'म मान्ठ हुँ
म मान्ठ हुँ
म मान्ठ जुर्मुराएको छ
आँत ताप आग झैँ त्यो आगो भुर्भुराएको
अँध्यारोमा, अभावमा
अबोध त्यो प्रवाहमा अमोक्षमा
जुनीजुनी बसेँ व्यर्थ अथाहमा
अझै पनि बचाएको मँ हौसला र जोस हुँ
यात्रा शेखरिणी चुनेँ
म पाइला हुँ, खोज हुँ
नमेटिने, ननासिने अभेद्य हुँ, अजय हुँ
अपाड राज भूमि हुँ, सपालदलक्ष कर्णाली । '
प्रस्तुत पङ्क्ति कर्णालीको काखमा जन्मे हुर्केका माधव चौलागाईंका हुन्, जो कर्णालीको अध्येतासमेत हुन् ।
कर्णाली प्रदेश विकासका दृष्टिले देशकै सबैभन्दा पिछडिएको भूगोल मानिन्छ । मूलतः सडक, ऊर्जा र सञ्चारजस्ता आधारभूत पूर्वाधारको पहुँच नहुँदा स्थानीय नागरिक विपन्नताको भुङ्ग्रोमा सेकिन बाध्य छन् ।
कर्णालीका अध्येतासमेत रहेका लेखक माधव चौलागाईंका अनुसार भू–परिवेष्ठित देशभित्र गरिबीले थप परिवेष्ठित कर्णाली आधुनिक युगमा पनि भौगोलिक, आर्थिक, सामाजिक र राजनीतिक प्रतिकूलताको चक्रव्युहमा फसेको अभिमन्युजस्तै लडिरहेको छ ।
के कर्णाली साँच्चै विगतदेखि नै यही हविगतबाट गुज्रिएर आएको हो ? बाहिरबाट कर्णालीलाई जसरी हेरिन्छ, त्यो नै कर्णालीको यथार्थ हो ? कर्णाली अनि त्यहाँका नागरिकसँग विद्यमान विपन्नताबाट उठ्ने आधार नभएको हो ?
यी र यस्तै प्रश्नको जवाफ खोजिरहेका चौलागाईंले हालै सपालदलक्ष कर्णाली पुस्तक पाठकसामु पस्किएका छन् ।
पूर्वीय दर्शनले ज्ञानको खोजी गर्न सिकाउँछ । सत्यको नजिक पुग्न ज्ञानको ज्योतिले बाटो देखाउँछ । त्यसैले लेखन, पठन, चिन्तन, मनन, बहस र विमर्श गर्न कर्णाली क्षेत्र आफ्नो कालखण्डमा के–कस्तो युगबाट गुज्रियो भन्ने जिज्ञासाले पुस्तक ‘सपालदलक्ष कर्णाली’ लेखेको चौलागाईं बताउँछन् ।
‘मैले ‘सपालदलक्ष कर्णाली’मार्फत विगतलाई खोतल्दै वर्तमानको अवस्था विश्लेषण गरेको छु । व्यावसायिक रूपले तथ्यांकमा आधारित काम गर्ने मेरो पेसा हो । मैले पढेको ज्ञान र सिकेको त्यही सीप प्रयोग गरेर कर्णालीलाई कोट्याउने जमर्को गरेको हुँ ।’ चौलागाईं थप्छन्, ‘मेरा लक्षित आमपाठकलाई ध्यानमा राखेर किताबलाई नितान्त गैरप्राज्ञिक शैलीमा लेखेको छु । त्यसैले पुराना सन्दर्भलाई सकेसम्म लेखहरूमै छलफलमा ल्याएर किताबको अन्त्यमा सन्दर्भ सूची राखेको छु ।’
सरकार, सत्ता र सार्वजनिक सेवाका जिम्मेवारीमा हुनेहरूका गतिविधि, अभिव्यक्ति र आचरणबारे चर्चा तथा उनीहरूले स्थापित गरेका भाष्य र प्रकाशन गरेका सामग्रीको आलोचनात्मक विवेचनासमेत ‘सपालदलक्ष कर्णाली’ मा गरिएको चौलागाईंको भनाइ छ ।
मानवशास्त्रमा एमफिल गर्दै गर्दा समाजमा मानिसले देखाउने निश्चित व्यवहार, स्वभाव, त्यसको अर्थ, रूपान्तरण र परिवर्तन बुझ्न मद्दत गर्ने केही सैद्धान्तिक दृष्टिकोण पढ्न पाएको उनी बताउँछन् ।
ती अवधारणाहरूमा टेकेर हेर्दा यो किताब हाम्रो सभ्यता र समयको आलोक र आलोचना रहेको उनको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ ११:२८