शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवास पुग्दा डा. शेखर कोइराला भने चितवनमा थिए । शनिबार बिहान बीपीपुत्र शशांक कोइरालालाई लिएर देउवा विराटनगरस्थित कोइराला निवास पुग्दा शेखरकी श्रीमती पुनम कोइरालाले आतिथ्य सत्कार गरिन् र चिया खुवाएर पठाइन् ।
कोइराला निवास नेपाली कांग्रेसको स्थापनाकालदेखिको विरासतसँग जोडिएको छ । सोही निवासमा बसेर बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालालगायतले राजनीति गरेका थिए । कृष्णप्रसाद कोइरालाले बनाएको निवास अहिले शेखरको भागमा परेको छ र उनैले भोगचलन गर्दै आएका छन् ।
नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलन शनिबार थियो । त्यसअघि १८ मंसिरमा शेखर समूहले कोशी पालिका प्रशिक्षण गरेको थियो । पालिका सभापतिहरूको भेला पार्टी संरचनाले चिन्ने भेला थिएन ।
किन सहभागी भएनन् शेखर ?
आफ्नो गृहप्रदेश कोशीमा पार्टीको सम्मेनल चलिरहँदा शेखर कोइराला भने चितवनमा आयोजित शोकसभामा थिए । सम्मेलन बहिष्कार गरी उनी किन चितवन पुगे भन्ने चासो कांग्रेसवृत्तमा छ । स्रोतका अनुसार कोइरालालाई सम्मेलनको निमन्त्रणा ढिलो गरी पुगेको थियो । प्रदेश सभापति उद्धव थापा १७ मंसिरको बिहान निमन्त्रणा दिन शेखर कोइराला कहाँ पुगेका थिए । सरसल्लाह भएन ।
'शेखर कोइरालालाई १७ गते बिहान मात्र प्रदेश सभापति गएर निमन्त्रणा दिनुभयो, त्योभन्दा अघि नै चितवनमा कार्यक्रम तय भइसकेको थियो । शोकसभाजस्तो कुरा सार्न पनि मिलेन आउँछु भनेको ठाउँमा नजान पनि राम्रो देखिएन,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले शिलापत्रसँग भने ।
१८ मंसिरमा भएको पालिका सभापतिहरूको प्रशिक्षणमा नजान केन्द्रले लेखेको पत्रप्रति शेखर असन्तुष्टि छन् । ‘कोशी प्रदेशका पालिका सभापतिहरूको कार्यक्रमलाई केन्द्रले अरुलाई सहभागी नहुनु भन्ने हिसाबले वक्तव्य जारी गर्यो । त्यो विशुद्ध तानाशाही प्रवृत्ति हो,’ गोविन्द पोखरेलले शिलापत्रसँग भने, ‘न पार्टीको विद्रोह गरेका छन्, न पार्टी फुटाउन बैठक राखेका छन् । प्रशिक्षण राखेकोमा एक्कासि आएर पञ्चायतमा जाँचबुझ गर्न केन्द्रबाट अनुमति लिएर कार्यक्रम गर्नुपर्छ भनेजस्तो भयो । यो त बर्बादै हो, तानाशाही नै हो ।’
भोलि कुनै पालिका वा वडाहरूले क्रियाशील सदस्यको अवस्था कस्तो छ भनेर छलफल कार्यक्रम राख्नका लागि केन्द्रको अनुमति लिनुपर्ने देखिएको उनले बताए । कोशीको सम्मेलनमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएनन् ।
शेखर कोइराला पार्टी होस् वा सरकार चेक एन्ड ब्यालेन्स गर्न पार्टीभित्रबाट बोल्नुपर्छ भन्ने मान्यता राख्छन् । ‘हामीले नबोले कसले बोल्ने ? पार्टी होस् वा सरकार नेतृत्वले जे मन लाग्यो, त्यही गर्न पाइँदैन, त्यसलाई रोक्नुपर्छ,’ उनले सो कुरालाई निरन्तरता दिएको एक नेता बताउँछन् ।
अर्को, आफूले गरेको कार्यक्रमलाई रोक्न खोजेपछि असन्तुष्ट रहेका शेखरलाई आगामी रणनीति तयारी गर्न अर्को बहाना मिलेको छ । उनी १५औँ महाधिवेशनमा सभापतिका लागि तयारी गरिरहेका छन् । १४औँ महाधिवेशनमा ६३ जिल्ला घुमेर बनाएको संगठनको भरमा सभापति लडेका थिए । अब आफूनिकट पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम राखेर उनी सातै प्रदेश जाने तयारी गरिरहेका छन् । शेखरनिटक नेता गुरुराज घिमिरेका अनुसार कोशीबाट सुरु भएको पालिका सम्मेलन सातै प्रदेशमा हुनेछ । यसले शेखरलाई १५औँ महाधिवेशनको तयारी गर्न सघाउ पुग्ने उनीनिकट नेताहरूको विश्वास छ ।
महामन्त्री थापाले के भने ?
