हङकङ र मकाउलाई सन् १९८३ मा एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडीएस) दिएर सुरु भएको चिनियाँ अन्तर्राष्ट्रिय पर्यटनको आकार सन् २०२४ सम्म आइपुग्दा विश्वलाई चकित पार्ने गरी फैलिएको छ । कोभिड १९ को संक्रमणपूर्व सन् २०१९ मा चिनियाँहरूले झण्डै १७ करोडको संख्यामा विदेश भ्रमण गरेका थिए ।
विश्व पर्यटन संगठनका अनुसार सन् २०२३ मा चिनियाँ पर्यटकले विश्वमै सबैभन्दा बढी लगभग २ खर्ब अमेरिकी डलरबराबरको खर्च गरेका थिए । दोस्रोमा सबैभन्दा बढी खर्च गर्ने संयुक्त राज्य अमेरिकाका पर्यटकहरूले १.५ खर्ब अमेरिकी डलर खर्च गरेका थिए । तथापि कोभिडको विश्वव्यापी महामारीपछि चीनले पर्यटनको अन्तर्राष्ट्रिय द्वार ३ वर्षका लागि बन्द गर्यो र सन् २०२३ को सुरुमा मात्र पुन: खोलेको हो । सन् २०२४ को अन्त्यसम्ममा चिनियाँ अन्तर्राष्ट्रिय पर्यटकको संख्या करिब १३ करोड पुग्ने अनुमान गरिएको छ भने आन्तरिक भ्रमणको संख्या ६ अर्ब ।
९० को दशकमा मात्र विश्वले चिनियाँहरू पनि पर्यटकको रूपमा घुम्न र खर्च गर्न सक्छन् भनेर बिस्तारै स्वीकार गर्न थाल्यो भने यस सहस्राब्दीका सुरुका वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा चीनको चर्काे आलोचना गर्नेहरू पनि कसरी चिनियाँ पर्यटकहरू भित्र्याउन सकिन्छ भनेर रणनीति बनाउन तल्लीन थिए ।
चीनको विशिष्ट पर्यटन नीतिअन्तर्गत एडीएस प्राप्त गर्ने मुलुक मात्र चिनियाँ नागरिकहरू घुम्न जान पाँउछन् । नेपालले सो स्टाटस सन् २००१ को अप्रिलमा नै पाएको हो । नेपाल र चीनबीचमा चाइना नेसनल टुरिज्म एडमिनिस्ट्रेसनका निर्देशक ह ग्वङ्गवेइ र नेपालका पर्यटनमन्त्री बलबहादुर केसीले पर्यटन विकासका लागि द्विपक्षीय सम्झौता भएपछि मात्र चीनले आफ्ना नागरिकहरूलाई पर्यटकको रूपमा नेपालको भ्रमण गर्न अनुमति दिएको हो । सन् २००२ भन्दा अघि चिनियाँ नागरिकहरू नेपालमा आउँदा गैरपर्यटक भिसामा मात्र आउन पाउँथे ।
सुरुमा पर्यटन स्रोत बजारको रूपमा चीनलाई धेरै पर्यटन व्यवसायीहरूले गम्भीरतापूर्वक लिएका थिएनन् । पश्चिमा र भारतीय पर्यटकहरूले रुचाएको गन्तव्य भए पनि चिनियाँ पर्यटकहरूको चाहनाअनुसारको सेवा सुविधा दिन नेपालले धेरै तयारी गर्नुपर्ने थियो । चिनियाँ भाषा बोल्ने जनशक्तिको अभाव र चिनियाँ मुद्रा युआन सटहीको समस्या पनि थियो । एयर चाइनाको काठमाडौंबाट ल्हासा र नेपाल वायु सेवाको काठमाडौंबाट हङकङसम्म मात्र हवाई सम्पर्क थियो । काठमाडौंबाट चीनको साङ्घाईहुँदै जापानको ओसाका जाने नेपाल वायु सेवाकोे जहाजलाई चीनबाट सीमित संख्यामा मात्र यात्रु ल्याउने सुविधा थियो ।
चिनियाँ पर्यटकहरूलाई नेपालमा सेवा दिन ६७ वटा विभिन्न ट्राभल एजेन्सीहरूलाई मात्र तोकिएको थियो । तर पछि उक्त प्रावधान हटाइयो र सबै ट्राभल एजेन्सीहरूले सेवा दिन पाउने भए । चीनको तीव्र आर्थिक वृद्धिसँगै समानान्तर रूपमा चिनियाँ पर्यटकको विश्वव्यापी आगमन बढ्दै गएर नेपालका लागि पनि भारतपछि चीन दोस्रो महत्त्वपूर्ण र भरपर्दाे स्रोत बजारको रूपमा स्थापित भयो ।
