हामी प्रेममा रकेट साइन्सको कुरा गर्छौं । मान्छेलाई चन्द्रमामा पुर्याउँछौँ । हामीले कि त यान चलाउन जान्दैनौँ, या त चन्द्रमामा पानी छैन भन्दैनौँ । केही दिनपहिले विवेकको निधनले म एकदमै विचलित भएँ ।
सामाजिक सञ्जालमा सिर्जना र विवेकको प्रेम सम्बन्धलाई निकै रुचाइएको थियो । सिर्जना-विवेकको सम्बन्धमा देखिएको समर्पणको तुलना रोमियो-जुलियटदेखि मुना-मदनसँग हुँदै आएको थियो । विशेष गरेर जेन-जी पुस्ताले उनीहरूको समर्पणलाई आदर्श मान्दै आए । क्यान्सरबाट ग्रसित विवेकको निधनपछि सामाजिक सञ्जाल एकाएक शोकमग्न बन्यो । सबैलाई दुःखी बनायो । सबैलाई सिर्जनाको भविष्यको अन्योलबारे सोच्न बाध्य बनाइदियो ।
भनिन्छ नि- 'आदर्श निर्माण गर्नभन्दा टिकाउन मुस्किल हुन्छ' । उनीहरूले आफ्नो सम्बन्धको प्रगाढतामा कुनै कमी आउन दिएनन् । सिर्जनाले धेरै कुरा समर्पण गरिन्, विवेकलाई क्यान्सरबाट मुक्ति दिलाउन । तर, दैवको अगाडि केही लागेन ।
पहिलो झलकमै माया बस्ने र पहिलो झगडामै सम्बन्ध टुङ्गिने यस अस्थिर युगका साक्षी है हामीहरू । विवेक सिर्जनालाई आदर्श मान्ने तर एउटा कल काटेकै भरमा आफ्नो प्रेमी/ प्रेमिकासँग सम्बन्ध टुङ्ग्याएको उदाहरण हेर्न धेरै टाढा जानु पर्दैन । हामी कारकभन्दा धेरै कारणमा विश्वास गर्छौं । सङ्गतभन्दा बढी अरुको बारेमा सोच्छौँ । अनि पर्छौं, वास्तविकता र भर्चुअलताको अन्योलमा ।
हामीले हरेक घटनाबाट पाठ सिक्यौँ भन्दैमा जीवनमा अभ्यास गर्न सकौँला त ? जानकारीको यस युगमा अनुभूतिको खडेरी परेको छ । त्यसैले त हाम्रो भनाइ र गराइको तौरतरिकै भिन्न छ । यो सर्वव्यापी वाक्य हो । म तिमीबिना बाँच्न सक्दिनँ, तिमीलाई म ज्यानै दिन्छु । यसरी हामी प्रेम सम्बन्धमा वर्षमा १२ जनालाई एउटै ज्यान गुमाउन पछि पर्दैनौँ ।
त्यसैले त विशेष गरी युवापुस्तामा धैर्यताको निकै अभाव देखिन्छ । सामाजिक सञ्जालले इच्छाको आगोमा थपिदिएको घिउ र बेरोजगारीले जीवनमा निम्त्याएको संकटको बेमेल नेपालमा कलेज अथवा विश्वविद्यालय पढ्दै गरेका युवायुवतीहरूमा स्पष्टसँग देख्न सकिन्छ ।
प्रारब्ध र अप्रारब्ध कर्मद्वारा बाँधिएका छौँ हामी मान्छेहरू । नेपाली समाजमा कैयौँ विवेक र सिर्जनाहरू जन्मिए र देहान्त भए । तिनीहरूलाई हामीले कहिल्यै चिन्न सकेनौँ । तिनीहरूको कथा हामीले कहिल्यै सोधेनौँ । ट्यालेन्ट र टेक्नोलोजीको सुन्दर संयोजनका कारण हामीले टिकटकदेखि रिल्ससम्म विवेक- सिर्जनाका कथालाई बारम्बार देख्न पायौँ ।
पाश्चात्य संस्कृतिको सिको गरेका हामीहरू जीवनको हिसाबकिताबमा बढी मग्न छौँ तर हामीलाई सही सूत्र नजान्दा नतिजा लम्बिएको पत्तै छैन । निरन्तर, नि:स्वार्थ र पूर्णताको सन्तुष्टिका निम्ति गरिने प्रेमको छायाले हाम्रो जीवनमा प्राप्त हुने आनन्दको सूत्र कसले सिकाइदिने ?
