नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न माग गरे । गुरुङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन् । महामन्त्री थापाले एमाले नेता ऋषिकेश पोखरेललाई पनि सहकारीको बचत अपचलनमा संलग्न रहे नरहेको बारेमा छानबिन गर्न आग्रह गरेका छन् ।
‘कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकाइदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ,’ महामन्त्री थापाले भने ।
एमालेका नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गर्दै उनले भने, ‘एमाले नेता ऋषि पोखरेलको पनि नाम आयो, गर्नुस् अनुसन्धान । यदि गल्ती गर्नु भएको छ भने अभियोजन गर्नुस् र दण्ड दिनुस् ।’
गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ छ । आज प्रधानमन्त्री भएको होस् कि भोलि प्रधानमन्त्री हुनेवाला हुन् जो कोही न्यायको कठघरामा उभिनुपर्ने उनको भनाइ छ ।
कांग्रेस उपसभापति गुरुङले पनि आफू संलग्न भए नभएको बारेमा छानबिन गर्न भनिसकेका छन् । जुन कुरा प्रतिनिधिसभामा पनि रेकर्ड छ । तर सोही कुरा निकालेर महामन्त्री थापाले सरकारलाई फेरि सम्झाएका छन् । पार्टीको संस्थापनइतर समूहमा छन् उपसभापति गुरुङ र महामन्त्री थापा । डा शेखर कोइरालाले नेतृत्व गरेको समूहमा थापाले आफ्नो समूह बनाउन प्रयास थालेको नेताहरू बताउँछन् । गुरुङले पार्टीको १५ औँ महाधिवेशनको सभापति शेखर रहेको र जित्ने सभापति नै उनी रहेको बताएको वर्ष दिनभन्दा बढी भइसक्यो । यस्तोमा थापाको अभिव्यक्तिले उपसभापतिको शक्तिलाई उपयोग गर्ने बुझाइ संस्थापनइतर समूहमा छ ।
छिटपुट रूपमा पार्टीका अन्य नेताहरूबारेमा बोल्न थाले पनि पार्टी सभापति शेरबहादुर देउवाका विरुद्धमा बोल्ने आवाज कांग्रेसमा कम हुँदै गएको छ । ‘पूर्वप्रधानमन्त्री क्लब’ बाट देशले पार नपाउने अभिव्यक्ति महामन्त्री थापाबाट कम सुनिन थालेको छ । देउवा पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् ।
जो आफैँ हुन चाहन्छन् देउवाको उत्तराधिकारी
कांग्रेसमा सभापति देउवाविरुद्ध आवाज मत्थर हुनुको पछाडिको कारण भनेको राजनीतिक करियरको उचाइ हो । कांग्रेसभित्र दोस्रो वा तेस्रो तहका नेताले सभापतिको आलोचना गरेमा शीर्ष तहमा रहेको समूहको नेताले रक्षात्मक बनेर करियरमा सघाउ पुर्याउँछन् । तर शीर्ष नेताहरू जो सभापतिको आकाङ्क्षी छन् उनीहरूले देउवाको समर्थन जुटाउन देउवाको लाइनमा ‘हवस्’ भन्ने गरेका छन् ।
शेखर कोइराला
कांग्रेस उच्च स्रोतका अनुसार अहिले संस्थापनइतर समूहका नेता शेखर कोइरालालाई देउवाको उत्तराधिकारी बनाउने लबिङ केही नेताहरूले गरिरहेका छन् । यसमा नक्कली भुटानी शरणार्थी काण्डमा मुद्दा विचाराधीन रहेका नेता बालकृष्ण खाँण पनि संलग्न छन् । नेविसंघ र तरुण दलको अध्यक्ष बनेर देशभर कार्यकर्ताका सञ्जाल बिच्छ्याएका खाँणसहित शेरबहादुर देउवा पत्नी आरजु राणा र नेता एनपी साउद शेखरको पक्षमा रहेको कतिपयको दाबी छ । देउवासँग मिलेको आरोपलाई खण्डन गरेका शेखर पनि अहिले देउवाप्रति उग्र छैनन् ।
एमाले र कांग्रेसबीचको सहमति कायमै रहे देउवा केपी शर्मा ओलीपछिका प्रधानमन्त्री हुन् । एमालेसँग प्रधानमन्त्री हुने तोक लगाएर बसेका छन् देउवा । जुन कुरा सरकारसँग जोडिन्छ । अहिले सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट नभए पनि शेखरले सरकारलाई सचेत गराउने भन्दै गति नभएको कुरा सार्वजनिक रूपमा राख्दै आएकोमा अहिले सरकार ढल्दैन तर सच्चिनुपर्छ भन्न थालेका छन् ।
गगन थापा
संस्थापनइतर समूहमा चलिरहेको चर्चा अनुसार कांग्रेस संस्थापन समूहका केही नेताहरू शेखरसँग नजिकिएको चाल पाएपछि महामन्त्री गगन थापा हैरान छन् । संसदीय दलमा एकै कार्यकालमा नेता फेर्नुपरेमा शेखरलाई सघाउने सर्तमा संस्थापनइतर समूहबाट उम्मेदवार बनेका थापा अहिले सो एजेन्डामा छैनन् । देउवा समूहबाट सहयोगको लबिङ बढेपछि थापा सो ठाउँमा प्रवेश गर्न चाहेको इतर समूहका नेताहरू बताउँछन् । ‘शेखरलाई संस्थापन समूहबाटै स्वागत गर्ने वातावरण बनेपछि सो ठाउँमा जान महामन्त्रीले पहल गरिरहनु भएको छ,’ संस्थापनइतर समूहका एक नेताले शिलापत्रसँग भने । गत वर्षदेखि नै महामन्त्री थापानिकट नेताहरूले शेखरलाई देउवासँग मिलेको आरोप लगाउँदै आएका छन् ।
काे हुँदा देउवालाई सहज ?
