पूर्वी पहाडका जिल्लालाई तराईसँग जोड्ने तमोर कोरिडोरको मूलघाट–दोरम्बा सडक खण्डको कालोपत्रे गर्ने काम भइरहेको छ । तमोर नदीको नजिकै रहेको सडकको कालोपत्रे गर्ने काम भइरहँदा यो क्षेत्रका बासिन्दा उत्साहित छन् । चतरा–दोरिम्बा खण्डको १ सय ५८ किलोमिटरमध्ये १ सय १२ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का लागेको थियो ।
हालसम्म १४ किलोमिटर सडक कालोपत्रे भइसकेको चतरा–मूलघाट गणेशचोक तमोर कोरिडोर आयोजना धरानका प्रमुख प्रदीप निरौलाले जानकारी दिए । उनका अनुसार मूलघाटदेखिको पहिलो खण्डमा घमाधम कालोपत्रे गर्ने काम भइरहेको छ । ‘चालु आर्थिक वर्षमा विनियोजित बजेटले थप १६ किलोमिटर कालोपत्रे हुन्छ । बजेट व्यवस्थापन हुन सक्यो भने यो आर्थिक वर्षमा ५० किलोमिटर सडक कालोपत्रे हुने देखिन्छ,’ निरौलाले भने, ‘बजेट व्यवस्थापनका लागि प्रयास गरिरहेका छौँ ।’
सडक कालोपत्रे भएपछि यो क्षेत्रका बासिन्दा हर्षित भएका छन् । १ सय १२ किलोमिटर कालोपत्रे गर्नका लागि दुई खण्ड गरी ठेक्का लगाइएको थियो । दोस्रो खण्डको काम भने सुस्त देखिएको छ । पहिलो खण्डमा मात्र कालोपत्रे भएको छ ।

मूलघाट–दोरम्बा खण्डको कालोपत्रे गर्ने गरी ठेक्का लागेको थियो । मेची र कोशी राजमार्गलाई छुने गरीको खण्डमा कालोपत्रेको काम भइरहेको हो ।
पूर्वी पहाडको ‘लाइफ लाइन’को रूपमा लिइएको सडक कालोपत्रे गर्ने काम अघि बढेपछि सडकआसपासका क्षेत्रमा चहलपहल बढ्दै गएको छ । तराईबाट पहाडी जिल्ला धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न क्षेत्रबाट सजिलै पुग्न सकिने छोटो सडक भएकाले प्राथमिकतामा छ ।
कालोपत्रे सम्पन्न हुने हो भने यो क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर, संघीय राजधानी काठमाडौं तथा सुविधासम्पन्न अस्पताल जान सजिलो हुनेछ । कम घुम्ती भएको सडक भएकाले छोटो बाटोको रूपमा हेरिएको छ । कालोपत्रे सकिएपछि यो सडक नेपालकै नमुना बन्ने बताइन्छ ।
तमोर कोरिडोर पाँचथर सुभाङ खोलाबाट अघि बढेर ताप्लेजुङको ओलाङ्चुङगोलाहुँदै टिप्तालातर्फ अघि बढ्छ । ३ अर्ब ६४ करोड लागतको ठेक्का सम्झौता भएको भई काम अघि बढेको थियो । ६६ किलोमिटर रौतहा क्षमादेवी जेभीले २ अर्ब ४० करोडमा र बाँकी खण्डमा एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का सम्झौता गरी काम अघि बढाएका थिए ।
सडकका आसपासमा होटल, पेट्रोलपम्प, घर, ग्यारेजहरू बन्ने क्रम जारी छ । जग्गाको भाउ अकाशिएको छ । कालोपत्रे नभएको ठाउँमा ग्राभेल सडक छ । धुलाम्मे भए पनि साना, ठूला गाडी चलिरहेका छन् । यो सडक व्यावसायिक रूपमा महत्त्वपूर्ण भएकाले होटल सञ्चालनमा ल्याइएको भुल्केका नरबहादुर फोम्बेले जानकारी दिए । गाडीहरू बाक्लो गरी चल्न थालेकाले पेट्रोलपम्प सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए ।

थोरै समयमा सुविधासम्पन्न शहर पुग्न सकिने यो सडक कालोपत्रेको काम अघि बढेपछि धेरैमा खुसी छाएको छ । ‘कालोपत्रे भएपछि बाटो राम्रो देखिँदो रहेछ । चाँडै सकिएदेखि यो सडकमा निकै चहलपहल बढ्ने रहेछ । अहिले पनि बाक्लो संख्यामा गाडी कुदिरहेका छन्,’ पाँचथरको तिल्केनीका हरि खनालले भने, ‘ट्रयाक खुलेदेखि होटल थालेको छु । बर्खाहिउँदै गाडी चलिरहेका छन् ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १७:०३