सम्मेलनमा मन्तव्य राखने क्रममा कांग्रेस महामन्त्री गगन थापाले पनि शेखर कोइरालापक्षले विराटनगरमा गरेको पालिका भेलाप्रति असन्तुष्टि जनाए । ‘पार्टीभित्र एकता अनिवार्य छ । सबैको राजनीतिक हिसाबले मिलाउनुपर्छ । केही समयअगाडि रुपन्देहीको क्षेत्रले पनि भनेको थियो– हामी देशभरका क्षेत्रीय सभापतिहरूलाई बोलाउँछौँ । हामीले भन्यौँ– आयोजक केन्द्रीय समिति बन्छ । संयोजन गर्ने हो भने ठीक छ । कास्की जिल्लाले पनि सबै जिल्लाका सभापतिको भेला राख्छु भनेको थियो । तर, हामीले केन्द्रीय समितिको आयोजना र जिल्लाको व्यवस्थापनमा हो भने ठीक छ भन्यौँ,’ उनले भने, ‘विराटनगरको आयोजनामा प्रदेशमा पालिका भेला गरियो । यो पनि ठीक भएन भन्ने लागेको हो । भोलि विराटनगरको एउटा वडाले सबै वडाध्यक्ष बोलाएर गर्छु भन्यो भने महानगरले के गर्छ ? त्यो भेला गर्ने कि नगर्ने ? त्यस कारण सबै मिलेर सम्हालिएर अगाडि बढौँ ।’
महामन्त्री थापा अहिले संगठन चलाउने महामन्त्रीको महत्त्वपूर्ण भूमिकामा छन् । उनी पार्टीले निर्देश गरेको कार्यक्रम र नीतिभन्दा बाहिर जान सक्ने अवस्थामा छैनन् । शेखर केन्द्रीय सदस्य मात्र रहेकाले थापाभन्दा अलि खुला छन् । खुलेर काम गर्न सक्छन् । १४औँ महाधिवेशनमा एउटै समूहबाट चुनाव लडेका शेखर र गगनबीच दूरी निकै बढिसकेको कोशी सम्मेलनले पनि देखाएको छ । शेखरनिकटको पालिका भेलामा गगननिकट नेताहरू सहभागी भएनन् । तर, शेखरले बहिष्कार गरेको कोशी भेलामा भने गगननिकट नेताहरू लाइन लागेर विराटनगर पुगे ।
१८ मंसिरको पालिका भेलाले शेखर र थापाबीच दूरी बढ्दै गएको संकेत गरेको छ । सो भेलामा थापा आफैँ सहभागी नभए पनि उनीनिकट नेताहरू सहभागी हुन सक्थे । तर, केन्द्रीय तहका नेताहरू सहभागी भएनन् भने पालिकास्तरका नेताहरू पनि अनुहार देखाएर कार्यक्रमबाट निस्केका थिए ।
गगन थापा समूह किन देखिएन भन्ने प्रश्नमा थापानिकट एक नेताले शिलापत्रसँग भनेका थिए, ‘उहाँहरूले कार्यक्रम गर्नुभयो । हामी अब (प्रदेश भेला) जान्छौँ, हामी पनि छौँ है भन्दै । अहिले छुट्टिइसकेका पनि छैनौँ । एक भएर हिँड्नलाई शेखर दाइ र गगनबीच कुरा कम भएको छ ।’
कोशीको पालिका सभापति भेलामा अबको नेता को भन्ने सर्वेक्षण गरेकोमा ६८ प्रतिशत उत्तर गगन थापाको पक्षमा आएको ती नेताले दाबी गरे । यसले पनि शेखरलाई गगनसँगै लिएर हिँड्ने चुनौती थपेको ती नेताले बताए ।
