनुरोध गरेकोले स्वर्गीय वस्तीका बारेमा यो संंक्षिप्त लेख लेख्ने प्रयास गरेको छु ।
आज (पुस १३ गते) मेरा लागि दुःखद् दिनको रूपमा रहेको छ । सुखद् यस अर्थमा थियो कि प्रकाश वस्तीका बारेमा मैले कलम चलाउँदा उनी हामीसँगै थिए, दुखद् यस अर्थमा रहेको छ कि आज उनको भौतिक शरीर हामीमाझ छैन ।
जन्म र मृत्यु मानवजीवनको स्वाभाविक प्रक्रिया हो । जन्म र मृत्यु प्रकृतिको अकाट्य नियम नै हो । यस नियमलाई चाहेर वा नचाहेर कसैले पनि उल्लंंघन गर्न सक्दैन । जन्म भएपछि मृत्यु अवश्यम्भावी हुन्छ । अवश्यम्भावी भए पनि कहिलेकाहीँ मृत्यु पनि निर्दयी हुने रहेछ । मृत्यु अकल्पनीय हुने रहेछ, अप्रत्यासित हुने रहेछ । यस्तै अकल्पनीय र अप्रत्यासित रूपमा आएको मृत्युले प्रकाश वस्तीलाई रोज्न पुग्यो ।
२०८१ पुस १२ गते शुक्रबार साँझ ६ बजे प्रकाश वस्तीको निधन भएको दुःःखद् खबर सुन्नुपर्यो । २०१० असार ८ गते गोरखाको खोप्लाङमा जन्मिएका प्रकाश वस्तीको भौतिक शरीरले ७१ वर्षको उमेरमा यस धराबाट बिदा लियो । उनको मृत्युबाट नेपालको न्याय तथा कानुन क्षेत्रले एउटा उज्ज्वल नक्षत्र गुमाउन पुगेको छ । न्याय र कानुन क्षेत्रका लागि उनको निधनले अपूरणीय क्षति व्यहोर्नु परेको छ ।
प्रकाश वस्ती व्यक्ति एक भए पनि उनका व्यक्तित्व अनेक छन् । कानुन शिक्षक, कानुन व्यवसायी, न्यायाधीश, मानवअधिकारवादी, लेखक, इतिहासविद्का रूपमा समाजका लागि सत्कर्म गर्ने व्यक्ति थिए प्रकाश वस्ती । २०३४ देखि २०५५ सालसम्म कानुन शिक्षकको भूमिकामा रहेका वस्तीले २०३३ देखि २०६५ सालसम्म अधिवक्ता हुँदै वरिष्ठ अधिवक्तासम्मको हैसियतले निरन्तर कानुन व्यवसायको अभ्यास गरे ।
कानुन व्यवसायी रहँदाको क्रममा उनले सर्वोच्च अदालत बार एशोसिएशनको सचिवको रूपमा २०३७ देखि २०३८ सम्म र २०३८ देखि २०३९ सालसम्म गरी दुई कार्यकाल काम गरे भने २०४८ देखि २०५१ सालसम्म नेपाल बार एशोसिएशनको सचिव (हाल महासचिव) पदमा निर्विरोध भई कार्य गरेका थिए । त्यसपछि उनले २०६५ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति भई २०७० सालसम्म न्यायसम्पादनको जिम्मेवारी वहन गरे । सर्वोच्च अदालतको अस्थायी न्यायाधीशबाट अवकाश भएपश्चात २०७१ देखि २०७७ सालसम्म राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा रही कार्य गरे ।
प्रकाश वस्तीले विभिन्न निकायको पदीय जिम्मेवारीमा रहँदा कुशलतापूर्वक आफ्नो पदीय जिम्मेवारी निर्वाह गरे । उनले पदमा रहँदा मात्र होइन नरहँदासमेत आफ्नो लेखकीय उर्जालाई सेलाउन दिएनन् । न्यायाधीशको रूपमा कार्यरत रहँदा उनी एउटा असल न्यायमूर्ति त थिए नै, त्यस सँगसँगै एउटा निर्भिक र जुझारु लेखक पनि थिए । उनी संलग्न विभिन्न महत्त्वपूर्ण क्षेत्रहरूमध्ये उनको लेखनको क्षेत्रलाई झनै महत्त्वपूर्ण मान्न सकिन्छ ।