विशेष गरी युवापुस्तामा धैर्यताको निकै अभाव देखिन्छ । सामाजिक सञ्जालले इच्छाको आगोमा थपिदिएको घिउ र बेरोजगारीले जीवनमा निम्त्याएको संकटको बेमेल नेपालमा कलेज अथवा विश्वविद्यालय पढ्दै गरेका युवायुवतीहरूमा स्पष्टसँग देख्न सकिन्छ ।
बिहे कति धूमधामसँग हुन्छ भन्ने भन्दा पनि उसको जीवन कति धूमधामले बित्छ, त्यो कुराले जीवनमा ठूलो माने राख्छ । बिहेबन्धनमा बाँधियौँ तर समर्पणभावको विकास गर्न सकेनौँ भने कठिनाइ अवश्य भोग्नुपर्छ ।
कठिनाइ भनेको कुनै विषम परिस्थिति वा समस्यालाई समाधान गर्नुपूर्व आइलाग्ने अवस्था हो । विकल्पको बाटो मान्छेको या सोच या त स्रोतमा निर्भर गर्छ । यहाँ हाम्रो कमजोरी के छ भने हामीहरू कहिलेकाहीँ स्रोतका समस्याहरूलाई सोचको हिसाबले सोच्छौँ त कहिले सोचलाई स्रोतको हिसाबले सोच्छौँ । केही अपवादलाई छोडेर अहिलेको युगको कुरा गर्ने हो भने हामी न त पूर्ण रोमान्टिक वेमा रमाउन सक्छौँ, न त पूर्ण प्लेटोनिक वेमा ।
रोमान्टिक लभको बाटोमा हिँडिरहेका युवायुवतीले सिर्जना-विवेकको प्लेटोनिक शैलीलाई आदर्श मान्नु उनीहरूको जीवनको ठूलो सफलता मान्नुपर्छ । प्रविधिबाट पग्लिसकेको पुस्तामा आदर्शको आयु कति हुन्छ, त्यो त थाहा छैन तर पनि उनीहरूले जे देखाएर, विवेकले जे लेखाएर गए, त्यो एक इतिहासको ज्वलन्त उदाहरण बन्नेछ ।
केही समयअगाडि समाजसेवी एवं उद्योगपति रतन टाटाले आजीवन एक्लै बसेर प्रेममा प्रतिज्ञाको महत्त्व सिकाएर गए । एउटा कुरा सिकाउन एउटा सारा जीवन लाग्ने यस अमूल्य जीवनमा हामी देखाउनमै मस्त छौँ । हामी हरेक पार्टीमा नयाँ लुगा लाउन नपाउँदा, हाम्रो सम्बन्ध ढुलमुलिन्छ । अब एकपल्ट विचार गर्नुपर्ने बेला आएको छ- हाम्रो सम्बन्ध कुन जगमा उभिएको छ भनेर ।
विश्वप्रसिद्ध बेस्ट सेलर किताब जर्नी होम र जर्नी विथइनका अमेरिकी लेखक राधानाथ स्वामी लेख्नुहुन्छ, 'प्राचीन् युगमा मान्छेले मान्छेलाई माया गर्थे र वस्तुलाई प्रयोग गर्थे भने वर्तमान समयमा मान्छेले वस्तुलाई माया र मान्छेलाई प्रयोग गर्छन् ।'
हामी जीवनलाई प्रयोगशाला बनाउन सक्दैनौँ । हामी जीवनमा हरेक चीजलाई परीक्षण पनि त गर्न सक्दैनौँ । विवेक र सिर्जनाले समाजलाई साधारण तथ्य तर जटिल व्यावहारिकता सिकाएर छोडे । धन्य विवेक, एकपल्ट नेपाली समाजलाई विवेक देऊ न । धन्य सिर्जना, एकपल्ट नेपाली समाजको धैर्यता बढाइदेऊ न ।
के हामीले साँच्चिकै सिक्न सकौँला त ? यो यान त भविष्यको गर्भगृहसम्म उडिरहनेछ ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ ११:१७