महामन्त्री शर्मा अनुपस्थित
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा न शेखर समूहले गरेको पालिका सभापति प्रशिक्षण कार्यक्रममा गए न पार्टीले आयोजना गरेको प्रदेश सम्मेलनमा गए । पालिका सभापतिको प्रशिक्षणमा महामन्त्री भएर संरचनाले नचिन्ने कार्यक्रममा गएनन् भन्न सकिन्छ तर गृह प्रदेशको सम्मेलनमा सहभागी नभएपछि राजनीतिक अर्थले हेर्न सकिन्छ । उनी आइतबार खुम्बु पदयात्राको कार्यक्रममा थिए । सोही पदयात्राको कार्यक्रमले आफू प्रदेश सम्मेलनमा सहभागी हुन नसकेको शर्माले बताएका छन् ।
‘६ महिनाअगाडिदेखि निर्धारित खुम्बु पदयात्राको कार्यक्रमका कारण म नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलनमा हिजो सहभागी हुन सकिनँ र झापा क्षेत्र नं १ को मानव सेवा आश्रमको कार्यक्रममा सहभागी हुन सकिनँ,’ शर्माले सामाजिक सञ्जालमा भिडियोमार्फत भनेका छन् ।
उनी खुम्बु पदयात्राको कार्यक्रम एक हप्ता सारेर आइतबार सो कार्यक्रममा पुगेका हुन् । स्थानीयत तह २०८१ मा कांग्रेसले उनको नेतृत्वमा तयारी समिति बनाएको थियो । सो कामले गर्दा ६ महिनाअघिदेखि तय कार्यक्रमलाई एक हप्ता सारेका थिए । तर, अर्कोपटक नसारी उनी गृहप्रदेशको भेला छाडेर पदयात्रामा निस्किए । यसको राजनीतिक अर्थ केही नभएको उनीनिकट नेताहरू बताउँछन् ।
तर, महामन्त्री गगन थापासँगै रहेका शर्मा शेखरसँग पनि सम्बन्ध बिगार्न चाहँदैनन् । संसदीय दलको चुनावको बेलामा थापालाई सघाउने कुरा सार्वजनिक रूपमा बताएका शर्मा त्यसपछिका दिनहरूमा फलानोलाई समर्थन गर्छु भनेर बोलेका छैनन् । उनी १५औँ महाधिवेशनलाई लिएर कुनै गुटहरूसँग सम्बन्ध बिगार्न चाहँदैनन् । अहिलेका लागि गगन थापासँग युवा तालमेल गर्ने भनिए पनि महाधिवेशनसम्म पार्टीभित्र के हुन्छ, सोहीअनुसार रणनीति बनाउने पक्षमा छन् विश्वप्रकाश ।
इतर समूहबाट उम्मेदवार को ?
शनिबार भरतपुर विमानस्थलमा कांग्रेस नेता शेखरलाई सञ्चारकर्मीले सोधे, 'नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तपाईंको प्यानलबाट तपाईं उम्मेदवार हो । महामन्त्री गगन थापा हुन् ? जवाफमा शेखरले भनेका थिए, ‘महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने अधिकार छ । म उठ्दै छु क्लियर छ । गगनजी उठ्नु हुन्छ हुन्न, उहाँलाई सोध्नुस् ।’
कहाँबाट शेखर रिसाए ?