सन् २०१९ मा सबैभन्दा बढी १ लाख ६९ हजार ५ सय ४३ चिनियाँ पर्यटकहरू नेपाल आएका थिए भने कोभिडपश्चात् चीनले पुनः यात्रा अनुमति दिएपछि सन् २०२३ मा ६० हजार ८ सय ७८ चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ मा यो संख्या बढ्ने अनुमान गरिएको छ ।
आसन्न नेपालबाट हुन गइरहेको उच्चस्तरीय चीन भ्रमणबाट दुवै देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन दुई देशका राजधानीहरू बेइजिङ र काठमाडौंबीचमा सीधा सम्पर्क हुने विषयले प्राथमिकता पाएमा नेपालको पर्यटन उद्योगले ठूलै फड्को मार्ने निश्चित छ ।
राजनीतिक रूपमा नेपाल र चीनको सम्बन्ध अत्यन्त राम्रो भए पनि बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपाल ल्याउनका लागि चारवटा मुख्य विषयमा केन्द्रित भएर चर्चा गर्न सकिन्छ ।
पर्यटन कूटनीति
नेपालमा एकताका आर्थिक कूटनीति शब्दावली चर्चामा आएको थियो तर अहिले सेलाएको जस्तो छ । पर्यटनले आर्थिक लाभका अतिरिक्त नागरिकको तहसम्म एकआपसमा सम्बन्ध स्थापित गरेको हुन्छ । चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले आफ्नो कार्यकालमा पर्यटनलाई अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको महत्त्वपूर्ण हिस्साको रूपमा अगाडि बढाएका थिए । त्यस समयमा चीनमा गरिने भ्रमणहरू कि त सरकारी हुन्थे, कि उत्पादन र उद्योग अध्ययन भ्रमण । त्यस्ता भ्रमणको आयोजनाका लागि सन् १९५४ मा नै सरकारीस्तरमा चाइना इन्टरनेसनल ट्राभल सर्भिसेज (सीआईटीएस) को स्थापना गरिएको थियो । पछि आएर यो कम्पनी चीनको ठूलो ट्राभल कम्पनी बन्यो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङको अवसानपछि उदाएका देङ सियाओ पिङले सन् १९७८ पछि पर्यटनलाई विदेशी मुद्रा आर्जन र आर्थिक विकासको माध्यम पनि बनाए ।
विदेशी पर्यटकहरूलाई सरकारी, व्यवसायी र जनसाधारणबाट समेत राम्रो व्यवहार र सम्मान दिएर राम्रो सन्देश दिन सकिन्छ । सोसल मिडियाको युगमा सानासाना कार्यले पनि ठूलो महत्त्व राख्छ । आतिथ्यता दिनु पनि हालै मात्र मलेसियाको क्वालालम्पुर विमानस्थलमा अध्यागमनले रोकेर राखेकी चिनियाँ महिलालाई पर्यटनमन्त्रीले आफैँ गएर छुटाएको खबर चर्चामा आएको थियो । ती मन्त्री विवादमा परे पनि मलेसियाले चिनियाँ पर्यटकलाई कति धेरै महत्त्व दिन्छ भन्ने उक्त घटनाले देखाएको छ । माओवादी द्वन्द्वको समयमा विदेशी पर्यटकहरूलाई दु:ख नदिन बारम्बार नेपाल सरकारको तर्फबाट आग्रह गरिन्थ्यो, जसले गर्दा पर्यटकहरू केही धेरै हदसम्म सुरक्षित नै थिए ।
पहुँच अर्थात् कनेक्टिभिटी
