मंगलबार रातिका ६ घन्टाले दक्षिण कोरियामा उथलपुथलकारी घटना भए । साँझसम्म सुनसान दक्षिण कोरियामा त्यसबेला अचानक राजनीतिक हलचल पैदा भयो, जतिबेला राष्ट्रपति युन सुक–योलले विपक्षी पार्टी र उत्तर कोरियालाई देखाउँदै देशमा मार्सल ल लगाउने घोषणा गरे । राष्ट्रपतिको घोषणासँगै दक्षिण कोरियाको राजधानी सोलमा तनाव एकाएक बढ्यो ।
राष्ट्रपति युनले विपक्षी दलमाथि सरकारलाई पङ्गु बनाउने कोसिस गरेको र उत्तर कोरियालाई सहयोग गरेको आरोप लगाउँदै मार्सल ल लगाएका थिए, जसले दक्षिण कोरियाली राजनीतिमा केही घन्टा नाटकीय घटनाक्रम चले । आज हामी दक्षिण कोरियामा ६ घन्टामा भएका राजनीतिक घटनाक्रम, यसको कारण र परिणामबारे चर्चा गर्दैछौँ ।
राष्ट्रपति युन सुक–योलले मंगलबार अबेरराति देशका नाममा सम्बोधन गर्दै आपत्कालीन मार्सल ल लगाउने घोषणा गरे । यस क्रममा उनले विपक्षीमाथि देशविरोधी गतिविधिमा लिप्त भएको र उत्तर कोरियाको एजेन्डामा काम गरिरहेको आरोप लगाउँदै आपत्कालीन मार्सल ल लगाए ।
दक्षिण कोरियालाई उत्तर कोरियाको कम्युनिस्ट शक्तिको खतराबाट बचाउन र देशविरोधी तत्त्वलाई समाप्त पार्न संकटकालीन अवस्था घोषणा गर्नुपरेको उनको दाबी थियो । उनले देशको स्वतन्त्रता र संवैधानिक व्यवस्थाको रक्षाका लागि यो आवश्यक भएको बताएका थिए । मार्सल ल लगाउने निर्णयसँगै देश अस्थायी रूपमा सेनाको नियन्त्रणमा गएको अर्थ लगाइएको थियो । हेलमेट लगाएका सैनिक र प्रहरी संसद भवन नेसनल एसेम्ब्लीको भवनमा तैनाथ गरिएका थिए । भवनको छतमा हेलिकोप्टर अवतरण गर्यो र हतियारधारी सेना त्यहाँ घुस्यो । नेसनल एसेम्ब्लीका कर्मचारी भने सेनाको प्रवेश रोक्ने कोसिस गरिरहेका थिए ।
मार्सल ललाई प्रभावकारी रूपमा लागू गराउन सैनिक जनरल पार्क अन सुलाई मार्सल ल कमान्डर नियुक्त गरेका थिए । यसलगत्तै सबै राजनीतिक गतिविधि, र्याली र प्रदर्शनमा रोक लगाइयो । यो घोषणापछि दक्षिण कोरियाको राजधानी सोल एकाएक अशान्त बन्यो । विपक्षी मात्रै नभई राष्ट्रपतिकै पिपुल्स पावर पार्टीका सांसद पनि यो निर्णयको विरोधमा उत्रिए । पार्टी नेता हान डोङ हुनले कडा आपत्ति जनाए भने विपक्षी नेताले सांसदबाहिर भेला हुन आह्वान गरे । हेर्दाहेर्दै संसदबाहिर हजारौँको भिड जम्मा भयो, जहाँ मार्सल ल र तानाशाही फाल्ने नाराजुलुस सुरु भए ।
यो घटनापछि संसद परिसरलाई प्रहरीले नियन्त्रणमा लियो र घेरेर राख्यो । केही विपक्षी नेता सेनाको ब्यारिकेडदेखि साना झ्याल हुँदै संसद परिसरमा पुगे र नाराबाजी सुरु गरे । प्रदर्शनकारीले सडकमा सैनिक सवारीलाई रोकिदिए र सेनाले लगाएको ब्यारिकेड हटाउन थाले । यो घटनामा केही विपक्षी नेता पक्राउ परे भने प्रहरीसँग झडप समेत हुन पुगेको थियो ।विपक्षी डेमोक्रेटिक पार्टीले आपत्कालीन रूपमा बोलाएको बैठकले मार्सल ल असंवैधानिक भएको निष्कर्ष निकाल्यो । देशको आपत्कालीन मार्सल ल लगाएपछि नेसनल एसेम्ब्लीमा मतदानका लागि सांसदहरू एकजुट भए, जसमा संसदका ३ सय सदस्यमध्ये १९० जना सांसदले मार्सल लको विरोधमा मतदान गरे ।