शेखर–गगनको दूरी आगामी महाधिवेशनमा को सभापति उठ्ने भन्ने विषयले मात्र बढेको होइन । त्यसअघि कोशी प्रदेशमा कांग्रेसका केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री बनाउँदै गर्दा शेखरले गगनको साथ नपाएकोमा मन दुखाएका छन् । त्यतिबेला शेखरले आफ्नो समूहसँग भर्खरै नजिकिँदै गरेका महामन्त्री विश्वप्रकाश शर्मा र आफ्नै समूहका महामन्त्री गगनको सहयोगको अपेक्षा राखेका थिए । तर, सहयोग पाएनन् । पार्टीबाट निर्णय हुँदा कोशीको मुख्यमन्त्री कांग्रेसको भागमा परोस् भन्ने चाहना शेखरको थियो । ‘दुईवटा महामन्त्री सभापतिसँग मिलेर कांग्रेसको भागमा परेको मुख्यमन्त्री माओवादीलाई दिने हामीले कस्तो पार्टी बनायौँ ? त्यसबेला शेखरले आफूनिकट नेताहरूसँग भनेका थिए ।
पार्टीको संसदीय दलको नेता फेर्छु भनेर केन्द्रीय समितिको बैठकमा भनेका थिए महामन्त्री थापाले । तर, उनले संसदीय दलको नेता फेर्ने विषयमा कुरा नगरेको र कुनै पहल नगरेकोमा शेखर असन्तुष्ट छन् ।
संसदीय दलको नेता फेर्ने विषयमा ८७ जना सांसदहरूमध्ये ४५ जना सांसद खोजेका छन् शेखरले । ३५ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् । कांग्रेस सभापति देउवासँग संसदीय दलको चुनाव हारेका महामन्त्री थापाले भनेअनुसारको काम नगरेको भन्दै असन्तुष्ट शेखरले एकपटक दलको नेता बन्ने प्रयास गरे । उनले महामन्त्री थापालाई आफूले ४० जना सांसद जुटाएको, बाँकी सांसद जुटाउन भनेको र सो कुरासमेत महामन्त्री थापाले नमानेको भन्दै शेखर असन्तुष्ट छन् ।
सहमहामन्त्री आङ्देम्बे जब भक्कानिए...
सम्मेलनमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे भावुक बनेका थिए । उनले यसअघि १४ वटै जिल्ला सभापतिहरूले सार्वजनिक गरेको प्रतिबद्धतालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले कोइराला निवासबाट आज पनि व्यक्त भएका विचारहरूलाई समेट्नुपर्नेमा जोड दिए ।
‘यो ठाउँबाट व्यक्त गरिएका विचारहरूले मुलुक नै तरङ्गित हुन्थ्यो । आज मेरो मनमा एउटा कुरा लागिरहेको छ । विचार र समूहको रूपमा कुनै ठाउँमा अटिएको होला । तर, कार्यकर्ताको हिसाबले राम्रो र नराम्रो खुट्याउन सक्ने क्षमता ममाथि छ,’ उनले भने ।
आङ्देम्बेले इतिहासले गौरवपूर्ण जिम्मेवारी कोइराला निवास र चाक्सीबारीलाई दिएको बताए ।
‘म क्षमा चाहन्छु सभापतिज्यू । म क्षमा चाहन्छु डाक्टर शशाङ्क कोइरालाज्यू । इतिहासले बूढानीलकण्ठलाई त्यो जिम्मेवारी दिएन । इतिहासले चाबहिलले त्यो विरासत बोक्दैन । बूढानीलकण्ठमा पाँचचोटि प्रधानमन्त्री होइन छचोटि बन्नुहुन्छ, शंका छैन । तर, इतिहासले बूढानीलकण्ठलाई त्यो विरासत आफ्नो सम्झिएन । तर, कोइराला निवास र चाक्सीबारीलाई आफ्नो इतिहासको विरासत सम्झिएको छ,’ उनले भने, ‘प्रत्येक नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफ्नो विरासत सम्झिन्छ । त्यसले गर्दा त्यो ठाउँबाट व्यक्त भएका विचारहरू कांग्रेसको किन बन्न सकिरहेको छैन । बिहानै उठेर सभापतिज्यू, पदाधिकारीज्यूहरूजसरी भाले बास्दा कोइराला निवासमा पुग्ने खुट्टाहरू आज किन अन्यत्र मोडिइरहेका छन् ? चाक्सीबारी किन... ? यस्ता विशेष कुरालाई बुझ्नुपर्छ । खालि विरोध बोलेर हुँदैन । हामीले त्यो विरासत जसरी इतिहासले अरूलाई दिएको छैन । कोइराला निवास र चाक्सीबारीलाई दिएको छ । त्यसलाई त्यही ढंगबाट राख्नका लागि त्यसको ओनरसिप लिन्छु भन्ने साथीहरूले नेताहरूले आफूलाई त्यही ढङ्गबाट प्रस्तुत पनि गर्नुपर्छ । यो कुरालाई बुझीकन अगाडि बढ्यौँ भने राम्रो हुन्छ होलाजस्तो लाग्छ ।’
मन्तव्य राख्ने क्रममा उनी भक्कानिएका थिए । १४औँ महाधिवेशनमा उनी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री लडेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १८:०३