नेपालको चीनको स्वशासित क्षेत्र तिब्बतसँग लगभग १४०० किमि लामो सीमा जोडिएको भए पनि स्थलमार्गबाट चिनियाँ पर्यटक भित्र्याउन जटिल भूगोल र पूर्वाधारको समस्या विद्यमान छ । तातोपानी नाका मुख्य व्यावसायिक र पर्यटक आवतजावत गर्ने स्थलमार्ग महाभूकम्पपछि बन्द भएको थियो, यो अझैसम्म पनि पूर्ववत् ढंगले खुल्न सकेको छैन । चिनियाँ पर्यटकहरू रसुवाको केरुङ नाकाहुँदै स्थलमार्गबाट पनि आउन सक्ने सम्भावना व्यवसायीहरू औँल्याउँछन् । केरुङबाट काठमाडौंको दूरी जम्मा १८० किमि छ तर बाटो राम्रो छैन । सन् २०२३ मा केरुङबाट १० हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए ।
नेपाल र चीनबीचमा हुने उच्चस्तरीय भ्रमणको समयमा दुवै राष्ट्रहरूका राजधानी जोड्ने गरी सिधा हवाई सम्पर्क हुनुपर्छ भनेर पर्यटन क्षेत्रबाट धेरै अघिदेखि आवाज उठिरहेको भए पनि नेपालले यो विषयलाई प्राथमिकतामा राखेको छैन । न त नेपालको राष्ट्रिय ध्वजावाहकले नै यसतर्फ योजना बनाएको छ । ठूलो संख्यामा चिनियाँ पर्यटक भित्र्याउन नेपालले हवाई मार्गमै बढी ध्यान दिनुपर्छ ।
विगतमा नेपाल र चीनका शहरहरूबीचमा उडान थप्न निकै मिहिनेत गरेको फलस्वरूप हाल नेपालमा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा, कुनमिङ र ग्वाङझाओबाट काठमाडौंसम्म हप्तामा नौवटा सिधा उडान सञ्चालनमा छन् । चीन सरकारले दिएको ऋण सहयोगमा बनेका पोखरा र गौतम बुद्ध विमानस्थलमा पनि चिनियाँ हवाई कम्पनीहरूले उडान गर्न सक्छन् ।
आसन्न नेपालबाट हुन गइरहेको उच्चस्तरीय चीन भ्रमणबाट दुवै देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन दुई देशका राजधानीहरू बेइजिङ र काठमाडौंबीचमा सीधा सम्पर्क हुने विषयले प्राथमिकता पाएमा नेपालको पर्यटन उद्योगले ठूलै फड्को मार्ने निश्चित छ ।
पर्यटन प्रवर्द्धन
चीनको पर्यटन बजार अरुभन्दा पृथक् र विशिष्ट प्रकृतिको छ । चीनको पर्यटनको मिटर सरकारले जसरी चलाउँछ, त्यसरी नै चल्छ र चीनको पर्यटन बजार डेस्क रिसर्च गरेर मात्र कदापि बुझिँदैन । बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउन नेपालले फरक ढंगको प्रवर्द्धनको उपायहरू प्रभावकारी हुने विगतको अभ्यास अनुभवहरूले पनि स्पष्टै देखाउँछन ।
चीनस्थित नेपालका कूटनीतिक नियोगहरूले प्रयास गरेको भए पनि त्यो पर्याप्त हुँदैन । पर्यटन व्यवसायीहरूले आफ्नो व्यवसायको प्रवर्द्धन त गरेकै छन् तर समग्र नेपालको प्रवर्द्धन पूर्वसर्तजस्तै हो । परम्परागत ढंगले केवल पर्यटन मेलाहरूमा भाग लिएर र नेपालमा केही छिटपुट कार्यक्रम गरेर मात्र ठूलो संख्यामा चिनियाँ पर्यटक ल्याउने प्रयास प्रभावकारी हुँदैन ।
चिनियाँ पर्यटकहरूको चाहना र प्रतिस्पर्धी पर्यटन बजारलाई सूक्ष्म ढंगले बुझेर सोहीअनुरूप कदम चाल्नुपर्छ । विकल्पको रूपमा दक्ष र व्यावसायिक पर्यटन प्रतिनिधि नियुक्त गरेर पनि नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यस्ता पर्यटन प्रतिनिधिहरूले कुन समयमा, कुन शहर, कुन उमेर समूह, कुन मिडिया र कुन माध्यम, कस्तो प्याकेज, कति मूल्य आदि महत्त्वपूर्ण विषयहरूमा नेपालका व्यवसायीहरूलाई निरन्तर पृष्ठपोषण गरिरहन्छन् ।
