अहिले नेपाली नारीहरूमा तीजकाे राैनकता छाएकाे छ । तीज विशेष कार्यक्रम आयाेजना गरी नाँचगान गर्ने र मिठा परिकारहरू खाएर महिलाहरू रमाइलाे गरिरहेका छन् । नेपाली कलाकारहरूलाई पनि तीज विशेष सांगीतिक कार्यक्रम गर्न भ्याइनभ्याई छ ।
कलाकारहरू तीज विशेष कार्यक्रमका लागि देश तथा विदेशमा व्यस्त छन् । तीजमा रमाइलो गर्ने क्रममा देशभर र विदेशमा विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । ती कार्यक्रममा सहभागी हुन कलाकारहरूकाे भ्याइनभ्याई छ । कलाकारहरूको सहभागिताले तीज पर्वलाई अझ बढी उल्लासमय बनाएको छ । विदेशमा रहेका नेपाली महिलाहरूमा पनि उत्साह छाएकाे छ ।
हुन त गायक/गायिकाहरूका लागि राम्रो कमाइ गर्ने सिजन तीज पनि हो । तीजकेन्द्रित विभिन्न सांस्कृतिक कार्यक्रममा उनीहरूकाे माग बढ्ने गर्छ । त्यस्ता कार्यक्रम देशमा भन्दा विदेशमा बढी हुने गरेका छन् । विभिन्न मुलुकमा रहेका नेपाली संघसंस्थाले आयोजना गर्ने यस्ता तीज विशेष कार्यक्रममा नेपाली गायक/गायिका तथा अन्य कलाकारहरूलाई बोलाउने लहर नै देखिन्छ । त्यसैले गर्दा पनि अन्य समय फुर्सदिला हुने अधिकांश लोक तथा दोहोरी गायक/गायिका यतिबेला नेपालबाहिरका कार्यक्रममा व्यस्त छन् ।
को कलाकार कुन देशमा ?
देवी घर्ती मगर, बद्री पंगेनी, चन्दा अर्याल, पूजा पौडेल, फुलु पुन अस्ट्रेलियामा
नर्थ वेस्ट नेप्लिज कम्युनिटीको आयोजनामा ३० अगस्टमा हार्भे लवे पेभिलियन डोरन ड्राइभमा आयोजित तीज धमाका २०८१ लगायत अन्य तीज विशेष कार्यक्रममा सहभागी हुन देवी घर्ती र बद्री पंगेनी अस्ट्रेलिया पुगेका छन् । गत १९ अगस्टमा अस्ट्रेलिया हानिएका बद्रीले आफ्नो अस्ट्रेलिया यात्रा करिब एक महिनाको रहने शिलापत्रलाई बताएका छन् ।
अस्ट्रेलियाकै नेपाली पाठशालाले आयोजना गरेको तीज फेस्टिबल २०२४ ‘नर्थइस्ट क्लेमजिङ’मा सहभागी हुन गायक चन्दा अर्याल, पूजा पौडेल, फुलु पुन, डेलिसालगायत गायिकाहरू पनि अस्ट्रेलिया पुगेका छन् ।
कोमल वली, पशुपति शर्मा, रूबिना अधिकारी, शोभा त्रिपाठी पनि सिड्नीमै
नेपाली एसोसिएसन अफ साउथइस्ट मेलवर्नको आयोजनामा ‘छैनौँ हामी पनि कम्ती, मेलबर्न नाच्छ यसपालि छमछमी’ कार्यक्रममा सहभागी हुन कोमल वली, पशुपति शर्मा, रूबिना अधिकारी र शोभा त्रिपाठी सिड्नी पुगेका हुन् ।
समीक्षा अधिकारी, रूपा घर्ती मगरसहित प्रताप दास र रामजी खाँड जापानमा
जापानको नागोयामा आयोजित ‘तीज फेस्टिबल नायोगा २०२४’ मा सहभागी हुन समीक्षा अधिकारी, रूपा घर्ती मगरसहित प्रताप दास र रामजी खाँड जापानमा छन् ।
रीता थापामगर कतारमा
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षसमेत रहेकी गायिका रीता थापामगर पनि यतिखेर कतारमा छिन् । कतारमा स्थापित संघसंस्थाहरूको संयुक्त आयोजनामा अल लक्तामा आयोजित रमाइलो तीज कार्यक्रममा सहभागी हुन आफू कतार पुगेको थापाले शिलापत्रलाई बताएकी छन् ।
शान्तिश्री परियार, ज्योति मगर, करिश्मा ढकाल, रचना रिमाल अमेरिकामा
फ्लाई ट्राभल एन्ड टुर प्रालिले आयोजना गरेको ‘अब नाच्छ अमेरिका’ कार्यक्रममा सहभागी हुन शान्तिश्री परियारसहित करिश्मा ढकाल, रचना रिमाल र ज्योति मगर अमेरिका पुगेका हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १९:५३