बैतडीको सिगास गाउँपालिका –३, तल्ला हल्कासैनीकी भावना धामी २०७९ माघमा रुखबाट लडेर गम्भीर घाइते भइन् । ३८ वर्षीया धामीको तीन महिनासम्म डडेल्धुरा अस्पतालमा उपचार भयो । श्रीमान् खेमसिंह धामीका अनुसार उपचारमा झण्डै ७ लाख रुपैयाँ खर्च भयो । ‘रुखबाट लडेर कम्मर र खुट्टा टुटेको थियो,’ श्रीमान् खेमसिंहले भने, ‘तीन महिना डडेल्धुरा अस्पतालमा उपचार भएपछि लौरी टेकेर सामान्य हिँडडुल गर्न सक्ने भएकी थिइन् ।’
खेमसिंहका अनुसार सधैँजस्तै भावना डेढ साताअघि २९ साउनमा बाख्रा चराउन घरनजिकैको त्वापोड भिरमा गएकी थिइन् । सोही भिरबाट लडेकी भावनाको घटनास्थलमै मृत्यु भएको छ । घाँस–दाउरा र मेलापातको दैनिकीमा बाँचिरहेकी भावनाको मृत्यु भएपछि अहिले हल्कासैनी गाउँ शोकमा छ । घटनाजस्तै नियति पनि भावनाको जस्तै बन्यो, बैतडीकी अनिता नाथका लागि । ९ साउनमा डिलाशैनी गाउँपालिका– ६, खरेलीगाउँकी २२ वर्षीया नाथ घाँस काट्न जंगल गएकी थिइन् । घरनजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला लडेकी नाथ दुई सय मिटर तल खसिन् । उनको घटनास्थलमै मृत्यु भयो ।
डोटीको जोरायल गाउँपालिका– ६, गुनडकी १८ वर्षीया दुर्गा साउँदले सानैमा आमा गुमाइन् । बुबा र दाइहरूले उनको पालनपोषण गरे । स्वास्थ्यकर्मी भएर सेवा गर्ने सपना थियो उनको । सपना पूरा गर्न कैलालीको गोदावरी नगरपालिका बसेर हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेकी थिइन् उनी । सुदूरपश्चिमेलीको मौलिक पर्व गौरा मनाउनका लागि बुवाले दुर्गालाई पहाड घर बोलाए ।
दुर्गाकी दिदी चन्द्रा भन्छिन्, ‘आफ्ना दाइसँगै दुर्गा घर पुग्दा पानी धेरै परिरहेको थियो । घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले उनी गम्भीर घाइते भइन् । उपचारका लागि धनगढी पुर्याइएको थियो । अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् ।’ दुर्गाको मृत्युसँगै स्वास्थ्यकर्मी भएर सेवा गर्ने उनको सपनाको पनि अन्त्येष्टि भएको छ । भावना, अनिता र दुर्गा उदाहरण मात्रै हुन् । सुदूरपश्चिममा हुने भवितव्य र विपद्का घटना महिलाहरूका लागि काल बनिरहेका छन् ।
चट्याङले लियो १० वर्षमा ९९ जनाको ज्यान
सुदूरपश्चिममा वर्षात्को समयमा चट्याङका घटनाहरू धेरै हुने गरेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी चैतदेखि भदौसम्म चट्याङ पर्ने गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार यस वर्ष वैशाख लागेदेखि चट्याङका घटनामा वृद्धि भएको छ । सुदूरपश्चिम प्रदेशमा चट्याङबाट हुने मानवीय क्षति पनि बढ्दै गएको छ ।
नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार पछिल्लो १० वर्षमा मात्रै प्रदेशका ९९ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । उनीहरूमध्ये ६४ महिला छन् । सबैभन्दा बढी कञ्चनपुरमा २१ र कैलालीमा २१ जनाले ज्यान गुमाएका छन् भने अछाम जिल्लामा १७ जनाको मृत्यु भएको छ । डोटीमा १०, बाजुरामा ९, बैतडीमा ७ र डडेल्धुरामा ६ जनाको चट्याङका कारण मृत्यु भएको छ ।