हङकङ र मकाउपछि चिनियाँहरू सबैभन्दा बढी आसियान मुलुकहरूमा जाने गर्छन् । नि:सन्देह आसियान मुलुकहरू सुलभ पर्यटकीय सेवा सुविधा, पर्यटकमैत्री सरकार र प्रतिस्पर्धी मूल्यका कारण पर्यटनका लागि विश्वमै अग्र स्थानमा छन् ।
साथै, कस्ता प्रवर्द्धनका कार्य गर्ने, कोसँग साझेदारी गर्ने, न्यूनतम खर्चमा कसरी बढीभन्दा बढी प्रवर्द्धनात्मक माइलेज लिने, नकारात्मक खबरलाई कसरी चिर्दै अगाडि बढ्नेजस्ता विषयहरूमा ध्यान जान आवश्यक छ । विगतमा नेपाल पर्यटन बोर्डले चीनमा नियुक्त गरेको बजार प्रतिनिधिले गरेको कामले कसरी नेपालको पर्यटन प्रवर्द्धन भएको थियो । यो विषय नेपालका अनुभवी पर्यटन व्यवसायीको स्मरणमा अझै ताजा नै होला ।
व्यावसायिक सम्बन्धको विस्तार
हङकङ र मकाउपछि चिनियाँहरू सबैभन्दा बढी आसियान मुलुकहरूमा जाने गर्छन् । नि:सन्देह आसियान मुलुकहरू सुलभ पर्यटकीय सेवा सुविधा, पर्यटकमैत्री सरकार र प्रतिस्पर्धी मूल्यका कारण पर्यटनका लागि विश्वमै अग्र स्थानमा छन् । तथापि चिनियाँहरूको रोजाइमा पर्नुको कारण भने आसियान मुलुकहरू र चीनबीचको व्यावसायिक सम्बन्ध पनि हो । नेपाल सरकारले चिनियाँ पर्यटकहरूका लागि सीमानाकामै नि:शुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन सरकारले पनि नेपालीहरूलाई भिसा शुल्कमा छुट गरेको छ ।
कुनै समयमा चीनको तिब्बत नेपालको महत्त्वपूर्ण व्यापारिक साझेदार थियो । भनिन्छ, नेपालको दक्षिणतिरभन्दा उत्तरतिरको यात्रा र व्यापार सुरक्षित थियो । दक्षिणतर्फ जाँदा औलो, जंगली जनावर र डाँकाहरूको डर थियो भने उत्तरतर्फ केवल भौगोलिक विकटता मात्र समस्या थियो । नेपालको तिब्बतमा रवाफ थियो, नेपाली मुद्रा तिब्बतमा चल्थ्यो पनि । त्यो इतिहासको साक्षीको रूपमा हालसम्म पनि ल्हासामा नेपालको मात्र महावाणीज्य दूतावास छ, अन्य देशको छैन भने ल्हासाबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क काठमाडौंसँग मात्र छ । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको बीचमा पर्यटनलगायत व्यावसायिक सम्बन्धको इतिहासलाई फेरि पुनर्स्थापित गर्ने विषय पनि विचारणीय छ ।
चीन पर्यटन र व्यवसायको ठूलो स्रोत बजार मात्र नभएर विकासमा सहयोग गर्ने नेपालको असल मित्र पनि हो । चिनियाँहरू नेपाललाई निपः भन्छन् र नेपालीप्रति सद्भाव राख्छन् । महत्त्वपूर्ण पूर्वाधारहरू, स्कुल, अस्पताललगायतका क्षेत्रमा चीन सरकारले सहयोग गर्दै आइरहेको भए पनि भूराजनीतिका कारण कहिलेकाहीँ विवाद भने नभएको होइन । नागरिकस्तरमा हाल केही लगानी बढदै गए पनि ठूलो संख्यामा पर्यटक भित्र्याउन भेला, मेला र प्रदर्शनी, सम्मेलन आदिमा भाग लिने पर्यटकहरूलाई समेत आकर्षण गर्न सक्नुपर्छ ।
चीनमा नेपाल भ्रमण वर्ष २०२५
