साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपाल र भारतबीच भइरहँदा तनाव भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमबाट गोल भएन । दोस्रो हाफ सुरु भएलगत्तै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी छिन् । भारतीय खेलाडीलाई फौल गरेपछि उनलाई रातो कार्ड दिइएको हो ।
पौडेलले रातो कार्ड पाएपछि रेफ्रीसँग प्रतिवादसमेत गरेकी थिइन् । तर, उनी भाभुवक बन्दै मैदान छाड्न बाध्य भइन् । पौडेलले रातो कार्ड पाएसँगै नेपाल १० खेलाडीमा सीमित भएको छ । १० खेलाडीमा सीमित नेपालविरुद्ध भारतले गोल गरी अग्रता लिएको छ ।

भारतले गोल गरेलगत्तै नेपालले पनि गोल गरेको थियो । तर, सुरुमा गोलको मान्यता दिएकी रेफ्रीले पछि मान्यता दिइनन् । जसका कारण तनाव उत्पन्न भएको छ । र खेल रोकिएको छ । दोस्रो हाफपछि खेल मुस्लिकले १० मिनेट मात्र हुन सकेको छ ।
यसअघि भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । नेपाल र भारतबीचको खेलको विजेताले साविक विजेता बंगलादेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ २०:२५