यस्तै, दार्चुला र बझाङ जिल्लामा भने चार/चार जनाको मत्यु भएको छ । पछिल्लो १० वर्षको विवरणअनुसार देशभरिमै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर अन्तभन्दा बढी चट्याङ खस्ने जिल्लाको सूचीमा छन् । मौसम पूर्वानुमान महाशाखाले हरेक दिन जारी गर्ने मौसमी बुलेटिनमा मेघगर्जन र चट्याङको सम्भावना उल्लेख गरेको हुन्छ । तर, मौसमविद् बिनु महर्जनका अनुसार चट्याङबारे पूर्वानुमान गर्न सक्ने प्रविधि नेपालमा छैन । ‘चट्याङको पूर्वानुमानका लागि हामीसँग प्रविधि छैन,’ उनले भनिन्, ‘तर पनि मौसमी बुलेटिनमा हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका हुन्छौँ ।’
उनले चट्याङबाट बच्नका लागि विद्युतीय सामग्रीको प्रयोग नगर्न र घरबाहिर ननिस्कन आग्रह गरेकी छिन् । डडेल्धुरामा कार्यरत शिक्षिका अञ्जु भट्टका अनुसार चट्याङमा बढी महिलाको ज्यान जानुको कारण भने घरायसी काममा बढी महिलाहरू व्यस्त हुनु पनि हो । ‘हामीले खेतमा काम गर्दा र जंगलमा गएको समयमा चट्याङ लागेर महिलाको ज्यान गयो भन्ने समाचार पढिरहेका हुन्छौँ,’ उनले भनिन्, ‘घरभित्र भयो भने चट्याङले ज्यान जाने सम्भावना कम हुन्छ । तर, महिलाहरू काममै व्यस्त हुन्छन् ।’
तीन वर्षमा लडेर ८० महिलाको मृत्यु
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा लडेर मात्रै ८० महिलाको ज्यान गएको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार भिरबाट लडेर ६५ महिला र रुखबाट लडेर १५ जना महिलाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २१, २०७९/०८० मा २९ र २०८०/०८१ मा ३० जना महिलाको लडेर ज्यान गएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी सुदूरपश्चिमको बैतडी, दार्चुला र अछाममा भिर र रुखबाट लडेर महिलाले ज्यान गुमाएका छन् । तीन आर्थिक वर्षमा १६/१६ जना महिलाको लडेर मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार भवितव्य घटनामा महिलाको मृत्यु हुनुको मुख्य कारण काममा विभेद हो । ‘सुदूरपश्चिमका नौ जिल्लाका भवितव्य घटनाको तथ्यांक हेर्दा मृतकको सूचीमा धेरै महिलाको नाम छ,’ एसएसपी अधिकारीले भने, ‘अघिकांश घरायसी काम महिलाहरूले नै गर्ने भएकाले पनि होला । जोखिममा पनि उनीहरू नै बढी छन् ।’
माटोको ढिस्कोले बर्सेनि जान्छ महिलाको ज्यान
२०८० चैत दोस्रो साता डोटीमा माटोको ढिस्कोले दुई महिलाको ज्यान गयो । बिसु पर्व (नयाँ वर्ष) को अवसरमा घर पोत्न माटो निकाल्ने क्रममा आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओझा र शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराका लागि माटोको ढिस्को नै काल बनेको थियो ।
२०७७ चैत तेस्रो साता माटोको ढिस्कोले पुरिएर डडेल्धुराको अमरगढी नगरपालिका– ७ स्थित ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको थियो । स्थानीय उग्रतारा जङ्गलनजिकै माटो निकाल्ने क्रममा उनलाई ढिस्कोले पुरेको थियो । ढिस्कोमा पुरिएर सोही वडाकी ३० वर्षीया शारदा ऐरी र २० वर्षीया कमला विक घाइते भएका थिए । डडेल्धुरामै १५ चैत २०७५ मा गन्यापधुरा गाउँपालिका– २, कुजाकोटका २० वर्षीया कृष्णा देउवाको पनि मृत्यु भएको थियो । घर लिपपोत गर्ने रातो माटो खन्ने क्रममा ढिस्को खसेर कृष्णा पुरिएकी थिइन् । उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।