कांग्रेस बहुपदी संरचनामा छ । सभापति देउवाले भावी नेतृत्व खोज्दा आफूलाई सहज हुने र पत्नी आरजुको सुरक्षित राजनीतिक करियर खोज्ने नेताहरू बताउँछन् । आरजुलाई शेखरसँग सहज हुने वातावरण बनाउँदै लगे पनि देउवालाई दुई पात्रमा सहज छ । ती हुन् बीपीपुत्र पूर्वमहामन्त्री शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला । उनीहरूलाई आफ्नो उत्तराधिकारी बनाउन पदाधिकारीमा आफ्नै मात्र छनोट गर्न सकिने र आरजुको स्थान पनि सुरक्षित हुने वातावरण बन्न सक्नेमा देउवा सचेत छन् ।
शशांकले सभापतिमा उम्मेदवार बन्ने आकांक्षा राखिसकेका छन् भने १३ औँ महाधिवेशनमा उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई सघाएका सिटौला आन्तरिक रूपमा गुट व्युँत्याउने अभियानमा छन् । तर त्यो त्यति प्रभावकारी देखिएको छैन । अहिले उनी राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता छन् । ‘सिटौला दाइ समूहको नेता हुनुहुन्छ । हामी एक ठाउँमा छौँ । राष्ट्रियसभामा उहाँ जानुभएपछि समूहलाई सहज भएको छ,’ सिटौलानिकट नेता भीमसेनदास प्रधानले शिलापत्रसँग भने ।
विमलेन्द्र र प्रकाशमानलाई पत्याउलान् ?
कांग्रेसका संस्थापक नेताहरू महेन्द्रनारायण निधि र प्रकाशमान सिंहका छोराहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह पनि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई सघाएका अनुहारहरू हुन् । तर देउवाले उत्तराधिकारीमा उनीहरूलाई राख्ने सम्भावना भने कम रहेको कांग्रेस नेताहरूको बुझाइ छ । निधि मधेश प्रदेशभन्दा बाहिर जान नसकेको र सिंह काठमाडौंभन्दा बाहिर जान नसकेको आरोप लाग्ने गर्छ । सोही आधारमा सङ्गठनमा कमजोर रहेको विश्लेषण हुने गर्दछ ।
संस्थापन समूहबाट अर्को को ?
देउवाको संस्थापन समूहको एउटा उपसमूह शेखरको पक्षमा लबिङ गर्न लाग्दा अर्को उपसमूह भने देउवाकै शैलीमा मौन छ । उपसभापति पूर्णबहादुर खड्कालाई सभापतिको आकांक्षीको रूपमा हेरिएको छ । विजय गच्छदार, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, रामहरि खतिवडा लगायतका नेताहरूले पनि संस्थापनको अर्को उत्तराधिकारी बारेमा निर्णयात्मक भूमिका खेल्न सक्छन् ।
सभापति देउवाले अहिले उत्तराधिकारी भनेर बोल्ने बेला नभएको नेता रामहरि खतिवडा बताउँछन् । ‘पहिला नै उठ्नुभएका शेखर कोइराला फेरि पनि उठ्ने देखिन्छ भने महामन्त्री, उपसभापति र उपप्रधानमन्त्री बनिसकेका पूर्णबहादुर खड्का पनि उठ्ने देखिन्छ । युवाहरूको समूहबाट महामन्त्री गगन थापा पनि उठ्ने देखिन्छ । सभापतिज्यूले आफ्नो उत्तराधिकारी बारेमा बोल्ने समय भएको छैन । बागमतीमा धेरै पानी बग्न बाँकी छ,’ उनले शिलापत्रसँग भने ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१ १८:१५