दक्षिण कोरियाको संसदमा विपक्षी दलको बहुमत रहेका कारण राष्ट्रपतिको निर्णयको पक्षमा बहुमत आउने सम्भावना थिएन । संसदले मार्सल लको विपक्षमा मतदान गरेलगत्तै राष्ट्रपति युन मार्सल ल फिर्ता लिन बाध्य भए । किनकि संवैधानिक व्यवस्थाअनुसार संसदको निर्णय राष्ट्रपतिका लागि बाध्यकारी छ । पछिल्लो समयमा देशभित्रै अलोकप्रिय रहेका राष्ट्रपतिको यो कदम उनकै लागि घातक बन्ने देखिएको छ ।
किनकि यो घटनाले देशभर राष्ट्रपतिप्रति आक्रोश चुलिएको छ । लामो सैनिक शासनको सामना गरेको दक्षिण कोरियामा सन् १९७९ पछि मार्सल ल लगाइएको थिएन । त्यसबेला दक्षिण कोरियामा सैन्य तानाशाह पार्क चुङ–हीको सत्ता कुका क्रममा हत्या भएको थियो । सन् १९८७ मा दक्षिण कोरिया संसदीय लोकतन्त्रात्मक देश बन्यो । सेनाले लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनमा दमन गर्दा २ सयभन्दा बढीको मृत्यु भएको थियो ।
राष्ट्रपतिको निर्णयसँगै दक्षिण कोरिया नयाँ राजनीतिक अस्थिरतामा फसेको छ । मार्सल ल लगाउने र फिर्ता लिने घटनासँगै देशभर आक्रोश बनेको छ भने केही मन्त्रीले नै राजीनामा दिएका छन् । अब राष्ट्रपति योलविरुद्ध महाअभियोगको तरबार पनि सँगै झुण्डिएको छ । राष्ट्रपति युन सुक योलका चीफ अफ स्टाफसहित क्याबिनेटका प्रमुख सहयोगीले राजीनामा दिएका छन् ।
हालसम्म १२ जना मन्त्रीले राजीनामा दिइसकेको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ । यसबाट मार्सल ल लगाउने निर्णयको विरोधमा विपक्षी मात्रै नभई राष्ट्रपतिकै सहयोगी र उनको पार्टी पनि भएको स्पष्ट हुन्छ । उनकै पार्टी पिपुल पावर पार्टीका नेता हान डोङ हुनले निर्णयको विरोध गर्दै प्रमुख विपक्षी नेता ली जे म्युङसँग हात मिलाएका छन् ।
सडकमा निस्किएको र्यालीमा सहभागीहरूले राष्ट्रपतिमाथि महाअभियोग लगाउन दबाब दिइरहेका छन् । राष्ट्रपतिमाथि भ्रष्टाचार र सत्ताको दुरूपयोग गरेको उनीहरूको आरोप छ । दक्षिण कोरियाको संवैधानिक व्यवस्थाअनुसार संसदले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन सक्छ । यदि नेसनल एसेम्ब्लीका दुईतिहाइ सदस्यले पक्षमा मतदान गरेमा महाअभियोग चल्नेछ । यसका लागि आगामी शुक्रबार संसदमा मतदान हुने भएको छ ।
नेसनल एसेम्ब्लीमा राष्ट्रपति युनको पिपुल पावर पार्टीका १०८ जना मात्रै सांसद छन् । विपक्षी डेमोक्रेटिक पार्टीका १७० जना सांसद छन् । विपक्षीले तत्काल राजीनामा नदिएमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएका छन् । दुईतिहाइ सांसदको समर्थनमा चलेको महाअभियोगको प्रस्ताव संवैधानिक अदालतमा पेस गरिन्छ, जसमा ९ मध्ये ६ जना न्यायाधीशले स्वीकृति दिएमा थप प्रक्रिया सुरु हुन्छ । यसको अन्तिम फैसला नआउञ्जेलसम्म राष्ट्रपति जिम्मेवारीबाट बाहिर हुन्छन् । यो समयमा प्रधानमन्त्रीले अन्तरिम नेताका रूपमा काम गर्छन् । महाअभियोगबाट राष्ट्रपति पदमुक्त भएको ६० दिनभित्र चुनाव गराउनुपर्ने व्यवस्था छ ।