२४ माघ २०७७ मा कैलालीको जानकी गाउँपालिका–९, पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको ज्यान गएको थियो । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो । ग्रामीण भेगका अधिकांश आवास (घर) माटोबाटै बनेकाले तिनलाई मर्मत गर्न माटोले लिपपोत गरिरहनुपर्छ । लिपपोत ग्रामीण परिवेशमा धार्मिक मान्यतासँग पनि जोडिन्छ । यस्तो लिपपोतका लागि आवश्यक माटो ल्याउने काम गाउँठाउँमा महिलाकै काम हो । अपवादबाहेक यो काममा पुरुष संलग्न हुँदैनन् ।
सोही कारण माटो ल्याउन वनजंगल र ढिस्कोहरूमा पुग्ने महिला तथा बालिका माटो खन्दा ढिस्को खसेर हुने दुर्घटनामा पर्ने गरेका छन् । तर, उक्त कामका लागि महिलाहरू मात्रै जाने गरेका छन् । पछिल्लो ५ वर्षमा ९ जिल्लामा १६ जना महिलाले माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाइसकेका छन् । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का केही काम महिलाले मात्रै गर्नुपर्छ भन्ने सोच र केही जनचेतनाको अभावले भवितव्य घटनामा महिलाको मृत्यु बढी भइरहेको बताउँछिन् ।
‘घाँस–दाउरा र मेलापातको काम महिलाले मात्रै गर्नुपर्ने सोचाइका कारण उनीहरू दुर्घटनामा परिरहन्छन्,’ उनले भनिन्, ‘ती काममा महिलालाई मात्र लगाइँदा उनीहरूको ज्यान जोखिममा छ । माटोको ढिस्कोमा पुरिएर पनि धेरै महिलाले ज्यान गुमाएका छन् । माटो खन्दा सुरक्षामा ध्यान दिन पनि आवश्यक छ ।’
उनका अनुसार समाजमा कुन काम पुरुषले र कुन महिलाले गर्ने भनेर लगभग छुट्याइएको छ । ‘त्यसैले कामका प्रकृतिअनुसार घटनाका पीडित पनि महिला वा पुरुष हुने गरेका छन्,’ उनले भनिन्, ‘पछिल्लो समय भने सोचमा आएको परिवर्तनले महिलाले गर्ने काम पुरुष र पुरुषले गर्ने काम महिलाले गर्ने गरेका छन् ।’
पहिरोले लियो ६८ महिलाको ज्यान
नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार सुदूरपश्चिममा पछिल्लो १० वर्षमा मात्रै पहिरोका कारण १ सय ३८ जनाले ज्यान गुमाएका छन् । उनीहरूमध्ये ७२ महिला छन् । पहिरोले सबैभन्दा बढी मानवीय क्षति अछाम जिल्लामा भएको छ । अछाममा ३० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
यस्तै, डोटीमा २९ जनाको मृत्यु भएको छ भने बझाङमा २० जनाको मृत्यु र अझै २२ जना बेपत्ता छन् । यस्तै, दार्चुलामा २२, बाजुरामा १४, बैतडीमा १०, कैलालीमा सात र डडेल्धुरामा ६ जनाको मृत्यु भएको छ । बैतडीमा एक जना बेपत्ता छन् । कैलालीमा कार्यरत शिक्षक तोयनाथ भट्टका अनुसार पहिरोमा महिलाको बढी ज्यान जानुको कारण भने काममा विभेदभन्दा वैदेशिक रोजगारी मुख्य कारण हो ।
‘सुदूरपश्चिमका पहाडी जिल्लाका केही गाउँ त अहिले पुरुषविहीन बनेका छन्,’ उनले भने, ‘अधिकांश पुरुष रोजगारीका लागि भारत र तेस्रो मुलुक पुगेका छन् । घरमा महिला र वृद्धवृद्धा मात्रै छन् । त्यसैले यहाँ हुने विपद्का घटनामा पनि महिलाकै ज्यान बढी जोखिममा छ ।’
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ २०:३८