चीनमा नेपालको पर्यटन प्रवर्द्धन गर्न र आफ्ना नागरिकलाई नेपाल भ्रमणमा जान उत्प्रेरित गर्ने उद्देश्यले चीन सरकारले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरिदिने विषय सञ्चारमाध्यममा आएको छ । यस विषयमा औपचारिक रूपमा सूचना बाहिर नआए पनि सम्बन्धित सरकारी निकायहरूमा छलफल भएको बुझिएको छ । चीनले यस्तो सद्भाव देखाएर नेपाल भ्रमण वर्ष २०२५ चीनमा आयोजना गरेको अवस्थामा पर्यटनको प्रवर्द्धन त हुन्छ नै, यो नयाँ प्रयोग पनि हुनेछ । साथै, हामीले चीनलाई चिन्ने नयाँ मौका पनि ।
राजनीतिक वृत्तमा अनेक टिकाटिप्पणी भए पनि व्यावसायिक क्षेत्रले भने उच्चस्तरीय औपचारिक भ्रमणबाट केही अपेक्षा गर्नु स्वाभाविक मानिन्छ । द्विपक्षीय सम्बन्धका आर्थिक, सामाजिकलगायतका आयामहरूमा फलदायी ढंगले छलफल होस्, व्यवसायीहरूको नेटवर्किङ बनोस् र नेपालले लाभ लिन सकोस् भनेर व्यवसायीहरूलाई पनि उच्चस्तरीय प्रतिनिधिमण्डलमा समावेश गरिन्छ । तथापि पर्यटन क्षेत्रका व्यवसायीहरूलाई समेटिएको भने विरलै पाइन्छ । स्पष्ट छ, राज्यले देशभित्र र बाहिर पनि पर्यटन क्षेत्रलाई अत्यन्त कम महत्त्व दिएको छ ।
लेखक नेपाल पर्यटन बोर्डका पूर्ववरिष्ठ निर्देशक हुन् ।
थप श्रृङ्खला :
ओली चीन भ्रमण विशेष- १ : ‘चाखलाग्दो र जोखिमपूर्ण’ उत्तरी यात्रामा ओली, के–के हुन सक्छन् एजेन्डा ?
ओली चीन भ्रमण विशेष- २ : ओलीको चीन भ्रमणका लागि गेमचेञ्जर परियाेजनादेखि चिनियाँ मुद्रा सटही दरसम्म चार 'प्रेस्क्रिप्सन'
ओली चीन भ्रमण विशेष- ३ : पूर्वाधार विकासमा चीनको बीआरआई कति सहयोगी कति असहयोगी ?
ओली चीन भ्रमण विशेष- ४ : प्रधानमन्त्रीको चीन भ्रमण: ‘डिजिटल सिल्क रोड सहकार्यको नवीन अवसर
ओली चीन भ्रमण विशेष- ५ : ओलीको चीन भ्रमणमा सुर्खेत-हिल्सा द्रुत मार्गदेखि उत्तरी नाका खुल्ने आस
ओली चीन भ्रमण विशेष- ६ : चीनविज्ञ भारतीय प्राध्यापकको नजरमा ओलीको चीन भ्रमणः तुष्टीकरण कि अनुकूलन ?
यसअघिका विशेष श्रृङ्खला :
प्रचण्ड चीन भ्रमण विशेष- १ : कम्युनिस्ट प्रधानमन्त्रीले चीन जान रोजेको अमेरिकाको बाटो
प्रचण्ड चीन भ्रमण विशेष- २ : 'वातावरण बिग्रिन्छ भनेर प्रधानमन्त्रीले चुच्चे नक्साको कुरा उठाउनुभएन भने माफी दिन सक्दैनौँ'
प्रचण्ड चीन भ्रमण विशेष- ३ : प्रधानमन्त्रीको भ्रमणमा बीआरआईमा केही हुँदैन, घाेषणा गरेकाे ८० अर्ब किन नदिएकाे साेध्नुपर्छ (अन्तर्वार्ता)
प्रचण्ड चीन भ्रमण विशेष- ४ : प्रचण्डको चीन भ्रमणमा सार्वजनिक कूटनीति कति प्राथमिकतामा ?
प्रचण्ड चीन भ्रमण विशेष- ५ : प्रचण्डले चीन भ्रमणबाट नेपालमा लगानी गर्न आतुर चिनियाँहरूकाे फाइदा उठाउने सम्भावना छ
प्रचण्ड चीन भ्रमण विशेष- ६ : सम्झनलायक बन्ला त प्रचण्डको चीन भ्रमण ?
प्रचण्ड चीन भ्रमण विशेष- ७ : लरखराइरहेको प्रचण्डको बेइजिङ कूटनीति
प्रचण्ड चीन भ्रमण विशेष- ८ : 'चीन र भारतसँग समान दूरी राख्ने हो भने भारतीय मुद्रासरह चिनियाँ मुद्रा किन प्रयोग नगर्ने ?'
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १८:१०