उनीद्वारा लिखित तथा संंकलित कानुनका ऐतिहासिक दस्तावेजहरूसहित समावेश भएका पुस्तकहरू हाम्रा लागि अतीतका घटनाहरू ऐनाजस्तै छर्लङ्ग भएका छन् भने भविष्यको पुस्ताले समेत यसलाई आफ्नो पुँजीको रूपमा अवश्य लिनेछ ।
न्याय र कानुनसम्बन्धी उनका थुप्रै कृतिहरू प्रकाशित छन् । विशेष गरेर कानुनी क्षेत्रमा उनीद्वारा लेखिएका कुनै न कुनै लेखहरू होस् वा पुस्तकहरू नपढेका र संग्रह नगरेका व्यक्ति कमै होलान् । यस पङ्क्तिकारको पुस्तकालयमा पनि उनीबाट लिखित अधिकांश पुस्तक तथा लेख, रचनाहरू संरक्षित रहेका छन् । तर तीभन्दा फरक र अझ विशिष्ट क्षेत्र भनेको उनको लेखनको क्षेत्र महत्त्वपूर्ण रहेको छ ।
उनी निर्भिक र जुझारु लेखक थिए । उनलाई कानुनी क्षेत्रको इतिहासकार भन्न बढी रुचाउँछु म किनभने मलाई उनका हरेक लेखले केही न केही प्रभावित पारेका छन् । उनका लेखहरूमा स्वविकेकबाट प्रष्फुटित विचारहरूले समाजका विद्यमान बेथितिहरूलाई खबरदारी गरिरहेका हुन्थे । उनीद्वारा लिखित तथा संंकलित कानुनका ऐतिहासिक दस्तावेजहरूसहित समावेश भएका पुस्तकहरू हाम्रा लागि अतीतका घटनाहरू ऐनाजस्तै छर्लङ्ग भएका छन् भने भविष्यको पुस्ताले समेत यसलाई आफ्नो पुँजीको रूपमा अवश्य लिनेछ ।
लेखक त्यसैलाई भनिदोरहेछ जसको कलमले समाजमा भएका विकृति, विसंगति र वेथितिका विरुद्ध मसी ओकल्दो रहेछ, लेखक त्यसलाई भनिदोरहेछ जसको कलमको टुप्पोबाट चुहिने मसीको थोपाले अर्काको लागि वौद्धिक खुराकको काम गर्नेरहेछ । लेखक त्यसलाई भनिदोरहेछ जो आफूलाई चार दिवारभित्र सीमित राखेर अरुको ज्ञानको क्षितिज बढाइदिने रहेछ । लेखकको विद्वताबाट प्राप्त ज्ञानलाई अरु समक्ष साक्षात्कार गर्नु भनेको ‘रक्तदान जीवन दान’ भनेजस्तै रहेछ । यस्तो कार्यलाई ‘ज्ञानदान वौद्धिकदान’ भन्दा अतिशयोक्ति नहोला । प्रकाश वस्ती त्यस्तै लेखक मध्येका एक थिए जसले नेपालको कानुनी इतिहासका बारेमा तथा न्याय र कानुन क्षेत्रका विगत र वर्तमानका पहेलीहरूलाई विभिन्न पुस्तक तथा लेखहरूमार्फत पाठकहरूलाई साक्षत्कार हुने महत्त्वपूर्ण अवसर प्रदान गरे ।
मानिसले आफूलाई व्यक्तिगत स्वार्थको क्षितिजबाट मुक्त गरेर आजको समाजका लागि मात्र होइन भविष्यका पुस्ताले पनि स्मरण गर्ने खालका सत्कर्ममा लाग्ने हो भने ऊ युगौँ युगको लागि पनि पूजनीय हुन पुग्छ । स्वहितको चिन्तामा मात्र लाग्नेहरूलाई समाजले उसकै जीवनकालमा नै बिर्सेको हुन्छ । यसरी समाजलाई केही न केही योगदान दिनुपर्छ भन्ने मान्यता बोकी त्यसअनुसार कर्म पनि गर्ने व्यक्ति थिए, प्रकाश वस्ती । मैले देखेको र महसुस गरेको प्रकाश वस्ती त्यस्तो व्यक्तित्व थिए जसको ज्ञान र योगदानलाई आजको पुस्ताले मात्र होइन भविष्यको पुस्ताले पनि अवश्य स्मरण गर्नेछ, कदर गर्नेछ ।