दक्षिण कोरियाको प्रमुख सहयोगी अमेरिकाले समेत मार्सल लको समर्थन गरेन । हाल दक्षिण कोरियामा अमेरिकाका करिब ३० हजार सैनिक छन् । राष्ट्रपति युन सुक योलको अप्रत्याशित घोषणामा देशलाई उत्तर कोरिया र देशविरोधी शक्तिको खतराबाट मुक्त गर्न मार्सल ल लगाएको दाबी थियो । तर, त्यसको केही घन्टामै बाहिरी खतरा नभएर राष्ट्रपतिको हतासजनक राजनीतिक मानसिकताको उपज भएको स्पष्ट भएको छ । किनकि राष्ट्रपति युन दक्षिण कोरियाको राजनीतिमा पछिल्लो समयमा चौतर्फी घेराबन्दीको सामना गरिरहेका छन् ।
मंगलबार रातिको सम्बोधनमा पनि उनले विपक्षीको घेराबन्दीको चर्चा गरेका थिए । केही समयअघि संसदले बजेट कटौती गरेपछि उनी विपक्षीसँग रुष्ट थिए । राष्ट्रपति युन विगतका सरकारको तुलनामा उत्तर कोरियाप्रति कठोर मानिन्छन् । त्यसैले विपक्षीमाथि पनि उनले उत्तर कोरियाको समर्थक भएको आरोप लगाएका थिए । तर, उनले त्यसको कुनै प्रमाण दिने अवस्था छैन ।
सेनाले राजनीतिक गतिविधि र मिडियामाथि लगाएको प्रतिबन्धको खुलेर अपहेलना भयो । सेनाले भनेजस्तो कुनै मिडियालाई नियन्त्रण गर्न सकेन । यतिसम्म कि सरकारी समाचार एजेन्सी योनहापले समेत सामान्य अवस्थामा जस्तै रिपोर्टिङ गरेको थियो । कट्टर रुढीवादी नेताको छवि भएका युन सन् २०२२ मा दक्षिण कोरियाको राष्ट्रपति बनेका हुन् । तर, यसै वर्षको अप्रिलमा भएको आमनिर्वाचनमा विपक्षी पार्टीले विशाल जित निकालेपछि देशमा उनको पकड कमजोर भएको देखियो ।
संसदमा विपक्षीको नियन्त्रण भएका कारण उनको सरकारले विधेयकसमेत पारित गर्न सकेको थिएन । केही घोटालादेखि उनकी पत्नीसमेत केही स्क्यान्डलमा मुछिएपछि लोकप्रियता घट्दै जाँदा केही समयअघि उनको अप्रुभल रेट १७ प्रतिशतमा झरेको थियो । पत्नीको काण्डमा गत महिना सार्वजनिक रूपमा उनले माफी नै माग्नुपरेको थियो । विपक्षीले उनकी पत्नीमाथि छानबिनको माग गरेका थिए । तर, उनले अस्वीकार गरे । यसै साता विपक्षीले एक बजेट विधेयकमा कटौतीको प्रस्ताव राखेका थिए । दक्षिण कोरियाको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले संसदको निर्णयविरुद्ध कुनै भिटो प्रयोग गर्न सक्दैनन् ।
विपक्षीले यही समयमा प्रथम महिलामाथि छानबिन गर्न विफल भएकोमा क्याबिनेट सदस्य र केही वरिष्ठ सरकारी वकिलमाथि महाअभियोगको प्रस्ताव पनि ल्याएका थिए । मंगलबार रातिका ६ घन्टामा राष्ट्रपति र सेनामाथि विपक्षी पार्टी र जनता पूर्ण रूपमा हावी भए । संसदले मार्सल ल अस्वीकार गरेसँगै अब दक्षिण कोरियामा के हुन्छ र युनले यस कदमको कस्तो सजाय भोग्नुपर्नेछ भन्ने अन्योलको अवस्था छ ।
प्रदर्शनकारीले राष्ट्रपतिलाई पक्राउ गर्न माग गरेका थिए । अब के हुन्छ भन्ने स्पष्ट नभए पनि यो घटनाले दक्षिण कोरियालीलाई स्तब्ध पारेको छ । किनकि विकासको रफ्तारसँगै आधुनिक लोकतन्त्रको सिँढी चढिरहेका दक्षिण कोरियाली जनताले सैनिक तानाशाहीलाई धेरै पछि पारेका थिए । कतिपय विश्लेषकहरूले यो घटनालाई अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा पराजित भएपछि ६ जनवरी, २०२१ मा अमेरिकी संसद क्यापिटल हिलमा गराएको हमलाजस्तै भएको टिप्पणी गरेका छन् । दक्षिण कोरियाको राजनीतिमा चलिरहेको संघर्ष र मार्सल ल घोषणामा देखिएको कानुनी अतिक्रमणको असर त्यहाँको अर्थव्यवस्था र सुरक्षामाथि समेत पर्न सक्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ २१:२०