प्रकाश वस्तीलाई मैले एउटा निर्भिक कानुन व्यवसायीको रूपमा चिन्न पाएँ, एउटा निर्भिक, स्वतन्त्र र निष्पक्ष न्यायाधीशको रूपमा देख्न पाएँ, त्योभन्दा अझै अधिक रूपमा मैले एउटा विशिष्ट लेखकको रूपमा उनलाई अध्ययन गर्न पाएँ । उनी इमान्दार र सक्षम कानुन व्यवसायी थिए भन्ने कुरामा दुईमत छैन । सर्वोच्च अदालतबाट न्यायाधीशको रूपमा कार्यसम्पादन गरेर बेदाग निस्किए उनी ।
उनीसमेत संलग्न भई गरेका निर्णयहरू निष्पक्षता र निर्भिकताका परिणाम हुन् भन्ने विषयमा पनि कुनै दुईमत रहँदैन । निष्पक्षता र निर्भिकतालाई गायत्रीमन्त्रजस्तै महसुस गर्ने योग्य व्यक्ति प्रकाश वस्तीले सर्वोच्च अदालतबाट अस्थायी न्यायाधीशबाट विदा हुनुपर्ने बाध्यता भयो । न्यायपालिकामा उनको आवश्यकता रहँदारहँदै पनि तत्कानीन जिम्मेवार निकायबाट उनको आवश्यकता महसुस गरिएन ।
‘चिन्नेका लागि श्रीखण्ड नचिन्नेका लागि खुर्पाको बिँड’ भन्ने नेपाली उखान पनि प्रकाश वस्तीका लागि मेल खाने अवस्था रहेन किनभने उनलाई श्रीखण्ड भन्ने जान्दाजान्दै पनि जान्ने मान्छले खुर्पाको बिँड बनाएका हुन् । न्यायपालिकामा न्यायाधीश नियुक्तिका क्रममा सक्षमता र श्रेष्ठता जहिल्यै दोस्रो प्राथमिकतामा पर्दछ र राम्रा मान्छेभन्दा हाम्रा मान्छेको खोजी हुने गम्भिर रोग न्यायपालिकाले भोग्दै आएको छ । यो दुःखद अवस्थाका बारेमा यस पङ्क्तिकारले विभिन्न समयमा लेखमार्फत आफ्नो धारणा प्रकट गर्दै आएको छ । सायद, प्रकाश वस्ती पनि यस्तै रोगको मारमा पो परे कि !
प्रकाश वस्तीले धेरै ठाउँमा लेखेका छन्, ‘आयो, खायो, लियो, गयो–सार्थक जीवन होइन । आयो, खायो, दियो, गयो–सार्थक जीवन हो ।’ सारमा उनको यस भनाइले मान्छेका हरेक कर्म आफ्ना लागि कम र समाज र राष्ट्रका लागि ज्यादा हुनुपर्छ । लिन मात्र जान्ने दिन नजान्ने व्यक्तिको जीवनको खासै कुनै अर्थ रहँदैन । समाज र राष्ट्रलाई कुनै न कुनै माध्यमद्वारा केही योगदान दिन सक्यो भने त्यस्तो व्यक्तिलाई समाजले सँधै स्मरण गरिनै रहन्छ । नेपालको न्याय र कानुन क्षेत्रमा यसरी नै स्मरण गरिरहने गरी कर्म गर्ने व्यक्ति थिए, प्रकाश वस्ती ।
एक वर्षअघि उनको बारेमा मैले यस्तो लेखेको थिएँ, ‘विकृति, विसंगति र वेथितिविरुद्ध उनका कलम निरन्तर चलिरहुन पर्दछ र चलिरहोस् । उनलाई मेरो यही शुभकामना छ ।’ तर आज विकृति, विसंगति र वेथितिहरू अन्त्य नहुँदै प्रकाश वस्ती सरको कलम सदाको लागि बन्द हुनपुगेको छ । कानुनी इतिहासको एउटा दियो निभेको छ ।
अन्त्यमा, मृत्यु नै त्यस्तो सत्य हो जसलाई न त रोक्न सकिन्छ न छेक्न सकिन्छ । विधिको विधानलाई अटेर गर्ने सार्मथ्य कसको होला र ? प्रकाश वस्तीले पनि विधिको विधानलाई अटेर गर्न चाहेनन्, चाहेर पनि सक्ने कुरा होइन । उनी अब हामीमाझ सम्झनामा मात्र सीमित रहने छन् ।
(अधिवक्ता इटनी सर्वोच्च अदालत बार एसोसिएसनको सदस्य तथा नेपाल बार एसोसिएसनबाट प्रकाशन हुने 'न्यायदूत' पत्रिकाका सम्पादक हुन् ।)
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ०७:००